भूतले मलाई कृकेटको बल जस्तै जिन्दगीको मैदानबाट छक्का मारेर घेरा बाहिर फ्याँकिसकेको थियो।न त म आफैं पुन: मैदानमा प्रबेश गर्न सकें,न कसैले टपक्क टिपेर मैदानमा फ्याँकिदियो।मेरो जिन्दगीको रोचक खेल हेर्न बसेका आफन्त,नातेदार,ईष्टमित्र र सहयात्रीहरु दर्शक बनेर टुलुटुलु मेरो बिजोग हेरिरहेका थिए।म मैदानबाट बाहिरिंदा हुर्रे गर्दै मनोरञ्जन लिइरहेका थिए।बिचरा म लाखौं मान्छेहरुको भीडमा अलपत्र परेर हराइरहेको थिएँ।त्यो भीडमा कतिले कुल्चिएर हिँडे।कतिले लातले हानेर हिंडे।हुँदा-हुँदा म कच्याककुच्युक भएर कुचिएको थिएँ।न मर्न सकिरहेको थिएँ,न त बाँच्न नै।जीवन-मरणको दोसाँधमा छट्पटाइरहें।कति चिच्याएँ,कराएँ,मद्धत मागें तर कसैले मेरो आर्तनाद सुनेनन्।
बर्तमानमा समय बहुत निर्मम भएर मेरो छातीमाथि म्याराथन दौडिरह्यो।मेरो मुटु माथि क्रूर पाइला चालिरह्यो।दर्द र पीडा सहन सकिन।समयलाई धक्का मारेर लडाउन खोजें।पछार्न खोजें।तर समय यति बलवान् भैदियो कि उ त अटसमटस पनि भएन।झन जोड-जोडले लात बजार्दै दौडिन थाल्यो।फलस्वरूप मेरो फोक्सोमा चोट पुग्न गई स्वासप्रस्वास राम्ररी हुन सकेन।कतिखेर दुई मुठी सास जाला झैं लाग्यो।मुटुको धड्कन तेज हुन थाल्यो।मुटु फुट्ला झैं भयो।तैपनि समय क्रूरतापूर्वक अनिश्चितकालीन म्याराथन दौडिरह्यो-दौडिरह्यो।
मेरो भविष्य कुहिरोको काग झैं लक्ष्यबिहीन भएर कहिले उत्तर-दक्षिण र कहिले पूर्व-पश्चिम उड्ने पक्कापक्की नै भयो।सपना त उडेर चन्द्र नै छुने थियो तर कालो बादल बाहेक अरु छुन सकिने स्थिति देखिएन।अब त सपना उड्न समेत छोडेर घसृन थाल्यो।घसृन थालेको भविष्यको के ठेगान?उडेर छुन नसकेको चन्द्र घस्रेर के छुन सकिएला र?घसृदै जाने क्रममा खाडलमा परिएन भने,समुद्रमा फसिएन भने र भाग्यले साथ दियो भने चन्द्रमा छुन नसके पनि केही समयको अन्तरालमा पक्कै पनि एउटा निश्चित दूरी पार गर्नेछु।त्यही झिनो आशा लिएर घसृनैरहेको छु।संघर्षरत छु।हिम्मत हारेको छैन।भाग्यले छलकपट गरेपनि,समय निष्ठुरी भएपनि पाइला चाल्न छोडेको छैन।छोड्नु हुन्न भन्ने सोचाइ मस्तिष्कमा सवार छ।लक्ष्यबिहीन यात्री नै सही,बाटो खोजिरहेछु।लक्ष्य खोजिरहेछु।कहाँ पुग्छु थाहा छैन तर अनिश्चितकालीन यात्रालाई निरन्तरता दिइरहेको छु।हिम्मत नहार्नु नै जिन्दगीको सिद्धान्त ठानेको छु।हतोत्साहित भएर बीचबाटोमै विश्राम लिनु नै हार्नु हो।मैले हारेको छैन।अनि जितेको पनि छैन।हार र जीत आफ्नो ठाउँमा होला।म तिनीहरुको बीचबाट समानान्तर रेखामा हिंडिरहेको छु।मौका मिलेको खण्डमा पाइला यताउता मोड्नेछु।हारेपनि जिन्दगीसंग कुनै गुनासो हुने छैन।जितेपनि उत्साहित भएर खुशीको सीमा पार गर्नेछैन।त्यसैले म आफ्नै गतिमा घसृरहेको छु।कछुवा र खरायोको गति मेरो लागि पुरानो भैसक्यो।कमिलाको गतिनै सही,निष्क्रिय चाहिँ भएको छैन।आफ्नै सिद्धान्तले चलिरहेको छु।आफ्नै सिद्धान्तको परिणाम भोगिरहेको छु।
भूत के थियो या वर्तमान के छ,सरोकार भएन।भविष्य के हुनेछ,त्यो पनि चिन्ताको बिषय भएन।परिणाम जेसुकै होस,मलाई मतलब छैन।बश,छातीमा बृहस्पतिको वजन लिएर म निरन्तर अगि बढिरहेको छु,बढिरहनेछु।
Monday, 10 July 2017
भूत बर्तमान भविष्य
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment