Monday, 31 July 2017

उठ सरकार

हेल्लो सरकार!
शुभ-प्रभात!
सञ्चै छौ सरकार?
प्रभाती किरणले
धर्तीलाई चुमिसक्यो
नव-सन्देश बोकी
नवयुग संघारमै आइपुग्यो
उठ न हो सरकार उठ
कति सुत्न सकेको
उठ सरकार!

एक बिदेशी दलाल
कौडीको भाउमा
राष्ट्रियता र स्वाभिमानको
मोलमोलाइ गर्न
तिम्रै दरबार सामू
नतमस्तक छ
आफ्नो निर्णय सुनाउन
उठ न हो सरकार
कति सुत्न सकेको
उठ सरकार!

कोलाहलमय प्रदुषित धुलोमाडौंमा
पजेरोमा सररर सयर गर्दा
राजधानीले धूम्रपान गर्दा
ढलमतीले दुर्गन्ध फ्याँक्दा
भयावह किटाणुको संक्रमणबाट
थलिएका त छैनौ?
बिहानीको पवनसंग खेल्न
उठ न हो सरकार
कति सुत्न सकेको
उठ सरकार!

मध्यरातमा
बिदेशी पाहुनासंगको भेटमा
राष्ट्रघाती सम्झौताको खाका कोर्न
चियर्स गर्दै लिइएको
महंगो सोमरसको चुस्कीले
लट्ठिएर,मात्तिएर
मस्त निंदाएका त छैनौ?
अब त नशाले छोडे होला नि!
उठ न हो सरकार उठ
कति सुत्न सकेको
उठ सरकार!

जिन्दावाद र मुर्दावादका नारा लाएर
जनसागर उर्लिसक्यो
गाउँबस्तीबाट जुर्मुराउँदै
सुन्न नचाहने तिम्रा कान फुट्नेगरी
बुलन्द आवाज लिएर
सडक-सडकबाट उठेका छन्
तिमी भने चीर-निंद्रामै सुतेका छौ
उठ न हो उठ सरकार
कति सुत्न सकेको
अब त उठ सरकार!!!

शासक

शासकहरु आफैं बाधक भएर
प्रस्तुत भैरहेछन् अराजक भएर
समृद्धी जन्माउन सकेका छैनन्
देशका नेता सब नपुंसक भएर।

Sunday, 30 July 2017

आनी-१२

                  भाग-१२
           सर्बोच्च अदालतको भवन अगाडि बाट आनी डोल्मा र किशोर ट्याक्सी चढेर बौद्धतिर प्रस्थान गरे।ट्याक्सीमै किशोरले आफ्नो दाहिने हात आनी डोल्माको काँधमा राख्यो।उसले उनलाई बिस्तारै आफूतिर खिच्यो।डोल्मा भने अनौठो पाराले उसको अनुहारमा टुलुटुलु हेर्न थालिन्।किशोरले आफ्नो ओठ लाई सुंगुरको जस्तै चुच्चो बनायो र डोल्माको गालातिर बढायो।एकैछिनमा उसको ओठ र उनको गालाको बीचमा मीठो स्पर्श भयो।मिलन भयो।डोल्माले दुवै आँखा चिम्लेर अनुभूत गर्न थालिन्।ड्राइभर भने अगाडिको सिसामा नजर लाउँदै मुसुमुसु हाँस्यो।
"बौद्ध कहाँनेर पुग्नुपर्ने हजुर?"
ड्राइभरको प्रश्नले उनीहरुको कृयाकलापलाई भंग गर्यो।किशोर आक्रोशित भयो।आफ्नो अभिष्टलाई निरन्तरता दिन नपाउँदा उ खिन्न थियो।
"बौद्धकै गेटमा रोक्नुस्।"
"हवस् हजुर।"
"अनि त्यसपछि हामी कहाँ जाने किशोर?"
आनी डोल्माले कौतुहल हुँदै सोधिन्।
"मसंग हिंड मात्र।तिमीलाई म हाम्रो सानो संसारमा लिएर जान्छु,जहाँ तिमी र म मात्र होस्।"
"त्यस्तो संसार कहाँ छ र किशोर यो शहरमा?असम्भव!"
"तिमी मसंग हिंड मात्र।चाँडै देख्नेछ्यौ।मेरो बिश्वास लागेन?"
"तिमीलाई बिश्वास नगरेर अरु कसलाई गर्ने?बिश्वास मात्र हैन किशोर,तिमीलाई त म अन्धो-बिश्वास गर्न तयार छु।जहाँसुकै लैजाउ,जेसुकै गर।मैले त आफूलाई तिम्रै जिम्मा लगाएँ।चाहे काट या मार।म अब म रहिन।म तिम्रो एउटा अंग भैसके।जसरी चलाउ,तिम्रै मर्जी।"
किशोर हर्षले मुस्कुरायो।कहिल्यै नभएको खुशी भयो।उसले डोल्माको निधारमा आएको केश माथितिर फर्कायो।डोल्माले आफ्नो शीरलाई किशोरको काँधमा राखिन्।दुबै हातको सहायताले उसको पाखुरा कसिन्।त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो,मानौं उनीहरू नवविवाहित श्रीमान-श्रीमती हुन्।ट्याक्सी गएर बौद्धको गेटमा गएर रोक्यो।किशोरले ५ सयको नोट निकालेर ड्राइभर लाई दियो।दुबैजना बौद्ध स्तुपाको परिसरमा प्रबेश गरे।बौद्ध स्तुपाको नजिकै पुगेर उनीहरुले आँखा चिम्म गरे।दुई हात जोडेर नतमस्तक भई हार्दिकतापूर्वक नमन गरे।हृदयदेखि नै प्रणाम गरे।त्यसपछि बौद्धको चारैतिर फैलिएका स-साना मानेहरु फनफनी घुमाउँदै हिंडे।
"ॐ माने पेमे हुँ......"
धेरैबेरसम्म यस्तै वाक्यको पुनरावृत्ति गरिरहे।किशोरको दायाँ र डोल्माको बायाँ हातको मिलन भइरहे।बौद्ध स्तुपालाई तीनपटक परिक्रमा गरिसकेपछि किशोरले डोल्माको हात समाएर एउटा गल्लीतिर लग्यो।मासु पसलमा खसीको मासु एक किलो लियो।किराना पसलमा जीरा,हल्दी र तोरीको शुद्ध तेल लियो।प्लास्टिकको झोला भरी सामान लिएर पैदलमा हिंड्न थाले।
"यो मान्छेले कहाँ लान लाग्यो?"
डोल्माले मनमनै सवाल गर्यो।
"ह्या..जहाँ लगेपनि लगोस्।म उसैको भैसकेपछि के टेन्सन लिनु।"
मनमा यस्तै कुराहरु खेल्न थाले।
यतिखेर उसले हात समाउन छोडिसकेको थियो।डोल्मा चाहन्थिन् कि उसले आफ्नो हात पहिलेको झैं समाइरहोस्।कहिल्यै नछोडोस्।जिन्दगीभर साथ देओस्।तर किशोर अगि-अगि हिंड्न थाल्यो।मानौं डोल्मालाई बाटो देखाउनु थियो।डोल्मा पछि-पछि लुरुलुरु हिंडिन्।करीब ५ मिनेटको पैदल-यात्रापछि किशोर ठिङ्ग उभ्यो।उनीहरुको सामू भीमकाय भवन खडा थियो।
"जाऔं न किशोर किन उभिएको यहाँ?"
"यही त हो हाम्रो सपनाको महल!कहाँ जाने कुरा गर्छ्यौ तिमी?अबदेखि हामी यहीँ बस्ने,यहीँ रमाउने र जिन्दगी बिताउने।दुईचार वटा भन्टाङभुन्टुङ निकालेर उनीहरुसंगै खेल्ने र हाँस्ने।हेर डोल्मा,तिमीलाई कस्तो लाग्यो?"
डोल्मा तीनछक्क पर्दै माथितिर हेर्न थालिन्।
"१,२,३,४,५..बाफ्रे।कति ठूलो घर!कसको घर हो?यहाँ को-को बस्छन्?हामी यहाँ भाडामा बस्न लागेको हो?महंगो होला हगि भाडा?भाडा तिर्न सकिन्छ र?"
मनको सागरबाट उर्लेर आएका छाललाई डोल्माले एकैपटकमा उजागर गरिन्।
"हैट तिमी पनि!केको भाडाको कुरा गर्छ्यौ?यो हाम्रै घर हो।यहाँ तिमी र म बाहेक कोही बस्दैनौं।यो घर सिर्फ हाम्रो हो।"
डोल्माले बिस्फारित नयन बनाउँदै एकोहोरो घरलाई नियालिरहिन्।कालो गेट,सेतो रङले रंगिएको गगनचुम्बी भवन।हेर्दा कुनै राजामहाराजाको घर जस्तै।किशोरले गेटको चाबी खोल्यो।दुबैजना संघारबाट भित्र प्रबेश गरिसकेपछि उसको पुनः चाबी बन्द गर्यो।डोल्माको नियाल्ने र अवलोकन गर्ने क्रम जारी नै रह्यो।घरको ठूलो परिसर।खाली ठाउँमा दुबो रोपिएको।४/५ मिटरको अन्तरालमा विभिन्न थरीका रुखहरु रोपिएका।रंगीचंगी फूलहरुका गमला।घरको दायाँ तिर चट्टानै चट्टानले निर्मित कृत्रिम भीर,जहाँबाट झर्ना जस्तो पानी छङछङ खसिरहेको।बायाँतिर ठूलो स्विमिङ पूल।ठिक सामने गाडीको पार्किङ।पार्किङमा रातो रङको बी एम डब्ल्यू नयाँ कार।कार नजिकै एउटा महंगो स्पोर्ट्स बाइक।सबै दृश्य देखेर डोल्मा दंग भइन्।उनको आँखा पार्किङ भन्दा माथि गएर टक्क अडियो।उनले आफ्नो आँखालाई बिश्वासै गर्न सकिनन्।एकाएक मीठो सपना जस्तै लाग्यो।आफूलाई रोचक फिल्मको नायिका जस्तै लाग्यो।उनलाई आश्चर्यचकित बनाउने दृश्य अरु केही नभएर त्यहाँ लेखिएको "डोल्मा निबास" नै थियो।
"किशोर!म यो के देख्दैछु?कतै सपना त देख्दै छैन मैले?"
"हैन-हैन डोल्मा।यो कुनै सपना नभएर बिपना हो।यथार्थ हो, कुनै दन्त्य कथा हैन।यो तिम्रै घर हो।हाम्रै घर हो।अझ भनौं यो हाम्रो दरबार हो।तिमी यो दरबारकी महारानी हौ।अनि एउटा कुरा- यो तिम्रै लागि हो।"
उसले डोल्माको हातमा कारको चाबी थमाइदियो।एकछिन उनले केही सोच्नै सकिनन्।अक्क न बक्क भएर ट्वाल्ल परिन्।
"तर..किशोर.."
"केको तर- सर?अप्ठ्यारो मान्नुपर्दैन।यसमा तिम्रै हक लाग्छ।भोलि नै म यो घर र गाडी तिम्रै नाममा गरिदिन्छु।मलाई तिमी भए अरु केही चाहिन्न।तिमी नै मेरो सबथोक हौ।आउ भित्र।तिमीलाई हाम्रो संसारमा न्यानो स्वागत छ।दायाँ पाइला अगाडि बढाउ।"
उसले उनलाई हातमा समाएर भित्र प्रबेश गरायो।भित्रका भित्ताहरुमा फूलबुट्टाले सजाएका।सिंढीहरुमा महंगा मार्बल बिछ्याएका।डोल्माको नजर अझै ती आलिशान महलका हर बस्तुमै थियो।उनको लागि प्रत्येक पाइला-पाइला भारी र महंगो लाग्दै थियो।
"यो भुईंतला यतिकै खाली छ।पहिलो तल्लामा शारीरिक कसरतको लागि जिम लगायत विभिन्न सर-सामानहरु राखिएका छन्।दोश्रो तल्लामा किचेन र डाइनिङ हल छ।तेश्रोमा हाम्रो बेडरुम।यी हेर हाम्रो बेडरुम।"
उसले तेश्रो तल्लाको ढोका खोलेर देखायो।महंगो बुट्टेदार रातो कार्पेट।आरामदायी सोफाका सेटहरु।ठूल्ठूला पलाङ र यसमाथि बिछ्याइएका बाक्ला फमहरु।दुईवटा अग्ला तथा ठूल्ठूला दराजहरु।झ्यालमा सजाइएका झिलीमिली पर्दाहरु।भित्ताहरुमा थरी-थरीका पेन्टिङहरुले सजिसजाउ।सिलिङमा रंगीचंगी बत्तीका सेटहरु।एकतिर ट्वाइलेट र अर्कोतिर बाथरुम।अनि त्यहाँ बिछ्याइएका चिल्ला टायलहरु।सरसामान र सजावटले घरको शोभा बढाइएको थियो।उच्च घरानाको जीवनशैली स्पष्टरुपमा झल्किन्थ्यो।उसले डोल्मालाई लिएर चौंथो तलामा लिएर गयो।
"यो चाहिँ पाहुना कक्ष हो।यो पनि बेडरुम नै हो।"
तेश्रो तलाकै पाराले सजाइएको थियो।त्यसपछि उनीहरू पाँचौ तलामा गए।त्यहाँ १० वटा सोफासेट र १० वटै टेबलहरु राखिएका थिए।ठूल्ठूला तीनवटा दराजहरुमा पुराना तथा नयाँ पुस्तकहरु राखिएका थिए।
"यो मेरो पुस्तकालय हो।यही बसेर म पढ्ने र लेख्ने गर्छु।ईच्छुकहरु यही बसेर विभिन्न भाषा र बिधाका पुस्तकहरु अध्ययन गर्न सक्छन्।"
डोल्मालाई आफू कुनै संग्रहालमा आएको भान भयो।उनी मुकदर्शक भएर हेरिरहिन्।
"जाऔं डोल्मा अब माथि छतमा।"
जब उनीहरू माथि पुगे,डोल्मा नतमस्तक र मन्त्रमुग्ध भइन्।त्यहाँबाट काठमाडौंको शहर छर्लङ्गै देखिन्थ्यो।उनले आफूलाई एउटा ठूलो क्यामभासको बीचमा भएको अनुभूत गरिन्।कुनै नामी चित्रकारले सप्तरंगी घरहरु क्यामभासमा कोरिएका झैं लाग्थे।ठ्याक्कै उनले आफूलाई त्यो क्यानभासको बीचमा बनाइएको स्त्री झैं अचल र अमूक भेटाईन्।उनी स्तब्ध भइन्।अझ छतमै राखिएका रंगीचंगी फूलका गमलाले वातावरणलाई सजीव बनाइरहेको थियो।
"किशोर!कतै म मरेको त हैन?"
"तिमी के भन्दैछ्यौ डोल्मा?"
"मलाई त शंका लाग्दैछ किशोर।कतै हामी स्वर्गमा त छैनौं?म यहाँ बस्न सक्दिन किशोर!म मर्न चाहन्न।म अझै धेरै बाँच्न चाहन्छु।प्लीज किशोर मलाई मेरै संसारमा पुर्याइदेउ।"
"तिमी किन यस्तो भन्दैछ्यौ?के तिमीलाई हाम्रो घर मन परेन?मलाई बिश्वास गर डोल्मा।यो कुनै स्वर्ग हैन,हाम्रै घर हो।तिमीलाई ठिक त छ नि?सञ्चो भएन भने जाऔं हिंड तल गएर आराम गरौं।"
उसले डोल्माको हात समाएर तलतिर डोर्‍याउन थाल्यो।
"एकछिन न किशोर।यदि म वास्तविक संसारमै छु भने अझै केहीबेर यहाँको मनोरम दृश्य हेरेर अघाउन चाहन्छु।जीवनमा पहिलोपटक म यस्तो घर र वातावरणमा आइपुगेको छु।मलाई यहीं हराउन देउ।सन्तुष्टीको सास फेर्न देउ।"
"त्यसो भए कुर्शीमा बसेर आराम गर।आउ यहाँ बस।"
"किशोर!मैले त काठमाडौंको धुवाँ,धुलो र कोलाहल जस्ता प्रदुषण मात्र देखेकी रहेछु।यही शहरभित्र यस्तो ठाउँ पनि होला भनेर त कल्पनासम्म पनि गरेकी थिइन।पहिले म सानो हुँदा चेर्दुङको लेकमा चौंरीसंग हिंड्दा जति मजा लागेको थियो,आज पुनः त्यस्तै मजा आउँदैछ।यो ठाउँ त कुनै कविले वर्णन गरेको काल्पनिक र अलौकिक ठाउँ जस्तो लाग्यो।यहाँको बसाइँ त स्वर्गको जस्तै आनन्दमय र सुखद लाग्यो मलाई।देवी,देवताहरुको बासस्थान जस्तो।परीहरु यतै कतै झुमिरहेका छन् झैं लाग्ने।तिमीलाई धेरै-धेरै धन्यवाद किशोर।तिम्रो यो गुण कहिल्यै बिर्सिने छैन।"
"तिमी धेरै भावनामा बहकिए जस्तो छ।आजै सबै हेरिसक्ने बिचार छ कि क्या हो?भोलि,पर्सी र भविष्यको लागि पनि केही थाती राख।जाऔं अहिलेलाई किचेन तिर।कस्तो भोक लागिसक्यो आफूलाई!धेरैपछि आज खान मन लागेको छ।टन्नै रुच्ला जस्तो छ।"
"यस्तो आनन्ददायी दृश्य हेर्न पाए मलाई केही चाहिन्न किशोर।खाना पनि चाहिएन बरु।म यत्तिकै अघाउँछु।"
"आउ,नाटक नगर त।तिमीले केही गर्नुपर्दैन।पकाउने भान्से म छु नि।तिमीले गफ मात्र गरे पुग्छ।यसै पनि आजदेखि तिमी यो घरको मालिकनी भैसक्यौ।"
दुबैजना पसलमा किनेको सामान लिएर दोश्रो तलामा झरे।
"किशोर!तिमी बस।खाना म पकाउँछु।मलाई घरको।मालिकनी भन्दा पनि यो घरको बुहारी भएर बस्ने मन छ।"
"कहाँ हुन्छ त्यसरी?आजै त तिमी आएकी छ्यौ।पकाए पनि भोलिदेखि पकाउ।आजलाई छुन दिन्न।यदि रहरै लाग्छ भने खाना कसरी पकाउनुपर्छ सिकेर राख,अनि भोलि पर्सीदेखि पकाउ न।"
"त्यसो भए म के गरुँ?यतिकै बस्न सक्तिन म।केही न केही काम देउ न।प्याज काट्छु।लसुन छोडाउँछु।मसला पिस्छु।यति त गर्न सक्छु नि मैले पनि।केही नजान्ने सिल्ली चाहिँ हैन है म।१०/११ बर्षको कलिलो उमेरदेखि खाना बनाउन थालेकी हुँ।"
"हैन डोल्मा,तिमीले केही गर्नुपर्दैन।तिमी गफ मात्र गरिराख।तिम्रो उपस्थितीमा म ठूल्ठूला युद्ध जित्न सक्छु।तिमी हुँदा घरै उज्यालो।तिम्रो रुपको बत्ती बालिदेउ त्यही उज्यालोमा काम गर्छु।"
"गफ पनि जानेकै हो किशोरले।"
"डोल्मा!बरु तिमी आफ्नो अधुरो कहानी सुनाउ।म खाना पकाउँदै सुन्दै गर्छु।"
"ए साँच्ची मैले सुनाउनैपर्ने थियो।मैले सर्वस्व तिमीलाई सुम्पिनु अघि मैले सुनाउनैपर्छ।नत्र पछि तिमी र मलाई पछुतो हुनसक्छ।आत्माग्लानी हुनसक्छ।उसैपनि म सदा-सदाको लागि तिम्रो हुँदैछु।मैले केही कुरा लुकाउनु उचित हुन्न।तिमीले पनि जे छ सबै भन।मनमा उकुसमुकुस भएर गुम्सिएका भावनाको ज्वालामुखीलाई बिस्फोट गराउनुपर्छ।अनि मात्र मनलाई शान्ति मिल्छ।"
"मेरो के छ र?मेरो त शुरु तिमीबाटै र अन्त्य पनि तिमीमै।प्रथम पनि तिमी,अन्तिम पनि तिमी नै।बरु तिम्रो सुन्न आतुर छ म।"
" ल किशोर सुन।लाहुरेसंग भेटेको हप्तादिन भैसकेको थियो।शुरुमा त म उसको यादमा अनगिन्ती तड्पेको थिएँ।तर बिस्तारै नियन्त्रण गर्दै गएँ।एकोहोरो रोटी पाक्ने कुरै थिएन।त्यो जम्काभेटलाई जिन्दगीमा आइपर्ने एउटा घटना-दुर्घटनाको रुपमा परिभाषित गर्दै उसलाई मनबाट निष्कासन गरें।म सामान्य अर्थात पूर्वावस्थामा फर्किसकेकी थिएँ।गोठमा सामान सकिए तापनि त्यो पालि म गाउँ नगएर जिरी बजार गएर फर्कें।अर्को एक हप्तासम्मलाई सामान काफी भयो।करीब १५ दिनपछि म पुनः गाउँमा झरें।घरमा भएको कोदो कुटेर भुटभाट गरी पानीघट्टामा गएँ।गीत गाएर टोलाउँदै दुई घण्टामा कोदो पिनेर घरको उकालो बाटोमा उक्लिन थालें।आकाशमा कालो बादल आएर मडारिन थाल्यो।आकाश गर्ज्यो।घनाघोर वर्षा हुने संकेत थियो त्यो।हतार-हतार स्याँस्याँ र फ्याँफ्याँ गर्दै पाइला द्रुतगतिमा बढाएँ।शरीर असिनपसिन भैसकेको थियो।अपर्झट मेरा पाइलाहरु थकित भएर रोकिए,जब मेरो अगाडि कोही आएर उभ्यो।म रुनु न हाँस्नु भएँ।कतै हराएको अमूल्य चीज भेट्टाए झैं लाग्यो।त्यो मान्छे अरु कोही नभएर लाहुरे नै थियो।शुरुमा त मेरो शरीर बुख्याँचा जस्तै भयो।बोली निस्कन सकेको थिएन।केवल टुलुटुलु हेरिरहें।
"यतिका दिन कहाँ थियौ कान्छी?"
यताउता चारैतिर नजर डुलाएँ।अरु कोही थिएनन्।
"मैले तिमीलाई सोध्नैछ।तिमीलाई!"
उसले मैतिर औंला ठड्याएर बोल्यो।म अझै चुपचाप खडा थिएँ।
"भारी बिसाउ न एकछिन गफ गरौं।मलाई चिनेनौ?म लाहुरे के त।अस्ति नै भेट भाको हैन हाम्रो?"
"हो-हो,बल्ल चिनें।किन होला?"
"कान्छी!जब तिमीसंग भेटेर छुट्टिएँ,मेरो भोक,प्यास र निंद सब कहाँ गए-गए।मलाई के भयो,थाहा छैन।यो मनले केवल तिमीलाई मात्र खोजिरह्यो।तर नपाएर म कायल भएको थिएँ।त्यही दिनै फेरि म यहाँ आएको थिएँ।तिम्रो घर सोधें,खोजें।तर तिम्रो घरमा कोही थिएनन्।त्यो दिनदेखि लगातार आजसम्म धाइरहेको छु।मैले त आशा मारिसकेको थिएँ तर भाग्यबश आज भेट भयो।यो भन्दा खुशीको क्षण के हुनसक्ला र?क्यानम,हाम्रो परिचयसम्म भाको छैन।तर म यस्तो भन्न बाध्य छु-म तिमीलाई मनपराउँछु।माया गर्छु कान्छी।क्यानम,के तिमीलाई स्वीकार छ?नाइँ नभन ल कान्छी।क्यानम तिमी मेरो ज्यान हौ।"
"गफ नदेउ न लाहुरे।केटाहरु कति सिपालु गफ गर्न।त्यही माथि तिमी त झन लाहुरे।लाहुरेको के बिश्वास?माया लाउँछ,सबै लुट्छ र भाग्छ।मलाई अन्जान मान्छेसंग माया गाँस्नु छैन।?
"नचिनेसम्म त हो नि कान्छी।चिनिसकेपछि केको अन्जान?कति दु:खले तिमीलाई भेट्टाएको छु।क्यानम मेरो माया चोखो छ कान्छी।बरु हाम्रो परिचय गरौं न।मेरो असली नाम-निमा शेर्पा।सबैले लाहुरे भन्छन्।तिम्रो नाम?"
म एकछिन मौन उभिरहें।नजिकैको कान्लामा भारी बिसाएँ।उसले मेरो बारेमा चासो लिएपनि मैले नलिए जस्तो गरें।वास्तवमा लाहुरेसंग भेट्दा मपनि उत्तिकै आल्हादित,पुलकित,हर्षित र उत्साहित थिएँ।उसलाई देख्ने बित्तिकै भएभरको माया उसैलाई लाग्न थाल्यो।पीठोको भारी कतै मिल्काएर उसको अंगालोमा बाँधिन मन लागेको थियो।उसको शरीरको हर अंग-प्रत्यंगमा चुम्ने इच्छा जागेको थियो।तर एउटी स्त्रीको औकात,इज्जत र धर्मलाई मनन गरेर मुश्किलले आफूलाई नियन्त्रण गरें।
"भन न कान्छी।किन नबोलेकी?मेरो बोली मन परेन हो?म जस्तो मान्छेलाई के जवाफ दिनु है?सायद म तिम्रो लायकको छैन।तिम्रो बराबरीको छैन।तिमी जतिको सुन्दर म छैन होला।"
"त्यस्तो हैन।मेरो नाम डोल्मा शेर्पा।पढेलेखेको छैन।अनपढ छु।जंगलमा चौंरी चराउँछु।लेकबेशी गर्छु।दु:ख गर्छु।नयाँ कपडा लाउने भाग्य छैन मेरो।यी यस्तै थोत्रो कपडा लाएर जीवन गुजार्नुपर्छ।बरु म तिम्रो लायकको छैन।मलाई लज्जित नबनाउ।"
"हैन डोल्मा,तिमी जतिको सुन्दर संसारमा कोही छैन।स्वर्ग लोककी परी भन्दा कम छैनौ।बरु भन,के तिमी मलाई मनपराउँछ्यौ?"
"थाहा छैन।"
"आफ्नो मनलाई सोध न डोल्मा।थाहा भैहाल्छ नि।"
"सोध्नुपर्छ।सोच्नुपर्छ।अहिले नै केही भन्न सकिन्न।"
"नाइँ नभन ल डोल्मा?तिमीलाई भेटेदेखि म पागल भएको छु।बिहानै आएर यहाँ पर्खिन्छु र रातीसम्म बसेर जान्छु।तर तिम्रो दर्शन गर्न नपाएर मेरो दिमाग खुस्किनै लागेको थियो।अरु मान्छेहरुले पनि मलाई खिल्ली उडाए।पागल भने।कतिले त ढुंगामुढा गरे।स्कुल जाने केटाकेटीहरुले खुब जिस्क्याए।धेरैको अपमान र तिरस्कार सहेर तिम्रै प्रतिक्षामा समय गुजारें।यदि तिमी फेरि नआएको भए मेरो जीवन यतै सकिन्थ्यो होला।तर मेरो केही गुनासो हुन्थेन।"
उसको कुराले म नौनी जस्तै पग्लिएँ।उसको मुख हातले थुनिदिएँ।उसको जीवनको समाप्ती मेरो लागि सह्य थिएन।उसले मेरो हातमा सुस्तरी स्पर्श गर्यो।सुम्सुम्याइरह्यो।मेरो हातलाई तानेर मुखको नजिक लग्यो र चुम्बनको वर्षा गरायो।म बेचैन भएँ।जीवनमा पहिलोपटक पुरुषले चुम्बन गर्यो।शरीरमा अचम्मको तरंग पैदा भयो।उसले मेरो अर्को हात पनि समाएर नजिक खिच्यो।हामी बीचको दूरी झन-झन कम हुँदै थियो।त्यही प्रकृयाले निरन्तरता पाइरह्यो।उसको ओठले मेरो ओठलाई स्पर्श गरिसकेको थियो।हुँदाहुँदै म उसको अंगालोमा झ्याम्मै बाँधिएँ।करीब पाँच मिनेटसम्म हाम्रो शरीर एक थियो।मेरो शरीरको तापक्रम उच्च हुँदै थियो।मुटुको ढुकढुकी बढ्दै थियो।उसको माया मलाई असह्य भयो।हिमालको हिउँ पग्लिए झैं पग्लिंदै थिएँ।अचानक मेरो बुद्धिको बिर्को खुल्यो।मैले त्यस्तो हर्कत गर्नु गलत सम्झें।हामीले यौवनको सीमारेखा पार गर्नु अगावै म झट्टै उबाट अलग्गिएँ।
"डोल्मा!आउ न डोल्मा।एकैछिन साथ देउ न।म तिमीमै हराउन चाहन्छु।आफूलाई तिमीमै समाहित गर्न चाहन्छु।"
"नाईं निमा जी यो गलत हो।बिहे पूर्व यस्तो गर्नु घोर अपराध हो।अभिसाप हो।यस्तो गर्यौं भने अनर्थ हुन्छ।भगवान रिसाउँछ।"
"डोल्मा!मैले तिमीलाई त्यो दृष्टिकोणले हेरेकै हैन।तिम्रो बुझाइ गलत भयो।हो,मैले स्पर्श सहितको प्रेम गर्न अवश्य खोजेको हुँ तर शारीरिक सम्बन्ध राख भने खोजेको हैन।यदि मेरो अभिष्ट र नियत खराब नै थियो भने तिम्रो संवेदनशील अंगमा छुन सक्थें।तर मैले त्यसो गरिन।मैले त स-सम्मानसहितको प्रेम गरेको छु।यदि गल्ती गरेको भए माफ गर।"
"ठिकै छ नि निमा।मेरै सोचाइ र बुझाइ गलत थियो होला सायद।खैर यो कुरा छोडौं।मलाई हतार छ।घर जानुछ।गोठ जानुछ।"
"जाऔं हिंड उसो भए।तिम्रो भारी म बोकी लाग्छु।खै देउ।"
उसले जानी-नजानी पिठोको भारी काँधमा राख्यो।सायद कहिल्यै नाम्लो नराखेको थाप्लोमा मेरै लागि नाम्लो राख्यो।म अघिअघि,उ पछिपछि।बेला-बेला म उसैलाई फर्केर हेर्थें।बिचरा उसको हालत अति नाजुक थियो।बानी नभएकोले उसको मुन्टो बटारियो।अनुहार रातो न पिरो भयो।निधारमा चिट्चिट पसिना आयो।शरीर थरथर काम्न थाल्यो।
"गाहो भयो निमा?खै छोड म आफैं बोक्छु।लाहुरेले यस्तो भारी बोकेको कति पनि सुहाएको छैन।धन्न आर्मीको ड्रेस लाएका छैनौ,नत्र कम त बेइज्जत हुन्थ्यो तिम्रो?"
"हैन,हैन।गाह्रो भएको छैन।तिम्रो लागि यति पनि गर्न नसकुँला र ?तिमी भन मात्र,यस्तो भारी त के संसारलाई जुरुक्क बोकेर हिंड्छु।"
"भो-भो गफ नदेउ,देखियो-देखियो तिम्रो तागत।"
यति भनेर म खित्का छोडेर हाँस्न थालें।बिचरा लाहुरे हाँस्नु न रुनु भयो।
"हेर लाहुरे!मसंग बिहे गर्ने भए त यहीँ बसेर यस्तै दु:ख खेप्नुपर्छ।लेकबेशी धाउनुपर्छ।सक्छौ हैन गर्न?"
"सक्छु नि किन नसक्नु?बिस्तारै बानी पारुँला नि तिम्रो लागि।अरु के-के गर्नुपर्छ तिमीलाई पाउन?"
"अरु केही गर्नुपर्दैन।चोखो माया दिए पुग्छ।धोका नदिए पुग्छ।"
त्यति गफ गरिसक्दा घरमा पुगिसकेका थियौं।उसको काँधबाट भारी हटाएँ।उसको कन्तबिजोग देखेर खुब माया लागेर आयो।उसले मेरो मन जितिसकेको थियो।मैले मनमनै अठोट गरें,लाहुरेकै अर्थात निमाकै हुन्छु भनेर।
     अगेनामा आगो बालेर पानी तताएँ।ढिंडो पकाएँ।टिमुर र नुन-खुर्सानी राखेर महीको झोल बनाएँ।ढिंडो पस्केर खान थाल्यौं।बिचरा लाहुरेले कहिल्यै ढिंडो खाएको रहेनछ।खानै आउँदैनथ्यो।भात जस्तै मुछेर गर्यामगुरुम सोहोरेर खान्थ्यो।म भित्रभित्रै हाँसेर सहिनसक्नु भएँ।
"लाहुरे!ई यसरी खानुपर्छ ढिंडो।"
मैले उसलाई ढिंडो खान सिकाएँ।उसले मैले भने जस्तै गरी खान थाल्यो।प्रेममा यति धेरै तागत हुन्छ भनेर मैले यकिन गरेकै थिएन।प्रेमकै कारण उसले कहिल्यै नगरेको काम गर्यो।कहिल्यै नखाएको खाना खायो।उसको सामू अझै धेरै ब्यवधानहरु थिए।उसलाई अझै परिपक्व बनाउनु थियो।
"लाहुरे!के तिमी मेरो लागि सधैं यही गाउँमा बस्न राजी छौ?लाहुरेको जागिर छोड्न तयार छौ?"
"तयार छु।"
उसले केही सोच्दै नसोची एकै सासमा जवाफ दियो।
"अनि मलाई कसरी पाल्छौ त?"
"खेतीपाती गरेर।चौंरी पालेर।ट्रेकिङ गरेर।समयले जे गराउँछ त्यही गरेर।"
मेरो लागि लाहुरेले देखाएको तत्परता,त्याग र साहस देखेर म उप्रति अत्यन्तै प्रभावित भएँ।मलाई चाहिएको जीवनसाथीको गुण उसमा थियो।मैले परिकल्पना गरेको राजकुमार उ जस्तै थियो।मैले मनमनै उसलाई जीवनसाथी स्वीकारिसकेकी थिएँ।
      समय शक्तिशाली थियो।द्रुतगतिमा फड्को मार्दै थियो।समयले नेटो काटेको पत्तै भएन।गोठ जाने बेला भैसकेको थियो।लाहुरेबाट बिदा हुने पल आइसकेको थियो।केही समयको लागि बिछोडको भूमरिमा छट्पटिने क्षण तम्तयार भएर हाम्रो प्रतीक्षा गर्दै थियो।समय हामीलाई रुवाउनका लागि हाँसीहाँसी स्वागत गर्दै थियो।उ हाम्रो आँखाबाट आँसु झार्न पाउँदा दंग थियो।कस्तो पापी समय।कस्तो निष्ठुरी समय।कति कठोर समय।हुनपनि उसको मन-मुटु भए पो!आत्मा हुने भए पो!सबै दोष मैले समयलाई दिएँ।गाली गरें समयलाई।बिचरा!समयलाई सम्झेर एकपटक दया पनि लाग्यो।माया पनि लाग्यो।किनभने हिजो हाम्रो मिलन गराउने पनि त्यही समय थियो।आज भेट्टाउने पनि उहीँ समय।भोलि पुन मिलन गराउने पनि उहीँ समय।फरक थियो त केवल अन्तराल।
"लाहुरे!म अब गोठ जाने बेला भयो।"
निमा भन्दा पनि लाहुरे भन्दा उ खुशी हुन्थ्यो।मैले उसलाई खुशी बनाउन खोजें।तर म जाने कुराले उसको मुहारको रंग एकाएक परिवर्तन भयो।रंगीनबाट एक्कासी श्याम-श्वेत भयो।साउने भेल आकाशबाट हैन,उसको आँखाबाट बर्सिंदै थियो।
"म पनि तिमीसंगै जान्छु नि डोल्मा।म एक्लै कहाँ जाउँ?"
"तिमी तिम्रो घर जाउ।मसंगै हिंडेको देखेर समाजले के सोच्ला?के भन्ला?यस्तो कुरा नगर लाहुरे।"
"साँच्चै तिमीबाट अलग हुने मनै छैन डोल्मा।म पनि अलि माथिसम्म जान्छु ल?"
उ जिद्दी गर्न थाल्यो।मेरो हातमा समाएर अनुनय बिनय गर्यो।उसको अवस्था देखेर टिस लागेर आयो।उसलाई पनि संगै गोठमा लैजान मन लाग्यो।मेरो पति भनेर बा-आमालाई चिनाउन मन लाग्यो।तर हिटलर भन्दा खतरनाक बा-आमालाई सम्झेर जुटाएको झिनो हिम्मत पनि त्यहीं चुँड्यो।मलाई पनि त लाहुरेबाट टाढिने मन कहाँ थियो र?तर धेरै बाधा-व्यवधान सामू खडा थियो।
"जाऔं तर धेरै माथिसम्म हैन।दुनियाँको नजरबाट पनि त जोगिनु छ।यसैपनि अन्जान मान्छेलाई यसरी साथमा लिएर हिंड्दा समाजले नारीलाई बेश्या र रन्डी जस्ता तथानाम दिन्छन्।समाजको तिरस्कार सहन हामी नारीलाई कम त गाह्रो छ?तैपनि तिम्रो जिद्दीको सामू मैले घुँडा टेक्नैपर्यो।"
          समाजबाट आउन सक्ने लाञ्छनालाई गोली मार्दै हामी दुवै उकालो लाग्यौं।जोसमा होस हुँदैन भने झैं उतिबेला  कुनै कुराको भय भएन।दुई मन एक भए जस्तोसुकै परिस्थितीको पनि सामना गर्न सकिनेरहेछ।खलखली पसिना निस्कँदै आलोपालो पिठोको भारी बोकेर अगाडि बढिरह्यौं।उसले मेरो लागि सबैथोक त्यागेर पछि परेको थियो।उसको त्याग र साहसको खुलेर प्रशंसा गरें।
"तिमीलाई मैले मानें लाहुरे।सधैं यसरी नै साथ दिइरहनु।तिमीले मेरो हात थामिसक्यौ।अब कहिल्यै नछोड्नु।"
"बरु ज्यान गए जाला तर यो लाहुरेले तिम्रो साथ,तिम्रो हात छोड्दैन।"
उसको कुराले म झन फुरुङ्ग भएँ।दुई दुना चार खुट्टा भएपछि उकालो चढ्न पनि कम त मजा आउँदैथ्यो!अनेकौं थरीका सप्तरंगी सपना सजाउँदै निकै लामो दूरी पार गर्यौं।लाहुरेसंग जम्काभेट भएको दिन त्यो उकालो तान्न फलामको चिउरा चपाए बराबर थियो।तर त्यो दिन कसरी आधा बाटो पार गरियो,थाहै भएन।
"लाहुरे!अब तिमी यहीँबाट फर्क।यहाँबाट माथि लैजान सक्दिन।एक त तिमीलाई फर्कन रात पर्छ।गोठसम्मको बाँकी यात्रा म पूरा गर्छु।"
"मिलेर यात्रा पूरा गरौं म डोल्मा।यहाँसम्म त तिमीसंग आएँ तर यहाँबाट म एक्लै कसरी फर्कने?मलाई पनि गोठमा लिएर जाउ न बिन्ती छ।अब हामी एक भयौं।तिमी कसरी मलाई धक्का मारेर फर्काउन सक्छ्यौ भन त?जहाँ गएपनि संगै जाऔं।संगै हाँसौं,संगै बाँचौं र संगै मरौं।तर मलाई एक्लो बनाउने कुरा नगर त!"
"नाइँ लाहुरे!अहिलेको लागि संगै जानु सम्भब छैन।मलाई मारिहाल्नुहुन्छ नि बा-आमाले।मलाई मार्ने कि बचाउने,तिम्रै जिम्मा।"
निकैबेर एकोहोरो सोचेपछि उसले शीर हल्लाएर मेरो कुरामा सहमति जनायो।तर उसलाई छोड्न मनै थिएन।बाध्यता थियो-छुट्टिनैपर्ने।एकपटक समय फेरि पापी भएर आइदियो।
"अलि माथिसम्म जान्छु नि ल?"
"तिमीलाई नै गाह्रो हुन्छ नि के।म त तिम्रै लागि भन्दैछु।बाँकी तिम्रो मर्जी।"
उसले बोकेको भारी मैले लिएँ।उसलाई आउ पनि भनिन र जाउ पनि भनिन।उ भने अझै लखरलखर मेरै पछि आउँदै थियो।दुई तीन घण्टा अघिदेखि मौसमले चुनौती दिएपनि आक्रमण गर्न सकेको थिएन।अब भने निकै आक्रमक हुँदै थियो।गड्याङगुडुङ गर्दै बिजुली चम्क्यो।प..र बाट भीषण बर्षा हामीतिरै आएको प्रष्टै देखियो।हामीसँग छाता पनि थिएन।मैले सजिलोको लागि प्लास्टिक मात्र बोकेकी थिएँ।मौसमको अवस्था देखेर लाहुरे निकै आतिन थाल्यो।
"केही हुन्न लाहुरे।यहाँको मौसम सधैं यस्तै हो।यस्तै मौसमसंग पौठेजोरी खेल्दै यतिको वसन्त पार गरिसकें।"
मैले सम्झाएपछि उसको मुहारको रंग उज्यालो भयो।हेर्दाहेर्दै बाक्लो असिना र पानी मिसिएर बर्सिन थाल्यो।आफूसँग भएको प्लास्टिकले पिठोको भारीलाई छोपें।नजिकैको ठूलो ठिङ्ग्रेको रुखमुनि ओत लाग्यौं।झुपडी चुहिए जस्तै रुखका पातहरुबाट पानी झर्न थाले।बिस्तारै-बिस्तारै हामी भिज्न थाल्यौं।मेरा कपडाहरु भिजेर शरीरमा टिमिक्क टाँसिए।मेरो जवानी देखेर उ थुक घुटुघुटु निल्दै थियो।मैले उसको आशय नबुझे झैं गरें।पछि त झन हावाहुरी पनि जोडले चल्यो।चारैतिर रात परे झैं अन्धकार भयो।त्यही माथि चट्याङ बज्रन थाल्यो।मलाई त त्यस्तो मौसममा हुर्केर बानी परिसकेको थियो तर उसलाई बिचलित भएको पाएँ।हाम्रो नजिकै गड्याम्म चट्याङ खस्यो।बिचरा लाहुरे दौडेर मेरो अंगालोमा बाँधिन पुग्यो।चलचित्र,कथा र उपन्यासमा केटी गएर केटाको अंगालोमा बाँधिन पुग्छन् तर हाम्रो कथावस्तु ठिक उल्टो भैदियो।मैले पनि उसलाई अंगालो हालेर सुरक्षा दिएँ।उसको शरीर थरथर काम्दै थियो।
"केही हुन्न लाहुरे।यस्तो बज्रपात त कति सहनुपर्छ-पर्छ।तिमी त अहिल्यै हार्यौ त!यस्तो कम्जोर मुटु बोकेर चौंरी गोठको शेर्पिनीलाई आफ्नो बनाउने रे।मलाई लैजाने मान्छे त हिम्मतिलो हुनुपर्छ।म जस्तै।तर केही छैन,तिमीलाई म तालिम दिन्छु।"
मैले उल्टै जिस्क्याएँ।मनमा पीर,चिन्ता र भय लिएर उ जबर्जस्ती हाँस्यो।
"म डराएकै छैन।"
उसले गज्जबको झूट बोल्यो।सबैकुरा मैले छर्लङ्ग देखिरहेकी थिएँ।
"हो-हो,तिमी त मेरो हिरो हौ नि।तिमी जस्तो पुरुषले डराएको पनि सुहाउन्न।"
हाम्रो एकता देखेर मौसमले पनि हार मान्यो।हामी एक भएर बर्षाको पानीमा पनि आगो लगायौं।मट्टीतेल सल्किएझैं पानीमा आगो सल्किन थाल्यो।असिनाका दानाहरु टाप कसे।एकैछिनमा मौसम हाँस्न थाल्यो।हामी पनि संगै मुस्कुरायौं।हाम्रो मुस्कान देखेर बादल डाहाले जल्न थाल्यो।अब हामी जसरी पनि छुट्टिनैपर्ने भयो।सूर्यनारायण पश्चिमी क्षितिजमा ढल्किसकेको थियो।सन्ध्याले हामीलाई हतार गर्ने संकेत दिंदै थियो।
"अब फर्क लाहुरे!नत्र तिम्रो खैरियत छैन।म पनि लागें उकालो।"
"फर्किने हो र?फेरि कहिले भेट्ने?तिमी बिना कसरी बाँच्ने?"
"आजलाई छुट्टिनैपर्छ।सबैको भलाइको लागि।म ठिक ४ दिनमा आउनेछु।यदि ४ दिनमा आइन भने ५ दिनमा त अवश्य गाउँमा आउनेछु।"
"पक्का आउ है म इन्तजार गर्नेछु।आइनौ भने क्यानम म रिसाउँछु नि।"
छुट्टिनु पूर्व हाम्रा पहाडरुपी छातीहरु एक-आपसमा जोडले ठोक्किए।ओठहरु उत्तेजित भए।आँखाहरु उत्साहित थिए।हाम्रो मायाको नजिकको साक्षी उहीँ ठूलो ठिङ्ग्रेको रुख थियो।हातहरु नमानी-नमानी छुट्टिए।
"हे भगवान!हाम्रो हात छुट्टिएपनि साथ कहिल्यै नछुट्टियोस्!!!"
मैले भगवानलाई पुकारें।उसले के गर्यो-थाहा भएन।एक-अर्कालाई फर्केर हेर्दाहेर्दै अदृश्य भयौं।टाढियौं।उसलाई देख्ने झिनो आशामा उकालो चढ्न रोकेर पटकपटक फर्केर हेर्थें तर उ गायब भैसकेको थियो।उसलाई फर्काएकोमा पश्चातापको आगोमा जलें।आफैंलाई कराएँ।थर्काएँ।धिक्कारें।रिसले आफैंसंग मुर्मुरिएँ।उसको नाम लिएर बोलाएँ।उसको आवाज सुन्न पाइन।उसले सुन्यो-सुनेन,अत्तोपत्तो लागेन।भक्कानो फुटाएर रोएँ।तर केही लागेन।लाहुरे फर्केर आए हुने झैं लाग्यो।तर उ आएन।पिठोको भारी जंगलमै मिल्काएर उसको खोजीमा निस्कन मन लाग्यो।तर त्यसो गर्नु मुर्खता ठहरिन्थ्यो।चुपचाप उकालो लाग्नुको बिकल्प थिएन।त्यस्तै गरें।म पागल जस्तै भएँ।पाइलाहरु शुरुको दिन जस्तै लर्बरिनु थाले।वातावरण शून्य-शून्य।आँखाको ज्योती गुमेझैं चारैतिर अन्धकार।मुटुको धड्कन बन्द भएझैं।सास रोकिए झैं।सबकुरा खत्तम भएझैं।मेरो सबैकुरा उसैले लगे जस्तो।सबै घटना मेरा प्रतिकुल भए।लाहुरेको अनुपस्थितीमा म बाँच्दिन झैं लाग्यो।मनले उसैलाई खोज्यो तर भेट्टाउन असमर्थ।जिन्दगी नै बिरक्तिलो लाग्यो।हरे भगवान!प्रेमले मान्छेलाई मरेतुल्य किन बनाउँछ होला?बेहाल-बेहाल भएर म बल्लतल्ल गोठमा पुगें।बा-आमाहरु खाना पकाएर पर्खिरहनुभएको रहेछ।अरुबेला कहिल्यै नपर्खिनेले त्यो दिन पर्खेको देखेर अचम्म लाग्यो।हुनपनि बा-आमा जस्तोसुकै खराब भएपनि छोराछोरी लाई माया त गर्ने रहेछन्।तर बिडम्बनाको कुरा त्यही दिन मलाई खाना खान मनै लागेन।
"झन तँलाई भनेर पर्खेका।नखाने भए हामी खान्थ्यौं नि।बेकारमा खाना चिसिएछ।"
म चुपचाप शिरकमा पसें।निंदाउने कोसिसले फेल खाँदै थियो।मध्यरातमा कतिखेर सपनाको संसारमा पुगें,थाहै भएन।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...