Friday, 7 April 2017

नयाँ बर्ष तिमी

ए बर्ष!सुन त
ठेस लागे तिम्रै दोष रे
भोक लागे तिम्रै दोष
रोग लागे तिम्रै दोष
असफल भए तिम्रै दोष अनि
बाढीपहिरो आए तिम्रै दोष
नकारात्मक पक्षको जिम्मेवार तिमी नै
ए बर्ष!तिमी कति अभागी हगि?

जंगेले बहुत उपद्रो मचाए
सत्ता,शक्ति र पदको लागि
हजारौंलाई बलि चढाए
तर बहादुर भनेर चिनिए
कोतपर्व १९०३ संग जोडिए
तिम्रो त्यो बर्षलाई सुम्पिए
१०७ बर्षे राणाकाललाई
कालो कालको रुपमा चिनाइयो
तिनै राणाहरु सम्मानित भए
तिनै चतुरेहरुको परिधिमा नाचे युग
ए बर्ष!तिमी कति अभागी हगि?

महाभुकम्प आएर
हजारौंको ज्यान लियो
कैयौं घरबारबिहीन भए
हाहाकार मच्चियो
प्राकृतिक प्रकोपको
सबै दोष १९९० को भयो
न्वारान गरियो कालो बर्ष भनेर
ए बर्ष!तिमी कति अभागी हगि?

केही साल अघिमात्र
पुनः धर्तीमा हलचल आयो
कैयौं सपनाका खम्बा ढले
कैयौंले मृत्युवरण गरे
लगातार आइरहे पराकम्पन
करोडपति,लखपति र अन्यपतिहरु
सबै रोडपति भए
पालको बास भयो
सबैले सरापे २०७२ बर्षलाई
ए बर्ष!तिमी कति अभागी हगि?

हरदिन,महिना र बर्ष
तिमी त आउँछौ नव किरण लिएर
आशा र सपनाहरु सजाएर
नवयुगका बीउ छर्दै
परिवर्तनका संकेतहरु काखी च्यापेर
आइरहन्छौ-काँचुली फेरेर
समय एकै भए पनि नाम फेरेर
प्रगति र समृद्धिका मौका बोकेर
तर मान्छेले कहाँ देख्छन् र?
उनीहरुले कहाँ सदुपयोग गर्छन् र!
उनीहरु त देख्छन् दुर्भाग्य मात्र
केवल देख्छन् आशंकाहरु
भगवान पुकार्छन्-"यो बर्ष शुभ होस्"
"फलानो बर्ष जस्तो हुँदै नहोस्"
ए बर्ष!तिमी कति अभागी हगि?

बिगतका बर्षहरुमा
कतिले घरजम गरे
कतिले सन्तान जन्माए
कतिले सम्पति जोडे
कतिले महल ठड्याए
कतिले मोजमस्ती गरे
तर कसैले तिमीलाई सम्झेनन्
कोही खुशी भएनन्
कोही सन्तुष्ट भएनन्
प्रगतिको श्रेय तिमीले कहिल्यै पाएनौ
समृद्धिसंग जोडिएन तिम्रो नाम
ए वर्ष!तिमी कति अभागी हगि?

कति बैज्ञानिक जन्मायौ
कति महापुरुष र युगपुरुष
जन्मायौ धेरै साहित्यकार
कतिको मलामी बनिदियौ
कतिको दाहसंस्कार गर्यौ
तर जस कहिल्यै पाएनौ
ए बर्ष!तिमी कति अभागी हगि?

तिम्रो २०७३ को अन्त्यसंगै
२०७४ को आगमनसंगै
सबैको दिन,महिना र बर्ष
सुखद होस्
उपलब्धिमुलक होस्
सफल र शान्त होस्
सोचेजस्तो बनोस्
ताकी मनुष्यले सराप्न नपरोस्
गाली गर्न नपरोस्
प्रिय नयाँ बर्ष २०७४ तिमीलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...