दृश्य चित्रण
उषाले निशा चिरेर नव किरण जन्माउँछ
मरुभूमिका बालुवा कण टलल टल्काउँछ
भेडा र ऊँठ आदेश दिन्छन् कराई कराई
भोकाको पेट पारिदेऊ शान्त चराई चराई।
बालेर आगो,पकाई चिया,खबुस टोक्दछन्
आउन लाग्दा गहका थोपा,बीचैमा रोक्दछन्
स्वादको तुलो निकालीकन सन्तुष्टि जोख्दछन्
तथापि घाँटी अड्किंदा खेरी बेस्मारी खोक्दछन्।
बन्धनमुक्त गरेर छोड्छन् ऊँठ र भेडालाई
स्वतन्त्र दिवस मनाउन थाल्छन् नखाई नखाई
ऊँठैमा चढी चराउँछ ऊँठ सरर उदवीर
गधामा चढी चराउँछ भेडा रामेले आखिर।
यता र उता भुकेर दिन्छन् कुकुरले सुरक्षा
स्वदेशी रहर आएर खाडी भैदिन्छन् बाध्यता
स्वदेश कतै देखिन्छ भनी क्षितिज नियाल्छ
नदेखी केही,थकित हुँदै,रामेले सम्हाल्छ।
पानीको मूल उम्लिए सरी उम्लिन्छ वेदना
सागरको छाल छल्किए सरी छल्किन्छ सम्झना
सुरज यौटै भएतापनि ग्रह छन् अनेक
मनुष्य एकै भएतापनि बह छन् अनेक।
नजर आउँछन् केवल त्यहाँ बालुवा पत्थर
जिन्दगी आज ऊसंगै हाँसी दिंदैछ टक्कर
कपास जस्तो बादल छैन,निलो छ सगर
सागर बिना धरती हुन्छ केवल बगर।
बगर जस्तै जिन्दगी बोकी कुद्दैछ म्याराथन
सपना जस्तै लाग्दैछ सम्झी हिजोको बालापन
थिएन कुनै सपना त्यहाँ,थिएन गन्तव्य
अबोध थियो,थिएन मोह,थिएन कर्तव्य।
सानीको छवि,निर्मला छवि,नाच्दछन् समिप
दैवले कति सजाय देको,भएर गरिब
सम्झेरै दिन बिताउनुपर्ने कस्तो यो नियति
माइलौं दूर भएर बस्छ,निष्ठुरी पिरति।
यादको बाढी आएर पर्छ,त्यो मन डुबानमा
माहुरी छैन,शून्य छ आज,घरको उद्यानमा
श्रावण पछि श्रावणै आउँछ दु:खीको जीवनमा
असिना झर्छ,नभए पनि बादल गगनमा।
चर्किन्छ घाम,चर्किन्छ छाती,कलेजो चर्किन्छ
चरन पछि रामेको सफर छाप्रोमा फर्किन्छ
बन्धनयुक्त हुन्छन् ती पशु,त्यही नै प्यारो छ
बन्धनमुक्त भएरै पनि मान्छेलाई गाह्रो छ।
बादल जस्तै अँध्यारो हुँदै माटोको तुफान
बालुवा नयाँ थुप्रन्छ त्यहाँ,पुरानो डुबान
मिटर एक गहिरो जति बन्दछ दलदल
भासिन खोज्छ पाइला पनि टेक्दैमा तलतल।
आकाशबाट झर्याम-झुरुम् पहाड खसे झैं
लाग्दैछ आज एक्कासी सबै पातल फसे झैं
धरा नै ध्वस्त भएको भान भएको अवस्था
रामेको सातो उडेर अन्तै गएको अवस्था।
सफेद भेडा भएका हुन्छन् खरानी रंगका
ठेगाना पत्ता लगाउनै गाह्रो तिनका अंगका
गधाको जीउ डुबेको हुन्छ करीब आधा नै
भएको हुन्छ वारीपारीको दृश्यमा बाधा नै।
तुफान जस्तै रामेको मन उथलपुथल
कल्पनाशक्ति मार्दछ फन्को आकाशपातल
प्रत्यक्षदर्शी भएर आज नमूना नर्कको
विश्वास लाग्न छोडेको हुन्छ आदर्श तर्कको।
कुकुर,गधा,भेडा र ऊँठ निकाल्छ्न् चित्कार
दैवीप्रकोप आएर सबै भए झैं सिकार
जिन्दगी यस्तो जिउनुपर्दा लाग्दछ धिक्कार
उदवीर भने ढाडस दिंदै गर्दछ बिचार।
उदवीर
नमान डर,बेलाबेलामा आउँछ यस्तो त
यो भन्दा पनि बिपत कति सहिन्छ कस्तो त
मैदान पनि एकैछिनमा भैदिन्छ पहाड
पहाड पनि एकैछिनमा भैदिन्छ मैदान।
रामे
एकलै हुँदा आएको भए म मर्ने थिएँ दाइ
बेशनै भयो,अहिले आयो,खुशी छु थाहा पाइ
सास नै जाला भएको थियो मेरो त एकछिन
यस्तै हो भने तड्पेर ज्यान बाँचिन्छ कति दिन।
उदवीर
लाहुरे युद्ध,भनेर लड्न,गएझैं मैदान
भोग्नुनैपर्छ समस्या यहाँ,हुँदैन सुनसान
लडाइँ लड्दा लाहुरेहरु,बन्दुक पड्किन्छन्
मरुभूमिमा नसोच्या सोच्दै,अनेक पड्किन्छन्।
रामे
डरलाई जिती,निर्धक्कसंग जिउने सोच्दैछु
चुनौती दिई,मृत्युलाई पनि,जिउन खोज्दैछु
बढीमा बढी जाला यो सास,त्यो भन्दा के होला
नमरी स्वर्ग देखिन्न भन्छन्,देखौंला जे होला।
उदवीर
स्याबास भाइ!सम्पूर्ण कुरा घटनाले सिकाउँछ
अग्रज भन्थे-अधिक कुरा पलाले सिकाउँछ
खप्पिस भयौ,आजदेखिनै,उप्रान्त क्यै हुन्न
समस्या बडा आएर पनि तिमीलाई चैं छुन्न।
यतिमै रामे हराउँछ कतै,स्वदेशी भूमिमा
पुग्दछ मन,द्रुतगतिमा,घरको सानीमा
मागेर फोन उदवीरबाट,दबाउँछ नम्बर
कोसिस गर्छ,हासिल गर्ने,उताको खबर।
रामे
खबर के छ,जिन्दगी छ नि कसरी चलेको
नढाँटी भन,चुल्होमा आगो,छ छैन बलेको
हुरीको माझ आशाको दियो,छ छैन जलेको
विश्वास हाम्रो,कानले सुन्न,चाहन्न ढलेको।
सानी
एकदमै ठीक छु,बाँचेकै छु म,हजुरको सानी त
स्कुलबाट आएकी छैन,निर्मला नानी त
हिजोको राती एक्कासी देखें,खराब सपना
दु:खमा छ कि,कष्टमा छ कि,हजुरको विपना?
रामे
खाएको खोले,सपना देख्दा,अघाउनु न पोल्नु
सपना केवल मिथक हुन्छन्,डराई नबोल्नु
मलाई जस्तै अरुको सामू,व्यर्थमा नखोल्नु
घाउमा चुक,लगाउन सक्छन्,सपना नखोल्नु।
सानी
तलब कति,कस्तो छ काम,सोध्दछन् जनले
सायद राजा दु:खमा होला भन्दैछ मनले
कहिल्यै पनि भएको थे'न अनौठो आभास
अनेक कुरा खेलेर बस्छ,गएसी प्रवास।
रामे
मनको बाघले खाएको होला,होइन वनको
कुशलै छ रे भनेर टार्नु,जिज्ञासा जनको
तनाब लिनु पर्दैन सानी,तिमीले ऋणको
राख है ख्याल,निर्मला अनि तिमीले तनको।
सानी
पाईन्छ सुन्न,भनेर कतै,नमिठो खबर
आउँछन् कोही आफन्त पनि,बोकेर रहर
थोरै नै हुन्छन्,चाहने हाम्रो,प्रगति,उन्नति
हर्षित होलान्,कोही त कतै,सुनेर दुर्गति।
रामे
नराख चासो,तिमीले सानी,कुकुरले के खान्छन्
वेवास्ता गर,थुनिदेऊ कान,मान्छेले के भन्छन्
सुखमा जल्ने,दु:खमा हाँस्ने,बहुत देख्याछु
मान्छेको बारे,वर्णन बडा,मनमा लेख्याछु।
सानी
साउदी जाबो देशमा पनि के पैसा होला र?
भन्दैथे कोही,मान्छेमा किन जिज्ञासा होला त
अचम्मै लाग्छ,अचेल मान्छे,गिराउन सिपालु
जसरी हुन्छ,आफूलाई माथि देखाउन सिपालु।
रामे
भनें त मैले,नगर वास्ता अर्काको बारेमा
माथिल्लो ठान्छन्,अरुलाई यहाँ,तल्लाको पारेमा
जसरी हुन्छ,मुहारमा कान्ति देखाउनु समाजमा
ठाँटिई हिंड्नु,वेदना-व्यथा,लुकाउनु दराजमा।
सानी
यहाँको बारे नलिनु पीर,सबै म सम्हाल्छु
निर्मलालाई हालतमा जुनै,हाँसेर म पाल्छु
नलागे दिन,लागेर ऋण,डराउनु हुँदैन
बलियो हुन्छु,निर्बल भई हराउनु हुँदैन।
रामे
तुरुन्तै फोन गर्दिन फेरि,पैसाको अभाव छ
बचत गरी पठाऊ भन्ने समयको दबाब छ
नआए फोन,नमान पीर,म ठिक हुनेछु
खुशीको सास फेरेर बस,निर्भीक हुनेछु।
दृश्य चित्रण
सकिन्छ पैसा,काटिन्छ फोन,वार्ता छ अधुरो
नपुग्या जस्तो,केही न केही,मुहार छ मधुरो
खस्दछ तप्प,नयनबाट शीत झैं तरल
मनलाई ढाँटी,जिन्दगी कवै,हुँदैन सरल।
सानी(मनोवाद)
बिसञ्चो छ झैं लाग्दैछ किन ऊ मेरो प्यारालाई
जाँ गए पनि सुखमा हुन्न यो कर्म-हारालाई
विन्दास जीवन मिल्दछ बरु त्यो ज्यानमारालाई
के शोक हुन्छ,के सुर्ता हुन्छ त्यो वनमारालाई?
सुखको वैरी रहेछौं हामी,दु:खको ठेकेदार
तड्पाइहरु सहनै पर्ने हामीले बारम्बार
भो पक्षपाती यो दैव पनि,रहेछ निष्ठुरी
बढाइदियौ नराखी दया,हामीमा यो दूरी।
मनको मान्छे!तनको मान्छे!भन छ के हाल
लाग्दैछ मलाई,ढाँट्दैछौ तिमी,भएर बेहाल
मिलनको दिन कहिले आउँला,मुखले गन्दैछ
दु:खमा होला,पीडामा होला,मनले भन्दैछ।
एउटा कुरा भन्न नै बिर्सें,हजुर राजालाई
महिनावारी रोकेर लप्सी रुच्दैछ मलाई
लक्षण के हो,बिलखबन्द परेको अवस्था
सायद मेरो गर्भमा भ्रूण भरेको अवस्था।
नानीको साथी आउँला जस्तो मलाई लाग्दैछ
रुच्दैन खाना,वाकवाकी लाग्छ,आनन्द भाग्दैछ
एकबाजी फेरि गर न फोन,सम्पूर्ण भन्नुछ
भोलिको खेतमा खुशीको कुरा मिलेर खन्नुछ।
दोजिया यदि भएको भए,हुनेछ सकस
जिन्दगी मेरो,उराठे हुन्छ,हुँदैन सरस
सहज हुन्थ्यो,भएको भए,सारथी साथमा
उज्यालो हुन्थ्यो,सजिलै देख्थें निस्पट्ट रातमा।
अहिले शंका लागेको मात्रै,यकिन भा छैन
भैदियो भने,यो शंका सत्य,के हुन्छ था छैन
नभए संगै,फरक हुन्न,सामान्य बेलामा
नरकै लाग्ने,नारीको जूनी,सुत्केरी बेलामा।
तिमीलाई मात्र नहोस् केही,म आफैं सहुँला
कठिन दिन,झेलेर जसै,जसरी रहुँला
मानसिक कष्ट सहन्न बरु,शारीरिक सहुँला
कुशल तिमी भैदिंदा एक्लै,जंघारै तरुँला।
दृश्य चित्रण
दराजबाट निकालीकन रामेको तस्वीर
सुस्तरी स्पर्श गर्दछिन् उनी,लिएर क्यै पीर
तारनतार जोतेर ओठ,गर्दछिन् चुम्बन
हायलकायल हुँदैछिन् बरै,बढेर धड्कन।
सानी(मनोवाद)
ए मेरो राजा!म माया कति तिमीलाई गर्छु नि
नभए तिमी,जीवनमा मेरो,भुत्तुक्कै मर्छु नि
मन्दिर गई,अक्षता,फूल मूर्तिमा छर्छु म
कुशलताको कामना गर्दै,पाउमा पर्छु म।
बोल न राजा!दुई शब्द बोल,सुनसान भयो नि
प्रेमको धूनले मायाको गीत छोडेर गयो नि
निरस शब्द भएको छु म,भरिदेऊ संगीत
सरगम जस्तै मधुर खाले,छरिदेऊ त्यो प्रीत।
शिशिर याममा झरेर पात,रुख झैं भा'की छु
तुषारो द्धारा पल्लवीरुपी जिन्दगी खा'की छु
सुखको चरी बस्न नै छोडे,जीवन-हाँगामा
चुँडेको चंगा अड्केको जस्तै,धारिलो काँडामा।
खडेरी लागी प्रीतिको धरा,फाटेको छ धाँजो
भड्खारो भित्र पुरिन्छु कतै,उडेको छ सातो
जिन्दगी स्वयं जिउन यहाँ भएको छ घाँडो
दलदल बाट उम्किने कुनै भएन त्यो बाटो।
हुँदैन दिन,केवल रात,सानीको देशमा
आऊ न प्यारा,सुटुक्क काख,हावाको भेषमा
सिउरी देऊ,फूलको थुँगा,घना यो केशमा
सार्थक बनाऊ,चाहको अर्थ,शानदार भेटमा।
बनेर आऊ रविकिरण,बनाऊ पारिलो
सर्दीले छुन्छ,उराठ मन,भएर ओसिलो
सकिन दिन,समिप हुँदा,अथाह प्रणय
उजाड होला,मनको बस्ती,आएर प्रलय।
फोडेर छाती,अदृश्य तृष्णा आएर सताउँछ
अमूर्त इच्छा,प्रवेश गरी,छट्पटी गराउँछ
उठेर हुन्न,बसेर हुन्न,काउकुती लगाउँछ
झमक्क आँखा लागेको बेला निदरी भगाउँछ।
आऊ न कान्छो,कल्पनापुर,डेटिङ बसौंला
सुखदु:खका नमिठा-मिठा गसिप गरौंला
समाई हात,सुस्तरी चुम,आभास भोगुँला
अधिक कसको प्रणय भनी तुलोमा जोखुँला।
सुन्दर दृश्य हेरौंला चढी प्रेमको क्षितिज
यौवनको पुल टेकेर गरौं, स्वर्गको प्रतीत
छोड्नेछु खुल्ला,प्याराको निम्ति प्रेमको मन्दिर
दर्शन गर्न सक्षम हुन्छौ,गजुरको मुन्तिर।
चलेको होऊन् सिरीरी पवन,सुन्दर पलमा
झरेको होऊन् झर्झर झर्ना,कामूक चलमा
फुलेको होऊन् ढक्मक्क फूल,दिलको बागमा
बजेको होऊन् प्रेमिल गीत,सप्तक रागमा।
माहुरी आई,फूलमा बसी,सुगन्ध लिए झैं
बटुवा आई,छाँगाको जल,सुरुप्प पिए झैं
लैला र मज्नू मिलेर संगै विन्दास जिए झैं
झलल बल्दा,मैनको बत्ती,मैनले खिए झैं।
No comments:
Post a Comment