दृश्य चित्रण
ऊँठ र भेडा देखेर रामे भैदिन्छ विह्वल
सुनकोसी जस्तो तरल बग्छ आँखामा सलल
श्रीमती,छोरी,समाज,गाउँ आउँछ झलल
सम्झेर सबै निधार तिर पसिना खलल।
रामे
तीनसय भेडा,पचास ऊँठ म हेर्न सक्दिन
नर्कमा बसी सुखको सास म फेर्न सक्दिन
पसल भए गर्नेछु काम,छ-छैन बताइदे
होइन भने मलाई घर तुरुन्तै पठाइदे।
उदवीर
पसल छैन,यही हो काम,गर्नुनै पर्छ रे
पैसाको लागि पसिना यहीं छर्नुनै पर्छ रे
जानेनै भए भिषाको पैसा तुरुन्त तिर्नु रे
हजार पाँच रियाल दिई तुरुन्त फिर्नु रे।
रामे
नेपालमै पैसा तिरेर आको,म फेरि तिर्दिन
एक दुई तीन भेडाको काम म गर्दै गर्दिन
बस्दिन यहाँ,मलाई बरु रियाद पठाइदे
सक्कली साहु यो हैन मेरो,संवाद गराइदे।
उदवीर
बेचेको अरे,लिएर पैसा,उताको साहुले
के गर्नु मित्र!लाग्दैछ दु:ख,छोपेछ राहुले
कसरी तिर्छौ हजार पाँच रियाल यहाँको
हरामी रैछ मान्छे नै बेच्ने मालिक वहाँको।
रामे
भगवान् हरे!यो दुखियाले के कुरा सुन्दैछु
के गर्ने-गर्ने,आपत पर्यो,मनमा गुन्दैछु
मान्छेले मान्छे बेचेर खाने कस्तो यो जमाना
कुकर्म गरी गिरेर तल,हुँदैछन् स-साना।
उदवीर
बुझ्दैछु कुरा,उदार यसले नगर्ने रहेछ
बेचेकै हो रे,आफन्त,नाता नपर्ने रहेछ
दलाल मार्फत सम्पर्क गरी किनेको रहेछ
नगद पैसा,साँच्चिकै यसले तिरेको रहेछ।
रामे
के गरु दाइ?फसाद पर्यो,गर न तिमीले
नगद भए अहिले बरु,भर न तिमीले
नेपाल पुगी,कमाई तिर्छु,विश्वास गर न
कसम दाइ!जसरी पनि मद्दत गर न।
उदवीर
मसंग पैसा भएको भए दिनेथें तिमीलाई
पर्दैन ब्याज,जत्तिको तति लिनेथें तिमीलाई
माफ गर भाइ,सकिन हेर्न,लाचार छ दाइ
लज्जित हुन नदिनु भाइ,बिन्ती छ मलाई।
रामे
हुँदैन रैछ यहाँ त मान्छे,देख्दैछु सैतान
पैसाको लागि जेपनि गर्छन्,बेचेर ईमान
के देख्नुपर्यो,के सुन्नुपर्यो,के भोग्नुपर्यो नि
अचम्मै गर्यो भाग्यले पनि,जे गर्नु गर्यो नि।
उदवीर
नबसे तिमी,नगरे काम,म जान पाउँदिन
बाँकी छ पैसा,लिनुनै पर्ने,क्यै लान पाउँदिन
तीनसाल भयो,अहिलेसम्म घर जान पा'छैन
यत्तिका दिन,परिवारसँग भेटघाट भा'छैन।
रामे
तपाईंको पनि व्यथा छ चर्को,बुझ्दैछु अहिले
छुट्टीमा होकी,फिनिस जाने,जाने हो कहिले
