Tuesday, 12 September 2017

अरबको ब्वाइलर

सत्तरी बर्षे बुढोको
चाउरिएको गाला जस्तो
चोटपटक लागेर
छिया-छिया परेको छाला जस्तो
कहालीलाग्दो आलु।

कुरुक्षेत्रको संग्राममा
गोली लागेर
रगतपच्छे घाइते सिपाही जस्तो
क्षतबिक्षत टमाटर।

हिमालझैं टलल टल्किने
मैनले पालिस गरिएको
चमकदार स्याउ।

प्रचण्ड रविले
ओइलिएका पातहरु झैं
लोलाएका सागसब्जी।

हेर्दा फुरुरु देखिने
प्लास्टिकका दाना मिसिएका
मिश्रित चामल।

सूर्यमुखीको नाममा
विभिन्न वनस्पतिका रस मिसिएका
अशुद्ध तेल।

महिनौं दिनसम्म
फ्रीजमा जमिएका
सुई लाएर फुलाएका
ब्वाइलर कुखुरा।

हेर्दा पोटिला र ताजा
रासायनिक पद्धार्थले जिवित
बिबिध तरकारी र फलफूल।

हरेक दिन खाना हैन
बिष खाएर बाँचेको छु
यो बिरक्तिलो अरबमा
दिनप्रतिदिन आयु घटाउँदैछु
कहालीलाग्दो मरुभूमिमा।

हो आमा!
यसरी नै बाँचिरहेको छु अहिलेसम्म
ब्वाइलर कुखुरा झैं
चिसो ए.सी.मा कठङ्गृएको छु
फ्रीजरुपी सानो कोठामा।

तर दिनमा
५०°को घामले
ताउमा तताइएको घिउ झैं
पग्लिरहेको छु
दिनमा पग्लिने र
रातमा जम्ने प्रक्रिया
अझै केही साल जारीरहनेछ
जबसम्म ऋण तिरेर सकिन्न।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...