कुरुवा:-
डा.साहेब!के भएको रहेछ मेरो मान्छेलाई?
रिपोर्टमा के आएको छ?
के बाँच्छ त ऊ?
डाक्टर:-
अहिले ऊ कोमामा गएको छ
कहिले ठीक हुन्छ,कुनै ग्यारेन्टी छैन
महिना,बर्ष या दशक,जति पनि लाग्नसक्छ
या त सदाको लागि कोमामा जान पनि!
खासमा उसलाई शासकले हानेको तिरस्कारको गोली लागेछ
हेर्नुस् त!तिरस्कारले छाती छिया-छिया भएको!
क्षतबिक्षत छन्- जिजीविषाका तन्तुहरु
तितरबितर छन्-सपनाका कोषहरु
धुलोपिठो पारिएको छ-चाहनाको हड्डी।
मीठो सपना देख्ने आँखामा-
बन्दुकको संगीनले घोचेको रहेछ
ध्वस्त पारिएको रहेछ-दूरदर्शिताका दृष्टीहरु
नानीभित्र कोरिएको-
परिवर्तनको खाका-धुजा-धुजा पारिएछ
विकास-योजनाको म्याप च्यात्तिएछ
लेन्सले क्याप्चर गरेका कैयौं तस्वीरहरु धुमिल पारिएका छन्।
मस्तिष्कको मेमोरीमा सेभ भएका
युगान्तकारी परिवर्तनका ध्वनि-तरंगहरु
स्वविवेकले निर्माण गरेका मौलिक सिद्धान्तहरु
अविकसित देशलाई विकासको पथमा लैजाने-सम्भावनाका दस्तावेजहरु
भ्रष्टाचारको दुश्चक्रमा फसेका नव-सामन्तीहरुलाई निस्तेज पार्ने प्लानिङ
सुन्दर,समृद्ध र शान्त राष्ट्रको परिकल्पना
सबै-सबै डिलिट गर्न खोजिएको रहेछ।
तर धन्दा नमान्नुस्,
उसको सासमा अझै मगमगाइरहेछ-माटोको सुवास
रगतमा बहिरहेको छ-देशप्रेमको बीज
मुटुमा जीवितै छ-प्रेम-पल्लवी
धड्कनमा चलिरहेकै छ-सच्चाइको गति र तीव्रता
मनमा अझै सल्बलाइरहेका छन्-इच्छाशक्तिका अवशेषहरु।
ई हेर्नुस् एक्सरे!
हातखुट्टाका हड्डीहरु अझै मजबुत नै छन्
अधुरा पाइलाहरु हिंड्न सक्नेछन्
शुरु गरिएका कामहरु तमाम गर्न सक्षम छ
हाम्रो तर्फबाट गर्न सकिने हामी सक्दो गर्छौं
शारीरिक र मानसिक दुबै रुपले तन्दुरुस्त बनाउने कोसिस गर्छौं
केही समय अवश्य लाग्नेछ,
परन्तु आशा मारिसकेका छैनौं।
ई हेर्नुस् अस्थिपञ्जरमा!
ध्रुवतारा जस्तै चम्किरहेछ लक्ष्याग्नि
अझै निभिसकेको छैन,
आस्थाको दीप टिलपिल-पिलपिल बलिरहेकै छ।
कुरुवा:-
डा.साहेब!
उसलाई 'बिचरा'को संज्ञा दिएर सहानुभूति देखाउन चाहन्न
मलाई गर्व छ उसको हर-कदमप्रति
तर यस्तो संवेदनशील अवस्थामा
उसलाई म देशप्रेमको भारी बोकाउन चाहन्न
बरु त्यो भारी अब म बोक्न चाहन्छु
तसर्थ,
उसको थोरै रगत निकालेर मेरो शरीरमा हालिदिनुस्
मलाई ब्लडग्रुपसंग कुनै सम्बन्ध छैन
बश प्रेमको ग्रुप एउटै होस
मेरा कोषहरुमा जुर्मुराऊन् उसकै जस्तो राष्ट्रप्रेमको जीन
उसको ग्यालरीको सबै भिडियो र फोटोहरु-मेरो ग्यालरीमा ट्रान्सफर गरिदिनुस्
ताकी हरपल हेरिरहन सकुँ उसले देखेका-विम्ब/प्रतिविम्बहरु!
उसैले निर्धारण गरेको सिद्धान्त बोक्न सकुँ
उसैले निर्माण गरेको गोरेटो हुँदै फराकिलो ऊ-मार्गमा दौडन सकुँ।
No comments:
Post a Comment