म काम गर्छु,जानुहोस् बरु तपाईं पहिले
म पनि आउँला,नमरे बाँचे,पठाउँछ जहिले।
उदवीर
उदारवादी भावना तिम्रो,नेपाली मन हो
अरुको पीडा बुझ्दिने गुण,नेपालीपन हो
तमाम उस्तै हुँदैनन् होला,स्वार्थी छ संसार
सलाम गर्छु,तिमीलाई कसम,उत्तम बिचार।
रामे
नियति भोग्नु पर्नेरहेछ,भोगुँला म पनि
रुनुनै पर्ने रहेछ भने रोउँला म पनि
म स्वार्थी भए,तपाईंको यात्रा,रोकिन सक्छ नि
महिनौंदेखि साँचेको खुशी,पोखिन सक्छ नि।
उदवीर
बेचबिखनमा दलालहरु सक्रिय भएर
देशमा हाम्रो सरकार पनि निष्क्रिय भएर
वैदेशिक भन्ने रोजगार पनि व्यापार भएर
हामीले दु:ख भोगिरहेछौं लाचार भएर।
रामे
दु:खका दिन सकिए तिम्रा,आउनेछन् सुखका
मिष्ठान्न बोली,पाईन्छ सुन्न,बच्चाका मुखका
पालो हो मेरो,पाउने दु;ख,पाउँला क्यै छैन
हजारौं हजार हन्डर पनि खाउँला क्यै छैन।
उदवीर
शुरुका दिनमा आफूले पनि खाइयो गाली नि
कतिका दिन नहुँदा खाना,बसियो खाली नि
खानाको सट्टा कहिलेकाही कुटाइ खाइयो
कहिले पनि नपाको दु:ख यहीं नै पाइयो।
रामे
बेलामा खाना,बेलामा तलब दिन्छ कि दिंदैन
बिनाकारण तनाबै-तनाब दिन्छ कि दिंदैन
चाहिने भन्दा प्रशस्त काम लिन्छ कि लिंदैन
बेलाबेलामा कपडा नयाँ किन्छ कि किन्दैन?
उदवीर
तलब दिन्छ,मालिक खुशी भएको बेलामा
कपडा दिन्छ,रमादान,इद आएको बेलाम
खबुस दाल खानुनैपर्छ,चामल दिंदैन
बसिन्छ भोकै कहिलेकाही सामल दिंदैन।
रामे
नर्कमा जस्तो,कसरी जीवन,बिताउन सकिन्छ
मालिकलाई के गरीकन रिझाउन सकिन्छ
एकल हुँदा,जंगलमा डर,लाग्छ कि लाग्दैन
चराउँदा भेडा,दगुरीकन भाग्छ कि भाग्दैन?
उदवीर
मालिक आउँदा काममा तल्लीन हुनुनैपर्दछ
गरेर माया,भेडा र ऊँठ छुनुनैपर्दछ
देखेमा ल्वाँगे,नगरे छिटो,कराउँछ बेस्सरी
उसले देख्दा,छाप्रोमा भए,थर्काउँछ कसरी।
रामे
शासन कडा रहेछ दाजु,के गरी बिताउने
अधिक राप रहेछ यहाँ,के गरी निंदाउने
केवल पशु भएको ठाउँमा कोसंग गफिने
पागलै होला एकलकाँटे,कसरी बाँचिने?
उदवीर
फोनको टावर,टिप्दैन राम्रो,डाँडामा निस्किनु
फुर्सद हुँदा,कहिलेकाही घरमा गफिनु
हिम्मत राख,हुँदैन केही,आदत हुनेछ
दु:खलाई साथी बनाएपछि राहत हुनेछ।
रामे
तपाईं पनि अलिक दिन नजानु ल दाइ?
