भाग-७
चेर्दुङ कहिल्यै ओभानो भएन।घामको मुख मुश्किलले मात्र देख्न पाइन्थ्यो।सय दिनमा ९० दिन त चेर्दुङको आकाश रोइरहन्थ्यो।ओढ्नलाई छाता पनि हुन्थेन साथमा।चेर्दुङ र म मिलेर संगै रुझ्थ्यौं।बाख्राको पछि-पछि भाग्ने क्रममा एकदिन त्यस्तै भारी वर्षा भयो।बाख्राहरु कता टाप कसेर गायब भए।म निथ्रुक्कै रुझिसकेकी थिएँ।बर्षाको पानीले मेरो कलिलो बैशसंग मनोमानी गर्दै थियोे।कतै काउकुती लागे जस्तो,कतै आनन्दको चरमोत्कर्षले चुमे जस्तो र कतै एक किसिमको करेन्ट उत्पन्न भएको आभास भयो।केहीबेर ठूलो ठिङ्ग्रेको रुखमुनि ओत लागें।बादलभित्र तेजिलो प्रकाश चम्किन थाल्यो।गड्याङगुडुङ गर्दै आकाशले मलाई सातो जाने तवरले चिच्यायो।म डरले लुगलुग कामें।आँखा वरिपरि तारामण्डल झैं देखें र एकैछिनमा बेहोस भएँ।जब मलाई होस आयो,तब देखें-नजिकैको बूढो ठिङ्ग्रेको रुखलाई चट्याङले चिरा-चिरा पारिसकेको रहेछ।म कति घण्टा बेहोस भएँ,मलाई नै थाहा भएन।आफू सकुशल भएकोमा बुद्ध लगायत भएभरका सबै भगवानको नाम जपेर नमन गरें।
"ॐ माने पेमे हुँ...."
धेरैबेरसम्म जपिरहें।गोठ पुग्नु अगावै आमाले मेरै नामले बोलाउँदै हुनुहुन्थ्यो।गोठमा पुग्दा साँझ झमक्क परिसकेको थियो।मेरो हालत देखेर आमाले काखी च्यापेर रुँदै शीरमा सुम्सुम्याउनु भयो।अरुबेला त्यसरी आमाको माया पाएकी थिईन।म भावबिभोर भएर आमाको न्यानो काखमै लुट्पुटिरहें।अरुबेला जस्तोसुकै गाली गरेपनि,घृणा गरेपनि सन्तानलाई अप्ठ्यारो परेको बेला बुझ्ने र माया गर्ने आमा नै हुने रहेछ।त्यो क्षण म धन्य भएँ।मलाई याद भएदेखि कहिल्यै नपाएको अपार माया र ममता पाएर म भक्कानो फुटाएर रोएँ।आमाले ढाडमा धाप मारिरहनु भयो।अशान्त र अक्रान्त मेरो मुटुले शान्ति पायो।घाउमा मलमपट्टी गरेपछिको जस्तै शितलता पाएँ।भीषण बर्षाले कुटेर थलिएकी ममा अनौठो उमंग जाग्यो।त्यो रात मलाई हनहनी ज्वरो आयो।छट्पटाइरहें।भोलिपल्ट सबेरै उठेर आमाले जडीबुटीको औषधि खान दिनु भयो।एकै घण्टामा ज्वरो च्वाट भयो।आमाको महानतालाई त्यो दिनदेखि बुझेकी थिएँ।अँ त म चेर्दुङ र आकाशको प्रसंगमा थिएँ।चेर्दुङको आकाश झैं मेरो मनको आकाशमा पनि कालो बादलले राज गरिरह्यो।चेर्दुङ्को आकाशबाट जस्तै मेरो आँखाबाट आँसु बगिरह्यो।कहिल्यै ओभानो भएनन् आँखाहरु।चेर्दुङ पहाड र मेरा आँखा रुझेकै हुन्थे।दु:ख र पीर नभएको दिनै हुन्थेन।एक्लो नभएको क्षण थिएन।छिमेकीको गोठ पनि।कहिलेकाही नजिकै हुन्थ्यो तर बाख्रा थिएन,चौंरी मात्र थिए।चेर्दुङ र वरपरका वनजंगल,वन्यजन्तु,पंक्षी र बाख्रा नै मेरा साथी थिए।तिनीहरुसंगै वार्तालाप गर्थें र तिनीहरुसंगै प्रेम।प्रकृतिले दिएको प्रेम नै मेरो लागि काफी थियो।सबैभन्दा मेरो नजिकको सम्बन्ध भनेको चेर्दुङको चुचुरा थियो।चेर्दुङको सबैभन्दा अग्लो भूभागमा गएर चारैतिरको हिमशृंखला,पहाड,पर्वत र हरियाली दृश्यको अवलोकन गर्दा जीवनको दु:ख-कष्ट सबै दूर हुन्थे।दुधकुण्ड र गौरीशंकर संग मितेरी गाँस्दै,सेब्रु र सेलो गाउँदै हिंड्दा म आफू रहने थिईन।