भाग-४
कपन गुम्बा भएको धरातलमा पारिलो घामले स्पर्श गरिरहेको अबस्था।संयोग पनि यस्तो भैदियो कि गगनमा कालो मेघले चारैतिर फिनिक्कै घेरिएको थियो तर थोरै भाग मात्र खाली थियो जहाँबाट सूर्यले गुम्बातिर चियाइरहेको थियोे।आनी याङ्जीलाई हातमा डोर्याउँदै आनी डोल्मा गुम्बाको पूर्वी भागमा अवस्थित बगैंचामा थचक्क बसिन्।आनी याङ्जीलाई पनि बसाईन्।घरी कालो मेघ र घरी सूर्यलाई नियालेर उनी रोमान्चित हुन थालिन्।सायद उनले आफूहरुलाई संसारमै सबैभन्दा भाग्यमानी ठानेकी थिइन्।बगैंचामा थरी-थरीका रंगीचंगी फूलहरु फुलिरहेका थिए।सबै प्रजातका फूलहरुको नाम उनलाई थाहा नभए पनि उनको नजरमा गुलाब र सूर्यमुखीका फूलहरु पर्छन्।फूलहरुमा केही भमरा र केही माहुरीहरु सल्बलाइरहेका थिए।त्यो दृश्यतिर औंल्याउँदै आनी याङ्जीसंग बात मार्न थालिन्।
"हेर त आनी!कति मनमोहक फूलहरु!मलाई त खुब मनपर्छ।के तिमीलाई पनि फूल मनपर्छ?कुन चाहिँ?"
आनी याङ्जीले शीर मात्र हलाएर स्वीकारोक्ति जनाईन्।आनी डोल्माले आफ्नो कुरालाई निरन्तरता दिईन्।
"हेर न कस्ता अलाछिन भमराहरु बिचरा फूलका रस चुस्दैछन्।कम्ता स्वार्थी हुँदैनन् यिनीहरू?रस चुस्यो,उड्यो।कोही-कोही केटामान्छेहरु भमरा जस्तै हुन्छन्।बिचरा ती माहुरीहरु त त्यस्ता स्वार्थी हुँदैनन्।यिनीहरुले त मह बनाउँछन्।मह त हामीलाई पनि काम लाग्छ नि है!फेरि यिनीहरू बडो मिहिनेती पनि हुन्छन्।एउटा घारमा लाखौं माहुरीहरु मिलेर बस्छन्।एउटै रानोको वरिपरि मिलेर बस्छन्।हाम्रो लागि रानो भनेकै लामा गुरु हुन्,बुझ्यौ आनी?एउटा माहुरीलाई कसैले मार्यो भने सबै माहुरी आइलाग्छन्।हामी नेपालीमा त्यस्तो एकता कहाँ छ र?एकजनालाई कसैले हान्दा अर्को तमासा हेरेर बस्छ।एउटी चेलीलाई आठ-दश जनाले बलात्कार गर्दा पनि चुपचाप नदेखे झैं गर्छन्।बरु उ पनि बलात्कारमा सामेल हुन बेर लाग्दैन।कोही-कोही मान्छे मात्र माहुरी जस्ता हुन्छन्।अनि त्यो गुलाबको फूल हेर त आनी,कति सुन्दर हगि?अनि निस्वार्थी पनि।अनि कति प्रेमिल छ!केटाकेटीहरुले आफ्नो प्रेमलाई प्रस्तुत गर्न यिनै गुलाबको साहारा लिने गर्छन्।मान्छेले प्रेम देखाउने बहानामा कति फूलका गला निमोठ्छन् है?बिचरा गुलाबका फूलहरु!अकालमा कतिले जीवन उत्सर्ग गर्छन्।आफू मरेर मान्छेको प्रेमलाई जीवन्त बनाइराख्छ।कति त्यागी र बलिदानी हुन्छन् बाबै यिनीहरू!अनि हेर त त्यो सूर्यमुखी फूल!कति सुगन्धित छ हगि?तर के गर्नु बिचरा!सूर्यको किरण बिना अधुरो छ।फुल्न पनि उसैको साहारा लिनुपर्छ।उ जताजता जान्छ त्यही दिशामा आफूलाई मोड्नुपर्ने बिबशता।सूर्य उदाउँदा उ पनि फुल्छ र अस्ताउँदा खुम्चिन्छ।उसको जिन्दगीको रिमोट कन्ट्रोल सूर्यसित हुन्छ क्यारे।हेर आनी!नेपाली चेलीबेटीहरुको जीवन पनि सूर्यमुखीकै फूल जस्तो छ।किन थाहा छ?उनीहरुको जीवन पनि पुरुषहरूको इशारामा चलेको छ।पुरुषले उठ भने उठ्नुपर्छ र बस भने बस्नुपर्छ।पुरुषले जता डोर्याउँछ,उतै जानुपर्छ।माइतीघरमा बस्छु भनेपनि बस्न पाउँदैनन्।जन्म दिने बाबा-आमा र जन्मघर पनि छोडेर जानैपर्छ।तर हाम्रो हकमा त्यस्तो छैन।हामी कति भाग्यमानी है आनी?"
बल्ल दशौं बसन्तमा पाइला चालिरहेकी बिचरी आनीले कति कुरा बुझिन् र कति बुझिनन्।तर उनले शीर हल्लाएर बुझेको संकेत दिईन्।निकैबेर उनीहरू बगैंचाको आकर्षक दृश्यमै हराए।टोलाइरहे,मजा लिइरहे।सिर्र-सिर्र बतास चल्न थाल्यो।फूलका डालीहरु यताउता नाच्न थाले।बतासको गति कम हुँदा सुसेली मारेर बतासलाई बोलाए दुबै आनीहरुले।उनीहरुले कतै सुनेका थिए-बतास बोलाउन सुसेली मार्नुपर्छ।त्यो बखतमा दुबै आनीहरु पनि बगैंचाका फूल भन्दा कम सुन्दर देखिएनन्।आनी डोल्मा पूर्णरुपमा फक्रेर बयस्क भैसकेकी र आनी याङ्जी भने कोपिला अवस्थामै थिइन्।आनी डोल्माले बगैंचाका फूलहरुलाई पर्दा बनाएर केही सेल्फीहरु खिचेर फेसबुकमा अपलोड गरिन्।उनका धेरै साथीहरुले मनपराए र प्रतिकृया दिए।ती लाइकहरुमध्ये किशोरको पनि एउटा थियो।उनी उत्साहित हुँदै किशोरको म्यासेजको प्रतिक्षामा व्यग्र भईन्।नभन्दै म्यासेजको टोन बज्यो।दुबैजनाको एकाग्रता भंग भयो।उनी म्यासेजतिर द्रुतगतिमा नजर दौडाउन थालिन्।
"आनी!मैले शान्त र शालिन तिम्रो मनको तलाउमा ठूल्ठूला पत्थरहरु फालेर क्रोधका तरंगहरु पैदा गराएँ।ती तरंगहरु तरंगमा सिमित नभएर छाल बनेर जमिनको सतहतिर बग्न थाले।सुख्ख जमिनले सिंचिने मौका पायो।फलस्वरूप त्यहाँ हजारौं झार र कीटपतंकले जीवन पाए।कतै मैले गल्ती त गरिन नि हगि?गल्ती नै गरेको भएपनि मैले तिम्रो मृत मनको चाहलाई जीवित गराउन सकें कि भन्ने लागेको छ।तर मैले प्रहार गरेको पत्थरले तलाउमा भएका जीवहरुले चोट सहनुपरे कि?कुनै जीवले प्राण त्याग गर्नुपर्ने अवस्था पो सृजना भयो कि?जहाँसम्म लाग्छ त्यस्तो दुर्घटना भएन होला।म तिमीबाट केही दिन दूर रहनुको कारण पनि तिमीबाट उत्पन्न भएका ती तरंग र छालहरु बिस्तारै शान्त र शालिन अवस्थामा आओस् भनेरै हो।मलाई लाग्छ,तिमीभित्र निहित मृत ईच्छारुपी झारहरु पुनः जीवित भएर सल्बलाइरहेका छन् होला।यसैमा मैले आफ्नो सफलता देखेको छु।मेरो मनाशय पनि हिटलरलाई भेट्ने थिएन।गान्धीलाई मेट्ने थिएन।आतंककारी र हिंस्रक जनावरसित मिलेर बुद्धको घाँटी रेट्ने थिएन।तिम्रो सिद्धान्त अलिकति र मेरो सिद्धान्त अलिकति मिसाएर नौलो सिद्धान्तको प्रतिपादन गरेर अलग तरीकाले जिउनुपर्छ भन्ने मेरो मान्यता हो।तर तिमी र मेरो स्वभाव ठिक उल्टा छन्।जुन स्वभाव ममा हुनुपर्ने हो,त्यो तिमीमा छ र तिमीमा हुनुपर्ने ममा छ।बुद्ध जस्तो शान्त हुनुपर्नेमा तिमी हिटलर भैदियौ र म बुद्ध जस्तो शान्त।मलाई लाग्छ तिमी आफ्नो मार्गमा हिंड्दा-हिंड्दै डगमगाएकी छ्यौ।नत्र भने गुम्बा जस्तो पवित्र स्थानमा बसोबास गरिरहेकी आनीबाट कसरी आक्रोश पैदा भयो?खैर,जे भएपनि तिमी शान्तिको मार्गमा पूर्णरुपमा फर्केकी होलाउ।तर तिमीमा आम नारीको जस्तै नारीत्व पैदा हुनु स्वभाविक र हर्षको बिषय ठानेको छु मैले।"
किशोरको म्यासेज पढेर आनी भावविभोर भई।उनका नयनी तालहरु छचल्किन थाले।उनको मन नौनी बनेर पग्लिन थाल्यो।पुनः जम्न सकिरहेको थिएन।आनी याङ्जी छक्क परेर आनी डोल्माको प्रतिकृया नियाल्दै थिईन्।आफ्नी दिदी जस्ती आनीको आँखा रुझिरहेको देखेर हाते रुमालले पुछिदिन थालिन्।आनी डोल्मा झन भक्कानो फुटाएर सुँक्क-सुँक्क रुन थालिन् र आनी याङ्जीलाई अंगालोमा बेरिन्।
"मेरी आनीलाई रुवाउनेलाई म छोड्दिन।म मार्छु त्यसलाई!"-आनी याङ्जी आक्रोशित हुँदै चिच्याईन्।
"नाइँ आनी!यस्तो भन्नु हुन्न।यस्तो गर्नु हुन्न।मलाईं कसैले रुवाएको हैन,म आफैं रोएकी।"-आनी डोल्माले सम्झाईन्।
केहीबेर माहोल शून्य भयो।शान्त र मौन भए आनीहरु।मौनतालाई भंग गर्दै आनी डोल्माको फोनमा म्यासेज टोन बज्यो।झसङ्ग तर्से झैं गरी म्यासे खोलेर हेरिन्।
"आनी!मैले तिमीलाई परिवर्तन गर्न सकिन।म पूर्णरुपमा असफल भएँ।तिम्रो मार्ग नै सही थियो र मेरो गलत।मैले तिमीलाई गलत मार्गमा मोड्न खोज्नु मेरै मुर्खता थियो।अब देखि म तिमीलाई डिस्टर्व गर्ने छैन।तिमी स्वतन्त्रतापूर्वक आफ्नै तरीकाले जीवनयापन गर्न सक्छ्यौ।बरु मैले त आफैंलाई पो परिवर्तन गर्ने निर्णय लिएको छु।केही दिनमै म सन्यासीको जीवन जिउन गइरहेको छु।अर्थात म पनि तिमीले देखाएको मार्गमा हिंड्ने प्रतिबद्धता जनाउन चाहन्छु।यो नै हाम्रो अन्तिम वार्तालाप हुनेछ।गल्ती भए माफी चाहन्छु।"
किशोरको म्यासेज पढेर आनी डोल्मा छट्पटाउन थालिन्।घरी यता र घरी उता हिंड्न थालिन्।धेरैबेरसम्म सोचमग्न भएर पनि उनले केही निष्कर्ष निकाल्न सकिनन्।पहिलोपटक उनी मझधारमा फसिन्।
