Wednesday, 19 July 2017

तीता-मीठा पलहरु-६

             भाग-६

       "जहाँसुकै लैजाउ मलाई,यो मन त मेरो नेपाली हो।"
माथिको भनाइ नेपाल र नेपालीहरुको लागि निकै प्रचलित भनाइ हो।हुन पनि यो भनाइले यथार्थता बोकेको छ।बेरोजगारीको समस्याले लाखौं नेपालीहरु बिदेशिन बाध्य छन्।लाखौं मध्ये म पनि एक थिएँ।अस्थायी कर्मभूमी दुबई लाई रोज्नुपरे पनि मेरो मन सधैं नेपालमै हुन्थ्यो।स्वदेशकै बिषयमा चासो लिइरहन्थें।सुचना तथा प्रबिधिले संसारलाई साँगुरो बनाइसकेको हुँदा सामाजिक सञ्जालहरुमा मेरो बिशेष चासो हुन्थ्यो।आकाशबाट चिलले कुखुरामाथि नजर लाएझैं मैले सञ्जालमा नजर लाउँथें।कहीं नभएको जात्रा हाँडी गाउँमा भने झैं नेपालमै अनेक हतकाण्ड भैरहन्थ्यो।दैनिक जसो सामाजिक सञ्जाल कुनै न कुनै बिषय भाइरल भैरहेको हुन्थ्यो।
"डोजर काण्ड"
"ग्याँस पाइपलाइन काण्ड"
"हावाबाट बिजुली काण्ड"
"तरकारीवाली काण्ड"
"कृषि मन्त्रीको रोपाइँ काण्ड"
"प्र.म.शेरबहादुर काण्ड"
"झाँक्री तथा भोजराज काण्ड"
यस्तै-यस्तै काण्डहरुको सरगर्मीले सामाजिक सञ्जाल तातिरहेका हुन्थे।तात्नु पनि स्वभाविक थियो।सञ्जालबाट सर्वसाधारणले आवाज बुलन्द गर्नुपर्ने आवश्यकता पनि थियो।
      देशमा दुई दशकपछि स्थानीय निकायको चुनाब सकिसकेको थियोे।देशमा भएको आमूल परिवर्तनले मूर्त रुप लिन थालेको थियो।नेपालको संविधान-२०७२ कार्यन्वायनको शिलशिलामा थियो।बर्षौंदेखिको स्थानीय पदाधिकारीको रिक्तताले उल्झिएका समस्याहरु सुल्झिने आशामा थिए जनता।केही मात्रामा भएपनि राहत महसुस गरिरहेका थिए।तर जति बिकासले तीव्रता पाउनुपर्ने थियो,पाइरहेको थिएन।नेताहरु ठूल्ठूला भाषण र आश्वासन दिनमै ब्यस्त थिए,जसरी पहिले देखि थिए।
        बि.सं. २०७४/०३/२९ तदानुसार सन 14/07/2017 को मिती।काठमाडौंमा भएको भीषण बर्षाको कारण जनजीवन नराम्ररी प्रभावित भए।सामाखुसीमा बुटवलकी कक्षा ९ मा अध्ययनरत छात्रा सत्या सापकोटा बिद्यालयबाट फर्किने क्रममा सडकको नालीमा डुबेकी थिइन्।३० मीटर तल पुगेपछि खोलाबाट स्थानीय बासिन्दाले उद्धार गरेका थिए।डुब्दै गरेको र डुबेपछि उद्धार गरिएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो।लाखौं जनाले उक्त भिडियो हेरे।काठमाडौंमा नेताहरुले स्मार्ट सिटी र स्मार्ट ट्वाइलेट जस्ता योजनाहरुको अवधारणा अगाडि सारिरहेको बेला पिच गरिएका सडकहरु एकै महिनामा भत्किनु,जतासुकै खाल्डाखुल्डी पर्नु,सडकमै बाढी आउनु जस्ता घटनाहरुले नराम्रोसंग ब्यंग्य गरिरहेका थिए।नालीभित्र डुबेर सर्वसाधारणको ज्यान जोखिममा पर्नु जस्तो घटना अति दु:खद र संवेदनशील मान्नुपर्छ।
            त्यतिमात्र नभई ढल फुटेर आएको बाढी मेरो भुइँतलामा भएको डेरामा पस्दा मेरी श्रीमती आहत एवं प्रभावित भएकी थिइन्।रामहिटीमा अबस्थित डेरामा आएको बाढीलाई सफा गर्न ३/४ जनाले लगभग ३ घण्टासम्म लगातार कडा परिश्रम गर्नुपरेको थियो।
        नेताहरुले ठूल्ठूला भाषण र आश्वासन मात्र दिएर स-साना कार्यहरु समेत ढंगले नगर्दा सत्या सापकोटा र मेरी श्रीमती जस्ता सर्वसाधारणले सास्ती खेप्न बाध्य थिए।ती त केवल प्रतिनिधि पात्रहरु मात्र थिए।त्यस्ता दु:खद घटनाहरु दैनिक लाखौं जनताले भोगिरहेका थिए।नेता,कर्मचारी तथा योजनाविदहरुमा दूरदर्शिताको अभाव हुनु,विकासका कार्यहरु घुसखोरी र कमिसनखोरीको कारण दीर्घकालीन तथा पक्का हुन नसक्नु यसका प्रमुख कारणहरु थिए।गतिलो मिसन र भिजन नभएका नेताहरुको हातमा देशको नेतृत्व पुग्नु नै बिडम्बनाको बिषय थियो।देशले कहिले असल,इमानदार र देशभक्त नेताहरु पाउने भन्ने कुरामा अन्यौलता कायमै थियो।
         बाध्यताले बिदेशिनु पर्दा समुद्रपारीबाट देशमा चलिरहेको रंगमञ्चलाई टुलुटुलु हेरेर खेद प्रकट गर्नु र दुई थोपा अश्रु खसाल्नु बाहेक के नै गर्न सक्थें र मैले?नेतृत्वपंक्तिको सोचाइ सकारात्मक भैदिएको भए त्यस्तो नाटक हेर्नुपर्ने थिएन।त्यतिबेला मेरो मानसपटलमा दुईवटा मुक्तकहरु सल्बलाए।

आश्वासनको बीउ मात्र छरेको बेला
सके आफ्नै खल्ती टन्न भरेको बेला
स्मार्टसिटीको गफ के छाँटिरहन्छौ
सर्वसाधारण डुबानमा परेको बेला?

उतातिर कर्मचारी चिया खायो-बस्यो
यतातिर पैदलयात्री नालीमा फस्यो
कमजोर भौतिक संरचनाको कारण
गरीबको डेरामा ढलको बाढी पस्यो।

        
      

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...