दृश्य चित्रण
छ मरुभूमि,सुकेर छ्याप्पै,सुखको सागर
उदास हुन्छ,हाँसेर बाँच्ने,हुँदैन जाँगर
माटोको आँधी,मत्थर हुँदै निस्तेज हुँदैछ
तथापि उसको मनको बस्ती चिच्याई रुँदैछ।
पातलो दाल,सुकेको रोटी,आजको बिशेष
दाल र भात,तरकारी,अचार,भएर नि:शेध
पाक्दैन मासु,पाक्दैन खीर,कहिल्यै भान्सामा
साहुकै चल्छ खटनपटन,यिनका खानामा।
पसिना-बाढी खपेर दिनै,कहर जिउँछन्
प्यासमा पानी,नभई शुद्ध,नुनिलो पिउँछन्
नपुग्दै उमेर,फुलेर केश,देखिन्छ सफेद
तक्लु छ तालु,पैंतीस हुँदै,कपाल झरेर।
छिर्दैन खाना,अड्किन्छ घाँटी,निल्नु न ओकल्नु
अस्थिर हुन्छ,जिन्दगी पनि,न हिंड्नु,न चल्नु
सकिनै लाग्दा दियोमा तेल,न निभ्नु न बल्नु
घडीको छुरा मुटुमा गड्दा,न बाँच्नु न ढल्नु।
ती ऊँठ,भेडा गदगद हुँदै घाँसफुस खाँदैछन्
विन्दास हुन्छ पशुको जूनी,थपेर लाँदैछन्
समृद्धशाली देशमा पनि,खाने हुन् घाँस नै
घरमा हैन,जसरी पनि,गोठमा बास नै।
कृतज्ञ हुन्छन् गोठाला प्रति,आहारा पाएर
फुलाउँछन् भुँडी,गोबर हग्छन् टनक्क खाएर
खाएकै ठाउँ,हगेर छोड्छन्,हुँदैनन् चिन्तामा
चिलाए जीउ,संकोच बिना,रगेट्छन् भित्तामा।
उदवीर गई ऊँठको छेउ,झुन्डिन्छ फाँजोमा
मुन्टामा मिची,दूधको धारा,दुहुन्छ भाँडोमा
चिच्याइकन बोलाउँछ तब,रामेलाई समिप
सिकाउन थाल्छ तरीका सबै,गराई सरिक।
उदवीर
आइजा रामे,सिकेर राख,दुहुने तरीका
म गएपछि समस्या आउँला,अनेक थरीका
अनौठो ठाम,अप्ठ्यारो काम नगरी नहुने
मन त लाग्ला-बेवास्ता गरुँ,त्यसरी नहुने।
रामे
कलेज,स्कुल अध्ययन गर्दा कलम समाइयो
अवस्था क्रूर भएर फेरि साबेल थमाइयो
अज्ञात हुन्छु ,कहिले फेरि कुनमा समाउँछु
थिएन थाहा, यसरी मैले थुनमा समाउँछु।
उदवीर
जिन्दगी भन्नु पेटको दास,अचम्म नमान
फुटबल जस्तै भईन्छ पास,अचम्म नमान
समय देव,समय भाग्य,समय मालिक
अगाडी यसको,केवल हामी,चोकको सालिक।
रामे
गरीब मान्छे रहेछ यहाँ धनीको मेशिन
अधिक बेर चलिरहने नरोकी एकछिन
शब्दमा अर्को भन्नुनैपर्दा रहेछ रोबोर्ट
एकान्तकुना बसेर पनि चलाउँछन् रिमोट।
उदवीर
तलबरुपी साङ्लामा बाँधी घुमाउँछन् फनफनी
कुकुर हामी रमाइदिन्छौं ,पाउँदा खनखनी
लगाउँछन् काम,पूच्छरमा आगो लगाई दनदनी
दौडिनैपर्छ,आउँदा ज्वरो,शरीरमा हनहनी।
रामे
लाहुरे भन्छन्,अवस्था यहाँ, जटिल रहेछ
आएको जति लगानी उठ्न मुश्किल रहेछ
रेगिस्तानको आगोमा बाँच्न सकिन्छ,सकिन्न
मरिहालेमा नेपालीद्धारा देखिन्छ,देखिन्न?
