मान्छेको छालाले के फरक पर्छ
गोरा या कालाले के फरक पर्छ?
अनैतिक भएसी चरित्र मान्छेको
चाबी र तालाले के फरक पर्छ?
दिलभित्र हुन्छ खास सुन्दरता
पोटिलो गालाले के फरक पर्छ?
सम्मान पाए उल्टै,ती भ्रष्टचारीले
सयकिलो मालाले के फरक पर्छ?
सफा र सुग्घर चाहिं हुनुपर्यो
टालेको टालाले के फरक पर्छ?
भिमकाय हुन्छ,शक्ति कलमको
छुरी र भालाले के फरक पर्छ?
गरीबले बुझ्छ ब्यथा गरीबीको
ठूला र ठालाले के फरक पर्छ?
अन्धकार मात्र झेल्दैछ देशले
नदी र नालाले के फरक पर्छ?
No comments:
Post a Comment