भाग-५
बैशाख शुक्लपूर्णिमाको रात गुम्बामा हजारौं द्धीपहरु बलिरहेका।बिगुल,झ्याम्टा र ढ्याङ्ग्रोको ध्वनि गुञ्जायमान भैरहेको।निकै दूर-दूरसम्म शान्तिको प्रतीकरुपी संगीतले पशुपंक्षीहरुलाई समेत मन्त्रमुग्ध बनाइरहेको अबस्था।त्यत्रो ब्यस्तताको बाबजुद पनि आनीले आफू बिसन्चो भएको सुचना लामा गुरुलाई सुटुक्कै दिएर आफ्नो कोठातर्फ प्रस्थान गरिन्।झ्यालबाट जूनलाई चियाउने प्रयत्न गरेपनि सफल भने भइनन्।तर पनि टहटह जूनको स्पर्शले धर्तीलाई शितल र स्वर्गतुल्य बनाइरहेको थियो।उनले एकपल्ट किशोरलाई जून र आफूलाई धर्तीसंग तुलना गरिन् र मन्द मुस्कुराइन्।झ्यालबाट फरक्क फर्केर ऐनाको सामू उभिएर आफूलाई प्रतिबिम्बित गरिन्।मस्त फुलेको गुलाबको फूल जस्तै आफूलाई ऐनाभित्र पाएर एक लजालु मुस्कान छोडेर मुहारलाई लाल बनाइन्।आफ्नै रुप देखेर उनी लोभिईन्।मनमनै फूललाई भमराको जिम्मा लाउने प्रण गरिन्।
"किशोर!यो जोवन,यो यौवन सबै तिम्रो।"
आफ्नै भनाइले उनलाई असामञ्जसमा पार्यो।
"छ्या" भन्दै उनी ऐनाबाट पर भागिन् र बेडमाथि उतानो परिन्।उनी मनमनै कल्पनाको सागरमा पौडिन थालिन्।
"म यो के सोच्दैछु?आनी तँ बाटो त बिराइरहेकी छैनस्?तँ त यहाँ मोक्ष प्राप्त गर्न आएकी हैनस् र?कता जाँदैछस् तँ?फर्की आफ्नै दुनियाँमा।तँ जे सोच्दैछस् नि,त्यो तिम्रो दुनियाँ बिल्कुलै हैन।सोच आनी सोच।पछि पछुताउनु नपरोस्।"
उनले आँखा चिम्म पारेर सही मार्ग खोज्ने प्रयत्न गरिन् तर झन किशोरकै बिम्ब सामुने आएर नाच्न लाग्यो।
मोबाईलमा म्यासेजको घण्टी बजेर आनीको काल्पनिक संसारबाट उनलाई यथार्थताको धरातलमा पछार्यो।हतार-हतार उनले आफ्नो कमलो बुढीऔंला मोबाइलको किबोर्डमा स्पर्श गरिन्।
"आनी!तिम्रो धार्मिक दर्शन जति सुन्दर छ,तिमी पनि त्यतिनै सुन्दर छ्यौ।तिमी शारीरिक रुपले मात्र नभई मानसिक दृस्टिकोणले पनि उतिकै सुन्दर छ्यौ।मैले सोचेको थिएँ कि आनीहरु पूर्णरुपमा धर्ममा समर्पित हुन्छन्।मलाई थाहा थिएन कि अझै पनि आनीहरुमा माया,रिस जस्ता संवेदनाहरु जीवितै हुन्छन् भनेर।हुनुपनि पर्छ।मलाई लाग्छ तिमी क्षणिक समयको लागि विश्राम गर्न त्यहाँ अर्थात गुम्बामा गएकी हौ।जीवनदेखि हार मानेर जीवनरुपी हवाइजहाजलाई सुरक्षित अवतरणको लागि त्यहाँ गएकी हौ।त्यो बिन्दु नै तिम्रो अन्तिम गन्तव्य हैन।चौतारीरुपी गुम्बाबाट पुनः तिमीले यात्रालाई निरन्तरता दिनुपर्छ।जुन सपना देख्न तिमीले जबर्जस्ती छोडेकी थियौ,त्यो सपना देख्न थाल्नुपर्छ।एउटा अपांग जस्तो बसिरहनु हुन्न।जसरी एउटा गाडी गन्तव्यमा पुग्न राउन्डाबाउटमा घुम्न छोडेर अर्को बाटो रोज्नुपर्छ,त्यसरी नै जीवनलाई अगाडि बढाउन स्थिर बसेर हुन्न।बढिरहनुपर्छ,चाहे बाटो जस्तोसुकै अक्कर किन नहोस्।त्यसैले आनी,म तिम्रो यात्राको सहयात्री बन्न चाहन्छु।र तिम्रो गन्तव्यको एक सहयोगी पात्र पनि।हो आनी,साँच्चिकै तिमीले भने जस्तै म तिमीलाई अतिनै मनपराउँछु।तिमीलाई साँचो माया गर्छु।चाहे तिमी मलाई माया नगर,तर मैले त तिमीलाई माया गर्न सक्छु नि हैन र?कि मेरो मायालाई रोक्न चाहन्छ्यौ र?सक्छ्यौ भनेर रोकेर देखाउ।मैले माया गरेको तिमीले देख्ने पनि छैनौ।मेरो छातीभित्रको ढुकढुक गर्ने मुटुलाई फोडेर हेर,च्यातेर हेर,तैपनि थाहा पाउने छैनौ।तिमी नै भन तिमीप्रतिको मेरो मायालाई प्रदर्शन गर्न के गर्नुपर्यो?तिमी जे भन म गर्न तयार छु।कि ज्यानै दिनुपर्यो?तर ज्यानै दिएर तिमीलाई कसले माया गर्छ?तिमीलाई माया गर्न पनि मैले बाँच्नुपर्छ।तर मायाको प्रमाण नै खोज्छ्यौ भने त म जस्तोसुकै हदसम्म जान सक्छु।यदि मैले जीवन उत्सर्ग गरेर तिमीलाई खुशी मिल्छ भने किन नगर्ने?अब तिमी नै भन,माया गर्ने भौतिक शरीर चाहिन्छ कि शरीर बिनाको आत्मा मात्र?अबको चौबिस घण्टामा तिमीले आफ्नो निर्णय सुनाएनौ भने मलाई कहिल्यै देख्न पाउने छैनौ।अर्को जूनीको लागि माथि गएर पर्खिनेछु।"
किशोरको म्यासेजले आनीको मनको दुनियाँमा अप्रत्याशित परिवर्तन आयो।उनी बाँचेको संसार अचानक उराठ्लाग्दो र बिरानो हुन थाल्यो।गुम्बामा बलिरहेका द्धीपहरु हावाको एकै झोक्कामा निभे झैं।संगीतमय धुन पनि स्तब्ध।जुनेली रात पनि औंसी झैं अन्धकार।मनको गगनमा घनाघोर कालो मेघ मडारिन थाल्यो।आँखाबाट भारी वर्षा भयो।उनको शरीर थरथर काम्न थाल्यो।मुटु गह्रौं भएर आयो।उनी सरासर दौडेर बेडमाथि घोप्टो परेर सुँक्क-सुँक्क गर्न लागिन्।एकैछिनमा आतिएर जुरुक्क उठेर भन्न थालिन्-
"कतै किशोरलाई केही त हुन्न?यदि केही भैहाल्यो भने....?मैले बाँचेको के अर्थ?"
फेसबुक खोलेर किशोरको वालमा कुनै स्ट्याटस लेखिएको छ कि भनेर हेरिन् तर केही थिएन।उनको मुटुको गति तेज भएर धड्किरहेको थियोे।औंला कमाउँदै म्यासेज लेख्न थालिन्।
"किशोर!मेरो कारण तिमीले कुनै गलत निर्णय नलिनु।मैले तिम्रो मनोभावना बुझेकी छु।म कुनै ढिलाइ गर्न चाहन्न।मेरो ढिलाइको कारण तिमीले भयंकर निर्णय लियौ भने म त जिउँदै मर्छु।म तिमीलाई चाहन्छु किशोर।म हृदय देखि नै तिमीलाई साँचो माया गर्छु।तर यो समाजको नजरमा म कलंकित हुने भएँ।एउटी आनीले कुनै पुरुषसंग प्रेम गर्दै हिंड्नु स्वभाविकैले शोभनीय कुरा हैन।परिणाम जेसुकै भएपनि म तिमीलाई तत्काल भेट्न चाहन्छु।भोलि गोकर्णको जंगलमा मलाई भेट्न आउनु।तिमीसंग धेरै कुरा गर्नुछ।मेरो अतीतलाई तिम्रो सामू छताछुल्ल पार्नुछ।यदि मेरो अतीत थाहा पाएर पनि तिमी मलाई चाहन्छौ भने ठिकै छ।म ठोकुवा गरेर भन्छु,तिमी भाग्नेछौ मबाट।सायद तिम्रो सुन्ने हिम्मत पनि हुनेछैन होला।बाँकी कुरा भेटमा।"
म्यासेज त हतास भएर पठाइन् तर पठाइसकेपछि उनको होस उडे झैं भयो।मनमा भयको भुकम्प आयो।हलचल पैदा गर्यो।धर्तीमा आएको भुकम्प बरु एक दुई मिनेटमा समाप्त हुन्छ तर उनको मानसिक भुकम्पले लगातार हल्लाइरह्यो।मनको पर्खाल चिरा-चिरा भयो र कति ठाउँमा दरार देखिए।उनले सही या गलत के गरिन् भनेर आफैंले छुट्याउन सकिनन्।उनी दोधारमा परिन्।उनको भबिश्यको ज्योती क्षणमै बल्थ्यो र क्षणमै निभ्थ्यो।जिन्दगीमा उनी त्यो भन्दा गम्भीर सायद भएकी थिइनन्।अनि यति भयभीत थिइन् कि लडाइँमा जाँदै गरेको सिपाही त्यति भयभीत हुँदैनन् होला।लामो सुस्केरा हालेर सुत्ने चेष्टा गरेपनि निद्रा दूर-दूरसम्म नजर आउँदैनथ्यो।आँखा अझै ओभानो भैसकेका थिएनन्।आँसु पुछ्दा-पुछ्दा आँखा सुनिएका थिए।झनझन बेचैनी बढिरह्यो।एकपल्ट जुरुक्क उठेर भित्ताको घडीमा नजर लगाइन्।एक बजिसकेको रहेछ।आवाज नआउने गरेर झ्याल खोलेर बाहिरको दृश्य अवलोकन गरिन्।जूनले धर्तीको साथ अझै छोडेको थिएन।निर्जन जुनेली रातमा धेरै परसम्म नजर दौडाइन्,बिना उदेश्य।रुख बाहेक अरु केही नजर आएनन्।किराहरुको किर-किर आवाजले उनको एकाग्रता भंग गर्यो।केही बेर त्यही किराहरुको गीत सुनेर मन बहलाएर पुनः बेडमा पस्दा ३ बजिसकेको रहेछ।भोलिको कौतुहलतासंगै झ्याप्पै निंदाइन्।
२ घण्टाको छोटो बिश्रामपछि ५ बजे उनका आँखा खुलिहाले।बिहानी प्रहरको पूजापाठ लगायतका नित्यकर्म सकेर उनले गुरुसंग बिदा मागिन्।
"गुरु!आज मलाई मेरो आफन्त भेट्नुपर्ने अत्यन्तै जरुरी काम छ।छुट्टी दिनुहोला।"-उनले सम्भोट भाषामै भनी।
"तँलाई जरुरी छुट्टी चाहिए लेउ न त,मैले कहिले नाइँ भनेको छु र?"-लामा गुरुले पनि उस्तै भाषामा जवाफ दिए।
चिया र खाजा मात्र खाएर उनी आनीकै भेषमा गोकर्णको जंगलतिर प्रस्थान गरिन्।प्रत्येक पाइला उनको लागि किम्ती थियो।गुम्बाकै वरिपरि मात्र सामान्य घुमघाम गरेको १० बर्ष बितिसकेको रहेछ।उनलाई त्यही दुई किलोमिटरको दूरी हिंड्न असहज भयो।तर किशोरसंग भेट्ने चाहले असहजतालाई सहज बनायो।गोडाहरु फतक्क गलिसकेका थिए तर जबर्जस्ती पाइला अगाडि बढाइन्।चिट-चिट पसिना निस्केको अबस्थामा उनी गोकर्ण डाँडाको जंगलमा पुगिन्।शनिबारको दिन भएकोले अरु धेरै जोडीहरु अंगालोमा बाँधिएका थिए।कोही पिकनिक मनाउन ब्यस्त थिए।कपन गुम्बादेखि देख्न नसकेका नयाँ दृश्य हेरेर आनी मख्ख भइन्।सिरीसिरी हावा चलिरहेको र मौसम बिल्कुल साफ।कोही हाप पाइन्ट,कोही स्कर्ट र कोही जिन्सको पाइन्टमा सजिएका केटाकेटीहरु धेरैको नजर आनीमाथि थियो।उनलाई त्यो वातावरणमा घुलमिल हुन निकै गाह्रो भयो।तैपनि कसैको वास्ता नगरी उनका एक जोडी आँखाले किशोरकै खोजी गरिरहे।किशोरको अनुपस्थितीले उनलाई घरीघरी चोट पुर्यायो।अमूल्य सामान हराए झैं खोजी गरिरही।
दुई हातको साहाराले आनीका दुबै आँखा बन्द गरिए।आनीले पनि दुबै हातकै साहाराले उसका हातहरुमा सुस्त-सुस्त स्पर्श गर्दै छामिन्।ती हातहरुले उनका आँखाहरु नभई भित्री मन पनि छोएको आभास भयो।बिस्तारै उनले हातका पाखुराहरु पनि छामिन्।अलिकति परिचित,अलिकति अपरिचित जस्तो।अलिकति आफ्नो र अलिकति बिरानो जस्तो।बर्षौंदेखिको स्पर्श जस्तो।पहिलो स्पर्श जस्तो लाग्दै लागेन उनलाई।तर फलानो नै भनेर ठम्याउन किटान गर्न भने चुकिन्।तर उनले सोचिन्-"मलाई यो एकान्तमा जिस्क्याउने अरु को नै हुनसक्छ र?किशोरले बोलाएपछि अरु हुनै सक्दैन।तर यो मान्छे किन मलाई किशोर जस्तो नभएर अर्कै लागिरहेछ?यो मेरो भ्रम मात्र हो।किशोरकै नामले बोलाउँछु जे पर्ला-पर्ला।"
"किशोर!"-उनले सुमधुर स्वरमा बोलाईन्।
बन्द आँखाहरु खुल्ला भए।एकछिन त प्रष्ट देख्नै सकिनन्।
"आम्मै आनी,कसरी चिन्यौ?"
"तिमी बाहेक अरु को नै हुनसक्छ र यहाँ?"
फरक्क फर्किँदै उनले जवाफ दिई।नभन्दै उनले सम्बोधन गरेको नामको ब्यक्ति अरु कोही नभएर किशोर नै थियोे।तर उनले सोचे भन्दा पनि बिल्कुल फरक थियो उसको जीउडाल।फोटोमा देखेको भन्दा सुन्दर र आकर्षक।उनी मख्ख भएर उसलाई नियाल्न थालिन्।उनको मनले अझै भन्दै थियो-"किशोर नै हो त?"
तर साक्षात्कार भेटले प्रमाणित गरिरहेको थियो कि त्यो किशोर नै थियोे भनेर।उनी किशोरको रुपमा हराइरहेकी थिई।उता किशोर भने आनीको आकर्षणमा पागल भैसकेको थियो।गहुँगोरी बर्णकी आनी गेरुबस्त्रले सजिँदा स्वर्गकी अप्सरा भन्दा कम लागेन उसलाई।
"मेरी आनी!म कति तड्पें तिमी बिना।वास्तवमा म मरेरै जिएको थिएँ।कसम आनी!"
यति भन्दै उसले आनीलाई गर्ल्याम्मै अंगालो हाल्यो।आनीले पनि उस्तै गरिन्।एकले अर्काको ढाडमा सुम्सुम्याएर प्रेम प्रदर्शन गरे।निकैबेरसम्म अंगालोमा हराएपछि आनीले आँतिदै झट्ट फुत्केर अलग भई,मानौं त्यहाँ गम्भीर अपराध भएको थियो।
"नाइँ!यो हुनै सक्तैन।म बाट यस्तो भुल हुनै सक्तैन।पाप हुनै सक्तैन।म एउटी आनी हुँ।यस्तो गर्न मेरो धर्मले दिँदैन।"-आनीले हतोत्साहित हुँदै भनिन्।
"के माया गर्नु पाप हो र आनी?यो त भगवानले दिएको एउटा अमूल्य उपहार हो,ग्रहण गर्नु हाम्रो दायित्व र कर्तव्य हो।"-किशोरले सम्झायो।
"हो किशोर,म तिमीलाई माया गर्न थालेकी छु।सायद तिमी बिनाको मेरो जीवन जिवित नै नहोला।हिजोसम्म बाँचेकी थिएँ र अब सक्तिन हुँला।तर मैले हद र सिमा पार गर्न पनि मिल्दैन।यो आनी पोशाकको खिल्ली उडाउन सकिन्न।यो पोशाक मात्र हैन,पथप्रदर्शक हो मेरो लागि।जीवनको अर्थ यसैले सिकाएको छ।यो पोशाकमा यस्तो हर्कत गरेर म आफूलाई नीच बनाउन चाहन्न किशोर।?
किशोरले उनको मुडुलो शीर सुम्सुम्याउँदै भन्यो-"त्यसो नभन आनी!म तिमीलाई नयाँ परिचय दिन चाहन्छु।तिमी जुन मुक्तिको कुरा गर्थ्यौ नि,वास्तवमा तिमी जेलमा थियौ आजीवन कैदी बनेर।बिना कसुरको कैदी।बिना अपराधको कैदी,मानौं तिमीलाई कसैले जानीजानी फसाएको थियो।म तिमीलाई जेलमुक्त बनाउन चाहन्छु।वास्तवमा तिमीलाई गेरुबस्त्र पोशाकरुपी जञ्जीरले बाँधिएको छ।तिमी एउटी बिधुवा जस्ती भएर बाँचिरहेकी छ्यौ।फरक केवल पोशाकको रंगमा मात्र छ।बिधुवाको पहिरन सेतो हुन्छ भने तिम्रो रातो।तर जीवनशैली उस्तै।उस्तै नियमले बाँधिएका।तिम्रो त्यो जेल जस्तो गुम्बा तोडेर बाहिर निस्कने कोसिस गर आनी।साथ दिन म तयार छु।"
यति भन्दै किशोरले आफ्नो ओठ जबर्जस्ती लगेर आनीको ओठसंग ठक्कर दियो।
"खबरदार!मेरो धर्म र पहिरनको बारेमा नकारात्मक टिप्पणी गर्ने अधिकार कसैलाई छैन।गुम्बा जेल हैन बिश्वबिद्यालय हो।यो रातो पहिरन शान्ति,प्रेम र सत्यताको प्रतीक हो।गैहाल तिमी यहाँबाट।"
उनले किशोरको ओठ हटाउँदै चिच्याईन्।
वरिपरिका मान्छेहरु क्वारक्वारती उनीहरूको दृश्य हेरिरहेका थिए मानौं त्यहाँ निकै रोचन नाटक मञ्चन हुँदै थियो।कोही रोमाञ्चित,कोही चकित, कोही अनौठो पाराले र कोही जिब्रो निकालेर शीर हल्लाउँदै थिए।
"राम!राम!के देख्नुपरेको?"
"नीच आइमाई!"
"कस्ती नकाचरी रैछे!"
"कन्या केटी पाएन क्या हो मोरोले!"
मान्छेहरु यस्तै-यस्तै प्रतिकृया दिइरहेका थिए।कोही भने एक-आपसमा कानेखुसी गर्न थाले तर त्यो वातावरणमा प्रश्ट भने सुनिएन।समग्रमा मान्छेहरु यस्तो नजरले हेरिरहेका थिए,मानौं आनी एउटी नारी नै हैन,उनको प्रेम गर्ने अधिकार नै छैन र उनी धेरै बच्चाकी आमा हुन्।झन आश्चर्यको कुरा त के भने किशोरको बारेमा कसैले नकारात्मक टिकाटिप्पणी गरेको देखिएन,सायद उ पुरुष भएकैले होला।एकमुष्ट गल्ती आनी एक्लैले एकतर्फी रुपमा गरेको देखियो साक्षीहरुको नजरमा।तर ती दुई पंक्षीहरु भने आफ्नै सुरमा ब्यस्त थिए।अन्यत्र तिर ध्यानै थिएन,मानौं उनीहरू दुई मात्र थिए त्यहाँ।तैपनि उनीहरू मिलेर स्वतन्त्रपूर्वक नीलगगनमा उड्न भने सकिरहेका थिएनन्।पिंजडामा राखिएका सुगा जस्ता अबला थिए।बाध्य थिए।लाचार थिए।
"मलाई माफ गर आनी,मैले गलत सोच्न पुगेछु।तिम्रो मुक्त जिन्दगीमा मैले दख्खल दिन पुगेछु।तिम्रो सिद्धान्तलाई मैले परिवर्तन गर्न खोजेछु।म गलत रहेछु,तिमी सही छयौ।तर तिमी छातीमा हात राखेर भन्न सक्छ्यौ मलाई माया गर्दिनौ भनेर?आफूले आफैंलाई कसरी धोका दिन सक्छ्यौ तिमी?फेरि पनि मलाई माफ गर आनी।हाम्रो बाटो अलग छन्।तिमी जान सक्छ्यौ र म पनि जान्छु।तर जाँदा-जाँदै एकपल्ट तिमीलाई चुम्न चाहन्छु।अलबिदा!"
किशोरले आनीको निधारमा चुमेर फटाफट आफ्नो बाटो तताउन थाल्यो।
"किशोर!तिमी निर्दयी हुन सक्तिनौ।मलाई यस्तो हालतमा छोडेर जान सक्तिनौ।"
उनले किशोरको हातमा च्याप्प पक्डेर चुम्बनको वर्षा गराउन थालिन्।उसको हात र अनुहार कतै खाली रहेनन्।यदि अरु स्त्री जस्तै ओठमा लिपिस्टिक लाएकी हुँदी हो त कपडाले नछोपिएका उनका शरीरका भागहरु रंगीन हुन्थे होलान्।तर आनीको चुम्बनको निशाना रहन सकेन।वातावरण कहिले प्रेमिल,कहिले भावुक र कहिले रोमाञ्चक बन्दै थियो।
"किशोर!धर्म नै मेरो जीवन हो।मेरो सिंगो शरीर हो।तिमी पनि मेरो मुटु हौ।अब तिमी आफैं भन म शरीर त्यागुँ या मुटु?दुबै बिना शरीरको अस्तित्व छैन।म धर्मसंकटमा फसेकी छु किशोर!तिमी आफैं भन म के गरु?तिमी र धर्मको संयोजनबाट निर्मित एक खालको भूमरिमा परेकी छु।मलाई त्यो भूमरिबाट निकाल किशोर!मलाई निकाल।नत्र म बाँच्न नसकुँला।मलाई मर्न दिने या बचाउने,तिम्रै जिम्मामा।बश म त एउटी निरीह प्राणी भएकी छु।के गर्छौ किशोर?"
"मैले त भनिसकें नि आनी!म तिमीलाई अनगिन्ती,अथक र अनवरत माया गर्छ,जसको कुनै सीमा,परिमाण र परिधी छैन।यी धर्म,संस्कृति र नियम भन्ने कुरा मानवजातिले निर्माण गरेका हुन्।हाम्रो जिन्दगीको फैसला आफैंले गर्नुपर्छ र गर्न पाउनुपर्छ।प्रेम मात्र शाश्वत सत्य हो,अरु सबै मिथ्या हुन्।सबै भौतिक चीजहरुको अन्त्य बिश्चित छ तर प्रेम युगौंयुगसम्म अजर र अमर रहन्छ।धर्म भनेका असल पाठ र अनुशासन मात्र हुन्।आउ आनी हामी आफ्नै बिशुद्ध धर्मको प्रतिपादन गरौं।आफ्नै नियम र कानून बनाऔं।सच्चा प्रेम भन्दा अर्को संसारमा कुनै गतिलो सिद्धान्त,कानून र अनुशासन छैन।यो दुनियाँ बाहेक अर्को छुट्टै दुनियाँ बसालौं जहाँ सिर्फ तिमी र म होस्।राजी छ्यौ हैन तिमी?आउ हामी प्रेमको नयाँ कथा रचौं।इतिहास रचौं।तिम्रो साथ पाए असम्भव केही छैन।प्रेम भन्दा शक्तिशाली अर्को कुनै शक्ति छैन।संसार जलाउनलाई आगो नै किन चाहियो र प्रेम नै काफी छ।दिन्छयौ हैन साथ?"
"मलाई माफ गर किशोर।अहिले निचोडमा पुग्न सकिन।कुन बाटो सबैभन्दा सुरक्षित हो र कुन खतरनाक,मैले छुट्याउन सकिरहेको छैन।मलाई एकदुई दिनको अल्टिमेटम देउ न है।जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हचुवा र हतारमा गरेर पनि त भएन।हामीले जीवनको नयाँ अध्यय शुरु गर्नु पूर्व एक-अर्काको अतीत लाई पनि त बुझ्न र स्वीकार्न सक्नुपर्छ।तिम्रो कस्तो छ कि तर मेरो अतीत तीखो काँडा जस्तै बिझाउने खालको छ।सायद तिमीमा सुन्ने साहस नै छैन।"
"ए साँच्ची,तिमीले आफ्नो अतीतको कुरा गरेकी थियौ।सुन्न मिल्छ भने र मलाई आफ्नो ठान्छ्यौ भने सुनाउ न।हिम्मत जुटाउँला नि के भो र!"
"अहिले जति माया मलाई गर्छौ नि त्यति नै घृणा अतीतको कहानी सुनेर गर्नेछौ।हामी असल साथीमै सिमित हौं किशोर।त्यो भन्दा माथि जान सक्तैनौं।"
"मैलेत तिमीलाई जीवनसाथीको नजरले हेरिसकें आनी।तिम्रो जस्तोसुकै भयंकर,दु:खद या घिनलाग्दो कहानी नै भएपनि म तिमीलाई स्वीकार्न तयार छु।मैले तिम्रो शरीरलाई हैन,तिम्रो मनसंग माया साटेको छु।भन आनी भन,यो मुटु चुँडिएर किन नजाओस्,तिम्रो कहानी सुन्न र तिमीलाई आफ्नो जीवनसाथी मान्न तयार छु।"
"किशोर,तिम्रो महानतालाई म हृदयदेखि नै सलाम गर्छु।तर सबै कुरा आजै भनें भने भोलिको लागि बताउने केही बाँकी रहनेछैन।आजको भेटको लागि धन्यवाद।भोलिको भेटघाटमा अवस्त भन्नेछु।धैर्य गर न एक दिन।"
"तिम्रो इच्छा बिपरित म कसरी जान सक्छु र आनी।सकिन्छ भने आजै सुन्न आतुर छु म।मेरो प्रतिक्षाको बाँध टुटिसक्यो।अहिल्यै भनिनौ भने सायद कौतुहलताको ज्वारभाटाले मेरो मुटु फोडेर तहसनहस पार्नेछ।म पागल हुन सक्छु।"
"हैन किशोर,मेरो अतीतलाई स्वीकार्न तिमीले सोचे जस्तो सजिलो छैन।तिम्रो दिल दुखाउन चाहन्न।साथै जस्तो असल साथीलाई गुमाउन पनि चाहन्न।"
"म प्रतिज्ञा गर्छु-जस्तोसुकै कहानी भएपनि म तिम्रो साथ दिन्छु।"
"धन्यवाद किशोर।तर आज हैन।भोलि पक्कै भन्नेछु।मेरो जीवनको आरोह र अवरोह लाई अवश्य बिस्तृतरुपमा बर्णन गर्नेछु।बरु तिम्रो मुटुमा फलामले लेमिनेसन गरेर आउ।"
आनीले त्यति भनेपछि उसले थप कर गर्नै सकेन।चुपचाप शीर हल्लाएर उनको शर्त स्वीकार्यो।तर मनमा उत्सुकताको भुकम्पले हलचल मच्चाइरह्यो।एकचोटि उनीहरू जोडले अंगालोमा बाँधिए र भोलिसम्मको लागि आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरे।
त्यो रात दुबै जनालाई निंदाउन हम्मेहम्मे भयो।कहानी कसरी सुनाउने चिन्ता आनीको मनमा ब्याप्त थियोे भने किशोरले कसरी सुन्ने भनेर चिन्तित भयो।के होला र कसो होला भनेर धेरै बेरसम्म लख काट्यो उसले तर बिषयको नजिक पुग्नै सकेन।उनीहरू एकअर्काको मायामा झन पूर्णरुपमा फसिसकेका थिए।उम्कने मौका कमै थियो।एकले अर्काको निद्रा हरण गरिसकेको थियो।चोरिसकेको थियो।सायद मन चोरी भएकोले नै हुनुपर्छ तनहरु छट्पटिएका।शिरकले मुख नछोपे जाडो हुने र छोपे उकुसमुकुस।आनीलाई कहानी कसरी सुनाउने भन्ने पीर र किशोरलाई कहानी कस्तो होला भन्ने जिज्ञासा।मनमा अनेक उत्सुकताका छाल र तरंग पैदा भए।मुटुका धड्कन यति तेज थिए कि धड्केको आवाज पनि तोप पड्के सरहको लाग्थ्यो।आँखाहरु चिम्लिंदा-चिम्लिंदा दुखिसकेका थिए।मनको बह र निद्राको बीचमा धेरै बेरसम्म अन्तर्संघर्ष भैरहे।द्धन्द चलिरह्यो।छातीभित्र गृहयुद्ध भैरह्यो।दुबै तर्फबाट युद्धबिराम हुने संकेत देखिएन।निद्रालाई मनको बहले पेलिरह्यो।निद्रादेवीले लगभग हार स्वीकार्ने संकेत देखियो।अनिंदोले शरीर लखतरान भएकोले कतिखेर निद्राले जित्यो पत्तै भएन।सुनौला सपना देख्दादेख्दै दुबै जना भुस भए।
No comments:
Post a Comment