भाग-६
गोकर्णको उहीँ हरियाली मनमोहक दृश्य।आइतबारको दिन भएकोले मान्छेको खासै चहलपहल थिएन।बिहान दश बजेको प्रहर।सूर्यले आफ्नो भएभरको शक्ति खर्चेर धरातललाई निकै तताइसकेको थियो।कलिला किरणहरु क्रमशः छिप्पिँदै थिए।हिजो र आजमा फरक यो थियो कि-आनी भन्दा किशोर अघिनै पुगेर प्रतिक्षारत थियो।आनीको बाटो हेर्दाहेर्दै आँखा गलिसकेका थिए।निकै परसम्म पनि आनीको आगमन नदेखेर उ टोलाउन थाल्यो।आफ्नो टी-सर्ट उचालेर छातीतिर एकोहोरो हेर्यो र दायाँ हात लगेर सुम्सुम्यायो,मानौं त्यहाँ उसको अविस्मरणीय चिनो थियो।फेरि आनीकै बाटो हेर्न थाल्यो।अहिले भने बाटोले उसको मुहारमा मुस्कान भरिदियो।गेरुबस्त्रमा सजिएर आनी यतै आउँदैथिई।उसको हर्षको सिमा रहेन।उ जुरुक्क उठेर खुशी मनाउन थाल्यो।एकैछिन अघि उजाड लागेका वातावरण उसलाई एक्कासी बडो प्रेमिल लाग्न थाल्यो।संसार नै बसन्तको बहारले रोमाञ्चक बनायो।उ बुरुक-बुरुक उफ्रिन थाल्यो।आनीका पाइलाहरु उसको समिपमा सर्दै थिए।उनीहरुको दूरी झनझन कम हुँदै थियो।उसको नजरमा हिजोको भन्दा राम्री देखिएकी थिई आनी।किशोरले आनीलाई प्रष्ट देखिरहेको थियो तर आनीले उसलाई देखेकी थिइनन्।कारण-किशोरलाई सल्लाका रुखहरुले छेलिएका थिए।आनी नजिकै पुग्दै गर्दा उसले एकाएक नाटक गर्न थाल्यो।झोक्राएर बस्न थाल्यो,मानौं उसले आनीलाई देखेकै थिएन।एकोहोरो भुइँमा हेरेर टोलाउन थाल्यो।उसलाई देखेर आनीले पनि पाइलाको गति कम गर्न थालिन्।आवाज नआउने तरीकाले पाइला बढाइन्।उनले हिजो किशोरले गरेकै हर्कत गरिन्।किशोरले आफ्नो आँखामा राखिएका हातलाई निकैबेर सुम्सुम्यायो।
"को हो?भन न को हो?मैले चिन्न सकिन।अँ...पक्कै पनि आनी नै हुनुपर्छ।तिम्रो स्पर्श र वास्नाले नै भनिसक्यो कि तिमी आनी हौ।"
आनीले दुबै हात हटाउँदै भनी-"ए!कसरी चिन्यौ?कति बाठो के तिमी त!"
किशोरले आफूलाई स्पर्शबाटै चिनेकोमा उनले खुशी ब्यक्त गरी।किशोरले आफूलाई सम्हाल्नै सकिरहेको थिएन।आनीको माया पाउन आतुर थियो।दुबैले नजर जुधाए।एक-अर्काका आँखामा उनीहरुले आफ्ना प्रतिविम्ब देखे।
"के देख्यौ आनी मेरो आँखामा?"
"मैले आफूलाई देखें।अनि तिमीले?"
"आनी!मैले आफू मात्र देखिन।सिंगो संसार देखें।तिम्रो माया देखें।"
यति भनेर उसले आनीलाई अंगालो हाल्यो।आनीले पनि साथ दिई।उनीहरू निकैबेर अंगालोमै हराए।दुनियाँ बिर्से।उसले आनीका ओठ,निधार र गलातिर चुम्न थाल्यो।आनीलाई असह्य भैसकेको थियो।
"नाइँ!यो हुन सक्दैन।मबाट यस्तो कदापि हुनै सक्दैन।यो सरासर महापाप हो।मैले ठूलो भूल गरें।ॐ माने पेमे हुँ.......।"
यति भन्दै हतोत्साहित हुँदै उनी किशोरको अंगालोबाट मुक्त भईन्।फरक्क बिपरित दिशामा फर्केर पश्चातापको ज्वालासंगै जल्न थालिन्।
"के पाप गर्यो र तिमीले?प्रेम गर्नु पाप हो भने संसारमा कोही धर्मात्मा छैनन्,सबै पापी मात्र।जीवजन्तुहरु सबै पापी।संसार नै पापले भरिपूर्ण छ।तिमी गलत बोल्दैछ्यौ आनी।प्रेम गर्नु पाप हैन धर्म गर्नु हो।प्रेमको जालमा फसाएर धोका दिनु मात्र पाप गर्नु हो।तिमी एउटी आनी मात्र हैनौ,एउटी नारी पनि हौ।एउटी नारीको धर्म पुरुषलाई खुशी बनाउनुमा छ।त्यस्तै पुरुषको धर्म नारीलाई खुशी बनाउनुमा।संसारमा प्रेमको परिभाषा र दायरा त्यति संकुचित छैन आनी,यो त बृहत र फराकिलो छ।"
"त्यो तिम्रो सिद्धान्तले भन्छ होला किशोर मेरो सिद्धान्तले हैन।केवल आकर्षण र कामबासना मात्र प्रेम हैन।त्याग र तपस्या पनि प्रेम हो।वैवाहिक जीवनमा बाँधिएर चोट र अविश्वासमा जिउनु पक्कै धर्मको पाटो हैन होला।संगै बाँच्ने-मर्ने कसम खानु मात्र ठूलो कुरा हैन,निभाउनु ठूलो कुरा हो।कसैको सम्बन्धमा जोडिए पछि उसको हरेक ईच्छा र शर्तहरु पूरा गर्नुपर्यो।जुनसुकै बेला मान्छे सफल हुँदैनन्।जानी-नजानी कसैको चित्त दुखाइन्छ।चोट पुर्याइन्छ।हो,त्यो नै पाप हो।म पाप गर्न चाहन्न।"
"बहस गरेर कहिल्यै सकिन्न आनी।म तिमीलाई आफ्नो बनाउन चाहन्छु।मेरो शरीरको अंग बनाउन चाहन्छु।कुरो र कुलो जता लगे उतै जान्छ।यो बहस गर्ने बेला हैन आनी।"
"हैन किशोर,प्रेम त्यति सहज छैन संसारमा।त्यति सस्तो पनि छैन।यदि प्रेम सहज हुन्छ भने त्यो प्रेम क्षणिक हुन्छ।दिगो हुँदैन।मैले भनिहालें नि मेरो अतीत दु:ख र पीडाहरुको अथाह सागरले भरिएको छ।दर्दनाक कथाले भरिएको छ।जुन कथा सुनेर तिम्रो धारणा ३६० डिग्रीमा मोडिन्छ।"
"ए साँच्ची,तिम्रो अतीतको कथा सुनाउ न।तिम्रो कथाले मेरो मनमा आँधीबेहरी ल्याए पनि म तिमीलाई अर्धाङ्गीनीको रुपमा स्वीकार्नेछु।म माथिको सूर्य राखेर कसम खान्छु।"
"त्यसो भए सुन,म सुनाउँछु।"
नेपालको राजधानी काठमाडौ देखि पूर्वी दिशामा अरनिको राजमार्ग हुँदै करीब ५/६ घन्टाको बसयात्रा अर्थात २०३ किलोमिटर दूरी तय पश्चात् एक प्रसिद्ध पर्यटकीय स्थल जिरी पुगिन्छ।जिरी बजार देखि करीब ३ घण्टाको उतरपूर्वी पैदलयात्रा पश्चात् चेर्दुङ पहाड पुगिन्छ।जहाँ चिसो मौसम हुनुको साथै बाह्रै मास प्रायः वर्षा भैरहन्छ।पुस-माघ महिनामा हिउँ पर्नु त सामान्य नै भए।अधिक मात्रामा ठिंग्रे,त्यसपछि लालीगुराँस,चिमल,अंगेरी र चाँपका रुखहरुले त्यहाँका वातावरणलाई सदाबहार बनाइरहेका हुन्छन् भने ती घना बनजंगलमा बाघ,भालु,चितुवा,खरायो,मृग,झारल,कस्तुरी,ब्वाँसो र स्याल जस्ता वन्यजन्तुहरुले राज गरेका हुन्छन्।त्यस्तै सप्तरंगी डाँफे,मुनाल,मयूर र अन्य चराचुरुङ्गीहरुले थप रंग भर्ने काम गरिरहेका हुन्छन्।ठाउँ-ठाउँमा खर्क,समथर फाँट,उकाली,ओराली,नांगे पहाड,खोंच,भीर,पाखा,खोला,छाँगा,छहरा र पहराहरुले चेर्दुङ र वरिपरिका भु-भागहरुलाई सुन्दर बनाउने काम गरिरहेका छन्।त्यहाँका हरेक चीजहरुले आ-आफ्ना कर्तब्य निभाइरहेका हुन्छन्।चेर्दुङ पहाडका वरिपरि धेरै नामका खर्कहरु छन्,जहाँ चौंरी गाईहरु निर्बाधरुपमा चरिरहेका हुन्छन्।प्यामादिङ,तीनचुली,क्याङ्सीर र मानेडाँडा मुख्य र चर्चित खर्कहरु हुन्।चेर्दुङ देखि ठिक दक्षिणी भेगमा निकै बाक्लो गाउँबस्ती छ जसलाई यलुङ भनेर चिनिन्छ।यलुङमा प्रायः जसो निम्नस्तरका मानिसहरु बसोबास गर्छन्।यहाँका मानिसहरुको मुख्य पेशा क्रुषी,चौंरीपालन र वैदेशिक रोजगार नै थिए र हुन्।यलुङ गाउँकै एक सामान्य परिवार।चौंरी पालन मुख्य ब्याबसायी भएकोले चेर्दुङतिरै थियो हाम्रो परिवारको बसोबास।म लगायत दुई दाजुभाइ र दुई दिदीहरुको जन्म यही जंगलमा भएका थिए।हावा र पानी पनि सजिलै छिर्न सक्ने छाप्रो अर्थात गोठ नै हाम्रो लागि घर हुन्थे।बिहान बेलुका चौंरीको दूध दुहेर डेरीमा पुर्याउने आमाबाबाको दैनिकी थियोे।गाईलाई खासै गोठालोको आवश्यकता हुन्नथ्यो तर साँझमा ठिक समयमा गोठ नफर्के खोज्नुपर्थ्यो।कुवाको पानी ओसार्ने,दाउरा काटेर पुर्याउने र गाइलाई खोले दिने काम हामी दाजुभाइ र दिदीबहिनीका हुन्थे।बाबा या आमा मध्ये एकजना भने गाइको मल बोकेर गाउँमा पुर्याउनु र खेतीपाती हेर्नुपर्थ्यो।गाउँमा फलेका अन्न पानीघट्टामा पिनेर गोठसम्म पुर्याउने र बेलाबेलामा जिरी बजार गएर चामल,नुन र मैदा बोकेर चेर्दुङ लेकसम्म पुर्याउने काम सजिलो पक्कै थिएन।तथापि गरिनैरहनुहुन्थ्यो।हाम्रो लागि दिनरात अहोरात्र खट्नुहुन्थ्यो।
मलाई सबै कुरा याद हुँदा म छ बर्षकी थिएँ।जेठी दिदी काठमाडौमा गलैंचा बुन्न जानुभएको थियो।दाइ पढ्नको लागि गाउँमै बस्नुहुन्थ्यो र शुक्रवार मात्र गोठमा आउनुहुन्थ्यो।माइली दिदी,म,भाइ र बाबाआमा मात्र गोठमा बसोबास गर्ने गर्थ्यौं।बाबाआमा बजार या गाउँ जानुभएको बेला गोठको रेखदेख गर्ने जिम्मा माइली दिदी र मेरो हुन्थ्यो।दिदी पनि घाँसपानी र दाउरामा जानुभएको बेला भाइ र म मात्र हुन्थ्यौं।म सानै भएकोले भाइले दिशा गरेको बेला पुछिदिन सक्तिनथें।दिदी आएर कुट्नुहुन्थ्यो।बाघ,भालु र भूत आउँला भन्ने डर खुब हुन्थ्यो।बाबाआमा आएपछि कुरा लाउँथें र दिदीले पनि कुटाइ खान्थी।भोलिपल्ट मौका हेरेर फेरि दिदीले कुट्नुहुन्थ्यो।पिटाइ यति खाइयो कि कुनै लेखाजोखा छैन।शरीरमा निलडाम हुन्थे।हाम्रो जम्मा २० वटा चौंरीगाई र १५ वटा बाख्रा थिए।एकदिन हाम्रो परिवारलाई ठूलो धक्का पर्यो।चौंरी चरनमा गएका थिए।हरियो र मीठो घाँस खाँदै-खाँदै ३ वटा गाईहरु कालोभीरतिर गएछन्।खै कसरी-कसरी चिप्लेर ३ वटै चौंरीगाई भीरबाट खसेर मरेछन्।महंगो गाईहरुको मृत्युले हाम्रो परिवारलाई महिनौं दिनसम्म रुवायो।शोकमय बनायो।म र भाइ सानै भएकाले ब्यथा र मर्म नबुझेर मौन बस्थ्यौं तर बाबाआमा,दिदी र दाइहरु सम्झी-सम्झी रुनुहुन्थ्यो।एक गरीब परिवारको लागि आघात पुर्याउन त्यति नै काफी थियो।हामी स-साना कुरामा खुशी हुन्थ्यौं।प्रायः जसो कपडाहरु टालिएकै हुन्थे।नयाँ कपडा लाउन कि ल्होसार कि दशैंतिहार नै आउनुपर्थ्यो।नयाँ कपडा लाउन पाएको दिन त स्वर्गमै पुगिन्थ्यो।चामलको भात खुब किम्ती हुन्थ्यो।खासै देख्न सकिन्न्थ्यो।आलु,पिंडालु,ढिंडो र जाउलो नै हाम्रो चौरासी-ब्यञ्जन थिए।तर दूध,घिउ र दही-महीको भने कुनै अभाव थिएन।गोठको रेखदेखको लागि एउटा ठूलो भोटे कुकुर थियोे।हाम्रो सुरक्षागार्ड भनेकै त्यही कुकुर थियो।तर कुकुरसंग जिस्किन नहुने रहेछ।एकदिन भाइले कुकुरलाई जिस्क्याउँदा खुट्टामा ख्वाप्पै टोकेको थियो।रगतको धारा बगेको थियो।त्यो दिन मैले पिटाइ खाएर भोकै सुत्नुपरेको थियो,मानौं भाइलाई मैले नै टोकेकी थिएँ।रगत भाइको बगेको थियो र आँसु मेरो।त्यो दिनदेखि मैले कुकुरलाई घृणा गर्न थालेकी थिएँ।तर बिडम्बनाको कुरा,त्यो घटनाको पाँचौ रातमा कुकुरलाई बाघले खाइदियो।खुब दया पलायो।मेरै श्राप लागेको होला भनेर खेद प्रकट गरें।धेरै दिनसम्म त्यही घटनाले सताइरह्यो।
एक दिनको कुरा हो,भाइ र म बाख्रा चराउन गोठदेखि निकै टाढा गएका थियौं।बाख्राहरु मस्त चरिरहेका थिए।हामी पनि गफ गर्न र खेल्नमै ब्यस्त थियौं।बाख्रा निकै पर पुगिसकेको भएपनि प्रष्टै देखिरहेका थियौं।अचानक कुकुर जस्तो जनावर बाख्राको हुलमा प्रबेश गरे।बाख्राहरु भाग्दै थिए।त्यो दृश्य हामीलाई रोमाञ्चक लागेको थियो।भाइ त्यो दृश्य हेरेर हाँस्दै थियो।खेल्ने काम सकेपछि हामी बाख्राको पछि लागेर गोठ फर्क्यौं।बाबाआमाले भन्दै हुनुहुन्थ्यो-"दुईटा बोका हराए।"
खोज्नलाई बाबा जंगल जानुभयो र निराश भएर फर्किनुभयो।
"ब्वाँसोले खाएछन् दुबै बोका।"-बाबा भन्दै हुनुहुन्थ्यो।
कुकुर जस्तै जनावर ब्वाँसो थियो भनेर हामीलाई के थाहा।त्यो दिन ठूलो पाठ सिकियो।तर क्षति भने भैसकेको थियो।गरीबको लागि त्यो क्षति पनि चानचुने थिएन।बाबाआमाका दुई जोर तलाउबाट केही गरिबीका थोपाहरु खसिरहे।हामी दाजुभाइ र दिदीबहिनीहरु भावुकसम्म भयौं।हुनेलाई जहींतहीं,नहुनेलाई कहीं न कहीं।यो वाक्य सत्य रहेछ।दैवले पनि गरीबहरुलाई नै धेरै सताउने र पछार्ने रहेछ।गरीबहरुको भाग्यरेखा एकचोटि मात्र हैन पटकपटक फेरिने रहेछ।लेखिने बेला सग्लो लेखिए पनि किस्ताबन्दीमा टुक्राटुक्रा पार्ने रहेछ।खाटो बसिसकेको घाउमा पुनः तीखो नङ्ग्राले कोतारिने रहेछ।समय निष्ठुरी बनेर घाउमा नुनचुक छर्किदिंदोरहेछ।दैवले गरिबीमाथि आक्रमण गर्न कहिले स्याल,कहिले ब्वाँसो र कहिले बाघलाई पठाउने रहेछन्।यो कुरा मैले चाँडै पत्ता लगाइसकेकी थिएँ।
यस्तै दु:ख,पीडा,समस्या र गरिबीको जञ्जीरले बाँधिएर लड्दै,उठ्दै,घस्रंदै र पौठेजोरी खेल्दै दशौं बसन्तमा पाइला टेकिसकेकी थिएँ।भाइ पनि आठ बर्षको भएको थियो।साँझको प्रहरमा भाइ र म गाईलाई खोले दिंदै थियौं।त्यही क्रममा एउटा छुच्चो गाईले सिङले उचालेर तीन मिटर पर फाल्यो।भाइ एकछिन बेहोसै भयो।गाली मैले खानुपर्यो।
"भाइलाई गाइले हान्दा तिमी के हेरिबसेको?गिदी छैन तिम्रो?भोलिदेखि भाइ स्कुल जान्छ।बुझिस्?"-आमाले भन्नुभयो।
"गाईले हान्यो त मैले के गर्ने?मर्ने?मेरो ले।दोष थियो र?स्कुल गए जाओस् न त मलाई के मतलब?"-मैले पनि जवाफ फर्काएँ।
"धेरै मुख चलाउँछेस्?एक पैसाको ढंग छैन।"-बाबाले पनि थप्नुभयो।
"बाबा!भाइसंग म पनि स्कुल जान्छु नि।"
"छोरी मान्छे भएर पनि स्कुल जान्छु भन्छेस्?अर्काको घर जाने जातले पढेर के गर्ने?बरु दूध दुहुन सिक,काम लाग्छ पछि।"
त्यसपछि मैले प्रतिवाद गर्न सकिन।हार स्वीकारें।पितृसत्तात्मक समाजमा नारीले पढ्नु पाप थियो।अर्काको घर गएर श्रीमानलाई खुशी पार्नु,चुलोचौका र घाँसपात गर्नु नै छोरी मान्छेको कर्तब्य र दायित्व हो भनेर सिकाइयो।भाइ पनि दाइसंगै गाउँमा बसेर स्कुल पढ्न थाल्यो तर हामी दिदीबहिनीको जीवन घना जंगलको बीचमा गाई र बाख्रा चराउन,घाँस काट्न र दूध डेरीमा पुर्याउनमै सिमित थियो।वनजंगल र भीरपाखाको अक्कर बाटोबाट १० बर्षे बालिकाले २० लिटरको दूध बोकेर एक कोश टाढा पुर्याउनुपर्थ्यो।सकी नसकी थरथर जीउ र खुट्टा काम्दै दूध डेरीमा पुर्याएर फर्किन्थें।कहिलेकाही अलिकति खिसिक्क चिप्लियो भने दूधको ग्यालिन उफ्रेर ओरालोमा भाग्थ्यो र पूरै दूध छर्पष्ट हुन्थ्यो मेरो भाग्य जस्तै।म भयभीत भएर रुने र कराउने गर्थें तर दूध फर्केर आउने कुरै भएन।गोठमा पुगेपछि आमाको सिस्नुपानी खानुपर्थ्यो।शरीर पोलेर रातै हुन्थ्यो।तथापि दया पलाउन्थेन।जोत्दै गरेको गोरुले छेउ नलागे या हलो नताने पिटाइ खाए झैं खानुपर्थ्यो।शरीरमा केही खत या नीलडाम नभएको कुनै प्रहर हुन्थेन।मेरो काम त्यतिमात्र थिएन।ठूल्ठूला सुकेका मुडाहरु बोकेर पुर्याउनु पर्थ्यो।उतिबेला मेरो छाला समेत जान्थ्यो।करीब एक किलोमिटरको दूरीबाट कुवाको पानी भरेर गोठसम्म लग्नुपर्थ्यो।गधाको जिन्दगी बरु आरामदायी होला तर मेरो थिएन।किताबको झोला बोकेर दाजुभाइसंगै स्कुल जाने बहुत रहर थियो तर मेरो रहर रहरमै सिमित भयो,कहिल्यै पूरा भएन।शुक्रबारको दिन दाइ र भाइ घरबाट गोठमा आउँथे।किताब खरर पढेको र कलमले कापीमा लेखेको देखेर मेरो मनमा पनि त्यस्तै रहरको टुसा पलाउँथ्यो तर क्षणभरमै ती टुसाहरु नामेट हुन्थे।जीवन अन्धकारतर्फ धकेलिन्थ्यो।दाइले त उसको कापी,कलम र किताब छुनै दिंदैनथ्यो तर भाइ मेरो मुखमा मान्थ्यो।भाइले नेपाली किताबमा भएका कविता र गीतहरू लयमा गाउँदा आनन्द आउँथ्यो।म पनि भाइसंगै गाउने गर्थें।उसले लेखेको र पढेको देखेरै मैले पनि अलिअलि अक्षर चिन्न थालें।जान्न थालेपछि झन उत्सुक हुनेथिएँ।कहिलेकाही भाइको गृहकार्य मैले नै लेखिदिन्थें।भाइ खुशी हुन्थ्यो र म पनि।तर फेरि आइतबारको दिन गाउँ गैहाल्थे।मेरो उत्सुकताले त्यहीं विश्राम लिन्थ्यो।तर पहिले चिनेका अक्षरहरु दोहोर्याइ-तेहेर्याइरहन्थें।म अर्को हप्ताको प्रतिक्षामा दिन बिताउने गर्थें।भाइको पुराना किताब र कापीहरु सम्हालेर राख्थें र लेखपढ गर्थें।त्यसरी नै भाइ ३ कक्षामा पढ्दा मैले पनि २ कक्षाको सबै पढ्न र लेख्न सक्ने भएँ।दु:ख र पीरको बीचमा एउटा रमाइलो घटना यो थियो कि,कहिलेकाही भाइले मलाई गृहकार्य दिने गर्थ्यो र मैले पूरा गर्थें।गल्ती उसैले सच्याइदिन्थ्यो।त्यसरी नै मेरो सिकाइ पनि प्रगतिशील,सफल र सार्थक हुँदैगयो।पछि निकै जानिसकेपछि त कसैले सिकाउनु परेन।मेरै स्व-अध्ययनले फड्को मार्दै गयो।नेपाली,गणित र अंग्रेजीमा निकै जान्ने भएँ।डेरीमा दूध जोखेको,फ्याट निकालिएको र अन्य हिसाबकिताब मैले प्रष्ट थाहा पाउन सक्ने भएँ।जंगलको बीचमा भएको त्यो सिकाइ मेरो जीवनको अविस्मरणीय क्षण बनेर भविस्यसम्म रहिरह्यो।तर बाबाआमालाई मेरो अध्ययन बारे केही थाहा थिएन।सबै गोप्य र उहाँहरुको अनुपस्थितीमा भएका थिए।
No comments:
Post a Comment