भाग-१०
समय यति बलवान् भएपनि आनी डोल्माको लागि प्रतिकुल भैदियो।समयको डोरीले उनको घाँटीमा कसिदियो र घिसार्न थाल्यो पत्थरै पत्थरको अक्कर गोरेटोमा।उनले ऐया र आत्था केही भन्नै पाइनन्।उनी निशब्द भइन्।आफ्नो मान्छे आएर शानका साथ लिएर जानेछ भन्ने उनी मौन भइन्।कारण-मानसिक अस्पतालमा डाक्टरले उनको मुखमा टेप लाइदिएका थिए।यसरी लाएका थिए,मानौं मुख खुलेमा कित अजिङ्गरले झैं एकै सासमा मान्छेलाई ख्वाप्पै निल्नेछिन्,कि राक्षसले झैं एकै गाँसमा स्वाट्टै खानेछिन्।दुबै हातहरु पछाडि बाँधिदिएका थिए।यसरी बाँधिएका थिए मानौं संयोगबश फुत्किहालेमा सरासर गएर कसैको ज्यान लिनेछिन्।मानौं उनले यो भन्दा पहिले धेरै देहहरुको अन्त्य गरेकी थिइन्।अब उनी केवल एकटकले हेर्नसक्ने मात्र भएकी थिइन्।हरे दैव!नियतिले पनि कति बडो अजीवको खेल खेल्न सकेको?बरु स्थायीरुपमा उनको हात बाँधिदिएको भए!उनको मुख बन्द गरिदिएको भए!अनि स्थायीरुपमा सदाको लागि आँखा बन्द गरिदिएको भए!सायद कहालीलाग्दो अवस्था देखिने थिएन कि!
"मर्नु भन्दा बहुलाउनु निको" भन्ने उक्तिले गजबले फेल खायो।यस्तो वाहियात र बकबास उक्ति रच्ने को थिए होलान्?उसलाई त छाला तारेर घाममा सुकाइदिएको भए पनि कुनै पाप लाग्ने थिएन।नाजायज टुक्क गाँस्न त जानेकै हुन् तर यथार्थपरक हैन।आधुनिक नेपालमा जसले जे भनेपनि भएकै छ।कसले बिचार गर्ने?कसले मुख थुन्ने?
खाना खाने बेला मात्र उनका मुख र हात खोलिन्थे।त्यतिबेला पनि उनको लागि दुईचार जना सुरक्षागार्ड बस्नैपर्थ्यो,कतै बदमास गर्ने हुन् कि भनेर।हुनपनि उनी राक्षसहरुको बध गर्न जन्मेका काली झैं भयानक र आक्रमक देखिन्थिन्।सर्वसाधारण मान्छे उनको छेउ पर्न पनि मुटु कमाउँथे।कुनै पुरुषलाई देखेमा बाघले झैं गर्जेर सिकार गर्न खोज्थिन्।राता-राता आँखा बनाएर आक्रोशित हुन्थिन्।बिरालोले मुसा देखेर झम्टे झैं झम्टिन्थिन्।रिसाएर घरगोठ भत्काउँदै हिंड्ने वनहात्ती झैं भएकी थिइन्।
"यस्तै पारा हो भने यसको सिकार नगरी हुन्न।न रहन्छ बाँस,न बज्छ बाँसुरी।टण्टै साफ!"
मानसिक अस्पतालका एकजना डाक्टर मुर्मुरिन थाले।सिकार त उसको गर्नुपर्थ्यो जसले मानसिक उपचार गर्ने बहानामा शारीरिक उपचार गरिरहेको थियो।कष्ट दिइरहेको थियो।उपचार त पागलनीको नभई डाक्टरको गर्नुपर्थ्यो।हैन,कहाँबाट पास गरेर आको रहेछ उसले डाक्टरी?दया-माया बिना गरिएको उपचार के उपचार?हैन,यी डाक्टरहरुका मुटु हुँदैनन् र?यदि भएको भए किन यति कठोर?मलम लाउने मनले किन काँडाले झैं घोचेर रक्तम्य बनाइरहेको थियो?यी प्रश्नहरु अनुत्तरित नै थिए।उत्तर दिन नभ्याएर पेन्डिङमै थिए।
कपन आनीगुम्बाको परिसरमा अचानक किशोरको आगमन।दिउँसोको यस्तै १२/१ बजेको हुँदो हो।बिना बादलको कुनै रोकतोक गगन सफा र स्वच्छ।क्षितिजमा एकदुई टुक्रा मानवीय आकृतिका बादल बाहेक अरु धब्बा केही देखिएन।स्वर्गद्वारीबाट आएकी कुनै परी भन्दा कम सुन्दर थिएन पृथ्वी।न धेरै गर्मी र जाडो।ठिक्कको लोभलाग्दो मौसम।धर्ती उतिबेला ध्रुवतारा भन्दा कम चमक थिएन।चारैतिर उज्यालै उज्यालो।रविको न्यानो रोशनी मात्र।उषाको मधुर किरण मात्र।शान्त पर्यावरणको बीचमा अवस्थित गुम्बामा अध्ययनरत गेरुबस्त्रधारी लामा र आनीहरुको चहलपहलले माहोल थप आकर्षक र मनमोहक थियो।देख्नेले त्यस्तै देख्थे।तर बाहिरबाट देखिने माहोल र भित्रको वास्तविक माहोल आकाश र पातलको फरक थियो।उज्यालो भएर पनि अन्धकार।उत्साहित भएर पनि हतोत्साहित।खुशी भएर पनि उदास।आनी गुम्बाको परिबेशले पनि मुकुन्डो धारण गरेको थियो।नकाब लाएको थियो।बाहिरबाट देखिएको भन्दा भित्र बिल्कुलै फरक।त्यस्तो उज्यालोमा पनि किशोरलाई कसैले देखेनन्।अथवा भनौं देखेर पनि नदेखेको झैं गरे देख्नेले।नदेखेको नाटक गरे।आखिर यो दुनियाँ नाटकबाजीमै त चलेको थियो,छ र हुनेछ।कहिले कसले त कहिले कसले नाटक मञ्चन गरिरहेकै हुन्छन्।आलोपालो-कहिले सासुको र कहिले बुहारीको।
"आनी!मलाई चिन्नुभएन?म किशोर।"
कसैले सुनेनन्।नसुने झैं गरे।अन्धा र बहिराको नाटक गर्न सबैभन्दा सजिलो।
"म किशोर हो के लामाजी!कति चाँडो बिर्सिनुभएको?"
फटाफट तर्किन खोजे सबका सब।
"अरे!साँच्चिकै चिन्नुभएन र?"
प्रश्न पछिको प्रतिप्रश्न गुञ्जियो।
"तिमीलाई नचिनेर कसलाई चिन्ने?कसरी नचिन्न सकिन्छ र?कसरी बिर्सिन सकिन्छ र?तिमीलाई चाहेर पनि बिर्सन सकिन्न।ठूलो उपकार जो गरेका छौ।तुरुन्त गैहाल तिमी यहाँबाट।तातेको माहोल सेलाइसकेको छ।यहाँबाट गएर अर्को उपकार गरिदिनुहुन्छ कि?"
"लामाजी!!मैले तपाईंको कुरा बुझिन नि।सीधा-सीधा भन्नुस्,के भन्न खोज्नुभएको?"
"आनी डोल्मासंग मिलेर बुद्धको बहुमूल्य मूर्ति चोरेको आरोप छ तिमीमाथि।जुन सत्य पनि थियो र हो पनि।हैन र किशोर?"
"अरे म के सुन्दैछु?कस्तो अनर्थ भएछ!तर हामी निर्दोष छौं लामाजी।अनि खै त आनी डोल्मा?भेटेर कुरा गर्नुछ।"
"प्रहरीले लगेदेखि देखेका छैनौं।कहाँ कुन हालतमा छे,हामीलाई केही थाहा छैन।"
"हरे बुद्ध!यो के सुन्दैछु?"
"सकेसम्म तिमी गैहाल यहाँबाट।धेरै नाटक नगर।चोरहरु राम्रा अभिनेता पनि हुनेरहेछन्।म तिमीलाई जीवन दिन चाहन्छु।मेरो गुरुले देख्नुपूर्व भाग्न सक्छौ तिमी।आजीवन जेलमा सडेको देख्न सक्दिन म!"
"लामाजी!म त्यसरी भाग्ने कायरमध्येमा परिन।लडाइँको मैदानबाट भागेर ज्यान जोगाउने योद्धा हैन अन्तिम सास हुन्जेल लड्ने साहसी वीर हुँ म!नजरअन्दाज नगर्नुहोला।"
"जो चोर उसैको ठूलो स्वर!"
"अरु कुरा छोडौं।आनी कहाँ छे?"
"बौद्ध चौकीमा गएदेखि फर्केकी छैनन्।उतै गएर सोध्नुस्।"
मुर्झाएको फूल झैं भएर अँध्यारो मुख लिएर उ त्यहाँबाट प्रस्थान गर्यो।मानौं उसको मुहार औंसीको रात हो।जुन रातमा चन्द्रमाको उपस्थिति त थिएन-थिएन।ताराहरु पनि गयल थिए।छातीभित्र गह्रौं भारी लिएर उ आफ्नो गन्तब्यस्थलतिर लम्क्यो।
किशोर अनौठो किसिमको अभिनय गर्दै ओरालीमा पाइला बढाउन थाल्यो।उ आफैंसंग खै के-के भन्दैथियो।कहिले शीर हल्लाउँथ्यो त कहिले हात र औंलाको इशारा गर्थ्यो।उसको हाउभाउ हेरेर देख्ने मान्छेले पटक्कै त्यसको आशय ठम्याउन सक्दैनथ्यो।सायद उसले सोचेको हुन्थ्यो होला-"चोर मैले गरें,फस्ने बेला आनी फसिन्।मेरो योजना गजबले सफल भयो।"
अनि उसले यस्तो पनि सोचेको हुनसक्थ्यो-"बिचरी आनी!कसरी फसेकी होलिन् चोरी केशमा?म बिल्कुल निर्दोष छु र आनी पनि।गएर अदालतको ढोका ढक्ढक्याउँछु।"
उसको मनमा के थियो भनेर कि उसैलाई थाहा थियो कि भगवानलाई मात्र।तर उसको मुहारमा चिन्ताको कुनै रेखा थिएन।सायद आनीलाई फसाउन सकेकोमा खुशी थियो।साथै निर्दोष आनीलाई जेलबाट मुक्त गर्न सक्नेमा निश्चिन्त भएको पनि हुनसक्थ्यो।सोचाइको महासागरमा चुर्लुम्म डुबेर छाल ल्याउँदै थियो उ।छाल किनार र बगर हुँदै धेरै पर-परसम्म पुग्थ्यो।अर्को शब्दमा भन्दा उसले कल्पनाको सुनामी ल्याइरहेको थियो।गुम्बादेखि आरुबारीमा पुगेपछि शीर फनक्क फन्को मारेर एकपटक आनी-गुम्बालाई नजर लगायो।मुसुक्क हाँस्यो र हिंड्यो।उसको मुस्कानमा भिमकाय रहस्य थियो।कसैले नबुझेको रहस्य।एक अनौठो रहस्य।यो पंक्तिकारलाई समेत थाहा नभएको गम्भीर रहस्य।सायद यो रहस्य कहिल्यै बाहिर आउने थिएन।सार्वजनिक हुनै नसक्ने रहस्य।अहिलेलाई यो रहस्य रहस्यमै रहन दिउँ।
उसको शरीरमा एक खाले चञ्चलता थियो।उताउलोपन थियो।उसको हिंडाइ बाख्राको पाठा-पाठीको झैं थियो।मृगको चाल जस्तै थियो।जसरी मृग आफ्नै दिसा सुकेको पतकरमा ठोक्किंदा तर्सिन्छ,उ पनि आफ्नै पाइला ढुंगामा ठोक्किंदा बेला-बेला तर्सिन्थ्यो।सायद उ कल्पनाको रकेटमा मंगलग्रहको धरातलमा अवतरण हुँदै थियो।अथवा उसले कल्पनाको १० औं ग्रह पत्ता लगाएर मख्ख थियो।उसको कल्पना प्रशान्त महासागर भन्दा ठूलो र गहिरो थियो।नासाको बैज्ञानिकले के सोच्थ्यो र ,उसले त्यति धेरै सोच्यो।आफैं विलीन हुनेगरी सोच्यो।कसैले सोच्न नसकेको कुरा सोच्यो।समग्रमा उसको सोचाइ सामान्य मानवीय सोच भन्दा अलग थियो।हाम्रो काल्पनिक क्षमता भन्दा हजारौं गुणा शक्तिशाली थियो उसको क्षमता।प्रकाशको गति भन्दा तेज थियो उसको सोच।हुनसक्छ उसले एउटा यस्तो योजना बनाउँदै थियो जुन योजना दक्षिण भारतीय चलचित्रमा समेत कल्पना गर्न सकिन्नथ्यो।आफ्नो कहानीलाई चमत्कारिक ढंगले ट्वीस्ट ल्याउँदै थियो।
थाहै नपाइकन कति चाँडो किशोर बौद्धको प्रहरी चौकीमा आइपुगेछ।एकोहोरो गहिरो सोचाइमा मग्न भएकोले बौद्ध चौकी कटेर निकै तल पुगिसकेको थियो।अचानक के सम्झ्यो र फनक्क फर्केर चौकीमा प्रवेश गर्यो।
"नमस्ते इन्सपेक्टर सा'ब!आनी डोल्मा कहाँ होला?भेट्न सक्छु?"
"नमस्कार,नमस्कार!तपाईं को?अनि को आनी डोल्मा?आनी-सानी कोही छैनन् त यहाँ।"
"यहाँ नभए कहाँ छिन् त मेरी आनी डोल्मा?"
"छैन भनेपछि छैन-छैन।कस्तो जिद्दी मान्छे रहेछ बा!"
"सर म किशोर लामा।म आनी गुम्बाको आनी डोल्मालाई भेट्न आएको।केही महिना अघि यहीकै प्रहरीले लगेको थियो रे उनलाई।"
"ए!उसो भए तिमी त्यही किशोर हौ?अँ..आनी ...डोल्मा।बल्ल सम्झें।साला मूर्ति चोर तैं पो होस्?हवाल्दार सा'ब!यसलाई केरकारको लागि कारागारमा राख्नुस्।यस्तो खुंखार डाकालाई छोड्नुहुन्न।तह लाउनुपर्छ।"
"सर तपाईं यो के भन्दै हुनुहुन्छ?केको मूर्ति?को चोर?सत्य-तथ्य नबुझी यत्तिकै चोरको आरोप लाउन पाइन्छ अर्कालाई?"
"तिम्रै केटीले बयान दिएकी त हो नि!डोल्माले तिम्रो मिलेमतोमा बुद्धको मूर्ति चोरेको स्वीकारिसकिन्।अब के भन्छस्?"
"कुरा जेसुकै होस तर म एकपटक जसरी पनि उनलाई भेट्न चाहन्छु।"
"हनुमानढोका जाउ।उतै भेट।"
"हवस् सा'ब,म गइहालें।"
हतास हुँदै दौडिन खोज्यो तर खुट्टा लर्वराउन थाले।जसरी जड्याँहाको खुट्टा ठेगानमा हुँदैनन्।चौकीकै अगाडि बाट ट्याक्सी पक्डेर हुँइकिन थाल्यो।
"ड्राइभर!तुरुन्तै हनुमानढोका लिएर जानुस् त।छिटो चलाउनुस्।"
"जाममा कसरी चलाउनु हजुर।पर्खिनुस्,पुगिहाल्नुहुन्छ नि।"
एक मिनेटको जाम पनि उसलाई एक घण्टा झैं लाग्यो।खुबै हतारमा भए झैं बेला-बेलामा घडीमा नजर लाउँदै तनाब लिन थाल्यो।तीन महिना पहिले उसको हातमा ५०० रुपियाँ पर्ने चाइनिज घडी थियो।अहिले हिरा जडित महंगो घडी झिलिक्क टल्क्यो।उसले अनौठो पाराले ट्याक्सी ड्राइभरको अनुहारमा पिलिक्क हेर्यो।तीन महिनापछि काठमाडौं शहर छिर्दा उसलाई लाग्यो-सबै अचानक परिवर्तन भैसकेछन्।पहिलेको जस्तो केही थिएनन्।सबका सब नौलो।यथार्थमा खासै केही परिवर्तन भएका थिएनन्।सायद उसको मन परिवर्तन भएर त्यस्तो लागेको थियो।उसको जीवनशैली परिवर्तन भएर हुनसक्थ्यो।साँच्चिकै उसले लगाएका पुराना कपडा केही थिएनन्।सबै नयाँ मात्र।उसको हाउभाउ नयाँ।उसको नजर नयाँ।सोचाइ नयाँ।सायद उसलाई त्यहाँको सडक पनि उसको थोत्रो कपडा झैं पुरानो लागेको हुनुपर्छ।
"नेपालको त सबै कुरा खत्तम।मान्छे खत्तम।प्रणाली खत्तम।ठाउँ खत्तम।गतिला केही छैनन्।"-ड्राइभर लाई भन्यो।
"हजुरलाई खत्तम लागेर हुन्छ?हामीलाई यही ठाउँ प्यारो।यहींको सडक,शहर,मान्छे सब प्यारो।हजुर जस्तो हाइफाइ लाइफ स्टाइल भएको मान्छेलाई के निको लाग्थ्यो र?बानी परेसी सब राम्रा लाग्छन् हजुर।हजुर अहिले नयाँ हुनुहुन्छ क्यारे।पुरानो भएसी सब ठिक हुन्छ।धन्दा नमान्नुस्।हस् त हनुमानढोका आइपुग्यो।"
"ल ल धन्यवाद भाइ।भाडा लिनुस्।"-१००० को नोट दिंदै।
"हजुरको बाँकी पैसा फिर्ता लिनुस्।जम्मा २५० उठेछ।"
"बाँकी तिमी नै राख।बक्सिस भयो।मोज गर।"
"धेरै-धेरै धन्यवाद हजुर।हजुर जस्तै प्यासेन्जर दिनमा दुईचार जना पाए ज्यान बन्थ्यो कि।आज मेरो भाग्य चम्केको रहेछ।"-सलाम गर्दै।
किशोर ड्राइभरको कुरा सुनेर नसुने झैं गरेर अगाडी बढ्यो।ड्राइभर भने उसलाई भगवानै सम्झेर निकैबेर ट्याक्सी त्यहीं रोकेर हेरिरह्यो।किशोर ओझेलमा परिसकेपछि ट्याक्सी हुँइकियो।
"नमस्ते सा'ब!"
अभिवादन नफर्काइकन "भन के कामले आयौ?" भनेर सन्के पाराले सोध्यो एकजना प्रहरीले।
"म मेरी आनी डोल्मालाई भेट्न आएको सा'ब।"
"गएर भेट न त।"
"कहाँ कति नं.मा होला?"
"भित्रै गएर सोध न।म कम्प्युटर हो र?"
प्रहरीको पारा देखेर वाक्क मान्दै किशोर सरासर भित्र गयो।मौखिकरुपमा केही भन्न नसकेपनि शीर हल्लाएर अभिब्यक्त गर्यो।प्रहरी भने लाल-लाल र बिस्फारित नयनले ख्वाप्पै खाउँला झैं गरी उसलाई नजरको बाणले हान्यो।अभिवादनको कुनै मूल्य नदेखेको किशोरले यसपल्ट सिधै बिषयबस्तुको उठान गर्यो।
"आनी डोल्मा कहाँ होला भेटाइदिनुपर्यो सर।"
"अरे तपाईं कस्तो खाले मान्छे हो?हाइ-हेल्लो,नमस्कार केही छैन।परिचय दिनु छैन।कुनै पृष्ठभूमि छैन।के पारा हो?कस्तो तरीका हो तपाईंको?नोकर सम्झनुभएको छ र?"
"माफ गर्नुस् सर।म हतारमा थिएँ।म किशोर।डोल्मालाई भेट्न आएको।"
"ए बिचरी!उनी त अहिले यहाँ छैनन् नि।मानसिक सन्तुलन ठिक नभएकोले मानसिक अस्पतालमा छिन्।एक महिना भयो।म प्रायः उनैको बिषयलाई लिएर चिन्तित भइरहन्थें।"
"कहाँ कुन अस्पतालमा सर?प्लीज भेट्टाइदिनु पर्यो सर।"
"ल ल ठिक छ।ए असई सा'ब!उहाँलाई आनी डोल्माको अस्पतालमा लगिदिनुस्।बिचरीलाई भेट्ने उहाँ पहिलो ब्यक्ति होला।हेर्दाखेरी त्यस्तो चोर जस्ती त थिइनन्।कसैले फसाइदिए जस्तो छ उनलाई।"
"ल हिंड्नुस् मसंग।"
"हवस् त सर म लागें अहिलेलाई।धेरै-धेरै धन्यवाद यहाँलाई।"
प्रहरीको भ्यानले उसलाई अस्पतालमा लगेर छोड्यो।
लगनखेलको मानसिक अस्पताल।बाहिरी पर्यावरण सुन्दर र शान्त।ठूलो भवन।दुईटा भवनहरु आपसमा जोडिए झैं लाग्ने।सेतो साइनबोर्डमा रातो अक्षरले लेखिएको थियो-मानसिक अस्पताल।नाम देख्ने बित्तिकै उसको मनमा अर्कै कुराले डेरा जमाउन थाल्यो।उ आफैं पनि पागल भएर जान लागेको भान भयो।
"कतै म पनि पागल त हैन?हैट!हुनै सक्दैन।"
एकपटक उसले कल्पना पनि गर्यो-यदि म पागल भएको भए मेरो हालत कस्तो हुन्थ्यो?अनि जबर्जस्ती उसले त्यो कल्पनालाई लात मारेर दिमागबाट निकाल्यो।पागल शब्दलाई मनमा आउने अनुमति दिएन।बहिस्कार नै गर्यो।अस्पतालको संघार प्रबेश गर्नेबित्तिकै उसले आफूलाई अर्कै संसारमा आइपुगेको अनुभूत गर्यो।एकपटक फेरि उसले साहित्यकार शरुभक्त र उनको "पागलबस्ती" लाई सम्झ्यो।बाहिरको भन्दा बिल्कुलै फरक परिबेश।जो-जो उसको नजरमा पर्थ्यो,सबैले फरकफरक र अनौठो खाले अभिनय गरेझैं लाग्यो।फिल्मसिटीमा आएझैं लाग्यो।हाउभाउ,चालडाल,बोलाई र अन्य क्रियाकलापले साँच्चिकै अस्पताल भित्रको परिबेशलाई एककिसिमले रोमाञ्चक बनाइरहेको थियो।ती दृश्यलाई अवलोकन गर्दै मनमनै रमाइलो मानिरहेको थियो किशोर।तर जब आनी डोल्मा अचानक नजरमा पर्यो,उसको होसहवासै उडे जस्तो भयो।गेरुबस्त्रमा सजिएर हातमा बुद्धचित्त माला लिएकी र केश पूर्णरूपमा खौरिएकी सुन्दर आनी कल्पनामा सिमित भैसकेकी थिइन्।उसले आफ्नो आँखालाई बिश्वासै गरिरहेको थिएन।सपना जस्तै दृश्य अगाडि नाचिरह्यो।तर त्यो सपना नभएर बिपना नै थियो।लामो केशराशी,अस्पतालको ड्रेस,टेपले टालिएको मुख,बाँधिएका हात,दुब्लो-पातलो र जीर्ण शरीर।डोल्माको नाजुक अवस्था देखेर किशोरको आँखाबाट एक्कासी साउने भेल उर्ल्यो।१९९० र २०७२ को भुकम्पले फेल खाए।यसपालिको शक्तिशाली भुकम्प उसकै मुटुलाई केन्द्रबिन्दु बनाएर गयो।हलचल मच्चायो।एकैछिनमा मुटुका चारैभित्ताहरु चर्क्याएर गयो।उसको मनको महल गर्ल्याम्मै ढल्यो।उ पनि साँच्चिकै पागल होला जस्तो भयो।एक किसिमले उसलाई पनि पागल हुन मन लाग्यो।पागल भएर डोल्माकै सामिप्यमा बस्न मन लाग्यो।
"यदि डोल्मालाई ठिक भएन भने म पनि पागल हुनेछु।उनलाई बदल्न सकिएन भने म आफैं बद्लिनेछु।"-उसले मनमनै संकल्प लियो।
अलि परैबाट हात हल्लाएर हेल्लोको संकेत दियो उसले।डोल्मा भने एकोहोरो उतिरै हेरिरहेकी थिइन्।तर उनको मुहारमा कुनै परिवर्तनको संकेत देखिएन।उनले कुनै प्रतिकृया दिइनन्।सालिक जस्तै ठिङ्ग उभिरहिन्।किशोरको अनुहारमा हेरेर निकै गहिरो अध्ययन गरे झैं गरिन्।तर उनले केही भेउ पाउन सकिनन्।
अरुबेला लोग्नेमान्छे देखेर तीनबित्ता उफ्रेर मुर्मिरिने मान्छेमा आज भने अप्रत्याशित र अपत्यारिलो तवरले आमूल परिवर्तन आएको थियो।उनी यति शान्त र सालिन भईन्,मानौं उनलाई यो संसारमा बहुत शान्ति र अमनचैन छ।सुखको सास फेरिरहेको जस्तो।मानौं उनलाई केही भएकै थिएन र डाक्टर यतिकै ढाँटिरहेका थिए।किशोरलाई एकोहोरो र एकटकले हेरिरहिन्।मानौं किशोरसंग उनको परिचय पहिल्यै थियो।किशोर पनि अन्त कतै नहेरिकन उनी भएतिरै अगाडि बढ्यो।
"आनी डोल्मा!तिमी यहाँ ?कसरी?अचानक के भयो हाँ तिमीलाई?मलाई चिन्छ्यौ हैन?कसले तिम्रो यो हाल बनायो आनी?मेरी आनी!मेरी प्यारी!मेरो जिन्दगी!मेरो ज्यान!बोल न आनी।केही त बोल।"
प्रश्नपछि थोरै समयको अन्तर भयो।फेरि प्रश्न तेर्सिए।तर उसका सब प्रश्नहरु खेर गए।आनीलाई केही नभएर सज्जनै थिइन् भन्ने किशोरको झिनो आशाको त्यान्द्रा अचानक चुँडियो।आशा निराशामा बद्लियो।
किशोर उनको निकै सामिप्यमा गयो।फेरि पनि बडो उत्सुकताका साथ आनीको शरीरका सबै भागहरु तिर नजर लगाएर गहिरो अवलोकन गर्न थाल्यौं।मानौं उ आनीको शरीरको अध्ययन र अनुसन्धान गर्दै थियो।दाहिने हातले क्रमशः उनका पाखुरा,गाला,मुख,नाक,आँखा,निधार र कपालतिर सुस्तरी-सुस्तरी स्पर्श गर्यो।आनीको आँखाको तालभित्र सूक्ष्म अध्ययन गर्यो।उसले त्यहाँ दु:ख,पीडा र दर्दहरुको खानी भेट्टायो।त्यो खानीलाई उत्खनन गरेर बाहिर निकाल्न खोज्यो।तर त्यति सजिलै निस्किने वालामा थिएन।
"आनी!केही त बोल न।कसरी तिमी यो हालतमा पुग्यौ?तर तिमी कसरी बोल्न सक्छ्यौ र?तिम्रो मुखै बन्द छ।के पारा हो डाक्टर?बिरामीलाई पनि यस्तो नीच व्यबहार गरिन्छ कतै?कस्तो अस्पताल हो तपाईंको यस्तो?तुरुन्तै मुख र हात खोल्नुस्।नत्र भने म विभिन्न संघ-संस्थामा गएर आवाज उठाउँछु।उनले त्यस्तो के नै गरेकी छिन् र यसरी क्रूर र निर्मम यातना दिनुपर्यो??"
"किशोर जी!तपाईंको खुशीले हुन्छ?तपाईं लाई यसको हर्कत के थाहा?यिनी मान्छे हैन पशु हुन्।जंगली जनावर हुन्।मान्छे देख्नै हुन्न यसलाई,कोपार्न र चिथोर्न थाल्छिन्।यसको हातमुख खोलेर कोहीमाथि आइलागेको खण्डमा को जिम्मेवार हुन्छ?यसले कसैको हत्या गरिन् भने?"
डाक्टरले चर्को सवाल खडा गर्यो।किशोरको मस्तिष्कमा पनि कता-कता आनीको हर्कतबारे शंकाको झिल्कोले उज्यालो भरिदियो।तैपनि उसले आनीलाई त्यो रुप र कहालीलाग्दो अवस्थामा देख्न सकेन।
"खोल्नुस्,यदि केही भइहाल्यो भने म पूर्णरूपमा जिम्मेवार हुनेहुनेछु।बिश्वास गर्नुस्,यसले त्यस्तो केही हर्कत गर्नेछैन।"
"किशोर जी तपाईं आफैं खोल्नुस्,हामीलाई त डर लाग्छ।यदि उनले त्यस्तो कुनै जंगली व्यबहार गरिन् भने त्यसको पहिलो सिकार तपाईं आफैं हुनुहुनेछ।खोल्नुस्।हिम्मत भए खोल्नुस्।"
किशोरले सर्वप्रथम उनको मुखमा बाँधिएको टेप लाई बिस्तारै निकाल्यो।उनका ओठहरु पनि एक आपसमा टाँसिएकै थिए।निकैबेर जस्ताको तस्तै रहे ती ओठहरु।ती ओठहरुले खुल्न बिर्सेका थिए।चल्मलाउन बिर्सेका थिए।अथवा भनौं तिनीहरुले बन्द हुन जानिसकेका थिए।अथवा बन्द हुन बाध्य पारिएका थिए।यदि खुलिहालेको खण्डमा चरम यातना पाउने भय थियो।बन्द रहन नै सहज र सजिलो भैसकेको थियो तिनीहरूलाई।सायद तिनीहरुको खुल्ने अधिकारै थिएन।अथवा अधिकार हनन गरिएको थियो।कुण्ठित गरिएको थियो।ओठहरुले मुस्कुराउन बिर्सिसकेका थिए।अथवा तिनीहरुको मुस्कुराउने अधिकारै थिएनन्।गम्भीर भएरै बस्ने बानी परिसकेको थियो।मुस्कुराउनु पाप थियो।मौन बस्नु नै तिनीहरुको धर्म थियो।
किशोरले आफ्नो चोर औंलाको सहायताले उनको तल्लो ओठलाई तलतिर खिच्यो।उनका पहेंलिएका तल्लो दाँतहरु जेलखानामा राखिएका जन्डिसले ग्रस्त बिरामी जस्ता देखिए।नमीठो अमिलो गन्ध ह्वास्स गन्हायो।सायद दाँत नमाझेको महिनौं भैसकेको थियो।फेरि उसले माथिल्लो ओठलाई माथितिर सार्यो।माथिल्ला दाँतहरुको हविगत पनि उस्तै थियो।पहिले उनका ओठहरु लालुपाते थिए।तर अहिले काला भैसकेका थिए।धेरै चुरोट पिएर दुर्व्यसनीको सिकार भएका ओठ झैं।
"आनी!अब त बोल न।मलाई चिन्यौ?म किशोर।तिम्रो किशोर।तिम्रो आफ्नो किशोर।तिम्रो सपनाको राजकुमार।म तिमीलाई लिन आएको छु हमेसा-हमेसाको लागि।जान्छ्यौ हैन मसंग?"
"को...को..को किशोर?मैले त चिनिन नि।"-आनीले बिस्तारै अक्मकाउँदै बोलिन्।
"म के त।तिम्रो किशोर।तिम्रो प्रेमी।हामी एक-अर्कालाई माया गर्थ्यौं नि।बिर्स्यौ र ?"
"नाइँ मलाई केही याद छैन त।तपाईं मलाई ढाँट्दै हुनुहुन्छ।"
"भगवान् कसम।बुद्ध कसम।म तिम्रै किशोर हुँ र तिमी मेरी आनी डोल्मा।"
"म....डोल्मा?डोल्मा?"
"हो तिमी डोल्मा।मेरी डोल्मा।म तिमीलाई बिहे गर्ने वालामा थिएँ।तर काम बिशेषले असमर्थ भएँ।अब त आएँ नि।अब दुनियाँको कुनै तागतले हामीलाई एक हुनबाट रोक्न सक्दैन।"
"ए...अलिअलि याद आयो मलाई।"
उनले एकपटक किशोरको शरीरमा निकैबेर नियालिन्।त्यसपछि आफैंलाई बडो अचम्मका साथ हेरिन्।उनी एकाएक आश्चर्यचकित भईन्।"
"म यहाँ?किन आएँ?कहिले आएँ?"
"धन्दा नमान आनी डोल्मा।सब ठिक हुन्छ।सबै कुरा बिस्तारमा भन्नेछु।अहिले आराम गर तिमी।"
किशोरले उनका बाँधिएका हातलाई स्वतन्त्र पार्यो।दुबै हातलाई समाएर सुम्सुम्यायो।चुम्बन दियो।लगातार आधा घण्टासम्म उसले त्यही प्रकृया पुनरावृत्ति गरिरह्यो।
"किशिर!तिमी कहाँ थियौ?यतिका दिन कता हरायौ?किन माया मार्यौ?मेरो याद आएन तिमीलाई?कति निष्ठुरी है तिमी!कति तड्पाउन जानेको?तिम्रो अनुपस्थितीमा म त मरेर जिएकी थिएँ किशोर।एकपटक हैन,दुईपटक हैन,म बारबार मरेकी थिएँ।हजारौं पटक मरेकी थिएँ।धन्न म अहिलेसम्म जिउँदै रहेछु।"
दुबैका आँखाबाट आँशुको बाढी आइसकेको थियो।हिक्क-हिक्क आवाज निकालेर रुन थाले दुबैजना।एक-अर्काका अंगालोमा बाँधिए।डाक्टर र नर्सहरु मुकदर्शक भएर हेरिरहेका थिए।आनी डोल्मामा अचानक आएको परिवर्तन देखेर सब चकित भए।सबैको मुहारमा नौलो चमक थियो,जसरी बिहानीको शीतको थोपामा उषाको लाली किरणले पहिलो स्पर्श गर्दा चमक हुन्छ।बिल्कुल त्यस्तै चमक।
"भयो अब कतिन्जेल चुमिरहन्छौ एक-अर्कालाई?यहाँ हामीलाई असहज भैसक्यो।जे-जे गर्नुछ पछि गर।अहिलेलाई एउटा कुरा सुन।आनी डोल्मालाई सिधै तिमीसंग पठाउन मिल्दैन।हो,हामी पनि बहुत हर्षित छौं कि आनीलाई होस आएको छ।तर उनी अझै पूर्णरूपमा स्वास्थ भैसकेकी छैनन्।केही दिन यही आराम गर्नुपर्छ।र त्यो भन्दा पनि महत्वपूर्ण कुरा छ-कानुनी जटिलता।कानुनको नजरमा उनी अझै एक कैदी हुन्।हाम्रो खुसीले उनलाई डिस्चार्ज गर्न मिल्दैन।एकपटक जेल त जानैपर्छ।अहिले म यसको बारेमा प्रहरीलाई खबर गर्दिन।केही दिनपछि खबर गरौंला।बरु वकिल राखेर मुद्दाको लागि तयारी गर्दा हुन्छ।मैले उनको बारेमा सबै बुझिसकेकी छु।उनीप्रति मेरो पनि न्यानो माया र गहिरो सहानुभूति छ।बरु म पनि मद्धत गर्छु तिमीहरुलाई।"
महिला डाक्टरले उनीहरुको भ्रम चिर्ने कोसिस गरिन्।दुबैजना मुखामुख हेरिरहे।
एकपटक फेरि उनीहरूलाई समयले चौकाइदियो।छक्काईदियो।दुबैजना टिल्ल परे।जिल्ल परे।वाल्ल परे।ट्वाल्ल परे।बेचैनीको भुकम्पले झड्का दियो।भयका पराकम्पनहरु आइरहे।आइरहे।केही सोच्नै सकेनन्।धेरैबेरसम्म सोचमग्न भए।पीडाको बादल फाटेर खुशीको जून बश केहीबेरका लागि देखिएको रहेछ।जून लुकिहाल्यो।दु:ख पुनः झरी बनेर झर्नै लागेको थियो।रोदनका बाछिटाहरु उछिटिएर आँखाका डिलहरु हिलम्य भए।मनका डाँडाकाँडाहरु दर्दका हुस्सु-कुइरो र बादलले टमक्क ढाकिए।सुख र दु:खले जीवनमा लुकामारी खेलिरहे।खेलिरहे।कहिले सुख देखियो,दु:ख लुक्यो।कहिले दु:ख देखियो र सुख लुक्यो।हर्ष र बिश्मातका चाकाचुली तल र माथि गरिरह्यो।फेरिपनि अप्ठ्यारो मोडमा आएर जीवन खतरनाक भीरमा गएर ठोक्किन गई दुर्घटनाग्रस्त भयो।बाँचेर उम्कन हम्मेहम्मे भयो।दुई मनहरु संघर्षरत भए।
"किशोर!म तिमीलाई कर पनि गर्दिन।बाध्य पनि पार्दिन।तर मलाई जान्ने अधिकार छ-तिमी त्यो रात किन गायब भयौ?जसको कारण आज म यो हालतमा छु।यथार्थ र सत्य-तथ्य कुराको उजागर भए म खुशी हुने थिएँ।"
"हो,गल्ती मेरो पनि थोरै थियोे।कसैलाई सुचित नगरीकन म त्यहाँबाट हिंड्नु मेरो गल्ती थियो।तर मलाई के थाहा-त्यही रात गुम्बामा त्यस्तो घटना घट्छ भन्ने?"
"के बाध्यता थियो र त्यति हतारमा हिंड्नुपर्यो?"
"म त्यस्तै हालतमा थिएँ आनी।रातको १२ बजे मलाई भारतबाट साथीको फोन आयो।मेरो बाबाले सदाको लागि दुनियाँ छोडेर अर्कै दुनियाँमा बसाइँ सर्नुभएको रहेछ।म घायल थिएँ।कायल थिएँ।सोच्ने मेरो क्षमताले दिएन।म रोएँ।कराएँ।छट्पटिएँ।म त्यहाँ बस्नै सकिन।दिमाग ठेगानमा रहेन।घाइते मुटु लिएर म शितल मलमको खोजीमा निस्किएँ।भौतारिएँ।तिमीलाई भन्नुपर्ने थियो-भनिन।यही सानो भुल हामी सबैको लागि महाभुल भयो।"
"के तिमीले गुम्बाको बहुमूल्य मूर्ति चोरेका हैनौ?"
"म किन त्यस्तो पाप गर्थें र?मलाई बिश्वास गर आनी!मबाट कसरी त्यस्तो कुकर्म हुनसक्थ्यो र?संयोगले मलाई चोरीको आरोप लागेको रहेछ।मलाई भन्दा अझ तिमीलाई।म महसुस गर्न सक्छु,त्यतिबेला तिमीमा के बित्यो भनेर।मलाई दोष लाग्नु पनि त स्वभाविकै थियो।समय र परिस्थितीले हामीलाई नराम्रोसंग पछार्यो,उठ्नै नसकिने गरी।तर अब हामी उठ्नुपर्छ।घस्रेरै भएपनि यहाँको कानुनसंग लड्नुपर्छ।सास हुन्जेल संघर्ष गर्नुपर्छ।राज्य र प्रशासनले हामीमाथि गरेको अन्यायको मूल्य चुकाउने दिन आएको छ।"
"साँच्चै किशोर?तिमी निर्दोष छौ?"
"एकदमै निर्दोष छु आनी।हाम्रो केही दोष छैन।म यथाशीघ्र कानुनी उपचारमा लाग्छु।प्रशासनलाई चुनौती दिन्छु म।हामी मिलेर अगाडिको व्यवधानसंग सामना गरौं।तिम्रो साथ पाए म संसारसंग लड्न सक्छु।दुनियाँलाई मुठ्ठीमा पार्न सक्छु।"
"म तिमीदेखि गौरवाम्बित छु किशोर।तिमी जस्तो ज्ञानी पुरुषको साथ पाए म पनि जस्तोसुकै कठिन र कठोर परिस्थितीको पनि सामना गर्न सक्छु।म तिम्रो साथमा छु किशोर।मिलेर उठौं,जुटौं र लडौं।हिजो तिम्रो अभाव थियो र त एक्लैले लड्न सकिन यो कानुनसंग।त्यसैले त चुपचाप मैले कहिल्यै नगरेको गल्ती स्वीकारेर अनावश्यक सजाय भोग्न तयार भएँ।मलाई लागेको थियो-तिमीले घात गर्यौ।तर हैन रहेछ।मेरो सोचाइ नै गलत रहेछ।तिमी त्यस्तो बाध्यतामा परेको मलाई के थाहा!अब हामी शक्तिशाली भएका छौं।"
"हो आनी!हामी कमजोर छैनौं।हामी अब मिसाइल भएर बिस्फोट हुनुपर्छ।तिमी चिन्ता नगर।म चाँडै वकिल राखेर मुद्धा लड्नेछु।लड्नेछौं।जित्नेछौं।निर्दोष सावित हुनेछौं।अनि यो पापी दुनियाँ छोडेर हामी टाढा गएर बस्नुपर्छ।हामीले बाँकी जीवन संगै बिताउनुपर्छ।हाँसेर जिउनुपर्छ।"
दुबैजना उत्साहित भए।आक्रमक भए।खुशी भएर अंगालोमा बाँधिए।संसार जितिसकेको जस्तो गर्व गर्न लागे।आनी डोल्माको जीर्ण शरीरमा एकप्रकारको उर्जा भरियो।मस्तिष्क हिम्मत र जोशले भरिपूर्ण भयो।आँखामा खुशीको आँसु सल्बलाउन थाल्यो।त्यही खुशीमा पुनः एकपटक उनले किशोरको ओठमा गहिरो चुम्बन दिईन्।वरिपरिका कर्मचारी हेरेको हेर्यै भए।अस्पतालको वातावरण प्रेमिल भयो।रोमाञ्चक भयो।सबैजनाले गडडड ताली बजाएर माहोल लाई संगीतमय बनाए।दृश्य बहुत रोचक भयो।
No comments:
Post a Comment