म प्रकृतिमै बिलिन हुन्थें।म प्रकृतिको एक हिस्सा हुन्थें।एक अंग हुन्थें।मेरो सुख-दु:खको साथी भनेकै प्रकृति नै थियो।कहिलेकाही त यस्तो लाग्थ्यो कि मैले प्रकृतिलाई भन्दा प्रकृतिले मलाई अथाह प्रेम गरेको भान हुन्थ्यो र मैले आफ्नो मायालाई बढ्ता देखाउन प्रकृतिलाई चुमिरहन्थें।मैले आफ्नो जीवन उनैलाई सुम्पिसकेकी थिएँ।कतै अग्लो भीरबाट खसेर मरेपनि,ठेस लागेर चोट लागेपनि,बाघ-भालुले आक्रमण गरेपनि,असिना र पानीले चुटेपनि म हाँसीहाँसी स्वीकार्ने पक्षमा थिएँ।किन कि ती सबैलाई मैले प्रकृतिकै नियम र पक्षको रुपमा ग्रहन गरेकी थिएँ।डेरीमा दूध पुर्याउन भन्दा बाख्रा चराउनमै आनन्द थियो र मैले त्यसैलाई रोजेकी थिएँ।डेरीमा दूध पुर्याएर फर्किंदा अरु रमणीय स्थलमा घुमेर प्रकृतिको स्वाद लिन पाइन्नथ्यो।त्यसैले बाख्रासंग धेरै दूरसम्म पुग्थें।खाजाको रुपमा घिउसित पीठो मुछेर लान्थें।तर मलाई भुइँको ऐसेलु नै मीठो लाग्थ्यो।लगेको पीठो प्रायः जसो बाख्रा र बोकाहरुलाई ख्वाउँथें।तिनीहरूले मीठो मानेर खान्थे।कहिलेकाही बाख्रालाई नै घोडा बनाएर चढेर हिंड्थें।जीउ हल्का भएकोले सजिलै बोक्न सक्थे।एकदिन गोठसम्म बाख्रामाथि चढेर जाँदा आमाको पिटाइ खानुपरेको थियोे।त्यो दिनदेखि गोठ पुग्नै लाग्दा झरिहाल्थें।त्यसरी चढ्ने क्रममा एउटा बाख्राको त ढाडको भुत्ला सबै झरेर चिल्लै भैसकेको थियो।आमाले शंका गरेर सोध्नु हुन्थ्यो तर मैले कुरा फुत्क्याउने थिइन।
बसन्तको आगमन संगै लेकका लालीगुराँस,चाँप,सुनाखरी र चिमलका फूलहरु ढकमक्क फुलेका थिए।मगमग बास्ना चलेर चेर्दुङ नै अत्तरमय भएको थियो।चराचुरुङ्गी,मौरी र भमराहरु रस चुस्न तल्लीन थिए।ती फूलहरुसंगै मेरो यौबन पनि बिस्तारै कोपिलाबाट फक्रंदै थियो।रसिलो र कसिलो हुँदै गएँ।मुहारमा लाली चढ्दै थियो।शरीर सुन्दर र आकर्षक बन्दै थियो।मनमा अनौठो चञ्चलता उत्पन्न हुन थाल्यो।बिनाकारण गाउन र नाच्न मन लाग्यो।ऐना हेरेर लजाउन थालें।हुँदाहुँदै १५ औं बसन्तमा पाइला टेकेपछि मेरो मासिक स्रावले धर्ती रंगीन भयो।म पूर्ण नारी भएँ।तर त्यो दिन म निकै हतोत्साहित भएकी थिएँ।रक्त स्राव भएरै संसारबाट बिदा हुन्छु झैं लाग्यो।तर वास्तविकता आमाबाट अवगत भएपछि शरमले पानी-पानी भएँ।
जीवनको त्यो चक्रसंगै भवस्यको आफ्नो राजकुमारसंग भवसागरमा डुंगामा सवार हुन थालें।डुंगा चालक उहीँ मेरो राजकुमार हुन्थ्यो।मेरो तन र मनका पाताहरु प्रयोग गरेर डुंगा खियाउँदै अनन्तसम्म पुग्थ्यौं।एक अर्काका बैशको नशा पिएर लट्ठ हुन्थ्यौं।हामी दुवै प्रेमिल संसारमा रमाउँदै किनारासम्म पुग्थ्यौं।त्यो किनारादेखि केही पर देख्थ्यौं-आँखाका चार तालहरु।उसका तालहरुमा म।पौडिन्थें र मेरा तालहरुमा उ पौडिन्थ्यो।पौडिएर फतक्क थाकिसकेपछि म यथार्थताको धरातलमा पछारिन्थें।मेरो कल्पनाको राजकुमार गायब हुन्थ्यो।
कहिलेकाही सहवासको कल्पना त कहिले बच्चा जन्माएको कल्पनामा डुब्ने गर्थें।
"छोरा जन्माउँदा यस्तो र छोरी जन्माउँदा यस्तो होला।पेट यस्तो हुन्छ होला।छोरा र छोरी पाए के-के नाम राख्ने?स्तन यसरी चुसाउँछु।यसरी बोक्छु र कोक्रोमा यसरी सुताएर बोक्छु।बिस्तारै छोराछोरी जवान हुनेछन्।ज्वाइँ र बुहारी आउनेछन्।हामी बाजे-बजै हुनेछौं"
यस्तै-यस्तै कल्पनामा डुबेर निस्किंदा कहिलेकाही बाख्रा गायब भैसक्थे।खोज्दा-खोज्दै हैरान भइन्थ्यो।तर हराए पनि तिनीहरुको अन्तिम गन्तव्य गोठ नै हुन्थ्यो।एउटा भिमकाय भय चाहिँ 'कतै बाघ,चितुवा या ब्वाँसोले त टप्काएन?'भन्ने नै हुन्थ्यो।मेरो र बाख्राको दुरी या समयान्तर भएको खण्डमा आमाको गाली खान तयार हुनुपर्थ्यो।
मेरो शारीरिक परिवर्तन भयो।मानसिक परिवर्तन भयो।परिवर्तन धेरै भए।साल परिवर्तन भए।ऋतु परिवर्तन भयो।गृष्म,वर्षा र हेमन्त हुँदै शिशिर आइसकेको थियो।फुलेका फूलहरु त केही महिनामै झरिसकेका थिए।अब पातहरु पनि झर्न लागेका थिए।अपबादको रुपमा ठिङ्ग्रे र केही प्रजातिका वनस्पति भने सदाबहार नै थिए।केही पात झेर्ने र केही नयाँ पलाउँथे।उस्तै पाराले हाम्रो परिवारमा पनि बाबा-आमाको व्यवहार परिवर्तन हुँदै थिए।धेरै साल पहिलेदेखि मादक पद्धार्थको सेवन गर्न थालेका थिए।तर अब भने एक-अर्कालाई दोषारोपण गर्न थाले।गोठमा कहल शुरु भयो।आमा बाबाको छातीमा झुन्डिनु हुन्थ्यो र बाबाले लात हान्नु हुन्थ्यो।कहिलेकाही बाबा यति कठोर बन्नुहुन्थ्यो कि आमाको शीरमा चिर्पट दाउरा बज्थ्यो।रक्तको धारा बग्थ्यो।गरिबी,अभाव र कलहले पारिवारिक स्थिति डामाडोल हुँदै गयो।बाबा-आमा झगडा गर्दा म डरले लुरुक्क भएर रुन्थें,चिच्याउँथें र छुट्याउने कोसिस गर्थें।तर कोसिस बिफल हुन्थ्यो।एकदिन हैन,दुइदिन हैन,म उहाँहरुको व्यबहारबाट आजित भैसकेकी थिएँ।कहिलेकाही त सोच्थें-"बाबा-आमा परिवर्तन गर्न सकिन्न र?"
अरु सबै परिवर्तन गर्न सकिएला तर बाबा-आमा र छोराछोरीको सम्बन्ध चाहेर पनि परिवर्तन गर्न नसकिने रहेछ।अनि कहिलेकाही लाग्थ्यो कि सदाको लागि बाबा-आमा छोडेर जाउँ र कहिल्यै फर्केर नआउँ।परिवार परिवार जस्तो रहेन।माया र प्रेम रहेन।मलाई अचम्म त यो कुरामा लाग्थ्यो कि लोग्ने र स्वास्नी दिउँसो काटाकाट र मारामार गरेर राती फेरि कसरी संगै सुत्न सकेका होलान्?कसरी सहवास गर्न सकेका होलान्?सायद लोग्ने र स्वास्नी जोड्ने पुलको काम यौनले गर्ने हो कि।बाबा-आमाको जस्तै जिन्दगी हो भने त खै के बिहे गर्नु र?किन चाहियो र लोग्ने?के लोग्ने मान्छे बिना बाँच्नै सकिन्न र?सोचेर म बिद्रोही हुन्थें।एक्लो जीवन बिताउने कसम खान मन लाग्थ्यो।तर उहाँहरु केही दिन शान्त भएपछि मेरो मन पनि स्वत: परिवर्तन हुन्थ्यो।आखिर मनै त हो।मन जतिको गतिशील र परिवर्तनशील अरु सायदै होला।सिंगो ब्रह्माण्डको परिक्रमा एकै सेकेन्डमा गर्न सक्छ भने त्यो मन नै हो।अनि पुनः जागेर आउँथ्यो पुरुषसंग जीवन बिताउने चाहना।नारी र पुरुष एक-अर्का बिना कसरी दूर रहन सक्ला र?तर उहाँहरु धेरै दिनको लागि शान्त रहन सक्नुभएन।पुनः उस्तै कलह।उस्तै तनाब।जिन्दगीमा सबैभन्दा अविस्मरणीय क्षण अझै मानसपटलमा ताजा भएर बसेको छ।दशैं तिहारको सरगर्मी चढिरहेको थियो।गोठमा रक्सी पारिएको थियो।आगो बल्ने तीनपानेको सेवनले बाबा-आमा दुबै टिल्ल परेका थिए।राती फेरि उस्तै झगडा पर्यो।बाबाले चिर्पट निकालेर आमाको शीरमा प्रहार गर्नुभयो।आमा बेहोस हुनुभयो।पानी छर्केर उठाउन खोज्यौं तर उठ्नुभएन।सास बन्द भैसकेको थियोे।दाँतहरु खोल्नै नसकिने गरी जोडिएका थिए।पानी मुखमा राख्यौं तर निल्न सकिरहनु भएको थिएन।गोठमा रुवाबासी शुरु भयो।छिमेकीले पनि सुनेर आयो।लगभग आमालाई माया मारिसकेका थियौं।बाबाले चक्कुको सहयताले मुख खोल्नुभयो।मैले पानी दिएँ।पाँच मिनेटमा होस आयो।आमाले जीवनदान पाउनुभयो।आमा बिनाको सन्तान मरेतुल्य हुने भएकोले हामीले पनि जीवन पायौं।त्यसको भोलिपल्ट देखि आमाले कसम खाएर जाँडरक्सी छोड्नुभयो।केही सकारात्मक परिवर्तन आयो।
उमेरले फड्को मारेसंगै मेरो काम,दायित्व र जिम्मेवारी पनि फेरियो।बाख्रा चराउन छोडेर म बजार र गाउँ जान थालें।बाख्रासंगै स्वतन्त्रता पाएकी थिएँ तर अब पिंजडाको सुगा जस्तै भएँ।बरु पिंजडाको सुगाले केही काम त गर्नु पर्दैन।मैले त गधाको जस्तै भारी बोक्नुपर्थ्यो।घरको गहुँ र कोदो कुटेर केलाइकन भुटभाट गरेर पानी घट्टामा पिन्न लैजानु पर्थ्यो।आलोपालो पिन्नुपर्ने भएकोले कहिलेकाही त राती पनि कुरेर पिन्नुपर्थ्यो।कसैले हातपात गरे गुहार सुन्ने कोही हुन्नथ्यो।तर भाग्यबश त्यस्तो दुर्भाग्य भोग्नुपरेन।नत्र कतिपय केटीहरु बलात्कृत भएर दुई जीउकी भएको कहानी सुनेकी थिएँ।
मध्यरातको कहालीलाग्दो प्रहर।पानीको छङछङ ध्वनि,घट्टा घुम्दाको घरर,कुकुरहरुको भुकाइ र स्यालहरुको कराइ।सानो शिशीमा हालिएको मट्टीतेल र सलेदोको सहयताले बलिरहेको धिपधिप टुकी।नितान्त एक्लो ज्यान।भूत आउने डरले मुटु ढुकढुक।कतै कोही बोलेको जस्तो अस्पष्ट बोली झैं लाग्ने।त्यस्तो एकान्त र खोलाको बीचमा अंधकार र भयसंग पौठेजोरी खेल्दै कोदो,मकै र गहुँ पिन्ने म हिम्मतवाली थिएँ या कायर-म आफैं अनबिज्ञ थिएँ।हिम्मतवाली भनुँ त डरले मुटु सय फ्याक होला झैं हुने।कायर भनुँ त एक्लै त्यो बिरक्तिलो खोलामा रात बिताउँथें।श्मशान जस्तो ठाउँमा सिंगै रात एक्लै गुजार्नु पक्कै पनि सजिलो काम भने थिएन।अरु भन्दा पनि मलाई एउटा कुरामा डर थियो।
"वनझाँक्रीले गायब गर्छन्।हप्तौं दिनसम्म तंन्त्रमंत्र सिकाएर फेरि फर्काउछन्।"
ठूलाबडाहरुले यस्तै कहानी सुनाउने गर्थे।कतै मलाई पनि लैजाने हुन् कि भन्ने कुराले चिन्तित बनाउँथ्यो।तर वनझाँक्रीसंग भने मेरो साक्षात्कार भएन।त्यस्तै एकदिन रातको एघार बजेतिर घट्टामा मकै पिन्दै थिएँ।घट्टाको ढोकामा कसैले ढक्ढ्क्यायो।मुटुको धड्कन तेज बन्दै थियो।झन जोडजोडले ढकढक गर्यो।म लुरुक्क परेर एक कुनामा घोसे मुन्टो लाएर बस्न थालें।
"ढोका खोल।छिटो खोल।"
कोही लोग्नेमान्छे करायो।क्रमशः होहल्ला संगै ढकढक आवाज बढ्न थाल्यो।लातले हानेर ढोका फोडेर लामा-लामा कपाल,उस्तै लामा दाँत र ठूल्ठूला आँखा भएका पुरुष र नारीहरु भित्र प्रवेश गरे।गोहीले जस्तै मुख आँ गर्दै लामा-लामा नङ्ग्राहरुले मेरो छातीमा कोतार्न थाले।मेरो सिंगै शीर मुखमा हालेर चपाउन थाल्यो।रुन र कराउनै सकिन।होस आउँदा भुइँमा लडिरहेकी थिएँ।भयानक सपना देखेको रहेछु।मुटु फुट्ला झैं गरी धड्किरहेको थियो।आफूलाई सकुशल देखेर हर्षले गदगद भएँ तर भयले छोडिसकेको थिएन।त्यो दिनदेखि पालो नपाए पनि कुरेर दिउँसो मात्र पिन्न थालें।त्यो सपना सम्झेर दिउँसो पनि मुटु ढक्क फुल्थ्यो र जीउ सिरिङ्ग हुन्थ्यो।
आनीको आफ्नै जीवनकथा यतिसम्म सुनिसक्दा किशोरको मन मैन झैं पग्लिसकेको थियो।भावुक भैसकेको थियो।प्रशस्त मात्रामा रस बग्नाले उसका आँखाहरु सुन्निएर मोटाइसकेका थिए।अर्कोतिर भूतको प्रसंगले उ थरथर काँप्न लागेको थियो।सानो बालक डरले आमाको काखमा आएर लुके झैं उ पनि लुसुक्क आएर आनीलाई झ्याप्पै अंगालो हाल्यो।आनीलाई असहज भयो।फुत्किने बहाना खोज्न थालिन्।
"खै हट न किशोर,मलाई पुरै जीवन कहानी त सुनाउन देउ।तिमीले यसरी डिस्टर्ब गर्यौ भने मैले कसरी सुनाउने भन त?"
"आजको लागि यति नै गरौं आनी।बाँकी कहानी सुन्दै गरौंला नि हुन्न?बरु मलाई पनि तिम्रो गुम्बामै लैजाउ न।फुर्सदमा बसेर मज्जाले सुनौंला नि तिम्रो कहानी!"
"कहाँ हुन्छ किशोर,तिमीलाई थाहै छ,हाम्रो गुम्बामा बिशिष्ट पाहुना बाहेक अरु पुरुषलाई बस्न मनाही छ।तिमीलाई लिएर गुम्बा गएँ भने गुरुले मार्नुहुन्छ।"
"नाइँ आनी,म केही समय तिमीसंगै बिताउन चाहन्छु।तिम्रो समिपमा रहन चाहन्छु।मगमग बसाउने फूलको बास्ना सुँघेर रम्न चाहन्छु।म फूलको काँडा बन्न चाहन्छु,अलग गर्ने कोसिस नगर।म लोभी र स्वार्थी भमरा हैन,फूललाई हमेसा साथ दिने,रक्षा गर्ने काँडा भएर रहन चाहन्छु।"
"यो असम्भव छ किशोर,जिद्धी नगर।म र मेरो गुम्बाको इज्जत र प्रतिष्ठामा आँच आउन दिने कुरा नगर।"
"सक्दिन आनी।तिमी त मेरो नशामा बग्ने रक्तबीज भैसक्यौ।मेरो सास भैसक्यौ।कसरी अलग हुन सक्छु भन त?मलाई पनि साथमा लैजाउ आनी।तिमी बिना मेरो जीवन जीवन्त रहनै सक्दैन।मलाई बचाउ आनी,मलाई बचाउ।केही त गर।कुनै उपाय निकाल।"
"मैले के नै गर्न सक्छु र किशोर!प्लीज बुझ्ने कोसिस गर।"
"प्लीज भनेर मलाई टाढा बनाउने कोसिस नगर आनी।तिमी म बाट अलग भयौ भने म यही देह त्याग गरिदिन्छु।के तिमी म मरेको टुलुटुलु हेरिरहन सक्छ्यौ?"
"मेरो गोरुको बाह्रै टक्का नगर तिमी।बरु आइडिया निकाल,कसरी तिमीलाई गुम्बामा लैजान सक्छु?"
"मसंग एउटा गतिलो आइडिया छ आनी।तिमीले चाह्यौ भने सम्भव छ।हो,सम्भव छ म तिम्रो वरिपरि बस्न।"
"ए हो र?के होला त्यो उपाय?"
"म तिम्रो साथीको हैसियतले हैन,बरु तिम्रो आफन्त भएर त्यहाँ जान सक्छु।तिम्रो दाइको रुपमा।सबैभन्दा उत्तम उपाय त म तिम्रो दाइ हुनुको साथै एउटा लामाको रुपमा जाँदा बढी सहज होला कि!"
