बुडी
------
फोन पनि उठाएनौ,कहर के छ बुडा
धेरै बेर घुम्नुपर्ने~~रहर के छ बुडा
घर आउनु पर्दैन,जहाँ बसे नि हुन्छ
खुरुक्क आउने की,ठहर केछ बुडा?
बुडा
------
आफू यहाँ निकै ठूलो काममा फसेकोछु
काम भन्दा पनि बुडी!लाममा फसेकोछु
दुई घण्टा भइसक्यो ,बाटो खुल्या छैन
दुर्घटना भा'को रै'छ, जाममा फसेकोछु।
बुडी
------
जाम भन्दा पैले गाडी कुदाउनुपर्छ नि
अफिसबाट छिटो बाटो तताउनुपर्छ नि
कुन बेला के-के हुन्छ,~थाहै होला हजुर
बेला हुँदै छिटो घरमा ~~आउनुपर्छ नि।
बुडा
------
नेपालमा त साँगुरो सडक छ के गर्ने
अरु देश भन्दा धेरै फरक छ के गर्ने
मलाई पनि थाहै छ, छन त ए प्यारी
सडकमा जाम पटक-पटक छ के गर्ने?
बुडी
-----
भोलिदेखि अफिसमा~ जानु पर्दैन ल
भयो अब देखि जागिर खानु पर्दैन ल
खुरुक्क गाडी बेच्नु ,मेरो मुखमा मान्नु
जाने भएपनि गाडी~~लानु पर्दैन ल।
बुडा
-----
महंगीको शहरमा~~~ बाँच्नु र कसरी
जागिर बिना पीडा हुन्छ,हाँस्नु र कसरी
बैंकमा सुक्को पैसा छैन,तिमीलाई थाहै छ
कसम,सत्य हो,मैले ~~ढाँट्नु र कसरी।
बुडी
-----
साइकल लिई जानु, बचत पनि हुन्छ
साइकल चलाउँदा,कसरत पनि हुन्छ
पेट्रोल किन्ने पैसाले मीठो खाजा खानुस्
त्यसो गर्दा शरीरमा तागत पनि हुन्छ।
बुडा
-----
सडक फेर्न सकिएन,साधन फेर्नु पर्ला
धन जोड्न सकिएन,यो मन फेर्नु पर्ला
सुखद जीवन जिउने~वातावरण छैन
बरु रहनसहन अनि~चलन फेर्नु पर्ला।