उदवीर
कहिलेकाही चराउँदै भेडा,नजिक आउँछन्
आफन्तै ठानी,विह्वल हुँदै,साइनो लाउँछन्
नेपाली भेट्दा,भेटे झैं लाग्छ,साक्षात दाजुभाइ
महिनौं बित्दा,आकलझुकल भेटिन्छ साथीभाइ।
रामे
मान्छेको मुख देख्ननै गाह्रो,यो कस्तो ठाउँ हो
लाग्दैछ यो त,विकट भन्दा विकट गाउँ हो
टिलपिल गर्दै चम्किन्छन् बत्ती,उ प..र साँझमा
लालटिन हो कि,बिजुली हो त्यो,जंगल माझमा?
उदवीर
शहर पुग्न ३ घण्टा लाग्छ,गाडीमा गुडेर
कि जानुपर्यो,हिंडेर नभई,चरा झैं उडेर
चम्केको पनि भेडाकै गोठ,भनेर बुझ भाइ
बिजुली हैन,लालटिन बल्छ,यो मेरो बुझाइ।
रामे
महिनौं दिन,नआए साहु,कसरी बाँच्ने हो
सकिन्न भोकै,अनाज बिना,के खाना खाने हो
फोनको ब्याट्री सकियो भने कसरी बोल्ने हो
पियारीसंग,मनको कुरा कसरी खोल्ने हो?
उदवीर
उँठको दूध दुहेर तब कुरौनी पकाउने
रुचेको जति खाएर टन्न,भुँडीनै अघाउने
मालिक आउने,गनेर दिन,दिननै बिताउने
जसरी हुन्छ,बिचार गरी आफूलाई बचाउने।
रामे
कष्टको भारी,उचाल्न परे,सक्छु कि सक्दिन
मरिन्छ भोकै,नपाए गाँस,टिक्छु कि टिक्दिन
नभरे पेट,गरिन्न काम,मलाई के खाँचो
ऊँठ र भेडा,राखिन्छ भोकै,म पनि छु बाठो।
उदवीर
समझदार प्राणी हौं हामी,विवेकी हुनुछ
दिमाग हैन,दिलले काम जसरी गर्नुछ
मान्छेको रीस पोखाउनु किन,अबोध पशुलाई
कसरी सम्झाउँ,धनको हैन,मनको बदुलाई।
रामे
काटिन्छ भेडा,बलियो छानी,रीसको झोकमा
खाईन्छ टन्न,भरिने गरी,केटाले भोकमा
छ भने दिनु,तपाईं संग ट्याक्सीको नम्बर
बेचेर ऊँठ,कमाई पैसा,ठोकिन्छ चम्पट।
उदवीर
नसोच भाइ,नकारात्मक,गलत सोचाइ
डकैती,चोरी गरेर पर्ला,सजाय भोगाइ
नेपाल जस्तो कदापि हैन,कानून कडा छ
मारेर फाल्ला,साहुले कतै,पहुँच बडा छ।
रामे
कुकुर भन्दा,स्तरको तल्लो,जिन्दगी हाम्रो छ
जिन्दगी यस्तो भन्दा त बरु पशुको राम्रो छ
कंचट ताती आउँछ मेरो यो कुरा सुनेर
काटेर जेल,जाउँ झैं लाग्छ, राखोस् न थुनेर
उदवीर
होस गर भाइ,फस्लाउ फेरि,नआऊ आवेगमा
मारेर मान्छे,पाउन्नौ तिमी,रहन जेलमा
खुनको बदला,खुननै हुन्छ,चढ्नेछौ फाँसीमा
त्यो भन्दा बरु,सहेको राम्रो,रहेर दासीमा।
रामे
बसेर मौन,खपेर चोट,अन्याय सहन्न
शोषक लाई सिध्याई बरु धर्तीमा रहन्न
यो ज्यान जाला,लडेरै छोड्छु,अन्याय विरुद्ध
देख्दिन केही,सोचिन्न केही,भएर म क्रुद्ध।
उदवीर
दिमाग ठण्डा पारेर सोच,मनलागी नगर
फूल झैं हैन,बनाउनुपर्छ,मनलाई पत्थर
बारेमा आफ्नो,नसोचीकन,सम्झिनु जहान
जहान भन्दा अरु त केही हुँदैन महान।
रामे
भएछु अन्धो,देखिन केही,नयन खोल्नुभो
गलत थिएँ,तपाईं सही,जायज बोल्नुभो
जहानकै लागि आइयो यहाँ,भुसुक्कै बिर्सेछु
आवेगमा आई,अनेक सोची,नभन्नु भनेछु।
उदवीर
गरेर दु:ख,हामीले एक्लै,जहान पालिन्छ
चुहिरहेको घरको छानो,पनि त टालिन्छ
हिंसाको मार्ग रोजेर कतै,हुँदैन प्रगति
हिटलर जस्तो शासकको पनि भएथ्यो दुर्गति।
रामे
खानाको कुरा आएर यस्तो आएको कुरा हो
सामान्य कुरा,सबैले थाहा पाएको कुरा हो
रीसको बेला,मान्छेको गुण असली झल्किन्छ
नहुँदा रीस,मान्छेको बोली,चिल्लोमा ढल्किन्छ।
उदवीर
पाइला मुनि कुल्चेर राख्नु,आइन्दा रीसलाई
शालीन भई व्यवहार गर्नु,यो कुरा नबिराई
रीसले आफू खाएको हुन्छ,बुद्धिले अरुलाई
सहनशील पर्दछ बन्नु,धैर्यता नटुटाई।
दृश्य चित्रण
टन्टलापुर लागेर घाम,बिछट्टै छाउँछ
त्यतिनैबेला मालिक पनि टुप्लुक्कै आउँछ
उदवीर संग थाल्दछन् बोल्न अरबी भाषामा
देखिन थाल्छ,चमक बेग्लै,उसको आँखामा।
सदियौं देखि हरा'को चीज अचानक पाए झैं
शिशिर गई,जीवनमा कतै,वसन्त छाए झैं
दु:खको दिन सकेर अब,सुखको आए झैं
विरह गीत गाउन छोडी,प्रीतिको गाए झैं।
सुनौलो किरण टल्किन थाल्छ उसको मुहारमा
हर्षको अश्रु छल्किन थाल्छ,उदवीरको नयनमा
खुरुरु कुदी अंगालो हाल्छ,रामेलाई आएर
बर्षौंको त्यागले क्षणमा यस्तो सफलता पाएर।
उदवीर
सुरज लागी उज्यालो भयो,मनको आकाशमा
बादल कालो,हटेर गयो,सुवास छ बतासमा
शित्तल जून लागेको देख्छु प्रचण्ड दिनमा
टेकिए जस्तो आभाष भयो,टल्केको शीतमा।
रामे
के भयो आज,एक्कासी देख्छु,बलेको मुहार
भएझैं लाग्छ,साँचेको मनमा,सपना साकार
खुशीको कुरा भएझैं लाग्यो,सुनाउनु ए दाजु
ग्रहुँगो भई नुँगेझैं लाग्यो,खुशीले तराजु।
उदवीर
नेपाल जान पाउने भएँ,यही हो खबर
सिञ्चिए जस्तै लाग्दैछ आज नदीले बगर
बोकेर जान्छु नगद थोरै,बहुत रहर
आखिर आज आएरै छोड्यो,हर्षको लहर।
रामे
एकलै हुन्छु,कसले साथ दिने र मलाई
भाग्यले पनि राख्ने नै भयो रुवाई रुवाई
कहिले आउँला,तपाईं जस्तै,मेरो नि जाने दिन
उमंग धेरै,सपना मीठो,बोकेर लाने दिन?
उदवीर
धैर्यता राख,त्यो दिन पनि,आउँछ अवश्य
नबगाऊ कोशी,भेट्नेछौ पक्कै,घरको सदस्य
प्रतिक्षा गर,यसको फल,हुनेछ मिठास
विग्रह हुन्न,हुनेछ भाइ,खुशीको समास।
रामे
यात्रामा पाइला बढाउँदै गर्दा रोकिए के गर्ने?
ग्रहण लागी जीवनको घाम छोपिए के गर्ने?
आधा छ खुशी,छल्केर कतै,पोखिए के गर्ने?
छलेर पनि समयको छुरा रोपिए के गर्ने?
