हेल्लो सरकार!
शुभ-प्रभात!
सञ्चै छौ सरकार?
प्रभाती किरणले
धर्तीलाई चुमिसक्यो
नव-सन्देश बोकी
नवयुग संघारमै आइपुग्यो
उठ न हो सरकार उठ
कति सुत्न सकेको
उठ सरकार!
एक बिदेशी दलाल
कौडीको भाउमा
राष्ट्रियता र स्वाभिमानको
मोलमोलाइ गर्न
तिम्रै दरबार सामू
नतमस्तक छ
आफ्नो निर्णय सुनाउन
उठ न हो सरकार
कति सुत्न सकेको
उठ सरकार!
कोलाहलमय प्रदुषित धुलोमाडौंमा
पजेरोमा सररर सयर गर्दा
राजधानीले धूम्रपान गर्दा
ढलमतीले दुर्गन्ध फ्याँक्दा
भयावह किटाणुको संक्रमणबाट
थलिएका त छैनौ?
बिहानीको पवनसंग खेल्न
उठ न हो सरकार
कति सुत्न सकेको
उठ सरकार!
मध्यरातमा
बिदेशी पाहुनासंगको भेटमा
राष्ट्रघाती सम्झौताको खाका कोर्न
चियर्स गर्दै लिइएको
महंगो सोमरसको चुस्कीले
लट्ठिएर,मात्तिएर
मस्त निंदाएका त छैनौ?
अब त नशाले छोडे होला नि!
उठ न हो सरकार उठ
कति सुत्न सकेको
उठ सरकार!
जिन्दावाद र मुर्दावादका नारा लाएर
जनसागर उर्लिसक्यो
गाउँबस्तीबाट जुर्मुराउँदै
सुन्न नचाहने तिम्रा कान फुट्नेगरी
बुलन्द आवाज लिएर
सडक-सडकबाट उठेका छन्
तिमी भने चीर-निंद्रामै सुतेका छौ
उठ न हो उठ सरकार
कति सुत्न सकेको
अब त उठ सरकार!!!
No comments:
Post a Comment