"ए हो त किशोर।तिमीले यस्तो आइडिया कहाँबाट निकाल्यौ?पहिल्यै निकाल्नु पर्दैन बुद्धू?आइ लभ यु किशोर।"
यति भनेर उनले किशोरलाई अंगालोमा बेरिन्।उसको टेक्निक देखेर आनी निकै प्रभावित भईन्।मनमनै उसैको प्रशंसा गरिरहिन्।
"लौ हिंड उसो भए।बौद्धमा गएर मेरो जस्तै लामाको ड्रेस किन्नुपर्छ।"
यति भनेर उनीहरु गोकर्ण डाँडाबाट ओरालो झर्न थाले।कसैले नदेख्ने बेला हात गाँसेर हिंड्न थाले।कोही नजिकै देखे दुबैले हतार-हतार हात छोडिहाल्थे।प्रफुल्लित र पुलकित हुँदै उनीहरू योजना सफल बनाउन अग्रसर भए।मुहारमा खुशीको द्धीप बाल्दै उनीहरू बौद्धमा पुगे।एक घण्टा जति समय खर्चेर गेरुबस्त्र खरिद गरे।त्यसपछि एउटा म:म: पसलमा गएर एक/एक प्लेट म:म:र एउटा-एउटा चिसो कोक खाए।खाएको पैसा किशोरले तिर्यो।आनीले 'म तिर्छु' भन्दै थिई तर तिर्ने मौका पाईनन्।ट्वाइलेटमा गएर किशोरले आफ्नो कपडा फुकालेर गेरुबस्त्र लगायो।उसलाई देखेर पसलमा उपस्थित मान्छेहरु अचम्म मानेर हेर्दै थिए।अब उनीहरू उस्तै देखिए।कसैले शंकाको नजरले हेर्न नसक्ने भए।मनको गगनमा उड्दै-उड्दै उनीहरू उकालो लागे।भुइँमा खुट्टै थिएन।गुम्बामा पुग्नु अगावै किशोरले यताउता हेर्यो।कोही नभएको मौका पारेर आनीको ओठमा चुम्बन दियो।निकै आँतिएको पाराले उनले किशोरको ओठलाई पन्छाईन्।
"गुरु!उहाँ मेरो दाइ।पारीको गुम्बामा पढ्न आउनुभएको रहेछ।केही दिन बानी पार्नलाई यता पाहुनाको रुपमा राख्न सकिन्छ कि भनेर हजुरको अनुमति लिन आएका छौं।"-उनले सम्भोट भाषामै भनिन्।
"ए आनी पनि!तिमी जस्ती आनीले पनि केको अनुमति लिइराख्नुपर्छ र?सिधै पाहुना घरमा लिएर गए भैगो नि।जाउ,लगेर कोठा देखाइदेउ।खाना ख्वाइदेउ।केके चाहिन्छ,मिलाइदेउ।"-गुरुले उस्तै भाषामा भने।
"धन्यवाद गुरु!हजुर महान हुनुहुन्छ।हजुर हाम्रो लागि देवता समान हुनुहुन्छ।"
यति भन्दै उनीहरू गुरुको कक्षबाट बाहिरिए।प्रचण्ड रविले उनीहरूको यथार्थतालाई नियालेर ङिच्च दाँत देखाइरहेको थियो।बतासले उनीहरूको हर्कतलाई उजागर गर्न सुसाइरहेको थियो।पंक्षीहरु बिरोधको जुलुस निकालिरहेका थिए।बागका पुष्पहरु निराश र मुकदर्शक भएर एकटकले हेरिरहेका थिए।कालो मेघले संघर्ष गर्दै उनीहरुको शरीरमा प्रहार गर्दै थियो।कपनको आकाशमा वर्षा हुने संकेत थिएन तर टाढाको क्षितिजमा बिजुली चम्किँदै थियो।सायद बिद्रोह गरेकै थियो होला।तर उनीहरुले कसैको भाषा बुझेनन्।बुझे त केवल एक-अर्काका।सायद गुम्बा भित्रका बुद्धका प्रतिमाहरुले उनीहरुको चर्तिकला चुपचाप हेर्दै थिए होलान्।गिज्याउँदै थिए होलान्।सायद माथिबाट बुद्धले उनीहरूको नियत देखेर शरमले पानी-पानी भए होला।खैर जे भएपनि उनीहरु अभिष्ट पूरा गर्न तल्लीन थिए।आनीले किशोरलाई लिएर सरासर पाहुना कोठामा गईन्।कोठामा दुई जना मात्र भए।ढोकामा चुकुल लाए।एकअर्काको अंगालोमा कस्सिए।हातहरु चलायमान भए।यौवनको नशाले मातिएर बेहोस हुँदै थिए।तर सीमा पार नगर्दै ढोकामा कसैले ढक्ढक्यायो।
