जमिनमा बिजाणु छरिएपछि
मलजलको पृष्ठपोषणमा
अंकुराउन थालेपछि
हावाहुरीबाट जोगिन
संघर्ष गरे झैं
एउटा भीमकाय
अजिंगरको मुखमा झैं
आमाको गर्भाशयमा
भयावह त्रासदीसंगै
नौ महिना पर्खेर
संघर्ष गर्छ एक भ्रुण।
एउटा धारिलो सवाल खडा हुन्छ
कतै भ्रुण-हत्या त हुँदैन?
विरासत थाम्ने बहना बिरुद्ध
बंश जोगाउने चाहना विरुद्ध
छोरा नै पाउने रहर विरुद्ध
अविभावक संगै संघर्ष गर्छ।
आफू हुर्केको पाठेघर छोडेर
संघार नाघेर संसारमा आएर
संगसंगै हुर्किएको नाभीसंग
बिद्रोह गरेर सम्बन्ध बिच्छेद गरी
सास फेर्ने अभ्यास गर्दै
उस्तै संघर्ष गर्छ उसले।
रोएर आमालाई सचेत गराई
स्तनपान गराउन बाध्य बनाउँछ
भोक लाग्दा,प्यास लाग्दा
आवाज बुलन्द पार्छ
भीषण संघर्ष गर्छ शिशुले।
बामे सर्दै-सर्दै
धर्तीमा पाइला टेक्न
बर्षदिन संघर्ष गर्नुपर्छ
क्रमशः हिंड्न र दौडन
संघर्षै संघर्ष गर्नुपर्छ।
विद्यालयमा अध्ययन गर्दा
सहकर्मीसंग प्रतिस्पर्धा हुन्छ
बौद्धिकताको संघर्ष हुन्छ
आफूलाई सफल र अब्बल बनाउन
कैयौं संघर्ष गर्छ उसले।
हर पाइलामा ठेस लाग्छ
हर कार्यमा खुट्टा तानिन्छ
हजारौं असल कार्य गरेपनि
एउटा गल्ती खोज्न उद्धत हुन्छ दुनियाँ
कहिल्यै जस पाईन्न
जबसम्म उ जिउँदो रहन्छ।
अरुको त के कुरा
आफ्नै भाग्यले पटक-पटक छल्छ
आफ्नै छायाँले लुकामारी खेल्छ
एउटा लामो दूरीको म्याराथनमा
दौडिरहेको आफ्नै जिन्दगीले
अनायासै ब्रेक मारिदिन्छ।
श्वास फेर्न बिर्सेको दिन
आँखा देख्न छोडेको दिन
संघर्ष गर्न नसकेको दिन
अचानक भुइँमा ढलेपछि
दनदनी चितामा जलेपछि
जिन्दगीको नाममा
खरानी अवशेष रहेपछि
बल्ल मान्छेको आँखा खुल्छ
मान्छेको अश्रु झर्छ
दया र माया पलाउँछ
अनि सहानुभूति प्रकट गर्दै भन्छ
"बिचरा!कति असल मान्छे थियो!"
No comments:
Post a Comment