वसन्त बाट ग्रीष्म,वर्षा,शरद,
शरद बाट हेमन्त हुँदै शिशिर आयो
शिशिरले झारेका पातहरु कुहिए
पुनः बसन्तको आगमन भयो
डालीहरुमा नव पालुवा फेरिए
फूलहरु फुले
फलहरु लागे
फूलका रस चुसिए
फलहरु कति झरिगए
कतिपय झारिए
धेरै परिवर्तन भए देशमा।
गरीबहरु धनी भए
चप्पल लाउनेहरु बुट,टाइसुट लाउन थाले
झुपडीमा बस्नेहरु महलमा पुगे
कोही भने झन कंगाल हुँदै गए
कोही करोडपति रोडपति भए
सानाहरु ठूला भए
ठूलाहरु बुढा भए
एकल हरु दुई भए
दुई हरु तीन र चार भए
ढाइ करोडबाट तीन करोड भए
धेरै परिवर्तन भए देशमा।
अज्ञानीहरुले ज्ञान पाए
मुर्खहरु सज्जन बने
कोही सज्जन मुर्ख बने
जंगे पिलार सारिंदा
सीमा साँघुरिंदा
नतमस्तक बनिरहे
जान्नेहरु धेरै जान्ने भएरै होला
सिमामा मान्छे मारिंदा पनि
मौन बसे,
वीर गोर्खाली अब वीर रहेनन्
धेरै परिवर्तन भए देशमा।
शान्त थियो देश
खुसी थिए सबै
धर्तीमा हलचल आयो
धेरै संरचना ध्वस्त भए
कतिपय भत्केका संरचना साफ गरिए
जहाँ कुनै भग्नावशेष रहेनन्
धरहरा कहाँ थियो?खोज्नुपर्ने भयो
भुकम्प पीडित क्षेत्रमा गोठ बने
घर बन्ने टुंगो छैन
धेरै सरकार फेरिए
ए जेठा,ए माइला,सुन त
धेरै परिवर्तन भए देशमा।
७२बाट ७३ हुँदै ७४ भयो
साल फेरियो
क्यालेन्डर फेरियो
संविधान पनि बन्यो
संघीय लोकतान्त्रिक गणतन्त्र
बिधिवत भयो,
धेरै जना सहिद भए
धेरै जना मन्त्री बने
शहिदका सालिक बने
जनताका नोकर भन्नेहरु मालिक बने
धेरै परिवर्तन भए देशमा
तर परिवर्तन भएन पीडितका घर
परिवर्तन भएन उनीहरूको स्तर
तथापि,साथी हो
धेरै परिवर्तन भए देशमा
तर नाम मात्रको!!!
No comments:
Post a Comment