"आनी!आनी!ढोका खोल्नुस् न।"
यौवनले उन्मत्त ती जोडी झसङ्ग हुँदै निंद्राबाट जागे झैं गरे।हत्तपत्त ढोका खोले।आनी याङ्जी ट्रे मा चिया लिएर पाहुनालाई सत्कार गर्न आएकी थिई।
"टसी देलेक!चिया लिनुस्।"
आनी डोल्मा र किशोर एक अर्काको मुखामुख गर्दै चिया लिन थाले।
चियापछि खाजा आयो।खाजापछि उनीहरू गुम्बा वरिपरिका वातावरणमा घुमघाम गर्दै प्रेमिल वार्तालापमा नतमस्तक भए।यतिबेला सम्ममा उनीहरु एक अर्काका बहुतै नजिक भैसकेका थिए।दुई मुटु एक जस्तै भए।नील गगनमा दुई पंक्षीहरु कावा खाँदै उडे जस्तै उनीहरू पनि प्रेमको गगनमा कावा खान थाले।मनमनै एकले अर्कालाइ सर्वस्व हस्तान्तरण गरिसकेका थिए।दुई सर्पहरु एक आपसमा बटारिए झैं उनीहरुको मन बटारिरहेका थिए।तर शारीरिक रुपमा भने सम्भव भैरहेको थिएन।क्रमशः दिन ढल्दै गयो।क्षितिज लाल भैसकेको थियो।रविले धर्तीबाट बिदाइको हात हल्लाइसकेको थियो।चराचुरुङ्गीहरु आफ्नो गन्तव्यतर्फ उडिरहेका थिए।बासस्थानको लागि संघर्ष गर्दाको चिरबिर ध्वनिले सन्ध्यालाई संगीतमय बनाइरहेको थियोे।
"आनी!तिम्रो दर्शन त गरियो अब गुम्बाको दर्शन पनि एकपटक गर्न पाए धन्य हुने थिएँ।"-किशोरले गफको प्रसंग मोड्दै भन्यो।
"मेरो दर्शन गरे पुगिहाल्यो नि।"-मुस्कुराउँदै आनीले भनिन्।
"तिमी र तिम्रो मनलाई यति सुन्दर बनाउने भगवान बुद्ध दर्शन गर्न पाउनु मेरो अहोभाग्य हो।"
"जाऔं न उसो भए कसले रोकेको छ र?"-आनीले हातमा समाएर गुम्बातिर लगिन्।
गुम्बाको ढोका लागेको भएपनि रात नपरेकोले ताला भने लाइसकिएको थिएन।
"हेर किशोर!हामी।कति भाग्यमानी रहेछौं।अरुदिन त यतिबेला ताला लागिसकेको हुन्थ्यो।आउ यता,मैले के गर्छु,तिमीले पनि त्यस्तै गर।"
भगवान बुद्धका मूर्तिका अगाडिको कार्पेटमाथि कहिले उभिंदै र कहिले लम्पसार पर्दै निकैबेर सम्म नमन गरे।किशोर थाकेको देखेर दर्शनलाई टुंग्याउँदै फेरि पाहुना कोठामै गए।केहीबेरमा खाना त्यही आइपुग्यो।किशोरले खुब स्वाद मानी-मानी खायो।फेरि उनीहरूको गफगाफको श्रीगणेश भयो।किशोरले गुम्बा र वरिपरिको क्षेत्रको बारेमा खुलेरै प्रशंसा गरे।
"सधैं यही स्वर्गतुल्य ठाउँमा बस्न पाए मेरो जिन्दगीले सार्थकता पाउने थियो।धनसम्पति,मान-सम्मान र मोजमस्ती केही चाहिँदैन मलाई।त्यही माथि तिमीसंगको बसाइँ,वार्तालाप र लुकामारी छोडेर म कहाँ जाउँ आनी?ल कहाँ जाउँ?"
"तिमी जानैपर्छ किशोर।प्रेम गर्ने युगल जोडी यहाँ रहन सक्दैनन्।आजको लागि त ठिकै छ तर कुनै दिन गुरुले हाम्रो सम्बन्धको बारेमा थाहा पाउनुभयो भने उहाँको इज्जत माटोमा मिल्नेछ।गुम्बाको प्रतिष्ठामा नराम्रो धक्का लाग्नेछ।भोलि बिहान उठ्नेबित्तिकै यहाँबाट गैहाल तिमी।कसैलाई सोधिरहनु पर्दैन।म गुरुलाई सम्झाउनेछु।तिमी जति धेरै यहाँ बस्यौ,उति नै हामी समस्याको दलदलमा फस्नेछौं।मेरो बाँकी कहानी तिमीलाई अरु कुनै दिन सुनाउनेछु।कहानीको अन्त्यपछि मात्र हामी एक हुने र नहुने टुंगो लाग्नेछ।अहिले हामी छुट्टिनुपर्छ।म मेरो कोठामा जान्छु।"
"कहाँ हुन्छ त्यसरी!तिमी गयौ भने म कसरी बस्ने?कसरी यो कहालीलाग्दो रात कटाउने?नजाउ न आनी!आजको रात संगै बिताऔं न।यो रातलाई रंगीन बनाऔं।"
किशोरले आनीको हातमा समाएर आफूतिर खिच्न थाल्यो।शरीरमा स्पर्श गर्न थाल्यो।कपालमा सुम्सुम्यायो।आनी आँखा चिम्लेर बेहोसै हुन थाली।दुबै जनाको तापक्रम बढ्न थाल्यो र करेन्ट पैदा भयो।आनीलाई झट्का लागेको महसुस भयो र किशोरबाट उछिट्टिइन्।
"नाइँ किशोर!गुम्बामा यो सम्भव छैन।बुद्धको श्राप लाग्नेछ।"
"त्यसो भए बाहिर कतै जाऔं न आनी!प्लीज जाऔं न,मलाई असह्य भैसक्यो।म भित्र यौवनको छाल आइसकेको छ।रोक्न असम्भव छ।"
यति भनेर आनीलाई च्याप्प अँठ्याएर ओठ,गाला र गलामा चुम्न थाल्यो।सीमा नाघ्न तम्तयार भयो।आनी जबर्जस्ती फुत्केर आफ्नो कोठातिर प्रस्थान गरिन्।किशोरको यौवनको सगरमाथा आरोहण गर्ने चाहना बीचमै तुहियो।
"आनी!आनी!आउ न प्यारी!मेरो यौवनको छाललाई किनारासम्म पुग्न देउ न।तिम्रो बाँझो जमिनलाई भिजाउन त देउ।के तिमी सधैं सुख्खा नै रहन सक्छ्यौ?"
किशोर बर्बराउँदै थियो तर आनी बाहिरिसकेकी थिई।किशोरको सपना साकार भएन।प्रेमको अन्तिम बिन्दुमा पुग्न सकेन।सुख्खा बगरलाई रुझाउने सामुद्रीक छालको ईच्छा अपूर्ण नै रह्यो।प्रेमिल गगनमा जोडी पंक्षी झैं कावा खाने योजना बिफल भयो।आनी पनि कोठामा पुगेर अनेक सोच्न थाली।गम्भीर मुद्रामा ठिङ्ग उभिएर झ्यालतिर नजर लगाई तर अंधकार सिवाय केही देखिनन्।उनको मन उनीसंगै थिएन,कतै छुटिएको थियो।स्वाँ-स्वाँ गर्दै सास बढ्न थाल्यो,मानौं उनले फेर्ने अक्सिजन उतै छुटेको थियो।त्यहाँ केवल उनको शरीर मात्र थियो।बाँकी सबै उतै थिए।मुटु,कलेजो र आँखाको नानी उतै थिए।छट्पटी शुरु भयो।बेचैनी बढ्यो।केही क्षण अघि स्वर्गमा थिइन् तर अहिले नर्कमा भएको आभास भयो।उता किशोरलाई पनि उस्तै ब्यथाले च्यापेको थियो।आफ्नो महत्वपूर्ण अंग कसैले चुँडाएर लगे जस्तो।आफ्नै मन उसको बशमा भएन,अधिनमा रहेन।आफूलाई अधुरो,अपुरो र आधा ठान्न थाल्यो।अनायासै आँखाका तलाउबाट केही थोपा पानी अन्यत्रै बसाइँ सर्दै थिए।मुखसम्म पुगेका नुनपानीलाई चोर औंलाको सहयताले पन्छाउन उद्धत थिए दुबै जना।ओछ्यानमा पल्टे तर उनीहरूको मन जुरुक-जुरुक उठिरहेका थिए।उतैतिर जाँदै थिए।आखिर मन बिनाको शरीर ढुंगामुढा समान थिए।बाँस जस्तै खोक्रा थिए।जीवन खल्लो थियो-चिनी बिनाको चिया जस्तै।तर एक जोर मुटुहरु एक-अर्काका लागि धड्किरहेका थिए।दुई जोर आँखाहरु एक-अर्कालाई खोजिरहेका थिए।एक जोर ओठहरु मिलनको लागि तड्पिरहेका थिए।एक-अर्का बिना शरीर जीवित थिएनन्,मुर्दा थिए।मध्यरातको बाह्र बजिसकेको थियो।आनी सुत्नै सकिनन्।कसैले चाल नपाउने गरी बिस्तारै बाहिर निस्किन्।किशोरको प्रतिक्षामा आकाशको जून हेरेर टोलाइरहिन्।आधा घण्टा जति बस्दा पनि नआएपछि फर्केर सुत्ने कोसिस गरिन्।एक बजेतिर उनी भुसुक्कै निदाईन्।तर उता किशोरको हालत उस्तै खराब थियो।अब उसको पालो बाहिर आयो।तर रात निर्जन थियो।कोही थिएनन्।एक घण्टा जति बसेर उ पनि भित्र पस्यो।
Saturday, 29 April 2017
आनी-७
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment