Friday, 28 July 2017

आनी-११

                    भाग-११
         सर्वोच्च अदालतको बहस कक्ष।बहस सुन्ने नव वकिलहरुको बाक्लो उपस्थिती।सरकारी वकिल र आनीको वकिल बीच घमासान युद्धको शुरूवात।भौतिक नभई बैचारिक युद्ध।तर्क-बितर्कहरुको युद्ध।स-प्रमाण आफ्नो बहस लाई माथि राख्ने दह्रो प्रयास।सर्वप्रथम सरकारी वकिलको बहस शुरु।
"श्रीमान!यो बिषयको मुद्धा तीन महिना पहिल्यै छिनोफानो भैसकेको मुद्धा हो भनेर सम्मानित अदालतको ध्यानाकर्षण गर्न चाहन्छु।उक्त बहसमा आरोपी आनी डोल्मा स्वयंले आफूलाई दोषी स्वीकारिसकेकी थिइन्।हेरौं फेरि उहाँले के भन्नुहुन्छ?म आनी डोल्मालाई कठघरामा उभ्याउने अनुमति चाहन्छु।"
"अनुमति छ।"-न्यायाधीशको स्वीकारोक्ति।
"त आनी डोल्मा ज्यु!तपाईं स्वयंले आफूलाई दोषी सावित गर्नुभएको हो नि,हैन र?"
"हो,त्यतिबेला मैले आरोप स्वीकारेकी थिएँ।अवस्था मेरो प्रतिकुल थियोे।मेरो साथ दिने कोही थिएन।मैले चाहेको भए वकिल राखेर आफूलाई निर्दोष सावित गर्न सक्थें।तर म आफैं सित हारेकी थिएँ।म बहुत तनाबमा थिएँ।मैले प्रेम गरेको आफ्नै मान्छे मसंग नहुँदा मैले बाध्यताबश हारेकी थिएँ।तर आज माहोल फेरिएको छ।समय मेरो अनुकुल भैदिएको छ।म आफ्नो पुरानो बयान फिर्ता लिन चाहन्छु।म निर्दोष छु।मूर्ति चोरीमा मेरो कुनै संलग्नता छैन।"
"यदि तपाईं निर्दोष भएको भए त्यतिबेलै सत्य-तथ्य बोल्नुपर्थ्यो।अदालतमा जतिखेर जे मन लाग्यो बोल्ने छुट कसैलाई छैन।यो सम्मानित अदालतको ठाडो बेईज्जत हो।अपमान हो।मुद्धाको पुनरावृत्ति गर्नुभएको छ,ठिकै छ।तर तपाईं आफूलाई कसरी निर्दोष सावित गर्न सक्नुहुन्छ?"
"त्यतिबेला म स्वयंले स्वीकारेकी थिएँ।दोषी प्रमाणित भएको हैन।सक्नुहुन्छ भने प्रमाणित गरेर देखाउनुस् वकिल सा'ब।"
"उसो भए जवाफ दिनुस्।मूर्ति चोरीको रात तपाईंको दाइ किशोर पनि लामाको भेषमा आएर बास बसेको थियो।नाटकीय ढंगले मूर्ति चोरियो।त्यही दिनदेखि किशोर गायब थियो।यसको अर्थ के त?तपाईंको आदेश या सहयोगमा किशोरले मूर्ति चोरेकै हो।नत्र किन तपाईं लाई त्यतिका दिनसम्म जेलमा भेट्न आउनु भएन?"
"यो प्रश्न मलाई हैन,किशोरलाई गर्नुस्।चोरीमा मेरो कुनै हात छैन।अर्को कुरा-किशोर मेरो दाइ हैन,साथी हो।प्रेमी हो।"
"श्रीमान!म किशोरलाई कठघरामा उभ्याउने अनुमति चाहन्छु।"
"अनुमति छ।"
"त किशोर जी!त्यो रात के भएको थियो?मूर्ति लिएर कहाँ जानुभएको थियो?पुरानो बहसको बेला आनी डोल्माले भन्नुभएको थियो कि तपाईं मूर्ति लिएर बिदेश जानुभएको थियो।"
"म बिदेश भन्दा पनि भारत गएको थिएँ।तर मूर्ति लिएर हैन,खाली हात।"
"त्यसो भए मूर्ति कसले लिएर गएको थियो?तपाईंको अरु कुनै साथीले?"
"हैन।म,मेरो साथी र अरु मेरो कुनै मान्छेले हैन।मूर्ति चोरीको बारेमा मलाई केही थाहा थिएन र छैन।"
"त्यसो भए अचानक बिना जानकारी गायब हुनुको कारण?कहाँ जाँदै हुनुहुन्थ्यो भनेर कसैलाई किन भन्नुभएन?आनीलाई पनि।"
"कसैलाई भन्ने मौका नै मिलेन।समय एकदम कम थियो।उ उस्तै तनाबमा थिएँ।रातको १२ बजेतिर अचानक मेरो बाबा खस्नुभएको खबर आयो।म मर्माहत भएँ।आनीलाई उठाएर दु:ख दिन पनि चाहन्नथें।मेरो कारण किन उनले दु:ख पाउने?त्यो मेरो ब्यक्तिगत समस्या थियो-आनीको थिएन।अरु कसैको थिएन।म पागल जस्तै भएँ।त्यहाँ चैनको निद्रा सुतेर बस्न सकिन।तत्काल म त्यहाँ बाट हिंडे।सिंगो रात मैले बसपार्कमै गुजारें।मलाई अरु कुनै चीजले छोएन।जाडो,आनीको माया,अनि अरु केही।मिर्मिरेमै म भारतको लागि रवाना भएँ।मेरो बाबा भारतमै हुनुहुन्थ्यो।तर उहाँले दुनियाँ छोडिसक्नुभएको थियो।मैले किन आनी छोड्न नसक्ने?नेपाल किन छोड्न नसक्ने?"
"त्यतिखेरै तपाईंको बाबा बितेको के प्रमाण छ तपाईं संग?"
"प्रमाण मेरो वकिलले पेश गर्नुहुनेनैछ।"
"अनि एउटा कुराको जवाफ दिनुस्।"
"हुन्छ,सोध्नुस्।"
"यो घडी कहिले किन्नुभएको?निकै महंगो जस्तो छ?हीरा जडित जस्तो देखिन्छ त?"
"यो बहसमा घडीको के लेनदेन?लाउने कपडाको के लेनदेन?"
"लेनदेन छ श्रीमान!लेनदेन छ।हुनुसक्छ।कुनै मान्छेको लवाइखुवाइ र ब्यक्तित्वले उसको आचरण प्रष्ट पार्छ।"
"के भन्न खोज्नुभएको वकिल सा'ब?यो घडी दुई महिना अघि एक लाखमा किनेको हुँ।यो पाइन्ट चार हजारमा।सर्ट दुई हजारमा।यो सुनको सिक्री दुई तोला छ।एक लाखमा किनेको।यो मोजा अनि कट्टु...."
"भयो भयो।यत्रो पैसा कहाँ बाट आयो?त्यो पनि दुई महिना पहिले नै।कतै मूर्ति बेचेको पैसाले....।"
"तपाईं मलाई आरोप लाउँदै हुनुहुन्छ।यो मेरो ब्यक्तिगत कुरा हो।मैले काम गरेर कमाएको पैसाले हो।अनि त्यसमा अरु थप पैसा कहाँ बाट आयो,सप्रमाण पेश गरिनेनैछ।"
"श्रीमान!यी दुईजना मिलेर अदालतलाई पंगु बनाउन खोज्दैछन्।यिनीहरुसंग आफूलाई निर्दोष सावित गर्ने कुनै मजबुत र ठोस प्रमाण छैनन्।आनी डोल्मा र किशोर दुबैलाई कडा भन्दा कडा सजाय दिइनुपर्छ।नत्र भने यस्ता गेरुबस्त्रधारी आनी र लामाहरुले देशलाई खोक्रो पार्नेछन्।आनी डोल्मा त गुम्बामा अध्ययरत आनी थिइन् तर किशोर कुनै लामा-सामा थिएनन्।किशोरको एउटै मात्र उदेश्य गुम्बाको अमूल्य मूर्ति चोर्ने नै थियो।बडो गज्जबको योजना बनाएर यिनीहरुले चोरी गरे।यी आनीको मानसिक स्थिती एकदम सही थियो श्रीमान।पागल भएको राम्रो अभिनय मात्र गरेकी हुन्।नत्र भने किशोर आउनेबित्तिकै कसरी अचानक सही-सलामत भइन्?साथै किशोरको हाइफाइ जीवनशैलीले पनि थप पुष्टि गर्छ कि उसले नै मूर्ति चोरेर बेचेको हो।मैले पुरानो बहसमा पनि भनेकै थिएँ कि यिनीहरू आनी र लामाका नाममा कलंक हुन्।काला धब्बा हुन्।यस्ता खुंखार अपराधी लाई कुनै पनि हालतमा छुट दिइनुहुन्न श्रीमान।बश म यति भन्न चाहन्छु।"
आनी डोल्माको वकिलले बहसको शुरूवात गर्यो।
"श्रीमान!सर्वप्रथम म पुरानो मुद्धाको बारेमा केही बोल्न चाहन्छु।हो,डोल्माले त्यतिबेला मूर्ति चोरीको सबै जिम्मा आफूले लिएकी थिइन्।कारण-उनी एक्ली थिइन्।उनलाई साथ दिने कोही भएनन्।किशोर त थिएन-थिएन,उनकै गुम्बाका लामा गुरु र सहपाठीहरु समेत कोही उपस्थित भएनन्।सायद उनीहरू पनि भ्रममा थिए होलान्।सोझो हिसाबले हेर्दा आनी डोल्मा र किशोरको संयुक्त संलग्नतामा चोरी भएको देखिन्छ।तर यथार्थ नितान्त फरक थियो र छ श्रीमान।किशोर त्यहाँ चोरी गर्न गएको थिएन।उ त आनीको प्रेममा पागल भैसकेको थियो।आनीले उसलाई अतीतको यथार्थ जीवनको भोगाइ अर्थात कहानी सुनाउन थालेकी थिइन् त्यो दिन।किशोर यति भावुक भयो कि उसलाई आनीको पूरै कहानी नसुनी बस्नै सकेनन्।त्यसैले उसले लामाको भेष धारण गरेर आनीको कहानी सुन्न गुम्बामा गएको थियो तर संयोगबश उसले थप कहानी सुन्नै पाएनन्।बरु दैवले भनौं या समयले उसलाई छल गर्यो।उसको बाबा बितेको खबर आएपछि उसले तत्काल गुम्बा छोडेको थियो।तर उसले मूर्ति चोरी गरेकै हैनन् श्रीमान।त्यस्तो बिपत्तीमा कसले चोरी गर्लान् त?त्यस्तो सोच्नु पनि पाप हो।अस्पताल बाट प्राप्त उसको बाबाको मृत्युको प्रमाणपत्र पेश गर्न चाहन्छु।यो चाहिँ पञ्जीकरणको कार्यलयबाट दिइएको मृत्युको दर्ता गरिएको प्रमाणपत्र।उसको बाबा नेपाली नागरिक भएपनि भारतमा लामो समय बसोबास गरेको आधारमा रासनकार्ड प्राप्त गरेका थिए।घर जमिन सबै उतै थिए।उहाँले बीमा कम्पनीमा बीमा गरेको थियो।मृत्युु पश्चात् हकदारको नाम किशोर थियो।त्यही बिमाबाट प्राप्त रकमले नै उसको जीवनशैली अचानक परिवर्तन भएको जस्तो देखिएको हो।आफू मरेर गएपनि किशोरलाई केही धनराशी दिएर गए यसमा किशोरको के दोष श्रीमान।बीमा कम्पनीबाट प्राप्त कागजात पनि हजुरसामु पेश गर्दछु।वास्तवमा समयले किशोरलाई ठग्यो।समयले नै आनी डोल्मालाई बिना कसुरको सजाय दियो।कानुनले के गर्छ मलाई थाहा छैन।तर म मेरो ब्यक्तिगत तर्फबाट आनी डोल्मा जस्तो नारीलाई सम्मान गर्छु।सल्युट गर्छु।आनी डोल्मा निर्दोष भएको अर्को स्वभाविक र प्राकृतिक प्रमाण हो-मानसिक सन्तुलन गुमाउनु।कुनै अपराधीले त्यसरी मानसिक सन्तुलन गुमाउँछ जस्तो लाग्दैन।हो,उनले पनि सोचेकी थिइन्-किशोरले धोका दियो।मूर्ति चोर्ने किशोर नै थियो झैं लाग्यो।समय आफ्नो प्रतिकुल भैदियो।उनले प्रेम गरेको मान्छे मूर्ति चोरेर गायब भएको सोचेर उनी थप तनावग्रस्त भइन्।अन्ततः उनले मानसिक सन्तुलन गुमाइन्।जब किशोर संग उनको भेट भयो,उनको हालतमा सुधार आयो।अस्पतालको रिपोर्ट हेर्न सक्नुहुन्छ।अन्तमा आनी र किशोर दुवै निर्दोष छन्।उनीहरूलाई अन्याय गर्नुहुन्न।फैसला उनीहरुको पक्षमा हुने आशाका साथ मेरो बहस यही टुंग्याउने अनुमति चाहन्छु।धन्यवाद।"
"बादी र प्रतिबादी दुवै पक्षका वकिलहरुको बहस सकिएको जानकारी दिन चाहन्छु।नतिजाको लागि केही समय लाग्ने भएकोले अदालत दुई घण्टाको लागि स्थगित गरेको घोषणा गर्दछु।ठिक दिउँसोको १ बजे सुनुवाइ हुनेछ।धन्यवाद।"
न्यायाधीशले बिश्रामको घोषणा गर्यो।उपस्थित सबैजना खासखुस गर्न थाले।कसले बाजी मार्ला भनेर अड्कल लाउन थाले।सरकारी वकिलले जितेको खण्डमा डोल्मा र किशोर दुबै जना जेल जाने निश्चित थियो तर हारेको खण्डमा जेल जानुपर्ने कोही थिएनन्।सबैजना हलबाट बाहिरिए।
"चिन्ता लिनुपर्दैन।हाम्रो जीत निश्चित छ।सबै प्रमाणहरु हाम्रो अनुकूल र पक्षमा छन्।ढुक्क हुनुहोस्।तपाइँहरु बस्दै गर्नु,म सानो काम सकेर आउँछु।"
यति भनेर वकिल ओझेलमा पर्यो।डोल्मा र किशोर हिंडेर चिया खानलाई रेस्टुरेन्टमा पसे।
"भन आनी डोल्मा,के मगाउँ?चिया र चाउमिन है?"
"हुन्छ,तिम्रो मर्जी अनुसार।"
"चिया पिउँदै गर्नुस्।चाउमिनको लागि अलि टाइम लाग्छ।"
दुई गिलास चिया पस्केर वेटर फटाफट आफ्नो धुनमा अन्तै लाग्यो।चियाको चुस्की संगै उनीहरुले एक-अर्काका अनुहार नियाल्न थाले।
"के लाग्छ किशोर तिमीलाई?के मुद्धा हामीले जित्छौं?"
"अवश्य जित्छौं।सरकारी वकिलले खासै गतिलो बहस गर्न सकेन।उसो त हामी निर्दोष छौं।हामीले जित्छौं।जित्नैपर्छ।निश्चिन्त होउ डोल्मा।"
"साँच्चै तिमी कति परिवर्तन भएछौ है?पहिलेको भन्दा आकाश र पातलको फरक भएछौ।तिमी फर्केर आउँछौ भनेर त मैले सोचेकै थिइन।जेहोस तिमी आयौ र सबै कुरा ठिक भयो।नत्र मेरो हालत के हुन्थ्यो किशोर तिमी आफैं भन त?बेहाल हुन्थें नि म त।"
"तिमीलाई एक्लो पारेर म बस्न सकुँला त?तिमीले बुझिहाल्यौ नि मेरो बाध्यता।मुद्धा जित्न पाए अझ सब ठिक हुनेछ।बुद्धलाई पुकारौं-जीत हाम्रै होस।"
"हो म बुझ्छु तिम्रो बाध्यत्मक परिस्थिती।"
"साँच्ची एउटा कुरा।तिमीले आफ्नो कहानी पूरा सुनाएनौ नि?"
"सुन्नलाई तिमी पनि हुनुपर्यो नि?कसलाई सुनाउने?तर अब म सुनाउँदिन।सुन्नु भन्दा नसुन्नु नै बेश होला तिम्रो लागि पनि।अहिलेसम्म मैले त सुख-दु:खका पलहरु मात्र सुनाएँ।बाँकी कहानी मन रुवाउने खालको छ।कहालीलाग्दो छ।तिमीले सुन्यौ भने तिम्रो मन पनि परिवर्तन हुनेछ र मबाट टाढा हुनेछौ।सायद तिमीले सुन्न पनि सक्दैनौ।हिम्मत चाहिन्छ सुन्नलाई।सुन्दासुन्दै तिम्रो मन आगोको लप्काले झैं दनदनी जल्नेछ।आलो घाउमा मलम लाए जस्तो हैन नुनचुक दलेझैं हुनेछ।मलाई घृणाको नजरले हेर्नेछौ।तिमी पनि स्वार्थी पुरुष न पर्यौ?प्रायः जसो पुरुष स्वार्थी नै हुन्छन्।मैले यही तथ्य पत्ता लगाएकी छु अहिलेसम्मको अघ्ययनबाट।म तिमीलाई गुमाउन चाहन्न।उसो त मैले आनीको नाम गुमाइसकेकी छु।म अब अरु सामान्य नारी झैं भैसकेकी छु।मेरो धर्म र आदर्शले हार खाएको छ।तिमीले जित्यौ।तिम्रो सिद्धान्तकै जीत भयो।मेरो हार भयो।समयले मलाई हरायो।जब जेलमा आएँ,मैले आफ्नो सिद्धान्तलाई टोकरीमा थन्क्याएँ।तिमी बाहिरीरुपमा परिवर्तन भयौ।म भित्रीरुपमा भएँ।पहिलेको जस्तो आनी रहिन म।मलाई डोल्मा मात्र भन अब।आनी नभन।"
"तिम्रो अतीत जस्तोसुकै भएपनि म तिमीलाई स्वीकार्छु।मैले मनैबाट तिमीलाई जीवनसाथी मानिसकें।पुरानो कुराले हाम्रो सम्बन्धलाई हल्लाउन सक्दै-सक्दैन।म पुनः बाचा गर्छु,तिम्रो हात,तिम्रो साथ कुनै हालतमा छोड्ने छैन।तिमीलाई बिहे गरेर सधैंको लागि आफ्नो बनाउन चाहन्छु।दुई घण्टाको समयावधि छ।जीत पश्चात् हामी एक-अर्काका श्रीमान-श्रीमती हुनेछौं।"
"यदि तिम्रो मन परिवर्तन भयो भने?"
"मैले भनिहालें नि।दुनियाँको कुनै तागतले हामीलाई अलग्याउन सक्दैन।"
"यसमा तागतको जरुरत छैन किशोर।सानो कुराले पनि मन परिवर्तन हुनसक्छ।आँधी-तुफानको जरुरत छैन।"
"अहँ,हुनेछैन।मैले तिमीलाई मनदेखि चाहेको छु।तिम्रो तनलाई हैन,मनलाई माया गरेको छु।तिमी निर्धक्क र निर्भिक भएर सत्य-सत्य कुरा भन।म तिम्रो शीरमा हात राखेर कसम खान्छु-मेरो मन परिवर्तन हुनेछैन।म तिम्रै हुँ र रहिरहनेछु।मेरो बाचा भयो।बाचा तोड्ने छैन।"
वेटरले दुई प्लेट चाउमिन टेबलमा राख्यो।अर्को टेबलबाट नुन,खुर्सानी र ससको सेट ल्याएर नजिकै राख्यो।उनीहरूले आवश्यकता अनुसार प्रयोग गरे।
"हामी पहिलोपटक बाहिर यसरी संगै खाँदैछौं है किशोर?"
"अँ त नि।बिषयबस्तु लाई नमोड न डोल्मा।कहानीलाई निरन्तरता देउ बरु।"
"कहाँ सम्म भनेकी थिएँ मैले?"
"तिमी माथि हिमालबाट गाउँको घरमा आउँथ्यौ।घट्टामा मकै,कोदो र गहुँ पिसेर फर्किन्थ्यौ।यतिसम्म सुनेको थिएँ।"
         उकाली,ओराली,लेक,बेशी,भञ्ज्याङ र चौतारी गर्दागर्दै मेरो बैशमा बसन्तमा झैं पालुवा पलाउन थालिसकेको थियो।एउटी नारीमा हुनुपर्ने गुणहरु क्रमशः भरिपूर्ण हुँदै थिए।स्वभावमा अनौठो परिवर्तन आउन थाल्यो।ऐनामा आफ्नै रुप देखेर कहिले मख्ख पर्थें र कहिले शरमले पानी-पानी हुन्थें।शरीरमा यौवनका थुम्काहरु अग्लिँदै थिए।कहिले उताउली,कहिले नक्कली र कहिले चञ्चली हुँदै थिएँ।भौतिक रुपमा जतिसुकै दु:ख-कष्ट भोगेपनि मानसिक रुपले जीवन रमाइलो लाग्न थालेको थियोे।के दिन के रात,जीवन झलमल्ल लाग्थ्यो।कहिलेकाही त अनेक लज्जास्पद चाहनाले मन बेलगाम हुन्थ्यो।कहाँ-कहाँ पुगेर के-के गर्न भ्याइसक्थ्यो मनले।प्राकृतिक सम्पदासंगै गाउन र नाच्न थालें।त्यसै-त्यसै रोमाञ्चक हुन्थ्यो जिन्दगी।दोलखाका झरना,पहरा,छहरा,वनजंगल,वन्यजन्तु,चराचुरुङ्गी,पाखा,पखेरु,हिमाल,पहाड,पर्वत,खोला,नदी,हावापानी सबैले मेरै यौवना देखेर जिस्क्याए झैं लाग्थ्यो।नदीमा पौडिंदा पनि पानीसंग लजाउँथें।पानीको स्पर्शले म हैरान हुन्थें।काउकुती लागेर आउँथ्यो।बेचैन हुन्थें।हावाको झोक्काले पनि मेरो अंग-अंगमा चुम्बन गरेको भान हुन्थ्यो।साउनको झरी मेरै लागि बर्षे झैं।हिमालको हिउँ मेरै मायाले झरे झैं।चट्याङ गर्जेर मलाई नै बोलाए झैं।आकाशमा बादल मेरै प्रतिक्षामा उडिरहे झैं।गिद्धा,चील,काग र अन्य पंक्षीहरु उडेर मलाई नै खुशी पारे झैं।हो,सबैसँग मेरो प्रेम बसिसकेको थियो।तिनीहरू बिनाको मेरो जीवन कल्पनासम्म पनि गर्न सकिन्नथ्यो।सबैसँग मितेरी गाँसिसकेकी थिएँ।समग्रमा म प्रकृतिको थिएँ।प्रकृति मेरो थियो।प्रकृति बिनाको म अपांग थिएँ।अधुरो थिएँ।अपूरो थिएँ।अपूर्ण थिएँ।आधा थिएँ।माया पनि त एउटा प्रकृतिकै देन न हो।कसैको मायाको कमी थियो।मायाको अभावमा म अधुरो थिएँ।अपूर्ण पनि।पूर्ण हुने चाह बढ्न थाल्यो।मेरो हृदयको राजकुमार कस्तो होला भनेर कल्पना र परिकल्पनाका संरचनाको निर्माण गर्न थालें।मेरो यौवनको बहाव द्रुत हुँदै थियो।रोक्नै नसकिने गतिमा बग्दै थियो।तुलना नै गर्ने हो भने सायद प्रकाशको गति जस्तै।बिजुलीको गति जस्तै।कुनै बेला मलाई अनौठो खालको मात लाग्थ्यो।शरीर लल्याकलुलुक हुन्थ्यो।कहिलेकाही काल्पनिक यौन क्रीडाले स्खलित हुन्थें।होस सम्हाल्नै गाह्रो पर्थ्यो।सम्हालिसकेपछि बल्ल लज्जाबोध हुन्थ्यो।सायद क्षण-क्षणमा परिवर्तन हुने स्वभाव नै प्रकृतिले दिएको अमूल्य उपहार थियो क्यारे।हो,बैशको भुमरीमा मडारिंदै,लतारिंदै र पछारिंदै यौवनको मार्गमा यात्रारत थिएँ।त्यही यात्रामा एउटा पत्थरसंग ठोक्किन पुगें।यसै पनि कतिपयले पुरुषलाई पत्थरको उपनामले संबोधन गर्छन् कसैले।मैले पनि संबोधन गरिदिएँ।पानीघट्टामा कोदो पिसेर घर फर्किने क्रममै थिएँ।साँगुरो गोरेटो बाटोमा हाम्रो जम्काभेट भयो।पहिले पनि धेरै पल्ट,धेरै जना पुरुषहरुसंग त्यस्तो जम्काभेट भने नभएको हैन।तर त्यो पटकको उसंगको भेट बेग्लै थियो।पृथक थियो।मानौं त्यो भेट एउटी नारी र पुरुषको नभई बाघ र बाख्राको थियो।म बाख्रा थिएँ,उ बाघ थियो।उसको पहिलो नजरमै म गरुडको छायाँ सर्पमा परे झैं भएँ।करीब साँढे पाँछ फीट अग्लो।हट्टकट्ट,हस्टपुस्ट,लायक,चौडा छाती,गहुँगोरो र सुन्दर शारीरिक बनावट।खाकी बर्दी लगाएको।आँखामा कालो चश्मा ढल्काएको।खुट्टामा कालो छालाको जुत्ता।मैले त्यस्तो लायकको युवक पहिलोपटक देखेको थिएँ।उकालीको साँगुरो अक्कर बाटोमा अचानक भेट हुँदा न म माथितिर उक्लन सकें न उ तलतिर झर्न सक्यो।करीब एक मिनेटको हेराहेर मात्र भयो।
"क्यानम बहिनी!बाटो पाउँ न।"
"म भारी बोकेको मान्छे पछाडि हट्न अलि गाह्रो छ दाज्यु।बरु तपाईं नै अलि माथिसम्म सर्नुस् न।नौलो जस्तो देखिनुहुन्छ नि यो गाउँमा?"
"क्यानम म नौलो नै पर्यो बहिनी।इन्डिया बाट आउँदैछु।"
उसले आँखाको चश्मा शीरसम्म सार्यो।झन लायकको देखियो।बाटो छोड्ने बहानामा उ पनि मसंगै अलि माथिसम्म हिंड्यो।सायद उसलाई पनि मेरो रुप मन परेर होला,अनुहारमै निकैबेर हेरिरह्यो।म लाजले निहुरिएँ।मैले हेर्दा मेरै अनुहारमा हेरिरहेको हुन्थ्यो।म झन लाजले भुत्तुक्कै हुन्थें।
"क्यानम,दाइको घर चाहिँ कहाँ पर्यो कुन्नी?"-मैले उसैको थेगोमा सोधें।
"क्यानम मेरो घर उ त्यही पारी त हो नि?हामी यो गाउँमा नबसेको बहुत भयो।पहिलेको भन्दा अच्छा भैसकेछ।तर यो गाउँ भन्दा तिमी खुबसुरत रहेछ्यौ बहिनी!"
"मैले कुरा बुझिन नि दाइको।"
"तिमी बहुत अच्छा लाग्यो मलाई।"-उसले हातको इशारा गर्दै भन्यो।
मलाई असहज महसुस भयो।भुइँमा हेरिरहें।
"बहिनी!तिम्रो भारी बोक्छु नि म।तिमी जस्तीले यो भारी बोकेको अलि सुहाएन क्या!भारी यहाँ बिसाउ त।म ट्राइ गर्छु।"
उसलाई भारी बोक्ने रहर जागेको देखेर मलाई पनि रमिता हेर्ने रहर लाग्यो।बाटैमा भारी बिसाएँ।उसले बोक्न थाल्यो।मेरो भारी बोकेर उ दुई पाइला मात्र के हिंडेको थियो,ऐया भन्दै भारी भुइँमा पछार्यो।"
"दाइ जस्तो मान्छेलाई चिनेको छैन मेरो भारीले।यसले मलाई मात्र चिनेको छ।इ..यसरी।"
"म त क्यानम इन्डियाको लाहुरे मान्छे।भारी बोकेको छैन।म तिम्रो फोटो लिन्छु ल?"
उसले झोलाबाट क्यामेरा निकालेर मेरो फोटो खिच्यो।किन खिच्यो,केही थाहा भएन।केहीबेरमा म उकालो लागें,लाहुरे ओरालो झर्यो।अलि माथि पुगेर फर्केर हेरें।उसले पनि मलाई नै हेर्दै थियोे।मनमा कस्तो-कस्तो अनुभव हुन थाल्यो।फेरि-फेरि उसैलाई हेर्न मन लाग्यो।एकछिनमा मेरो मन काबुमा रहन छोड्यो।के भयो-भयो।जे भयो,अचम्मै भयो।
          एकैछिनमा लाहुरे ओझेलमा परिसकेको थियो।तर उनको आकृति त्यतै कतै झलझली देख्न थालें।पीठोको भारी बोलेर सैनिकको ड्रेसमा उभिएको लाहुरेकै छवि आँखा वरिपरि नाच्न थाल्यो।म उसकै मृगतृष्णाले आतंकित हुन थालें।पहिलो र एकैपटकमा उसले मलाई मोहनी लाइसकेको थियो।मेरो मन मसंगै थिएन।कहाँ थियो-त्यो पनि थाहा थिएन।सायद मेरो मन उसैले चोरेर लगेको हुनसक्थ्यो।एकैछिनको भेटघाटमा यस्तो लाग्यो कि उ जन्मौंदेखि,सदियौंदेखि मेरै निमित्त जन्मेको थियो।उसको-मेरो नाता,साइनो धेरै पुरानो झैं लाग्यो।चरी भएर उड्दै उसैको सामिप्यमा जान मन लाग्यो।बादल भएर गगनबाट उसैलाई हेर्न मन लाग्यो।समीर भएर उसको अंग-प्रत्यंगमा स्पर्श गर्न मन लाग्यो।चुम्बन गर्न मन लाग्यो।
"क्यानम लाहुरे!म त तिम्रै भैसकें।तिम्रो बिचार के छ?"
यस्तै प्रश्न सोध्न मन लाग्यो उसलाई।तर न त म चरी नै बन्न समर्थ थिएँ,न बादल,अनि समीर नै।म त एउटी लाचार प्रेमिका बन्न बिबश थिएँ।एकोहोरो प्रेमिका।उ कहाँ पुग्यो,थाहा थिएन।उसको भनाइ अनुसार उसको घर मेरो घर देखि पारीपट्टी थियो।तर कुन थियो-राम्ररी सोध्न भ्याएकी थिइन।अब फेरि हाम्रो भेट हुने-नहुने कुनै अत्तोपत्तो थिएन।तर मनमा फेरि भेटिने आशाका साथ आफ्नो बाटो तताएँ।तैपनि उसलाई मनबाट पूर्णरूपमा निष्कासन भने गर्न सकेकी थिइन।म उनको एकतर्फी प्रेमको दलदलमा नराम्रोसंग फसिसकेकी थिएँ।मैले आफ्नो दिलको नक्सामा लाहुरेलाई पनि सानो स्थान दिइसकेकी थिएँ।उसको दिलको नक्सामा म अटाउन सक्थें या सक्दिनथें,अज्ञात नै थिएँ।
"लाहुरे म तिम्रो छोराछोरीको आमा हुन चाहन्छु।अनि तिमीलाई मेरा छोराछोरीको बाबा बनाउन चाहन्छु।नाइँ नभन ल?"
घरमा पिठोको भारी फ्यात्तै फालेर म जोडले चिच्याउन थालें।पल्लो घरको काका-काकी मतिरै हेर्दै थिए।
"के भयो नानी तिमीलाई?केही समस्या पर्यो?"
"केही हैन काकी।"
प्रश्नको जवाफ पनि अधुरो दिएर म भित्र गएँ।शरमले हायलकायल भएँ।घरमा बसिरहने मेरो भाग्य कहाँ थियो र!३/४ घण्टाको उकालो चढेर लेकको गोठमा जानुपर्ने।अरु दिन म हाँसीहाँसी,खुशी-खुशी जान्थें।तर त्यो दिन किन-किन मलाई उकालो चढ्नै मन लागेन।४ घण्टाको बाटो मलाई सयौं कोश दूर लाग्न थाल्यो।बाटो सम्झेरै चक्कर लाग्यो।घरैमा पर्खिरहन मन लाग्यो,मानौं मलाई भेट्न कोही आउँदैछ।तर बाध्यताको सामू मेरो के लाग्थ्यो र!यदि गइन भने बाबा-आमाले मार्ने निश्चित थियो।लाहुरेलाई मनको मझेरीमा बसाउँदै पिठ्युँमा बोझिलो भारी बोकेर लेकतिरको यात्रा तय गरें।आफूलाई बगैंचाको कोमल फूल र लाहुरेलाई लोभी भमराको रुपमा उभ्याउँदै उकालीमा पाइलाहरु बढाउन थालें।कारण-फूल र भमराको सम्बन्धलाई कसैले नकार्न सकेका छैनन्।कसैले धिक्कार्न सकेका छैनन्।किनभने तिनीहरुको सम्बन्ध प्रकृतिकै नियमसंगत चलिरहेको छ।भमरालाई लोभी प्राणीको प्रतीक मानिए पनि उ बिनाको फूल पूर्ण मानिन्न।भमरा बिनाको फूलको अस्तित्व त होला तर भमराको सम्पर्कले फूल अझ सुन्दर हुन्छ।महत्वपूर्ण हुन्छ।अर्थपूर्ण हुन्छ।रस चुसेर गायब त होला तर फूलको परागसेचन प्रकृयामा उसले महत्वपूर्ण भुमिका निर्बाह गरेको हुन्छ।प्रजनन प्रणालीमा अप्रत्यक्ष भूमिका निभाएको हुन्छ।रस त मौरीले पनि चुस्छन्।तर मौरीलाई समाजमा सकारात्मक दृष्टिकोणबाट हेरिन्छ किनभने मौरीले गुलियो मह बनाउँछन् जुन मानिसले चाख्न पाइरहेका हुन्छन्।मान्छेहरु प्रतिफल पाए मात्र खुशी हुन्छन्।जसले प्रतिफल दिन्छ,उसैलाई राम्रो भन्छन्।उसो त मह त भमराले पनि बनाउँछन्।फरक यति हो कि मौरीले घारमा बनाउँछन् र भमराले जंगलमा कतै जमिनमूनि।भमराको लागि त जमिन पनि उसको घार नै हो।मानिसको बुझाइमा मात्र फरक परेको हो।कसैको यादमा आफूलाई हिंडाउँदा हिँडेको पत्तै नहुँदोरहेछ।
"लाहुरे!कहाँ छौ तिमी?मलाई तड्पाएर आरामले बस्न पाउँदैनौ?बुझ्यौ तिम्ले?झट्टै आउ।आएर मेरो यौवनको भारी बोकीदेउ।जवानीका थुम्काहरुको आरोहण गरिदेउ।म थाकिसकें लाहुरे!"
मनले लाजै पचाएर यस्तै लज्जास्पद वाक्यहरु बोल्दै थियो।यो मन कसले रोक्न सक्दोरहेछ र?मन जस्तै तन पनि स्वतन्त्र हुने भए!यादहरु पनि कति धारिला हगि?आयो स्वाट्ट रेट्यो गयो।घाइते हुने त यादमा डुब्नेहरु नै त हुन्।डुबाउनेहरु त निस्फिक्री घुमिरहेका हुन्छन्।चैनको जिन्दगी जिइरहेका हुन्छन्।अभागी त डुब्नेहरु नै हुन्।लाहुरेले मलाई निर्ममता पूर्वक सताइरह्यो।तड्पाइरह्यो।यादको गहिरो सागरमा डुब्दा अक्सिजन बिनाको जीव जस्तै हुन्थें।छट्पटिन्थें।कसैको अभावमा जिउनु भन्दा गाह्रो अरु केही नहुँदोरहेछ।लाहुरे संगको भेट शक्तिशाली भुकम्प जस्तै थियो।भुकम्पपछि पनि यादहरुको पराकम्पन बारम्बार आइरहे।आउने कुनै निश्चित समय थिएन।यादले दिन नभन्दोरहेछ।रात नभन्दोरहेछ।भोक,प्यास,चिसो,तातो केही नभन्दोरहेछ।कतिखेर आउँछ,थाहै नहुने कस्तो बैमानी याद?जतिखेर पनि आउन सक्ने कस्तो अनिश्चितता।निर्बाध आइरहने कठोर याद।कठै जवानी!कठै प्रेम!कठै डोल्माको जिन्दगी!
        मेरो शरीर जति-जति उकालो चढ्दै जान्थ्यो,मन उति-उति ओरालो झर्दै जान्थ्यो।गाउँलाई डाँडाकाँडाले छेक्दै थियो तर मेरो नजर छेक्न सकेन।उसको आकृति छेक्न सकेन।प्रेम शक्तिशाली हुनुको एउटा गतिलो उदाहरण थियो-त्यो।मेरा आँखा,कान र मस्तिष्क बेफुर्सदिला भएँ।लाहुरेसंग भेट्नुपूर्व बेरोजगार थिए।भेटेपछि रोजगार पाए।ब्यस्त भए।आँखा उसैलाई देख्न ब्यस्त।कान उसैको ध्वनि सुन्न ब्यस्त।अनि मस्तिष्क उसैको बारेमा सोच्न ब्यस्त।फुर्सदिलो थियो त केवल थकाइ मारिएको बेला शरीरका अन्य भाग-जस्तै-पाउ,हात,शीर इत्यादि।मनले त शरीरलाई पनि तलतिरै झर्ने आदेश दिन्थ्यो तर आफ्नो कर्तव्यबोध गरेर माथितिर जान्थें।अरुबेला निर्जन,सुनसान र घना जंगलको बाटो हिंड्दा बाघ-भालुको डर लाग्थ्यो।तर त्यो दिन कुनै मतलवै भएन।त्यतातिर सोच्ने फुर्सद नै कहाँ थियो र!
          उसलाई सम्झिंदा मैले सबैलाई बिर्सेकी थिएँ।आफू र आफ्नो परिवारलाई पनि।सम्झनाकै तरेलीमा बहँदा-बहँदै कतिखेर दिन ढल्यो,साँझ पर्यो र रातले धर्तीलाई कब्जामा लियो,पत्तै भएन।सपनाबाट ब्युँझिए झैं झसङ्ग भएँ।आधा बाटो मात्र पार गरेकी रहेछु।आधा बाटो बाँकी नै थियो।औंसीको रात भएकोले जूनको आशा गर्नु ब्यर्थ थियो।सकेसम्म आफ्नै दुई आँखाहरु बालेर हिंड्न थालें।ठाउँ-ठाउँमा फट्याङ्ग्राको किर-किर,भ्यागुताको ट्यार-ट्यार र मृगको कराइले रातलाई संगीतमय बनाइरहेको थियो।निस्पट्ट कालो रात।जंगलको चिप्लो र अक्कर बाटो।त्यही माथि एक्ली यात्री म।त्यो उराठलाग्दो,अत्यासलाग्दो र कहालीलाग्दो बाटोको यात्रा कसरी गरें हुँला मैले!अहिले सोच्दा पो आङ सिरिङ्ग हुन्छ।बल्लतल्ल क्याङ्सिरको खर्कमा छिमेकीको चौंरी गोठमा पुगियो।उनीहरू सबै काम-धन्दा भ्याएर सुत्ने तरखरमा थिए।मलाई देखेर अचम्म माने।
"नानी!यति राती कहाँ हिंडेकी?गाउँबाट कि बजारबाट?"
"हैन आन्टी म गाउँमा गएकी थिएँ।घट्टामा पिठो पिन्दापिन्दै भुसुक्कै समय गुज्रेछ।सकिन्छ भने सिट्टा दिनुस् न।धेरै टाढाको बाटो छ।अझै डेढ दुई घण्टा लाग्ला।"
"सिट्टाको भरमा के पुगिएला र नानी।बरु आज यतै बसेर बिहानै जाउ।एक्लै कहाँ जानु यतिको राती?"
"हैन आन्टी मलाई जसरी पनि गोठ पुग्नुछ।फल्याक दिनुस्,म आफैं चिरेर सिट्टा बनाउँछु।"
"के सारो अटेरी गरेकी तिमीले?सिट्टा निभ्यो भने के गर्छ्यौ?बरु मेरो टर्च लगेर जाउ।कोही जाने मान्छे भए भोलि नै पठाइदेउ।नत्र तिमी गाउँ जानेबेला ल्याइदेउ।"
"हस आन्टी धन्यवाद।म तपाईंको गुण कहिल्यै भुल्नेछैन।"
"गाह्रो-साह्रो पर्दा त काम लाग्ने हुन् नि छिमेकी।नत्र के छिमेकी भन्नु?"
टर्च बालेर सुईं-सुईं हिंड्न थालें।रातको जवानी छिप्पिने क्रममै थियो।फेरि पनि लाहुरेको यादले त्यो क्षणलाई उन्मत्त बनाइदियो।मादक बनाइदियो।मलाई नशाले छोए जस्तो भयो।रातको एघार बजाएको थियो घडीले।मुटुको धड्कन तेज हुनथाल्यो।भयले भन्दा पनि द्रुत गतिमा उकालीलाई छिचोलेको कारण धड्कनको उफ्रिने गति बढ्नु स्वभाविक थियो।अरुबेला समयमै पुग्थें।तर त्यो दिन उसैको यादले कहाँ कति बिसाएँ,कहाँ के कुरामा समय बित्यो,पत्तै भएन।कसैको यादमा हराउनु पनि घातक र अभिसापै रहेछ नि बाबै!बाबा-आमाको गाली खाइने भयले सताइरह्यो केहीबेर।पेमादिङ पुग्दा मध्यरात भैसकेको थियो।सिंगै पेमादिङ खर्क मस्त निंदाएको थियो।चराचुरुङ्गी,जीवजन्तु,चौंरी र बाबा-आमा सबका सब चीर निद्रामा थिए।मेरो आगमनले चौंरीगाइहरु बाँ-बाँ कराउन थाले।सुतेका गाइहरु उठेर अभिवादन गरे।पशुहरुले समेत सम्मान गरेको देखेर म आल्हादित भएँ।एउटा-दुईवटा गाइहरुलाई सुम्सुम्याएँ र कन्याइदिएँ।सबैलाई माया गरिरहने समय थिएन।समय भएपनि मैले पनि सुत्नुपर्थ्यो।भोटे कुकुरले पुच्छर हल्लाएर अपनत्व प्रदर्शन गर्यो।खोरका बाख्राहरु म्या-म्या गर्न थाले।भालेहरु फत्र्याक-फत्र्याक गर्दै जिस्किए।बाबा-आमा बाहेक परिवारका सबै सपना देख्दै थिए।
"छिटो नआएर किन अबेलासम्म?घरबाट चाँडो नहिंडेर पोइ खोज्दै बसे होला अनि!"
मेरो मौन स्वीकृति थियो।मुख फर्काउने हिम्मत र समय थिएन।बिहानै उठ्नुपर्ने भएकोले नसुती नहुने।
"खाना खाउ,तिम्रो लागि राखेको छु।"
जेभएपनि आमाको मनमा पाप नहुने रहेछ।आमाको मायाले भावुक बनायो एकछिन।तर गाली पनि कम हुन्नथ्यो।
"मैले खाइसकें आमा।कर नगर्नुस्।"
"तँलाई कर कसले गरेको छ र?"
मलाई बहस गर्नु थिएन।मौनधारण गर्दै बिस्तारामा पसें।केहीबेर निंद्रै आएन।मेरो निद्रा उसले हरण गरेको रहेछ।खुब मिहिनेत गरेर फकाएपछि मुश्किलले निंदाएछु।४ घण्टा जति सुतेपछि सदाकै समयमा आँखा खुले।आँखा खुलेसंगै अरुदिन झैं दौडधुप शुरु भयो।ब्यस्तताको बाबजुद पनि त्यो मोरो लाहुरेको याद आउन कहाँ छोड्यो र?बेलाबखत सम्झिनै रहन्थें।तर पूरा नहुने सपना देख्नु बेकार सम्झेर क्रमशः उसलाई बिर्सने प्रण गरें।उसको याद बिस्तारै खिया लाग्दै गएर भुत्ते हुँदै गयो।दिनहरु सहज हुँदै गए।"
          "आनी डोल्मा!सुनुवाइको बेला भयो त!तिम्रो कहानीले त समय खाएको थाहै भएन त।आज पनि अधुरै रहने भयो तिम्रो कहानी।फुर्सदमा सुनौंला है?जाऔं अहिलेलाई मुद्धाको फैसला सुन्न।"
"ए,हो त किशोर।जाऔं-जाऔं।"
दुबैजना पुनः सर्बोच्चको सुनाइमा गए।धेरैजसो मान्छेहरु फर्किसकेका थिए।न्यायाधीश तम्तयार भएर बसेको थियो।सबै बडो उत्सुकता र कौतुहलताका साथ प्रतिक्षारत थिए।उपस्थित हुनुपर्ने महत्वपूर्ण र विशिष्ट ब्यक्तित्वहरुको उपस्थितीपछि न्यायाधीशले फैसला सुनाउन थाल्यो।
"मैले हालसम्म धेरै मुद्धाहरुको फैसला सुनाइसकेको छु।सुनाइएका मुद्धाहरु सबैमा साक्षी र प्रमाणहरु यथेष्ट थिए।तर आजको यो मुद्धा बिना साक्षी फैसला गर्ने हिम्मत गरेको छु।तर आवश्यक प्रमाण भने जुटेकै छन्।आनी डोल्माको पुरानो र नयाँ दुबै मुद्धाको फैसला मैले नै गर्ने अवसर प्राप्त गरेको छु।यी मुद्धाहरुबाट मैले धेरै कुराहरु सिक्न पाएको छु।मैले के निष्कर्ष निकालेको छु भने-कसैले यदि बिना प्रमाण पनि आफूलाई दोषीको रुपमा सहर्ष स्वीकीर्छ भने कि त्यो मान्छेलाई बाहिरी दबाब आएको हुनुपर्छ कि त उसले तनाबको कारण गलत निर्णय लिएको हुनसक्छ।यस्तो परिस्थितीमा हामी वकिल र न्यायाधीशले मुद्धालाई नयाँ शिरा र कोणबाट हेरिनुपर्छ।विश्लेषण गरिनुपर्छ।वकालत र फैसलालाई हामीले नयाँ उचाइमा पुर्याउनुपर्छ ताकि कसैलाई अन्याय नहोस।सबैले न्याय पाउन्।यति भन्दै म आजको फैसलातिर ध्यानाकर्षण गर्न चाहन्छु।तमाम बहस र ठोस प्रमाणहरुको आधारमा अदालत यो निर्णयमा पुगेको छ।आनी डोल्मा र किशोर दुबैजना निर्दोष छन्।आनी डोल्मालाई बिगतमा परेको असहजता र अप्ठ्यारो परिस्थिती प्रति अदालत क्षमा चाहन्छ।आजै र अहिले नै आनी डोल्मालाई जेलमुक्त गरिएको घोषणा गर्दछु।आजको यो जीत एउटी शोषित एवं पिडित नारीको जीत हो।यहाँ कसैको हार भएको छैन।सबैले जितेका छन्।मैले जितेको छु।तपाईंहरु सबैले जित्नुभएको छ।नेपालको संविधानले जितेको छ।यस्तो एउटा महत्वपूर्ण बिषयमा फैसला सुनाउन पाउँदा पहिलोपटक मेरो शीर गर्वले ठाडो भएको छ।आनी डोल्मा जस्तै कुनै पनि नारीले बिना कसुर सजाय भोग्न नपरोस्।कुनै पनि नागरिकले यस्तो नियति भोग्न नपरोस्।धन्यवाद।"
गडडड...तालीको गड्गडाहटले सिंगै सर्बोच्चको हल गुञ्जियो।उपस्थित सबैजना उत्तेजित,पुलकित र फुरुङ्ग देखिए।त्यो जीत एउटी नारीको मात्र थिएन,जगतका सारा नारीको जीत थियो।पत्रकारहरु माइक्रोफोन र मोबाइल लिएर आनीको अन्तर्वार्ता लिन ब्यस्त भए।कोही भने फोटो खिच्न उद्धत देखिए।कतिपयले डोल्मा र किशोर लाई बधाई दिंए।आनी डोल्माको नयनबाट हर्षको अश्रुभेल बग्न थाल्यो।किशोरले उनलाई अंगालो मारेर ढाडमा धाप मार्यो।बिस्तारै सबैजना हल छोडेर आ-आफ्ना गन्तव्य तिर प्रस्थान गरे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...