उदवीर
पाइला चाल्नु,महान कुरा,नगरी पर्वाह
अड्चन आउँला,नआउँला कतै,होला कि निर्वाध
यात्राको क्रममा हराए बाटो,हिंड्नुछ खोजेर
अधिक मध्ये अनुकूल हुने,चुन्नुछ रोजेर।
रामे
सुगम हैन,दुर्गम मात्र,जीवनको यो बाटो
कसरी चुन्नु,दोधार लाग्ने,आउँदा दोबाटो
काँडा नै काँडा उम्रेको देख्छु,कठीन बाटोमा
विलिन हुन्छु,लाग्दैछ मलाई,यहींको माटोमा।
उदवीर
सकारात्मक सोचेले मात्र अगाडी बढिन्छ
हिम्मत राखी हिंडेर मात्र गन्तव्य पुगिन्छ
खतरा मोल्न नसके कुनै,मज्जा नै आउँदैन
अक्करे बाटो,नसके हिंड्न,खजाना पाउँदैन।
रामे
संघर्ष गर्न तपाइँबाटै सिकेको छु मैले
दाइले जस्तो यथेष्ट उर्जा,दिंदैन कसैले
तपाईंले देको उपदेशलाई मनन गर्नेछु
बिर्सने छैन,आदर्शलाई सम्झेर मर्नेछु।
उदवीर
मानवताको नाताले पनि भाइलाई सम्झिन्छु
हरेक पाइला लम्किंदा खेरी,सम्झेरै लम्किन्छु
दु:खको मर्म बुझेको हुँदा बिर्सन सक्दिन
सुखमा हुँदा,दु:खमा हुँदा,सम्झिन छोड्दिन।
रामे
सफल रहोस् दाजुको यात्रा,यही छ कामना
जिन्दगीभरी यो भाइबाट,मीठो छ सम्झना
भोलिको सूर्य उदाउनेछ,दाजुको लागि नै
दाजुभाइको सम्बन्ध बिल्कुल हुनेछ माथि नै।
उदवीर
आत्मीय भयौं,दिनमा थोरै,अमूल्य ती दिन
रहने मन थ्यो,दिएर साथ,माफ गर सकिन
महिनौं देखि भएको छु म,जहान बाट दूर
डुलाउनु हुन्न,बनाउनुपर्छ,यो मन एकैसुर।
रामे
साथीको लागि,सोचेर पनि,सम्भव छैन दाइ
आ-आफ्नै ठाउँमा छँदैछौं नि त असल दाजुभाइ
भाग्यले साथ दिएछ भने,कुनैदिन भेटौंला
बसेर संगै दु:खसुखको अनुभव साटौंला।
उदवीर
यी राख भाइ,रियाल सय,सम्झना स्वरुप
भैदिओस् सदा,भाइको जय,दक्षिणा स्वरुप
लाग्दछ खाडी,जिन्दगी पढ्ने,विश्वविद्यालय
सम्हाली चल्नु,बुझ्यौ नि रामे,भनाइको आशय।
रामे
परेको बेला मद्धत गर्ने महान मानिस
मनुज जाति आपत पर्दा तर्कने बानी छ
धनको धनी नभए पनि मनको धनी हौ
विरलै हुन्छन् तिमी झैं मान्छे,उदार पनि छौ।
उदवीर
म जस्तो तुच्छ मनुखेलाई महान नबनाउ
गरेको छु र के-के नै मैले,लज्जित नबनाउ
विपत पर्दा मान्छेलाई मान्छे चाहिने भनेको
जीवन भन्नु अर्काको लागि रहेछ बनेको।
रामे
शालीन शान्त बहने तिमी समुद्र विशाल
समस्यासंग जुझिरहने अटल हिमाल
खहरे जस्तो गड्गडाहट देखिन्न तिमीमा
रुझिरहने पिपल तिमी दर्केको झरीमा।
उदवीर
मान्छेले केही पर्दैन दिनु,सिवाय हिम्मत
यहीं छ स्वर्ग,यहीँ छ नर्क,पृथ्वीकै जगत
कल्याण गरे जीवनमा फल तुरुन्तै मिल्दछ
कसैको जब मुहारमा खुशी,उमंग खिल्दछ।
रामे
उदवीर जस्तो पाउन गाह्रो कलीको संसारमा
पीडन,हिंसा रुचाउँछन् गर्न,बलीको संसारमा
फाइदा लिन अर्काको मात्र कुभलो चिताउँछन्
वेदना हेर्दै विलासी भई जीवन बिताउँछन्।
उदवीर
तयारी बिना,भोलिको दिन,जानुछ अपर्झट
सामान,झोला पाईन किन्न,भएर हतपत
पुरानै जुत्ता,कपडा लगाई,परेको छ जानु
नेपाल गई किन्ने हो सबै,पाईन क्यै लानु।
रामे
किनमेल पनि नपाइने गर्न,कसरी हेपेको
निर्दयी यस्तो,मानिस मैले,थिईन देखेको
कमसेकम दुईदिन अघि जानकारी दिनु नि
चाहेको चीज,समय किन्ने,निकाली दिनु नि।
उदवीर
नकुरा गरौं,यस्तै हो भाइ,यहाँको चलन
हाँसेको देख्दा,लाएको देख्दा,भैदिन्छ जलन
नोकर लाई यिनको देशमा मान्छे नै गन्दैनन्
तिमीले दु:ख अधिक गर्यौ,कहिल्यै भन्दैनन्।
रामे
ल्याएको मैले,कपडाहरु लिएर जानु दाइ
तपाईं संग पुराना भा'का दिएर जानु दाइ
कपडा नयाँ लाएर यहाँ जानु र कहाँ नै
शहर छैन,बजार छैन,केवल भेडा नै।
उदवीर
पैसाको सट्टा कपडा दिई बदला नलिनु
पुरानै ठीक हुनेछ मलाई,नूतन नदिनु
तिमीलाई पनि चाहिन्छ भोलि,किन्छौ र कसरी
बिर्सेर आफू,अरुलाई किन दिन्छौ र यसरी?
रामे
भाइ हुँ तिम्रो,आफन्त सम्झ,नसम्झ पराई
मसंग अन्य पनि छन् वस्त्र,जाऊ न लगाई
दाइलाई भाइ,भाइलाई दाइ,बेला यो चाहिने
अवश्य भेट गरौंला भए चन्द्रमा दाहिने।
उदवीर
छिप्पियो निशा,निदरी आयो,अब त सुतौं है
जानुछ शीघ्र,मिलाउन झोला,सखारै उठौं है
मालिक लिन,आउँला छिट्टै,बस्नुछ तयारी
आउँदा खेरी,नहुँदा तयार,रिसाउँला झपारी।
रामे
म छु नि दाइ!मिलाउने जिम्मा,मलाई छोडिदेऊ
भाइलाई छोडी,बनाई एक्लो,पाइला मोडिदेऊ
बहुत बस्यौ,अरबसंग सम्बन्ध तोडिदेऊ
स्वदेश गई,मसिनो खाई,करेसा गोडिदेऊ।
उदवीर
कमाई छैन,तथापि छैन दु:ख यो कुरामा
सापटी लिनु परेतापनि जुत्ता यी खुट्टामा
तिमीलाई एक्लो पारेर छोड्दा,दु:खी छु अघोरै
मायालु भाइ पाएर फेरि खुशी छु अघोरै।
दृश्य चित्रण
अधुरो कुरा छोडेर दुवै निदाउँछन् भुसुक्कै
निद्रामा पनि अश्रुका थोपा पिउँछन् घुटुक्कै
नियति पनि निष्ठुरी साह्रै,रुवाउँछ धुरुक्कै
जिन्दगी छैन जिन्दगी जस्तो,पारेर हुरुक्कै।
सबेरै उठी मिलाउँछन् सबै सामान उदवीर
हस्याङ-फस्याङ गरेर कठै,गल्दछन् शरीर
समय थोरै बचेको हुन्छ दुबैका खातिर
दाइको खत्तम,भाइको शुरु हुँदैछ जागिर।
बलियो हुन्छ,रगतको नाता,संसारमा जसरी
बलियो हुन्छ,भावनाको नाता,संसारमा त्यसरी
मनले माने देवता हुन्छ सामान्य पत्थर
पराई पनि आफन्त हुन्छ,नहुने के छ र?
तोकेकै बेला आउँछ साहु,उदवीर लिनलाई
बहुत सालको बन्धनबाट छुटकारा दिनलाई
थमाइदिन्छ तलब बाँकी,पासपोर्ट,टिकट
विकट थियो,सन्बन्ध हिजो,आज छ निकट।
हर्षको अश्रु झरेर भिज्छ,हातको नगद
खराब हुन्छ रामेको भने,तत्काल मगज
दौडेर दाइ!भनेर रुँदै आलिंगन बेर्दछ
अरबी भने अचम्म मान्दै भातृत्व हेर्दछ।
रामेले दाइका सामानहरु गाडीमा राख्दिन्छ
दाइले भने पुरानो फोन भाइलाई छोड्दिन्छ
अरबी भाषा लेखेको नोट थमाउँछ हातमा
अगाध माया झल्किन्छ त्यहाँ,मौनको बातमा।
गाडीमा बस्ने आदेश आउँछ उदवीर दाइलाई
बसेर भित्र,खोलेर खिर्की,हेर्दैछ भाइलाई
नाजुक अति देखिन्छ बरै रामेको हालत
हल्लाई हात,विदाई गर्छ,छुट्टिन्छन् अन्तत:।
हुइँकिन्छ गाडी,बढ्दैछ दूरी,बिस्तारै-बिस्तारै
आउन थाल्छ मनमा हुरी,बिस्तारै-बिस्तारै
एउटै हात हल्लिन्छ अब,खिर्कीमा गाडीको
धुमिल हुन्छ,बर्षिन्छ झरी,झ्यालमा आँखीको।
No comments:
Post a Comment