Friday, 30 November 2018

बेरोजगार-१८

                रामे
फोनको दर महंगो पर्छ,ब्यालेन्स सकियो
बोलौंला पछि,आजको लागि यतिनै गरियो
समस्या केही परेको बेला,हान्दिनु मिस्कल
साहुलाई भनी ब्यालेन्स हाली गर्नेछु म कल।

                   दृश्य चित्रण
सानीको मन भएर छोड्छ तितरवितर
अधुरै रह्यो खुलेर बोल्ने,मनको रहर
चुँडिए जस्तो लाग्दछ मुटु,सम्पर्क टुटेर
बगाउन खोज्छे,सम्पूर्ण व्यथा,धर्धरी रोएर।

दैनिकी सबै बिर्सेर बस्छे गोठ र घरको
निहार्न थाल्छे,मेघको बर्को,क्षितिज परको
प्रेमिका-प्रेमी वियोग हुँदा भएको पल झैं
पातलाई छोडी सलल बग्दै खसेको जल झैं।

शिशिर याममा चरीले छोडी गएको रुख झैं
जिन्दगीलाई सुखले छोडी आएको दु:ख झैं
इन्द्रेणीलाई बादलु आई छेकेको दृश्य झैं
तुफानसंगै चट्याङ मिली गर्जेको दृश्य झैं।

मेटिए जस्तो अधुरो कथा,लेखिंदा लेखिंदै
पोखिए जस्तो देक्चीको पानी,सल्किंदा सल्किंदै
मोडिए जस्तो सुखद पाइला,लम्किंदा लम्किंदै
उज्यालो जून,ग्रहणले खान्छ,चम्किंदा चम्किंदै।

सलाई जीवन,भिजेको बेला,बल्दैन रगेट्दा
केही न केही छुट्टिन्छ कतै सम्पूर्ण समेट्दा
इन्धन सकी,बसेको रोकी,जिन्दगी गाडी झैं
बग्दैन कतै,हलिन्न कति,जमेको पानी झैं।

उत्तिनै खेर सम्झना बग्छ,झर्नाको पानी झैं
निस्किन्छन् धेरै पीडा र व्यथा,अनन्त खानी झैं
उड्दछ याद,गतिमा द्रुत,रकेट भन्दा नि
जल्दछ मुटु,लागेको आगो,सकेट भन्दा नि।

लाचार बन्छे,विधुवा जस्तै,सिन्दूर पुछेको
जस्तो कि शव,आएर हुल,गिद्धले लुछेको
धाराको पानी,बगेको आँखा,हुँदैन पुछेको
भुइँमा हेर्दा, लाग्दछ माटो,आँशुले मुछेको।

बतास-मेघ मिलेर नाच्छन् त्यहाँको गगनमा
चट्याङ बज्री चिरिन्छन् रुख,लेकको जंगलमा
बर्सिन्छन् थोपा,निर्मम हुँदै,सानीको शरीरमा
जसरी हुन्छ,उनको मन ,बर्सिंदा तक्दीरमा।

निर्मला पनि आएकी हुन्छे,निथ्रुक्कै भिजेर
हतास हुँदै उठाइदिन्छे,हालत देखेर
हराए जस्तो लाग्दछ होस,मौनता नियाल्दा
लत्रक्कै पर्छे,मात्तिए जस्तो,नानीले सम्हाल्दा।

               निर्मला
बोल्नु न आमा!तपाईं लाई के भयो अचानक
जीवन हाम्रो,फिलिम जस्तै,लाग्दैछ कथानक
बेहोसै हुने गरेर कसले के कुरा सुनायो
पक्षघात होला,नसक्ला उठ्न,यो मन डरायो।

               सानी
ठि ई कै छु म,न ड रा ति मी,के ही भा छ ई न
ब अ बा सं ग,कु उ रा ग र् न,प अ को छ ई न
कु रा त भ यो,भ ने को ज ति,ग र न पा ई न
भन् नु उ थि यो,क ति इ क ति,भ न अ स किन।

               निर्मला
नमान्नु पीर,आउनेछ पुन:,बाबाको फोन त
फाइदा छैन,हुँदैन केही ,तड्पेर फगत
हिंड्नुहोस् भित्र,समाई मलाई,बिस्तारै-बिस्तारै
जिउन एक्लै,अवश्य हुन्छ,शुरुमा अप्ठ्यारै।

             सानी
महत्वपूर्ण,भन्नुथ्यो कुरो,भन्न नै बिर्सेछु
त्यतिका धेरै बोलेर पनि नभनी मरेछु
कहिले फेरि,आउँला फोन,केही त भर छैन
भनेको बेला,कोसिस गर्दा,फोन नै लाग्दैन।