सहज हुन समय लाग्ला अलिक मलाई
सिक्नुछ काम,सिक्नुछ भाषा,सिक्नुछ हाँस्न नि
लुकाई आँशु,पीडा र व्यथा,सिक्नुछ बाँच्न नि।
उदवीर
मर्जीले हाम्रो,चल्दैन भाइ,साहुकै मर्जी छ
नियति लेख्ने,कसरी लेख्ने,उसैको मसी छ
अलिक दिन बसेर केही सिकाउने धोको छ
तिमीलाई एक्लो छोडेर जाँदा यो मन रोको छ।
रामे
गरे त त्यति,दाइले मलाई,म धन्य हुनेछु
साहुको लागि रुचिको पात्र म मान्य हुनेछु
मरेर जानु भन्दा त बरु बौलाउनु निको छ
फर्किने बेला अजीव कथा लैजाने धोको छ।
दृश्य चित्रण
लिएर झोला पसिना पुछ्दै छिर्दछन् छाप्रोमा
गिलास लिई उदवीर पानी निकाल्छ गाग्रोमा
टालाले बेरी,खन्याई पानी,राखेको गाग्रो छ
हावाले हानी,भित्रको पानी,कलल चिसो छ
पकाउन खाना,हुँदैन ग्याँस,टीनको चुल्हो छ
पिउने पानी नुनिलो हुन्छ,,ट्यांकर ठूलो छ
राखेर ईंटा,उचालीकन,पलाङ फलामे
बिजुली छैन,रातको लागि,लालटिन बेकामे।
मोबाइल चार्ज गर्नको लागि ब्याट्री छ गाडीको
अधिक मान्छे अन्जान हुन्छन्,जीवन खाडीको
भरोसा हुन्न,कसरी आउँछ आँधी र पानीको
सकिन्न देख्न,छर्लङ्ग सित वारी र पारीको।
बाँधेर किल्ला,अधिक क्षेत्र,गोठ झैं बनाई
अलग्गै ऊँठ,अलग्गै भेडा,राख्याछन् छुट्याई
पालेका हुन्छन् कुकुर केही,सुरक्षा गर्नलाई
एउटा गधा राखेको हुन्छ,घोडा झैं चढ्नलाई।
सुकेको घाँस,पेलेको दाना,राख्याछन् किनेर
सकेको बेला,मालिक आफैं ल्याउँछ किनेर
गोठालो जूनी,पशुको जस्तो,बुझ्दछ कसले
नरोई बस्न सक्दैन पक्का,बुझ्दछ जसले।
बिषालु सर्प आएर डस्न सक्दछन् जहिल्यै
गोठाला यहाँ,जिउन ढुक्क,सक्दैनन् कहिल्यै
जीउमा बाढी निकालिदिने खडेरी उस्तै छ
निर्जन ठाँउ,विरक्त लाग्ने,अँधेरी उस्तै छ।
भदौरे घाम चर्केको हुन्छ यो मरुभूमिमा
सुखले बाटो तर्केको हुन्छ यो मरुभूमिमा
मालिक हदै झर्केको हुन्छ यो मरुभूमिमा
भाग्यको मुख फर्केको हुन्छ यो मरुभूमिमा।
मरणासन्न भएको बेला छिमेकी हुँदैन
उदासी मन रोएको बेला छिमेकी रुँदैन
मुटुको गति बढेको हुन्छ प्रचण्ड गर्मीले
मान्छेको आयु घटेको हुन्छ प्रचण्ड गर्मीले।
ऊँठको हिंडाइ,भेडाको कराइ,उराठलाग्दो छ
हृदय रुने यहाँको बसाइ विस्मातलाग्दो छ
इन्धन बिना मुटुमा आगो दन्किन्छ बेस्सरी
मायाको मीठो दमकल छैन,निभाउने कसरी?
पाईन्न देख्न,नारीको यहाँ,मुहार चम्किलो
सकिन्न सुन्न,नारीको यहाँ,आवाज सुरिलो
बजार जान,सामान किन्न,सकिन्न क्यैगरी
कठोर मन,पग्लिन्छ यहाँ,रोइदिन्छ धर्धरी।
कर्कश ध्वनि सुन्नुनैपर्ने निर्दयी साहुको
अघोर याद दिलाइदिन्छ,आमा र बाबुको
प्यारीको साथ सम्झाइदिन्छ,निस्पट्ट रातले
सुस्तरी स्पर्श गरेको पल,मायालु हातले।
क्षतबिक्षत पारेरै छोड्छ यादको धारले
हरबखत थिचिरहन्छ यादकै भारले
रुच्दैन खाना,बुझ्दैन चित्त,चिन्ताले सताउँछ
पीरको बाढी उर्लेर मनको भित्ता नै भत्काउँछ।
उदवीर
नगर चिन्ता,जे हुनु भयो,सबै ठीक हुनेछ
चिन्ताले जिउँदै जलाउँछ मान्छे,बेठीक हुनेछ
खाएर खाना,आराम गर,थाकेका होलाउ
सम्झेर घर,कोट्याई घाउ,त्यसरी नटोलाउ।
रामे
बाँच्दिन होला,उदवीर दाइ,हुँदैछु बेहाल
गएर सास,केवल लास,पुग्छ कि नेपाल
फर्केर जाउँ,ऋणको भारी,नजाउँ कष्ट छ
सक्दिन होला,टिकेर बस्न,कुरा त प्रष्ट छ।
उदवीर
नआए काल,मरिन्न भाइ,जगाऊ त्यो आशा
छोरोको जूनी संघर्ष ठानी हटाऊ निराशा
पढेर बीए,जागिर छोडी,आएको म पनि
शुरुका दिन इन्तु न चिन्तु भएको म पनि।
रामे
खाएको जागिर छोडेर किन आउनु परेको
रहेछौ धेरै शिक्षित तिमी,पढेको लेखेको
पढेर पनि आफूले भने जागिर पाईन
प्रमाणपत्र बोकेर मैले यति त धाईन।
उदवीर
लाहिरेहरु कमाई टन्न,आएको देखेर
आउँदा छुट्टी,भोजन मीठो खाएको देखेर
सुनको सिक्री,औंलामा औंठी,लाएको देखेर
जहानले तिनका,विलासी जीवन,पाएको देखेर।
रामे
अर्काको सिको गरेर हामी बिग्रेका रहेछौं
आफैंलाई बेच्न,आफैंले पैसा तिरेका रहेछौं
बिराई मार्ग,खाडल तिर,छिरेका रहेछौं
बिगारी बुद्धि,नजानी हिंड्न,गिरेका रहेछौं।
उदवीर
लाउन,खान पुगेकै थियो,बालबच्चा पढाउन
परेको थे'न कसैको सामू,हत्केला फैलाउन
अजङ्ग भाग खोज्नाले गर्दा भुसुक्कै फसियो
घाँटीमा आफ्नै,डोरीले तब,सुर्कुनो कसियो।
रामे
पाउनुभयो तपाईंले पनि सजाय गल्तीको
गतिलो शिक्षा पाउनुभयो,जीवनभरीको
सजाय काटी,हुनुन्छ जाँदै,आखिर तपाईं
कसरी काट्ने भनेर अब भय छ मलाई।
उदवीर
नसोच धेरै,हुनेछ ठीक,समय आएसी
बिस्तारै बानी लाग्नेछ भाइ,ठक्कर खाएसी
अबेर भयो,भुइँमा सुत,म्याट्रीस बिछ्याई
बिच्छीले टोक्ला,सर्पले डस्ला,सुत्नुछ सम्हाली।
रामे
भोलिको सूर्य,आशामा देख्ने,म आँखा चिम्लिन्छु
भरोसा छैन,यो जिन्दगीको,कसरी चिप्लिन्छु
ग्यारेन्टी छैन,पीडाले केटो,बाँच्छु कि बाँच्दिन
आँखामा आँशु बोकेर कतै हाँस्छु कि हाँस्दिन।
दृश्य चित्रण
रामेको जीवन अँध्यारो हुन्छ,आजको रातझैं
थुप्रेको हुन्छ,पीडाको राश,खातको खात नै
निभिरहेछ आस्थाको ज्योति,उसको आँखा झैं
जिन्दगी उसको,बिनाको मह,मौरीको चाका झैं।
नयनभरी छलललल वेदना छ्ल्किन्छ
सिरानी तिर डढेलो जस्तै नुनपानी सल्किन्छ
फुट्ला झैं हुन्छ,नाजुक मुटु,बेलून फुटे झैं
दुखिरहन्छ आफसेआफ,बेस्सरी कुटे झैं।
कुकुर भुक्छन्,एकतमास,विरह चलाउँदै
आधिपत्यनै जमाउँछ चिन्ता,सपना जलाउँदै
रित्तिन्छ गह,सकेर आँशु,अविरल रोएर
मुटुमा बग्छ,वेदना-सागर,गहिराइ छोएर।
संगाली निद्रा,दिनको दुई,भुसुक्कै निदाउँछ
सपना पनि निर्दयी भई,सताउनु सताउँछ
टाउको राखी टोलाउन थाल्छ,सानीको काखमा
फाँसीको फन्दा देखिंदै जान्छ,बुलाकी नाकमा।
प्रहरी आई समाती लान्छ,रामेलाई अचानक
कारण बिना,जेलमा हाल्छ,उसलाई अचानक
"गुहार!मेरो,कसुर छैन"भनेर चिच्याउँछ
सपना खराब आएर तत्काल,विपना झस्काउँछ।
No comments:
Post a Comment