Thursday, 7 September 2017

खबरदार!

अन्जान स्थान
सप्तरंगी किरणले शुभोषित गगन
गगनचुम्बी महल
झिलिमिली बस्ती
फराकिलो सडक
सवारीसाधनहरुको आवतजावत
उर्जाशील मनुष्य
अर्थात म
कौतुहल हुँदै मनोरम दृष्यावलोकन गर्दै
उड्दै-उड्दै गएँ
व्यग्रता चरमोत्कर्षमा पुग्यो
भूगोलमै बिलिन थिएँ
कुन महादेशमा थिएँ
कुन देशमा थिएँ
बिल्कुल अनबिज्ञ म।

उड्दै-उड्दै जाँदा
नौला-नौला स्थानहरुको आगमनले
पुलकित र आल्हादित हुँदै
प्रकाशकै गतिमा हुइँकिएँ
हेर्दाहेर्दै मेरो शरीरमा
बडेमानका दुई पखेटाहरु पलाए
स्वर्गको खोजीमा भौतारिएँ।

मेरो उडानले पुर्यायो भव्य देश
लेखिएको थियो-"अमेरिकामा स्वागत छ"
सूक्ष्म अवलोकन गर्न थालें
मान्छेहरु अति व्यस्त
कसैलाई कसैको मतलब छैन
कोही अध्ययनमा ब्यस्त
कोही प्रयोगशालामा ब्यस्त
हतियार निर्माणमा तल्लीन
क्षेप्यास्त्र बनाउन उद्धत
भन्दै थिए-"यति भए संसार मुट्ठीमा"

मन अस्थिर हुँदै थियो
एकै ठाउँमा अडिन सकिन
चीनमा पुगेछु
सबै उस्तै सक्रिय
उस्तै दौडधुप
देश निर्माणमा जुटेका
जापान पुगें
जापानीहरु झन मिहिनेती
श्रमप्रति विश्वास र माया।

उत्तर कोरियाको गगनमा गएँ
सबै सेना जतिकै आक्रमक
आक्रोशित भएर प्रस्तुत हुँदै
धेरैजसो तालिममै ब्यस्त
प्रायः जसो बैज्ञानिकहरु
हाइड्रोजन बम निर्माणमा ब्यस्त
"अमेरिका त के विश्वनै उडाइन्छ"
यस्तै भन्दै थिए।

मलाई याद आयो-म नेपाली हुँ
नेपालकै दृश्य हेर्न मन लाग्यो
मेरा पखेटा स्वदेशतिर मोडिए
जब नेपाली आकाशमा पुगें
अनि अनौठा दृश्य देखिए
नर्तकीहरु नृत्य केन्द्रमा नृत्य गर्दै
भुँडी फुलिएका पाका मान्छेहरु
रम र भोड्काको चुस्कीसंगै
नृत्य हेर्न मस्त
आँखाहरु गोप्य अंगतिर ब्यस्त।

सडकमा कोही आन्दोलित
कोही गाडी जलाउँदै
कोही तोडफोड गर्दै
धनीमानीहरु क्यासिनोमा जुवा खेल्दै
लाखौं पैसा उडाउँदै थिए
युवाहरु गाँजा-चरेशमा मस्त भएर
रंगीन दुनियाँमा हराइरहेका थिए
कोही बलात्कार गर्दै
कोही चोरी-डकैतीमा संलग्न।

हेर्दाहेर्दै अर्को पर्दा उघारियो
त्यहाँ थिए-नेपालका वरिष्ठ नेताहरु
प्रमुख दलका शीर्ष नेताहरु
उनीहरू गोप्य बैठकमा व्यस्त थिए
आ-आफ्ना मन्तव्य ब्यक्त गर्दै थिए
"अब कुन नदी बेच्दा ठिक होला त?"
"सिंगै नेपाल बेच्न पाए फाइदा हुन्थ्यो!"
मेरो रक्तचाप उच्च भयो
मुटुको धड्कन तेज भयो
अनायासै चिच्याउन पुगें
"खबरदार!देश बेच्न पाईन्न!"
झल्याँस्स ब्युँझिएँ
अन्धकार बाहेक केही थिएन
मनले अझै भन्दैथियो
"खबरदार!देश बेच्न पाईन्न!"


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...