"मेरो कारणले कतै किशोरले गलत निर्णय लिएमा म आफूलाई कहिल्यै माफी गर्ने छैन।किशोरसंगको मित्रताले सराप्नेछ मलाई।भविस्यमा सबै जना मित्रता गाँस्नदेखि डराउनेछन्।युगले मलाई एउटी कलंकित नारीको रुपमा पहिचान दिनेछ।आनीहरुको चरित्रमा दुनियाँले प्रश्न चिन्ह खडा गर्नेछन्।त्यो बेला म जिउँदै मरेको हुनेछु।म बाँच्नुको औचित्य समाप्त भएको हुनेछ।"-उनी फत्फताउन थालिन्।
"हैन आनी!तपाईंको के गल्ती छ र?तपाईं महान आनी हुनुहुन्छ।तपाईंको कारण कसैले गलत मार्ग अपनाउने छैनन्।तपाईं त सबै आनीहरुको आदर्श आनी हुनुहुन्छ।"-सानी आनी अर्थात आनी याङ्जीले सम्झाइन्।
आनी डोल्माले समय बर्बाद नगरी किशोरलाई म्यासेज लेख्ने निधो गरिन्।ढिलो नगरीकन फटाफट टाइप गर्न लागिन्।
"किशोर!मेरो साथी!गल्ती तिम्रो हैन मेरो भएको छ।तिमीले नचाहिने त्यस्तो केही भनेका छैनौ।प्रकृतिको बिरुद्धमा बोलेका छैनौ।१००% तिम्रो कुरामा सत्यता लुकेको छ।बुझ्न नसक्नु मेरै कमजोरी होला।म एउटी आनी भएर पनि बर्षायामको खहरे खोला झैं गड्गडाएँ।तिम्रो चित्त दुखाएँ।तर तिमी एउटा सामान्य पुरुष मात्र भएर पनि सागर झैं शान्त र सुशील भएर आफ्नो सत्य बचनमा अडिग भयौ।सत्मार्गमा अगाडि बढिरह्यौ।तिमी जस्तो सज्जन मान्छे मैले पहिलोपटक देख्दैछु।किशोर!म त गुज्रिसकेको पल जस्तै हुँ।बन्दुकको नालबाट निस्किसकेको गोली र बोलिसकेको बोली जस्तै हुँ।मैले बाटो तय गरिसकेकी छु।म धेरै दूरसम्म पुगिसकेकी छु र फर्किने कुनै बाटो छैन।म हिंडेको बाटो एकतर्फी मात्र छ,दोहोरो छैन।तिम्रो भित्री आशय म राम्ररी बुझ्छु तर चाहेर पनि केही गर्न सक्तिन।म स्वतन्त्र जरुर छु तर पनि लाचार छु।मलाई धर्मको माखेसाङ्लाले चारैतिरबाट बाँधिएको छ।दर्शन र सिद्धान्तको जेलखानामा कैद छु।न आफैं निस्कन सक्छु न कसैले निकाल्न सक्छन्।तर यसमा कसैको करकाप छैन।मैले हजारौं पल्ट सोचेर र बुझेर स्वयं यस क्षेत्रमा प्रबेश गरेकी हुँ।म कुनै पनि हालतमा पथभ्रष्ट हुन सक्तिन।आस्था भन्ने कुरा क्षण-क्षणमा बद्लिने चीज पनि त हैन।त्यसैले साथी!मलाई मेरै हालमा छोडिदेउ।तिम्रो चाहना मैले बुझेकी छु।मलाई थाहा छ,तिमी मलाई मनपराउँछौ।हो,म पनि तिमीलाई मनपराउँछु।मन पराउनु र माया गर्नुमा आकाश र पातलको फरक छ नि,हैन र?मेरो असल साथी!मेरो कुरा बुझ्छौ भन्ने आशा लिएकी छु।धन्यवाद!"
Thursday, 6 April 2017
आनी-४
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment