Wednesday, 12 April 2017

नयाँ बर्ष २०७४

मेरो सास रोकिँदैछ
धड्कन रोकिंदैछ
आँखा मधुरो हुँदैछन्
मेरो हालत देखेर क्षितिज फिस्स हाँस्दैछ
बादल नृत्य गर्दैछ
पवन सुसेलेर गाउँदैछ
होस हराउँदैछ
मेरो जीवन सकिँदैछ
गगन कात्रो बनेर खडा छ
मेरो मृत्युमा सबै मुस्कुराउँदैछन्।

अवगत छैन,कसले मेरो आयु छोट्यायो
किन छोट्यायो
सायद मनुष्यरुपी यमराजले नै होला
कोही ताली पिट्दैछन्
कोही गाउँदैछन्
कोही नाच्दैछन्
नशामा पौडिंदैछन्
रित्तिंदैछन् भोट्काहरु
निलिंदैछन् सित्तन र सलाद
मेरो मृत्युुमा उत्सव मनाउँदैछन्।

खेद त मलाई पनि छैन मृत्युमा
मलाई थाहा छ-म फेरि आउनेछु
पुनर्जन्म लिएर
नयाँ जोश,जाँगर र उमंग लिएर
अधुरा कार्यलाई सम्पन्न गराउन
प्रगतिशील मार्गमा डोर्याउन
संसारमा शान्ति लिएर
आशाको नव किरण बोकेर
अभावका खाडल पुर्न
म झर्नेछु धर्तीमा
त्यसैले आतुर छन् मनुष्यहरु
मलाई बिदाइ गर्न।

हो,म यकिनका साथ भन्छु
मेरो पुनरागमन हुनेछ
अन्धाहरुलाई मार्गदर्शन गर्न
अपांगहरुलाई सपांग बनाउन
मतिभ्रष्टहरुलाई सत्मार्गमा डोर्याउन
भ्रष्टहरुलाई गोर्खेलौरी कस्न
असललाई मनोबल बढाउन
विश्वमा अमनचैन कायम गर्न
अवश्य पनि म आउनेछु
यही शाश्वत सत्यलाई मनन गरेरै
मेरो प्रस्थानप्रति मनुष्य
किञ्चित पनि दु:खी देखिंदैनन्
बरु भोज खान उद्धत छन्।

मेरो प्रस्थानसंगै
मेरो परिचय फेरिनेछ
म पुरानो हुनेछु
मेरो स्वरुप र अर्थ फेरिनेछ
बिल्कुल फरक नामले चिनिनेछु
मेरो आगमन दूर छैन
उ हेर त,क्षितिजमा उदाइसकेकोछु
नभन्दै म झरिपनिसकेको छु
मलाई अंकमाल गर त!
तर मलाई अब सम्बोधन गर है
"नयाँ बर्ष २०७४"।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...