Tuesday, 4 April 2017

लाटी

        जलश्रोत र प्राकृतिक सम्पदामा धनी नेपालको स्वीट्जरल्यान्ड भनेर चिनिने,पर्यटकीय स्थल जिरीदेखि करीब पाँच किलोमिटरको दूरीमा रहेको छिमेकी गा.बि.स. मालीको वडा नं.३ मा अवस्थित यलुङ गाउँमा प्रायः शेर्पाहरुको बाहुल्यता रहँदै आएको छ।तथापि अहिलेसम्म पनि सडक कच्ची अवस्थामै रहेको छ।बल्लतल्ल बिजुली आएर बस्ती झिलिमिली भए पनि जति बिकास हुनुपर्ने हो,त्यति हुन सकेको छैन।
          धेरै बर्ष पहिलेको कुरा हो,त्यतिबेला बस्तीमा बिजुली बत्ती र सडकको नाम निशानासम्म थिएन।गाउँमा जम्मा प्राथमिक तहसम्म मात्र पढाई हुन्थ्यो।निम्नमाध्यमिक,माध्यमिक र उच्च तहको शिक्षा हासिल गर्न जिरीमै जानुपर्ने स्थिती थियो।उत्तरतिर चेर्दुङ,दक्षिणमा ताँबे,पूर्वमा सैलुङ र पश्चिममा काम्से पहाडले घेरिएको एक सुन्दर बस्तीमा बसोबास गर्ने एक निम्न वर्गीय परिवार।शिक्षाको उज्यालो घामबाट बन्चित त्यो परिवारको आयश्रोत भनेकै कृषि थियो।डोमा र पासाङले बिहेको दोश्रो बर्षमै पहिलो सन्तानको रुपमा एउटी छोरी प्राप्त गरे।सन्तान-सुख नै दम्पतिको लागि महान सुख भएकोले उनीहरु हर्षले बिभोर भए।लामाले उनीहरुको छोरीको नाम याङ्जी नामाकरण गरिदिए।याङ्जी उनीहरूको लागि राजकुमारी भन्दा बढी महत्वपूर्ण थिई।अशिक्षित भएपनि बच्चाहरुको जन्मान्तर कम्तीको पनि ४/५ बर्ष हुनुपर्छ भन्ने कुराको भने ज्ञान थियो।चाँपको फूल जस्ती कलकलाउँदी छोरीलाई उनीहरुले बडो संयमित तरीकाले पालनपोषण गरे।बच्चा दश महिनाको भैसकेकोले उनीहरू बच्चाले कहिले आफ्नै खुट्टामा उभिन सक्छ भनेर कौतुहल थिए।संगै जन्मेको दावाको छोरा एकै बर्षमा टुकुटुकु हिंड्न थालेको थियो तर याङ्जी भने अझै बामेसम्म सर्न सकिरहेकी थिईनन्।उनीहरू ईर्ष्या र डाहाले जल्न थाले।दावा र उनको श्रीमती संग पनि राम्ररी बोल्दैनथे।
"ए बुढा,सुन त।त्यो दावाको छोरा त हिंड्न थालिसक्यो,खै हाम्रो याङ्जी त अहिलेसम्म घस्रेको पनि छैन त!"
"चिन्ता नगर बुढी,हाम्रो याङ्जी पनि हिंड्ला नि एकदिन।"
दम्पती बीच यस्तै-यस्तै वार्तालाप हुन्थे बेला-बेला।तर उनीहरूको ईच्छा भने पूर्ण हुन सकिरहेको थिएन।
"दाइ,तपाईंको छोरी त अहिलेसम्म बामे सरेको छैन त।अब त हिंड्ने बेला हैन र?"
एकदिन दावाले पासाङलाई प्रश्न गरे।
"तँलाई के मतलब?मेरो छोरीको चिन्ता नगर।आफ्नो छोराको चिन्ता गर।मेरो छोरी पनि हिंड्छ नि एकदिन।धेरै फूर्ती नला।"
पासाङको ब्यबहारले दावा एकछिन पनि टिक्न सकेन र तुरुन्त हिंडिहाल्यो।त्यसपछि उ पासाङको घरमा कहिल्यै आएनन्।
          बेला-बखत बाटोमा दावा र पासाङको परिवार जम्काभेट भैरहन्थ्यो।दावाको छोरा दौडिन थालिसकेको थियो।शेर्पा भाषा पनि प्रष्ट बोल्ने भैसकेको थियो।
"बुढी!अब हाम्रो छोरालाई स्कुल पठाउनुपर्छ।"
दावाले जानीजानी पासाङको परिवारको आलो घाउमा नुनचुक हाल्ने काम गर्थ्यो।पासाङ्को परिवार भने नसुने झैं गरेर बाटो तर्किन्थे।
"त्यो मुलाले के सम्झेको छ हाँ?छोरा बोल्न र दौडिन सक्ने भयो भन्दैमा के सारो फूर्ती लाको हाउ?कसैले नपाको छोरा पाए जस्तो!"
घरमा पुगेर पासाङ मुर्मुरिन्थ्यो तर केही सीप चल्दैनथ्यो।छोरी याङ्जी दुई बर्षको भैसक्दा पनि न त बामे सर्न थालेकी थिईन् न बोल्न नै।उनीहरू दिनप्रतिदिन छोरीको बिषयले चिन्तित हुन लागे।धेरै पल्ट धामीझाँक्री राखेर झारफुक गरे तर बीसको उन्नाइस भएन।
"बुढी!त्यो दावाको सेखी झार्न पनि अब अर्को बच्चा पाउनुपर्यो।"
"हैन बुढा,पहिलो बच्चाको त हालत यस्तो छ,त्यही माथि अर्को पाएर यसको हेरचाह कसरी गर्ने?यो अलि ठूलो होस् न त।"
दम्पती बीच यस्तै विवाद हुन थाल्यो।तर विवादले घरमा दिनदिनै कलह र अशान्ति मात्र शुरु भयो।नभन्दै दावाको छोरा स्कुल जान थालिसकेको थियो।समयले द्रुत गतिमा फड्को मारिसकेको थियो।याङ्जी ५ बर्षकी भैसकेकी थिई।बल्ल उनी भूइँमा थचक्क बस्नसम्म लागेकी थिई।बोली फुटेकै थिएन।चिच्याउन र कराउन मात्र जान्दथिन् तर प्रष्ट बोल्न सकेकी थिइनन्।उनका बाबा-आमा वाक्क-दिक्क भैसकेका थिए।बेला-बेलामा आक्रोशित भएर पासाङले अलाछिनी,राक्षसनी र कुलाङ्गारनी जस्ता उपनामले सम्बोधन गर्न थालेका थिए।तर उनकी आमाको मायामा भने कुनै कमी आएन।छोरीको अवस्थाप्रति सधैं चिन्तित भैरहन्थिन्।छोरी पूर्वरुपमा तन्दुरुस्त भएपछि मात्र अर्को सन्तानको बारेमा सोच्ने कुरामा जिद्दी गरिरहिन् तर श्रीमानको दबाबको सामू उनको केही जोड चलेन।
            अन्ततः याङ्जीका बाबा-आमाले उनी छैंटौ बसन्तमा लाग्दै गर्दा अर्को भाइ जन्माए।छैंटौ बसन्तमा लागे पनि उनको जीवनमा उराठलाग्दो शिशिर बाहेक बसन्तको बहार आउन सकेन।डोमा र पासाङको जीवनमा नौलो उमंग आइसकेको थियो।छोरा पाएको उपलक्ष्यमा खसी ढालेर गाउँलेलाई भोज पनि ख्वाए।दावाको परिवार संग भेट हुँदा घुमाउरो पाराले भन्ने गर्थे-"हामी पनि मर्दको छोरा रहेछ त।हिजडा त हैन रहेछ नि हामी पनि।"
झगडा पर्न सक्ने भएकोले दावा र उसकी श्रीमती तर्केर हिंड्थे।
         भाइको आगमनसंगै याङ्जीको जीवन झनझन बिकराल समस्यामा फस्दै गयो।भाइ जन्मिनु अघि त उनलाई अस्पतालमा लगेर उपचार गर्ने कुरा थियोे र त्यतिबेला आर्थिक अभावले सम्भब थिएन।अब त अस्पतालको बिषयले चर्चा पाउन नै छाड्यो।भाइको स्याहार-सुसार र घरायसी कार्यको व्यस्तताको कारण उनलाई हेरचाह गर्ने कोही भएनन्।उनी क्रमशः बिस्तारै-बिस्तारै घस्रन थालिन्। तर उनका एउटा/एउटा खुट्टा र हातले कामै गरेनन्।साथै प्रष्ट बोल्न पनि सकिनन्।शारीरिक रुपमा अपांग त थिईन् नै तर उनको मानसिक अबस्था पनि सुस्त नै थियो।बाबा-आमाले भनेका कुराहरु अलिअलि बुझ्थिन्।पस्किदिएको खानेकुरा पनि राम्ररी खान सक्ने थिईनन्।उमेरले सातौं वसन्त सकेर आठौं बसन्तमा पाइला टेकिसक्दा पनि उनले जमिनमा पाइला टेक्न सकिनन्।समय पनि यति क्रूर आइदियो कि अब बाबा-आमाले उनलाई छोरी भनेर सम्बोधन गरे पनि गर्नुपर्ने जति स्याहार गर्न सकेनन्।खेतबारी,घाँसपात र गाइबस्तु सबैतिर भ्याउनुपर्ने हुँदा कामको बोझले तनावग्रस्त भएको बेला रिसको झोकमा उनलाई "लाटी" नामले बोलाउने गर्थे।अविभावकले नै पराईले झैं व्यवहार गरेपछि पराई त उसै पनि बलवान् हुने नै भए।गाउँलेहरुले समेत अब उनलाई लाटी भनेर सम्बोधन गर्न थाले।बोल्न नसकेपनि थोरै कुरा त बुझ्थिन्।शुरु-शुरुमा उनलाई अति पीडाबोध भयो।समाज पनि उनको शत्रु भएको देखेर कति अश्रुधारा बग्यो।तर उनको बेदना कसले बुझ्ने?नयाँ-नयाँ कपडा लाउने उनको पनि चाहना थियो।नयाँ कपडा किनेर दिएपनि घस्रेर हिंड्दा दुईदिनमै च्यात्तिन थालेपछि उनले नयाँ कपडाको सट्टामा चामलको बोरा पाउन थालिन्।
"लाटीलाई नयाँ सुरुवाल दिएर के गर्ने बुढा,दुई दिन पनि टिक्दैन।बरु बोराको सुरुवाल बनाइदिउँ।बोरा त जति पनि पाईन्छ क्यारे।"
बाबाको वचनबाणले सिधा मुटुमा रोपिन्थ्यो।उनको ओठमा मुस्कानको आगमन सायद एकपल पनि भएन।छैंठीमा उनको भाग्यरेखामै बिधाताले आँसु झार्नु लेखेको थियो कि!हेर्दाहेर्दै भाइ पनि स्कुल जान लागिसकेको थियो तर लाटीको भागमा पढाइ कहाँ थियो र?कसले बोकेर स्कुल पुर्याउने-ल्याउने गरोस् उनलाई?
"यस्ती लाटीलाई पढाएर पनि के काम र?बेकारमा कापीकलम किन्ने पैसाको नाश।खान-लाउन पाउनु नै यसको अहोभाग्य हो।"
आफ्नै बाबाको मुखबाट यस्ता वाक्य सुन्दा उनको मन त धरधरी रुन्थ्यो।यस्तो कडा वचन सहन नसकेर आत्माहत्या गर्न खोजिन् तर आत्माहत्या गर्न सम्म शारीरिक तागतले दिएन।चाहेर पनि उनले मर्न सकिनन्।न त सार्थक ढंगले जिउन सकिन् न मर्न नै।एकदिन बिस्तारै घस्रेर कान्ला माथिबाट हाम्फालिन् तर चोटपटक मात्र लाग्यो,मर्न सकिनन्।मर्न पनि त नसिबमा लेखेको हुनुपर्ने रहेछ।बरु हाम्फाल्दा निस्केको दिशाले पूरै दिन दुर्गन्धित बनायो।
"लाटी!मर्न नसकेर कहाँ गा'थिस्?बेस्सरी घिच्यो-घिच्यो,भैंसीको गोबर झैं हग्यो!"
उल्टै साँझमा उनले गाली खानुपर्यो।चोटपटकले त्यति दुखेको थिएन,वचनले दुख्यो।मान्छेले स्वर्ग र नर्कको कुरा धेरै गर्छन् तर थोरैले देखेका,भोगेका होलान्।लाटीले भने त्यही जूनीमा र त्यही स्थानमा दिनदिनै नर्क देखिरहेकी थिईन्।लाटी दश बर्षकी हुँदा उनको जिम्मेवारी पनि थपिए।घस्रेर भएपनि पानी लिने र खाना पकाउनु पर्ने भयो।अलिअलि चल्ने हातले बनाएको खाना पक्कै स्वादिलो बन्दैनथ्यो।कहिलेकाही खाना बनाउनु त के गाग्रीको पूरै पानी पोखिएर घरभित्र बाढी आए झैं हुन्थ्यो।सहानुभूति पाउनु त के गाली र कुटाइ प्रशस्त खान पाईन्थ्यो।त्यस्तै दु:ख पीडा भोग्दै उनले १२ औं बसन्तमा पाइला टेकिन्।ज्ञानको कमीले हो या अज्ञानताको कारण हो,उनलाई बैशाखी समेत थमाईएन।हात र खुट्टाको साहाराले घस्रँदै-घस्रँदै गाईभैंसीको गोठाला गर्न थालिन्।एउटी अपांग छोरीलाई गाईभैंसीको जिम्मेवारी दिनु हुनुसम्मको अन्याय थियो।न्याय दिने कसले?कहिलेकाही गाइभैंसीले अर्काको बाली सखाप पार्थे र बेलुका उनले चुटाइ सहनुपर्थ्यो।लाटीबाट केही उपलब्धि हासिल नभएपछि उनका बाबा-आमाले नै माथि पटासी सम्म गाइबस्तु पुर्याइदिन्थे।खाली जग्गामा भने उनलाई त्यति सास्ती थिएन।पटासीको जमिन प्रायः खस्रुका रुखले भरिएका थिए।खस्रुघारी देखि तल भने उतिस,गुराँस र आरुपातेका रुखहरु थिए।हेर्दा खेरी त्यहाँको दृश्य मनमोहक नै लाग्थे।चराचुरुङ्गीहरुको चिरविर,मृगहरुको कराइ र गाइबस्तुहरुको बाँ-बाँ आवाजले वातावरण संगीतमय हुन्थ्यो।लाटी पनि बेला-बेलामा त्यही वातावरणमा घुलमिल हुनलाई कराउने गर्थिन् तर उनको आवाजमा दर्द र करुणा बाहेक अरु सुनिन्नथ्यो।अरु गोठालाहरु उनलाई देखेर घेरा हालेर जिस्क्याउँथे।ढुंगा-माटोले हानेर भाग्ने गर्थे।उनको साथी कोही थिएनन्,गाइबस्तु बाहेक।असार-श्रावन मासमा कहिलेकाही दर्केर भीषण बर्षा हुन्थ्यो।चोयाबाट बुनिएको घुम हावाले उडाएर लगी रुझिएर मुसा पानीमा चोबालिए झैं हुन्थिन्।शरीरका अप्ठ्यारा भागहरुमा जुगाहरु ढाडिएर रगतपच्छे हुन्थ्यो।घाउ पाकेर हेर्नै नसकिने हुन्थ्यो।उनका आँखाहरु साउने झरी जस्तै रुझिएका हुन्थे।कहिल्यै ओभानो हुन्थेनन्।
         दिन,महिना र बर्ष बित्दै जाँदा उनमा पनि यौवनका संकेतहरु देखिन थाले,जुन बिल्कुल प्राकृतिक प्रकृया थियोे।कसैले रोकेर रोकिने वालामा थिएन।समयसंगै जवानीले गति लिनु नौलो पनि त थिएन।उनका बक्षस्थल क्रमशः फैलिंदै गए।गालामा लाली चढ्दै गयो।बिकास हुनुपर्ने सबै भए।उनी पन्ध्रको हुँदा महिनावारी पनि भयो,जसको बारेमा उनी अनबिज्ञ थिइन् र भयभीत भएर दिनभरी बिलौना गरिरहिन्।
"यो कुकुर्नीलाई पनि महिनावारी हुनुपर्ने!कुन दिन यसले छाउरा-छाउरी जन्माउन बेर छैन।"
सम्झाइनुको सट्टा उनले बाबा बाट गाली खानुपर्यो।आखिर गाली खानुपर्ने उनले त्यस्तो केही गरेकी थिइनन्।
"छोरी मान्छे हो नि याङ्जीको बाउ।महिनावारी त भैहाल्छ नि।किन रिसाउछ बेकारमा?लौ लाटी छोरीलाई काट,मार।"
लाटीकी आमाले भने उनको पक्षमा बोल्थिन्।
            उनले आफ्नो खोटी कर्मलाई सहर्ष स्वीकारिसकेकी थिइन्।जे नहुनुपर्ने,भैसकेको थियो।कसैले लाटी भनिदिंदा उनलाई केही फरक पर्न छोड्यो।लाटी नाम नै उनलाई प्यारो लाग्न थाल्यो।कोही कसैले याङ्जी नामले बोलाउँदा उनलाई अनौठो लाग्न थाल्यो र "कतै ब्यंग्य त हानिरहेको छैन?" झैं लाग्थ्यो।जसरी गोरु जोतिनकै लागि हुन्,उनी पनि चुटाइ र गाली खानकै लागि थिइन्।एकदिन गाली खाईनन् भने सायद उनलाई खाना पच्दैनथ्यो।अथवा खानै नखाए जस्तो पो हुन्थ्यो।भाइ नयाँ ड्रेस लाएर स्कुलतिर झर्दा उनी भने बोरा लगाएर उकालो लाग्नुपर्थ्यो-बनजंगलतिर गाइबस्तु पढ्न लाई।तैपनि उनी खुशी नै थिइन्।दु:खलाई उनले सुख मान्न थालेकी थिइन्।बाबाको गालीलाई आशीर्वाद मानेकी थिइन्।जति-जति जवानीले उनलाई परिपक्व बनाउँदै थियो,उत्ति नै उनका लागि चुनौतीहरु थपिंदै थिए।यसरी नै उनी सत्रौं बसन्तमा घस्रदैं थिइन्।एकदिन उनको जीवनमा अनापेक्षित घटना घट्यो।एक्कासी उनको महिनावारी रोकियो।उनका बाबा-आमाले शारीरिक रुपमा आशक्त भएर होला भन्ने सोचे।तर ५ महिना हुँदा पनि हुनुपर्ने कुरा भैदिएन।बरु उनको पेट दिन-प्रतिदिन ठूलो हुँदै गयो।अब भने पक्कापक्की नै भयो कि उनी गर्भवती भएकी थिइन्।यौनपिपासुको सिकार बनिसकेकी थिइन्।उनको अगाडिको जीवन अन्धकार हुँदै थियो।
"ए लाटी!भन त कसको पेट बोकेर आइस्?"
"छिटो भन न छोरी,कसले छोएको थियो तिमीलाई?"
"मर्न नसकेकी रण्डी,कहाँबाट कसको पेट बोकेर आईस्?"
कहिले फकाएर त कहिले गाली दिएर सोधपुछ गरेपनि लाटी मुसुमुसु मात्र हाँस्थिन्।परिवारमा एउटा महाबिपति आइपरेको थियो,जसको समाधान कठिन भन्दा कठिन थियो।बिस्तारै पूरै गाउँमा हल्ला फैलियो।
"बिचरी!लाटीमाथि कुद्ने कस्तो अपराधी होला?"
"कुन पापीको काम हो त्यस्तो?त्यसको त लिंग काट्नुपर्ने!"
"बिचरी लाटीले अब कसरी सम्हाल्छ?"
कसैले लाटीप्रति सहानुभूति प्रकट गरे त कसैले लाटीलाई छुने पुरुषलाई गाली दिए।तर समस्याको समाधान भएन।गाउँका युवायुवती र बुढाबुढी सबै बोलाएर याङ्जीका बाबा-आमाले कचहरी राखे।सोधपुछ र अनुसन्धान गरे तर कसैले आफ्नो कालो कर्तुतलाई सार्बजनिक गरेनन्।गरोस् पनि कसरी,जानी-जानी कसले आफ्नो खुट्टामा बन्चरो हानोस् र?
"ए लाटी!यहाँ उपस्थित मध्ये कसले तिमीसंग सम्बन्ध राख्यो?"
जवाफमा लाटी बोलिन् तर कसैले बुझेनन्।
"यसले हो?"
जवाफमा लाटीले हो भनेर शीर हलाईन्।
"यसले हो?"
उस्तै पाराले शीर हल्लाईन्।
जसलाई देखाएर सोधे पनि हो भनेर जवाफ आएपछि अपराधी को हो भनेर एकिन गर्न सकिएन।
"कोही छ आफ्नो गल्ती स्वीकार्ने?हामी उसलाई एक लाख रुपियाँ इनाम दिन्छौं।"-पासाङले उद्घोष गरे तर गल्ती कसैले स्वीकारेनन्।केही सीप नलागेपछि कचहरी बिना निष्कर्ष सकियो।
       अन्ततः पासाङले जिरीको प्रहरी चौकीमा गएर उजुरी हाले।चौकीबाट प्रहरी टोली गाउँमा आए।पुनः सबैलाई बोलाई भेला राखेर अध्ययन-अनुसन्धान गरे।गोठाला जानेहरुलाई थर्काएर केरकार गरे तर कसैले कुरा फुत्काएनन्।गोठाला जाने केटाहरु पनि प्रायः सानै थिए।
"यो दुष्कर्म कसले गरेको मलाई प्रष्ट थाहा भैसक्यो।तुरुन्त आफैं आएर आफ्नो गल्ती स्वीकार,नत्र सिधै गोली ठोक्दिन्छु।"
पुलिसको असई चिच्याए तर पनि "म हुँ" भन्ने कोही निस्केनन्।शंकास्पद ब्यक्ति एकजना मात्र भए पो रक्त परिक्षण गर्नु।"यो नै हुनसक्छ" भनेर कसैले किटान गर्न सकेनन्।यो मामिलामा प्रहरी पनि दोषी पत्ता लगाउनमा चुके।अन्तमा हार मान्दै त्यो केश गाउँलेहरुलाई सुम्पेर प्रहरी पनि आफ्नो बाटो लागे।स्थिति झन तनावग्रस्त भयो।लगभग दोषीको जीत र पीडित पक्षको हार जस्तै भयो।लाटीको जीउ झनझन भारी हुँदै गयो।अन्ततोगत्वा उनले एउटा छोरो जन्माईन्।
"पालनपोषण राम्रो गरे भोलि लाटीलाई त्यही छोराले पाल्नेछ।"
"आफ्नो हेरबिचार गर्न नसक्ने लाटीले कसरी बच्चा सम्हाल्छे?"
गाउँलेहरुले मिश्रित प्रतिकृया दिए।वास्तवमै उनको हालत दयनीय र कहालीलाग्दो हुँदै गयो।आमा र बच्चा दुबैलाई स्याहार्नुपर्दा उनका बाबा-आमा क्रोधले आगो भए।सकेसम्म त स्याहार-सुसार गरे।बाबाले भन्दा आमाले धेरै हेरचाह गरिन्।हुन पनि नारीको स्याहार गर्न लैंगिक रुपमा पनि पुरुष भन्दा नारीलाई सहज हुन्छ।तर नवजात शिशुलाई आफ्नै आमाले स्याहारे जस्तो पक्कै भएन।स्तनपान जस्तो कुरामा अरुबाट कमीकमजोरी हुनु स्वभाविक थियो।सुत्केरी आमा र बच्चाको अबस्था नाजुक हुँदै गयो।आफूलाई सम्हाल्न नसक्ने लाटीले बच्चालाई सम्हाल्ने कुरै थिएन।उचित पालनपोषण र हेरचाहको कमीले हप्तादिनमा उनको बच्चाले संसार छोड्यो।लाटी रोईन्,कराईन् तर गएको छोरो फर्केर आएन।छोरो परलोकमा गएको शोकमा चुर्लुम्म डुबिन्।जनावरलाई त आफ्नो बच्चाको माया लाग्छ भने उनी त मानव थिइन्।शारीरिक रुपमा अशक्त थिइन् तर मानसिक रुपमा अलिअलि मात्र सुस्त थिईन्।दैवले बोली खोस्नु नै उनको लागि अभिसाप थियो।लाटीको जीवन झन नर्क बन्दै गयो।चाहिए जति नुहाइदिने कोही भएनन्।घरभित्र कुहिएको सिनो झैं ह्वाश्वास्ती गन्हाउन थाल्यो।शारीरिक र मानसिक बोझले उनी अशक्त हुँदै गईन्।   सुत्केरी भएको दशौं दिनमा उनले पनि देहत्याग गरिन्।उनका बाबा-आमाले बर्बर आँसु खसाले।आफ्नो छोरीलाई बचाउन नसकेकोमा पश्चातापको आगोमा दनदनी जल्न थाले।उनीप्रति आमाको माया त अपार थियो।बाबाले धेरै माया नगरेपनि अब भने उसको घैटोमा घाम लाग्यो।
"छोरी!मलाई माफ गरिदेउ।मैले तिमी जिउँदो हुँदा दिनुपर्ने जति माया दिन सकिन।अर्को जूनीमा पनि तिमी मेरै छोरी भएर जन्मिनु।म आफूलाई भन्दा तिमीलाई बढी माया गर्नेछु।"
पासाङले दिलैदेखि आफ्नो छोरीलाई माफी माग्यो।
"छोरी!तिमी गएपछि म कसरी बाँच्ने?कसको लागि बाँच्ने?बाँचेर के अर्थ?"
अरुबेला दुश्मनी भएपनि त्यो दिन दावाको परिवार पनि त्यहाँ उपस्थित भए।उनीहरूका आँखा पनि ओभानो थिएनन्।लाटीले सबैलाई रुवाइन्।सिंगै गाउँ उनको बियोगमा रोयो।पहिले-पहिले उनलाई हेप्ने र जिस्क्याउनेहरु उदास देखिन्थे।लाटीकी आमा छोरीको अभावमा रुन थालिन्।तड्पिन थालिन्।उनलाई खाना समेत रुचेन।सुकेर पात जस्तै भईन्।राती सपनामा पनि छोरीकै नाम लिएर बर्बराउन थालिन्।
       लाटीको जीवनको अध्याय समाप्त भयो।गाउँलेहरुले खासखुस गर्न थालेका थिए।
"बिचरी लाटी!लाटी भए पनि कति लछिनकी थिई।"
लाटीले धर्तीबाट बसाइँ सरेको ठ्याक्कै महिना दिन भएको थियो।अझैसम्म लाटीको बिषयले चर्चा पाइरहेकै थियो।प्रभातको प्रहर थियो।भालेहरु बासेर विहानीको संकेत दिंदै थिए।भालेको डाकले पासाङको मीठो निद्रा भंग भयो।दाहिने हात पसार्दै श्रीमती लाई स्पर्श गर्न खोज्यो।तर चिसो र रित्तो पलाङ मात्र भेट्टायो।जुरुक्क उठेर यताउता खोज्यो तर कतै देखेन।अरुबेला उठाउँदा पनि अल्छी मान्ने श्रीमती त्यो एकाविहानै ओछ्यानमा नपाएर अचम्म मान्दै खोज्यो।बाहिर निस्केर चारैतिर नजर डुलायो।एउटी आइमाई उत्तिसको रुखको हाँगाबाट तुर्लुङ्ग झुन्डिएको देख्यो।आफ्नी छोरीको स्वर्गारोहणको पीडा सहन नसकेर आमाले पनि आफ्नो देह त्यागेर छोरीलाई भेट्न गएको कुरा बुझ्न उसलाई गाह्रो भएन।त्यो विहान पासाङको लागि सूर्य उदाएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...