             निर्मला
महत्वपूर्ण के कुरा होला,नभनी नहुने
गरौंला पछि,अहिल्यै किन,नगरी नहुने
आँतिनु हुन्न,संयम भई,रहनु पर्दछ
अप्ठ्यारो पल,निर्भीक बनी,सहनु पर्दछ।

            सानी
लाग्दैछ मलाई शतप्रतिशत दोजिया भए झैं
दुईमास देखि महिनावारी लाग्दैन गए झैं
नपाए यदि,तत्काल भन्न,हुनेछ मुश्किल
नभने सम्म,कदापि हुन्न,सन्तुष्ट यो दिल।

             निर्मला
महिना पश्चात् यकिन होला,दोजिया छ छैन
खुशीको कुरा लाग्दछ मलाई,डराउनु पर्दैन
बहिनी-भाइ जे भए पनि हुनेछु म खुशी
थिएँ म आधा,अहिलेसम्म,हुनेछु म झुसी।

                सानी
सम्झायौ छोरी!बुझायौ यति,ढुक्क छु अहिले
भन्नेछु सबै,बाबाको फोन,आउँछ जहिले
बाबालाई भन्नु,पहिले पर्छ,अरुलाई नभन
सखा र सखी,स्कुलमा तिम्रो,कसैलाई नभन।

              दृश्य चित्रण
सुनेकी हुन्छे,रमाले कुरा,छोरी र आमाको
नदिई थाहा,फर्केर जान्छे,गरे झैं नआ'को
मनमा स्वार्थ,थाल्दछिन् बुन्न,अनेक किसिमको
अतीत सम्झी,खोज्दछे लिन,बदला पिरिमको।

समय कुनै,पराउँथिन् मन,रामेलाई रमाले
पछ्याउने गर्थिन्व्यवहार गर्थिन्,सदैव मायाले
साथीको रुपमा हेरेको थियो रामेले केवल
रमाले दिलमा राखेकी थिई,हमेसा हरपल।

एउटै स्कुल,क्याम्पस एकै,हिंडाइ सं-संगै
प्रेममा भा'को भ्रममा परी उडेकी ऊ चंगै
एकतर्फी माया बगेको थियो,भएर किनार
मानेकी थिइन्,साथीलाई उनले,सर्वस्व,संसार।

दिवस-प्रेम,पारेर मौका,राखेकी प्रस्ताव
अस्वीकार गर्यो,रामेले तव,नराखी झुकाव
अधिक रोईन्,विह्वल हुँदै,महिनौं दिनसम्म
विलौना गरिन्,तड्पेर हदै,उनीले अचम्म।

रामेको हिया,पग्लेन जति,गुहार गरे नि
"अंगाल" भनी तारनतार पाउमा परे नि
हरेश खाई,बाटोमा आफ्नै,लागेथिन् अन्ततः
"हमेसा माया गरिरहन्छु" भनेथिन् भन्नत।

अहिलेसम्म यत्तिकै बसिन्,विवाह नगरी
दर्जनौं आए,फर्काइदिए,मन नै नपरी
पगली जस्तै भएकी थिइन्,महिनौं महिना
भोकभोकै बसिन्,कति त उनी,न खाना,न पिना।

रामेले सानी विवाह गर्यो,मागेर धुमधाम
विहेमा पनि आईनन् उनी,भएर गुमनाम
झुन्डिई मर्न,खोजेकी थिइन्,त्यो आफ्नै घरमा
भाइले देखी बचाए पछि,बाँच्दैछिन् करमा।

                 

Thursday, 29 November 2018

म र अक्षर

थुपार्दै गएँ अक्षरहरु
चाङ लाग्दै गयो
शब्दहरुलाई भर्याङ बनाएर
स्वयं पनि उक्लिंदै गएँ
टाकुरा नै बनिसकेछ हाम्रो।

अन्तत:यस्तो एउटा बिन्दु आयो,
जहाँ हामी संगै अडिन नसक्ने भयौं
म अडिरहँदा अक्षरहरु खस्ने,
अक्षरहरु अडिंदा म खस्ने।

अक्षरहरु मेरा सन्तान थिए
सन्तानको माया कसलाई लाग्दैन?
सन्तानको जीवन बचाउन
पैसै-पैसाको दहमा हाम्फालेर
आफूलाई पनि बचाउने निर्णय गरें।

Wednesday, 28 November 2018

कथा र कथाकार

शुरु त गरेकै हो लेख्न जेनतेन-पानामा
सुनौला अक्षर मात्र कसरी बर्साउनु 
नियतिको मसीले लेख्दा
कतै पाना नै मक्किएला जस्तो
कता के नमिले जस्तो,के नपुगे जस्तो
कतै खल्लो,कतै निरस।

लेख्दा-लेख्दै
चित्त नबुझेका पाना च्यातेर फाल्छु
नसुहाएका अक्षर मेटेर अर्को थप्छु
एउटै रङको हुन्न
कहिले कालो,कहिले निलो,पहेंलो.....
सकेसम्म त इन्द्रेणीमय बनाउने चेष्टा गर्छु
त्यतिनैबेला कालो मेघ आएर डाहा गर्छ।

लेखनलाई हावाको गतिसंग दौडाउँछु
रविको रोशनी सापटी लिएर पाना सुकाउँछु
कहिले सुखद त कहिले दु:खद शब्द जोड्छु
कहिले वसन्तको पालुवा बीच
कहिले शिशिरको पतझडसंग हातेमालो गर्दै
लेखिरहन्छु-निरन्तर -निरन्तर।

अनुच्छेदका कैयौं मोडहरु छिचोल्दै
हिंडिरहन्छन् अक्षरहरु ताँती लाएर
कतै पानाहरुमा रेखाका पुलहरु भत्किएका हुन्छन्
कतै सतह नमिलेका डाँडाकाँडा भेटिन्छन्
एक पानापछि अर्को पानाको पहाड आउँछ
उकाली-ओराली गर्दै कलम दौडिरहन्छ।

आवश्यकतानुसार अन्य पात्रहरु जन्मिन्छन्
कति पात्रहरु क्षणिक हुन्छन्
एकादुई मात्र दीर्घकालीन हुन्छन्
बेला-बेलामा कथामा ट्वीस्ट ल्याउन मनलाग्छ
कतिखेर थाहै नपाई अर्कै मोड लिइसकेको हुन्छ
कैयौं दिन/रातहरु छिचोल्दै बगिरहन्छ.....।

जिन्दगीको कथा लेख्दा-लेख्दै
निकै लामो भैसकेको हुन्छ
शुरुको जस्तो रोचक हुँदैन
अक्षरहरुलाई बुढेसकालले छुन्छ
कलमका आँखाहरु उस्तै तेजिला हुँदैनन्
क्रमशः धुमिल-धुमिल हुँदै जान्छन्
कथा आफैंमा बोझिलो बन्न थाल्छ
पट्यारलाग्दो हुँदै जान्छ
कथाका पाठकहरु घट्दै जान्छन्।

यसर्थ कथा फितलो हुनु अगावै
रोचक हुँदै
पठनीय हुँदै
बीचैमा टुंग्याउन मन लाग्छ
तर जिन्दगीको कथा आफूले लेखेर नहुँदोरहेछ
जिन्दगी त एउटा पात्र न रहेछ
कथा त माथिबाटै लेखिएको हुनेरहेछ
कथाकार त अर्कै हुनेरहेछ।

Tuesday, 27 November 2018

समृद्धि

अहो!कायापलट भएछ नि रातारात!
विपन्नताको खिर्कीबाट सुइँकुच्चा ठोक्दै
दुलोबाट मुसो छिरेझैं छिरिसकेछ
रवि-किरणको पहुँच नभएकै ठाउँमा
प्रकाशको गतिमा घुसिसकेछ समृद्धि!

कतै जादू त भएको हैन?
हिजो सुत्दा नाङ्गै सुतेका थियौं
सखारै आँखा खुल्दा
नयाँ बहुमूल्य पहिरनमा सजिएका रहेछौं
गलामा सपनाको हार
कानमा दुई-दुई तोलाका एयररिङ
हातमा मोटा-मोटा बाला
चारैतिरबाट लपेटिएको रहेछ तन:-आभुषणले!

राती सुत्दा भोकै सुतेका थियौं
पेटमा मुसाहरु भागदौड गर्दै थिए
बालबच्चाहरु निदाउन सकेकै थिएनन्
आज उठ्दा त चौरासी-व्यञ्जनले टन्न ढाडिएको रहेछ पेट
खानाले मातिएर होला झुपु-झुपु निद्रा आइरहन्छ
केटाकेटीहरु बिना पर्वाह निदारहेका छन्
मानौं -अब फेरि भोकले कहिल्यै लेखेट्ने छैन।

सुत्नु अगावै यिनै आँखाले देखेका थिए
मनको भित्ता चर्किएको
रङ खुइलिएर फिका भएको
छानो उधृएको
आत्मघात गरिरहेका थिए शीतका बुँदहरु
अनायासै हामी कुन संसारमा पुग्यौं?
भित्ताहरु उमंगले प्लास्टर गरिएछ
खुशीका रङहरुले लपक्कै पोतिएछ
आस्थाको सुन्दर छानो छाइएछ
बाफ्रे!क्या गतिशीलता!

आम्बो!
रातारात कसले बिछ्याएछ ग्याँसको पाइपलाइन?
के काम अब यो लिपपोत गरिरहनुपर्ने आदिम चुल्हो?
निकाल ती सब सुकेका दाउराहरु,
यो हिउँदको जाडोलाई जलाइदेऊ!
भगाइदेऊ बुढापाकाका दुश्मनलाई!
फालिदेऊ यी धुवाँले धुमिल भाँडाकुँडा
अब पाक्छ नवयुगको नव-परिकार!

धैत!म पनि कस्तो डुकुलट्ठक!
बाहिर हेर्न कस्तो ढिलाइ गरेको?
शुभकार्यमा त चाँडो दृष्टी जानुपर्ने नि
तर मेरो अहोभाग्य!
देखेरै छाडें
आँगनमा त नवयुगले पाइला टेकी पो सकेछ
हामी पर्यौं नै त्यस्तै भाग्यमानी
टोल-टोलमा खटाएछन् सुरक्षाका प्रत्याभूती
पोल-पोलमा चिप्काएछन् समृद्धिका सुचक
हँसाइरहेका रहेछन् दुखियाहरुलाई।

ए ट्यापेहरु!भाग!
अब मुत्ने हैन हाम्रो समृद्धिलाई
ए खातेहरु!उठ!
अब सुत्ने हैन सडकमा
हाम्रो समृद्धिलाई डिस्टर्ब हुन्छ!

Looted

वर्गीय क्रान्ति भएर हिंड्छ सुटेड -बुटेड
क्रान्तिकै नाउँमा निमुखा कति लुटेड-लुटेड!

Monday, 26 November 2018

जीवनी-०२

कन्नीकुत्थी कुनै व्यक्तिको बारेमा मसला हालेर लेख्नु भन्दा उसको कृति र रचनाहरुको बारेमा लेखोस् लेखक/साहित्यकार/पत्रकारहरुले!तब मजा आउँछ।कसैको जीवनी पढ्ने रहर छैन मलाई चाहिं।(अरुको बारेमा म अनभिज्ञ)।

प्रत्यक्षदर्शी-१

म कुनै न कुनै घटना/विद्यामान समय/परिस्थितीको प्रत्यक्षदर्शी हुँ।देखेको कुरालाई टपक्क टिपेर कलात्मक बनाएर प्रस्तुत गर्छु।म कुनै "कार" हैन।देख्नलाई आँखा नै हुनुपर्छ भन्ने छैन।अभ्यन्तरले पनि धेरै कुराको साक्षात्कार गरिरहेको हुन्छ।

अबुझ

अबुझ हुन् या बुझ पचाएका हुन्
मलाई था'छ समय बचाएका हुन्।

पर्दा पछाडिको खेलाडी हो ऊ
अदृश्य रुपमा द्वन्द रचाएका हुन्।

खुंखार मदारी हो-ऊ,प्रेम-मञ्चको
प्रेमीलाई बाँदर झैं नचाएका हुन्।

सयौं झट्का दिएर के मच्चिन्थ्यो
त्यै नमच्चिने पीङ मचाएका हुन्।

गजलोफोबिया लागेछ उसलाई
अस्ति भर्खर मात्र जचाएका हुन्।

करोड

मिलनकै मझेरीमा खेल्छन्,बिछोडको कुरा छोड
खुल्ला रंगमञ्चमै नाच्छन्,त्यो मोडको कुरा छोड
एउटा प्रेमीले प्रेमिकाको लागि ज्यानै दिन सक्छ
भैगो ए साथी!जाबो अठार करोडको कुरा छोड।

Saturday, 24 November 2018

भूमिगत

आफ्नै व्यक्तिगत आवश्यकता र जरुरत हुनुछैन मलाई
मुखमा बुजो लगाई बस्नेहरुका अभिमत हुनुछैन मलाई
दिन-दहाडै आतंककारीको बिल्ला भिराइदिन सक्छन्
यसर्थ साहित्यको धरातलबाट भूमिगत हुनुछैन मलाई

राहदानी

नजाऊ सानी मेलापात,सानो नानी काखमा च्यापेर
बढेको छ जाडो धेरै,बस चियापानी हातमा च्यापेर
घरकै काम सम्हाल,बालबच्चाको हेरचाह गर तिमी 
लाग्छु बरु कमाउन आफैं राहदानी साथमा च्यापेर।

Friday, 23 November 2018

रिहाव सेन्टर

भावनाको भव्य साझा-घरमा स्वागत छ
गहन बिचारहरुको परिसरमा स्वागत छ
गाँजा,चरेस जस्ता लागूऔषध छोडाउने
साहित्यको रिहाव-सेन्टरमा स्वागत छ।

अभिनय

हाँसे जस्तो,नाचे जस्तो, बाँचे जस्तो हर समय गर्नैपर्छ
पछ्याउँदै जिन्दगीको आदिम तथा नूतन लय, गर्नैपर्छ
यो दुनियाँ नै वास्तवमा एउटा भीमकाय रंगमञ्च रहेछ
आफूलाई अस्तित्वमा रहेको देखाउन अभिनय गर्नैपर्छ।

साहित्यकार

मेरो मनलाई अनकन्टार बनाउने तिमी हौ
यो जिन्दगीलाई मझधार बनाउने तिमी हौ
कालो मेघ छोडी जानु,भावहरुको बर्षा हुनु
अत: मलाई साहित्यकार बनाउने तिमी हौ।

कहानी


मेरो आँखाको गहिराइबाट वेदनाको पानी निकाल्न सक्छौ
मेरो मनको गहिराइबाट अलौकिक रानी निकाल्न सक्छौ
भू-गर्भबाट उत्खनन गरेर पुरातात्त्विक पद्धार्थ निकाले झैं
मेरो इतिहासको खानीबाट हजारौं कहानी निकाल्न सक्छौ।

बेरोजगार-१७

                  दृश्य चित्रण
आभास हुन्छ,मुटुको टुक्रा अलग भए झैं
आँखाको नानी सदाको लागि निस्केर गए झैं
देखिन्न केही,देखिन्छ मात्र अँध्यारो संसार
गए झैं लाग्छ उज्यालो पनि अन्यत्रै सवार।

आजको सूर्य उसको लागि दुश्मन भा'को छ
मनको सूर्य भर्खर मात्र स्वदेश गा'को छ
अनकन्टार भूमिमा एक्लै ठिङ्ग छ उभेको
जसरी यौटी नारीलाई हुन्छ,इज्जत लुटेको।

पुगेको जस्तो लाग्दैछ आज नूतन ग्रहमा
सोचेर दह हुँदैछ जम्मा आँखाको गहमा
उर्लेर आउँछन् मनमा छाल,कसलाई छल्काउने
कहानीहरु आएर नाच्छन्,कसलाई सुनाउने?

चन्द्रमा पनि निर्जन होला,यहाँको भूमि झैं
बैज्ञानिकहरु गरेर हत्ते,किन पो जान्छन् खै
सुनको हात्ती चढेर यहाँ कसले देख्नु र
मनको उसको अनौठो व्यथा कसले लेख्नु र?

छोडेर खित्का हाँसेर हाँसो,कसले सुन्नु र
छोडेर डाँको रोएर आँशु,कसले पुछ्नु र
मसिना खाना खोसेर खाने कोही त भए पो
प्रीतिको बाग घुमाउन लाने कोही त भए पो!

एकलकाँटे जिन्दगी पनि के हो र जिन्दगी
लाग्दैछ आज,लागेको खोटो,मोहोर जिन्दगी
बालुवा भित्र गर्दैछ ओहोर-,दोहोर जिन्दगी
डस्टबिन भित्र भएको जम्मा,फोहोर जिन्दगी।

ऊँठ नै साथी,भेडा नै साथी,गधा नै साथी भो
सुनाउनुपर्दा कथा र व्यथा कसले बुझ्ने हो
निलेर बस्छन् घाँस र पानी,अरु क्यै चाहिन्न
रामेको नाम निकाली बोल्ने,अरु क्वै पाईन्न।

विहानी कर्म सकेर रामे झुप्रोमा छिर्दछ
थकित ज्यान लिएर ड्याङ्गै भुइँमा गिर्दछ
दाउरा जोडी बालेर आगो,पकाउँछ मुसुर
खबुस बासी,तताइ खान्छ,भएर सुँगुर।

गाँसमा चौंथो,आउँछ उल्टी,छिर्दैन खबुस
बिकल्प केही,भेटिन्न कतै,खाली छ सन्दुक
मिसाई आँशु,पिएर दाल,पल्टन्छ खाटमा
डुबुल्की मार्दै पौडिन थाल्छ,घरको यादमा।

छिप्पिन्छ दिन,पग्लिन्छ घाम,पसिना खलखली
आँखाको सामू आएर सानी,नाच्दछे छमछमी
गर्दछ नृत्य,भावमा डुबी,हातमा समाई
सपना देखी,विपना बिर्सी,हाँस्दछ रमाई।

झसङ्ग हुन्छ,एकैछिनमा ब्युँतेर यथार्थ
रहर पूर्ण भएकै हुन्न,रमेर किमार्थ
ठोक्किन पुग्छ स्वप्नको यान,कालो त्यो भीरमा
चस्किन्छ मुटु,गल्दछ आशा,परेर पीरमा।

थरर काम्दै,निकाली फोन,थिच्दछ नम्बर
सानीको स्वर,आतुर सुन्न,कसेर कम्मर
आवाज सुन्दा,पाए झैं लाग्छ,अमृत अजर
नसकी थाम्न,नाजुक मन,रुँदैछ बरर।

             सानी
कम्पित स्वर सुनियो यता,कस्तो छ हालत
यथार्थ कुरा नराख लुकाई,खोलिदेऊ अब त
दु:खमा भए आउनु होला खुरुक्क फर्केर
प्याराकै लागि,हमेसा हुन्छु,घरमा पर्खेर।

              रामे
दु:ख त छैन,अचानक आज,सतायो यादले
सम्झना आयो,पका'को खाना,मुलायम हातले
चौरासी-व्यंजन खाएर पनि खल्लो नै लाग्दैछ
अधुरो तनले,पचाई लाज,खै के-के माग्दैछ।

                  सानी
छ्या कस्तो कुरा गरेको राजा!शरम लाग्दैछ
हुन त मेरो इच्छाले चरम सिमाना नाघ्दैछ
जीवनसाथी माझमा केही बिषय लुक्दैन
मनै त हो नि,मनको चाह,कहिल्यै सुक्दैन।

             रामे
तस्वीर चुमी बुझाउँछु चित्त,भएर दूरमा
सम्हाल्नै गाह्रो,भैदिने हुन्छ,अनौठो सुरमा
साथमा तिमी भएको भए करप्प खाने थें
यौवनको यान चढेर प्रेमको ग्रहमा जाने थें।

             सानी
अनेक चित्र नकोर्नु होला मनको क्यानभासमा
संकट आयो,यो सोचिदिनु,मनाहा मलमासमा
बैशको जल पोखिने गरी पियौ नि क्वै बेला
खडेरी लाग्यो,बिछोड्को घाम,लागेर यै बेला।

               रामे
वसन्त कहिले,कहिले शिशिर,मायाको याममा
झरेर बस्छु,सुकेको पातझैं,सानीको नाममा
हिउँद-बर्खा जे आए पनि पिरती सुक्दैन
कहिलेकाही चुकेतापनि सदैव चुक्दैन।

             सानी
"बुझेर कुरो घरतिर कुद्नु" भनेझैं उखान
यथार्थ थाहा भएकै कुरो,के गर्नु बखान
भएसी मुख,प्यासको मर्म,कुरो हो सामान्य
लाजको कुरा रहेन यहाँ,सबलाई छ मान्य।

            रामे
नभए ऋण,खुरुक्क छोडी,अहिल्यै आउने थें
फलेको फल,टिपेर खान,अवश्य पाउने थें
लुतो झैं लाग्छ,लागेको ऋण,सताइरहने
आएर साहु,हरेक पल, कोट्याइरहने।

              सानी
तिरेर ऋण तुरुन्तै फिर्नु,पर्दैन सम्पत्ति
खुशीले दिन बिताउँला बरु,श्रीमान-श्रीमति
थपौंला बाख्रा,पालौंला कुखुरा,करेसा गोडौंला
फलाउँला मकै,आलु र कोदो,,बारीमा जोतौंला।

               रामे
बैशको बारी खनेर लह झुलौंला पिरती
भान्टाङ-भुन्टुङ थपेर फेरि गरौंला प्रगति
चुम्बन छरी उमारौं माया,गरौंला गोडमेल
प्रीतिको तोरी मिलमा लगी गरौंला पेलापेल।

            सानी
नजोते धेरै,बस्नेछ बाँझो,मुश्किल खन्नलाई
प्रेमको माटो सहज हुन्न,मलिलो बन्नलाई
जीवनको खेत हरियो हुन चाहिन्छ सिचाइ
होस गर्नु होला,छिमेकीबाट होला नि मिचाइ।

           रामे
सजग स्वयं हुनु पो पर्छ,राख है बारेर
पाइला टेक्न नदिनुहोला,थप्पड मारेर
छोपेर।मौका,मिच्ला नि साँध,रहनु होसियार
तर्साइदिनु,साथमा सदा लिएर हतियार।

            सानी
भनिरहनु पर्दैन त्यो त,चेतना छ ममा
हरामीबाट जोगिन गाह्रो,विहान-साँझमा
पँधेरो-पानी,बेलामा गर्ने,छिर्किन हाल्दिन्छन्
संवेग सित खेलेर पनि गर्ल्याम्मै ढाल्दिन्छन्।

              रामे
मद्दत गर्छन्,सहानुभूति देखाउँछन् शुरुमा
खराब व्यक्ति भएको प्रमाण मेटाउँछन् शुरुमा
गरेर जादू,असल व्यक्ति,भएको देखाउँछन्
लुट्नेछन् स्वार्थ सजिलैसंग,जब मन पराउँछन्।

             सानी
घसेको चिप्लो,थापेको पासो,म चिन्छु सजिलै
चरित्र त्यागी,त्यसरी कहाँ,मक्किन्छु सजिलै
सालको रुख,सिसौको काठ,भन्दा नि साह्रो छु
सजिलो छैन,चिरेर बाल्न,अधिक गाह्रो छु।

             रामे
सजिलै चिर्छन्,बलिया काठ,धारिलो अस्त्रले
इज्जत कहाँ जोगिने गर्छन् बलियो वस्त्रले?
न उपदेश,न कुनै अर्ती,न छेक्छ शास्त्रले
मुर्खको कुनै ओखती हुन्न,जान्दछन् सबले।

                सानी
थाहा छ मलाई,वनको काठ चिरिन्छ सजिलै
यो पनि था,छ-मनको काठ चिरिन्न सजिलै
मानसिक रुपमा नभए तयार,कहाँ छ सजिलो
पस्केको भात खानलाई पनि कहाँ छ सजिलो?

                 रामे
आत्मविश्वास छ शक्तिशाली,हतियार भन्दा त
मनको भित्ता बलवान हुन्छ तरवार भन्दा त
लडाइँ सोझै हार्दछ उसले,हिम्मत हार्नेले
उसैले जित्छ,अन्तिमसम्म लडाइँ लड्नेले।

               सानी
उन्नानसय प्रतिशत युद्ध जितेको छु मैले
जिन्दगीभरी हजुर सित हारेको छु मैले
चाहिन्न अस्त्र,वचनै काफी,बैचारिक युद्धमा
संसार जित्ने तागत थियो गौतम बुद्धमा।

           रामे
केवल तिमी विश्वासी पात्र,यो जिन्दगानीमा
त्यत्तिकै युद्ध लडेका हैनन् त्यो नालापानीमा
छ इतिहास,साक्षीका रुपमा,नारीको तागत
तितरबितर भएको थियो पारीको तागत।

             सानी
अस्त्रले हैन,निर्णायक युद्ध,मनले लडिन्छ
मनले हारे,परिन्छ पछि,अगाडी मरिन्छ
किल्लामा कब्जा,जमाउन दिन्न,लडिन्छ सास हुन्जेल
आश नै शक्ति,आश नै अस्त्र,लडिन्छ आश हुन्जेल।

              रामे
बाँचेको छु म अहिलेसम्म सानीकै कारण
बिचलित हुन छोडेको थिएँ नानीकै कारण
जहानै रैछ हाँसोको श्रोत,जिउने आधार
जहानको लागि सहन सक्छु हरेक प्रहार।

             सानी
नकारात्मक सोचेर बस्नु-स्वास्थ्यलाई घातक
नबस्नु मनमा बोकेर शंका पटक-पटक
वनको बाघले मानिसलाई खाँदैन सहजै
मनको बाघले जोकोहीलाई सिध्याउँछ ठहरै।

               रामे
ग्रेटवाल चीनको,बनाऊ जस्तै,मनको संघारमा
सजिलैसंग नसकोस् छिर्न मनको संसारमा
ढुक्कले बस्छु निर्भीक भई,यतिको गरेसी
लागेको निभ्न,दियोमा आशको,इन्धन थपेसी।

                सानी
दिन्न म निभ्न,इज्जतको दियो,राख्नेछु बालेरै
रोकिने छैन,आबरु-पाइला,राख्नेछु चालेरै
हजुरको निम्ति मायाको पंक्षी राख्नेछु पालेरै
पत्थर स्वरुप भएर बस्छु,सकिन्न गालेरै।

                रामे
निर्मलालाई असल पथमा सदैब हिंडाउनु
अहिले देखि महत्वपूर्ण नैतिकता सिकाउनु
गलत मार्ग,सक्दछन् हिंड्न,तिमीले डोर्याउनु
संकोच बिना,यौनका पाठ,घरमा पढाउनु।

            सानी
सम्पूर्ण जिम्मा,म लिन्छु प्यारा,तनाब नलिनु
बिदेशी ठाउँमा मदिरापान कहिल्यै नगर्नु
कानून कडा भएको देशमा जानुभएको छ
पालन गर्नु,सतर्क हुनु,जान्नुभएको छ।

               रामे
पिंजडा भित्र चरीले के नै खराबी गर्छ र
जत्तिनै उड,पिंजडा भित्रै,के फरक पर्छ र
पिउने चीजै नभएपछि पिउँछ कसरी
जिउने ठावै नभएपछि जिउँछ कसरी?

               सानी
थाहा छ मलाई हजुर पनि पिंजडा-चरी झैं
मान्छेले निर्माण गरेका बन्दी घडीका सुई झैं
चल्दैन स्वेच्छा,मिल्दैन उड्न,फराक गगनमा
नाचेर बस्ने बाध्यता होला,साँघुरो आँगनमा।

               रामे
गगनचुम्बी महलहरु,झिलिली शहर
आएर पूर्ण भए झैं लाग्छ सम्पूर्ण रहर
वातानुकूल कोठा छ मेरो,सफा र सुग्घर
अफिस जान्छु कारमा चढी,छरेर अत्तर।

                सानी
दुविधा लाग्छ,हजुरको कुरा गराइ अनुसार
भिडियो कल गर्नुस् त हजुर,हेरौं न अनुहार
मनोबिज्ञान सक्दछु बुझ्न,संगत अनुसार
पहिले भन्दा अनौठो कुरा फुत्किन्छ बारम्बार।

                  रामे
तलब थोरै भएतापनि सुविधा-सम्पन्न
थरीथरीका परिकारहरु राखेका छन् टन्न
दिनको चार पटकसम्म खाईन्छ रोजेर
मेसका मान्छे पस्कन्छन् खाना,सोधेर खोजेर।

                  सानी
प्रत्यक्षरुपमा पाईन्न देख्न,कसरी पत्याउने
भन्नु त हुन्छ,परन्तु पेट हो हैन अघाउने
भोकमा होला,प्यासमा होला,यस्तै त लाग्दैछ
अंजुली थापी,गाग्रोको पानी मलाई माग्दैछ।

                  रामे
मायाले होला,यादले होला,झझल्को आउने
मनको दृश्य धुमिल होला दर्केर साउने
नसम्झ धेरै,लागेर ठेस,लडिन्छ मायालु
बाटोमा हिन्दा,अल्झेर तल झरिन्छ मायालु।

                  सानी
यादमा डुब्दा,जिन्दगी अति,लाग्दछ मिठास
छामेर हेर्छु,कमिज तिम्रो,आउँछ सुवास
कल्पना गर्दा मनमा रातो,फुल्दछ गुराँस
सुसेले जस्तो, तिमीले लाग्छ,भएर बतास।

                 रामे
पंक्षीका बथान जसरी नाच्छन् विशाल जंगलमा
सम्झनाहरु नाच्दछन् त्यस्तै मानसपटलमा
अनेक विम्ब बनेर खेल्छन् हमेसा दिमागमा
जसरी मेघ आकार लिन्छ,शित्तल हिमालमा।

                सानी
सहनै गाह्रो भएर आउँछ प्रेमिल पलको
जसरी प्यास लागेर आउँछ निश्चल जलको
हुन्डरी आई उडाई लान्छ मनको छानो नै
माहुरीहरु टुहुरा हुन्छन्,नहुँदा रानो नै।

                रामे
सम्झेरै बाँच्न लेखेको रैछ गरीबको जीवनमा
मिलन हुन लेखेको छैन गरीबको जीवनमा
नियति कस्तो,हजार पल्ट मरेर जिउने
भएको भए टनक्क लाई जहर पिउने।

               सानी
जिन्दगीसंग हारेर हैन जितेर जिउनुछ
समस्यालाई कुल्चेर अनि पिटेर जिउनुछ
जिन्दगी देखि हरेश खान्छन् कायरहरुले
सायरी यस्तै भनेको सुन्छु सायरहरुले।

                रामे
सल्यूट गर्छु,प्रेरणा दिन्छ्यौ,मायालु तिमीले
अहिलेसम्म बहुत दियौ,दयालु तिमीले
डर पनि लाग्छ कहिलेकाही,बिराउँछु कि बाटो
सुबाटो छोडी संयोगबश समाउँछु कुबाटो।

                 सानी
विश्वास गर्न सकियो भने आफूले आफूलाई
राम्ररी चिन्न सकियो भने आफूले आफूलाई
नोक्सान हुन्न,घाटामा जान्न,सुध्रिन्छ जिन्दगी
पहाड जस्तै निर्भीक भई उभिन्छ जिन्दगी।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...