Sunday, 4 November 2018

बेरोजगार-१०

                 रामे
जमिनदार साहेब हजुर!बिदेश जाँदैछु
पाईन कतै रकम मैले हरेश खाँदैछु
कमाई ल्याई तिर्नेछु भन्दा लागेन पत्यार
सकिन लाग्यो भिसाको म्याद,डुलियो संसार।

                जमिनदार
आएछ भिसा,के गरुँ मैले,किन पो सुनाईस्
के-के न आए जसरी कुरा मलाई बताईस्
हग्ने र पाद्ने मानिस सबै जाँदैछन् बिदेश
मलाई तिम्रो खबर पनि लागेन बिशेष।

                   रामे
पाइएला कतै मद्धत भनी आएको हजुर
रुपियाँ लाख चाहियो आजै,दिनु न जरुर
पाउमा पर्छु,भगवान् मान्छु,देखाउनु उदारता
दु:खीको घाउमा मलम लाउनु प्रभुको सुन्दरता।

                      जमिनदार
नघस चिल्लो,पर्दैन मन, बोलेको त्यसरी
मसंग सीधा समस्या राख,ढिलाइ नगरी
कमाई तिर्छौ,कसरी सम्झुँ,ग्यारेन्टी के छ र
राखेर जाऊ,बन्धकी तिम्रो,जमिन र घर।

                     रामे
हजुरकै मर्जी,के राख्नु हुन्छ,जमिन या घर
अहिल्यै दिनुस्,जानुछ झट्टै,लिएर नगद
हरेक मास तनखा थापी पठाइदिनेछु
बर्षदिन भित्र सम्पूर्ण ऋण सकाइदिनेछु।

                       जमिनदार
दुईटै राख,भनेकै थिएँ,तिमीलाई अघि नै
जमिन राख्छु,घरको मूल्य,पर्छ र कति नै
सयकडा पाँच दरले ब्याज तिर्छौ कि तिर्दैनौ
कम्तीमा हुन्न,इच्छा हो तिम्रो,लान्छौ कि लाँदैनौ?

                     रामे
पत्थर खोज्दा देउतै मिल्यो,आभार हजुर
हजुरको बात जायज लाग्यो,छ मेरो मञ्जुर
तमसुक लेख्नु,लाइदिन्छु ल्याप्चे,अबेर नगरी
विश्वास गर्नुस्,लगेको ऋण तिर्नेछु जसरी।

                 जमिनदार
बर्षमा तिर्न सकेनौ भने जमिन फच्चिन्छ
नाघेर म्याद,तिरेमा पैसा,दोब्बर कस्सिन्छ
जबरजस्ती दिएको छैन,तिम्रो नै मर्जीले
लगाऊ ल्याप्चे,यो कागजमा,दलेर मसीले।

                   रामे
हजुरको गुन,बिर्सने छैन,जीवनमा कहिल्यै
सेवामा हाजिर हुनेछु सत्य,डाकेमा जहिल्यै
जहानलाई नभन्नु केही,नमाग्नु रकम
पठाए मैले,आउनेछिन् तिर्न,लिएर रकम।

                  जमिनदार
राम्ररी जाऊ,कमाउ पैसा,पठाउ मलाई
यो भन्दा बढी के गर्न सक्छु,भन त तँलाई
कहिलेकाही निर्मलालाई सघाउन पठाउनु
श्रीमतीलाई मद्धत गर्न,पर्दैन डराउनु।

                   रामे
नभन्नु प्रभु!नभन्नु त्यसो,पल्लवी छे नानी
पढ्ने र लेख्ने उमेर उनको,आँखाको हो नानी
होइन छोरी,भरोसा मेरो,भविष्य,हो आशा
गर्दिनु माफ,सक्दिनन् खट्न,माफ गर्नु हे राजा!

                     जमिनदार
नमान धन्दा,समस्या परे,मलाई सम्झिनु
चाहिए पैसा,सापटी लिन,मसंग भन्दिनु
लिएर जाऊ,रुपियाँ लाख,एकमुष्ट अहिले
हिसाब गरौं साँवा र ब्याज,तिर्नेछौ जहिले।

                    रामे
चाहन्छु विदा,अहिले लाई,हे प्रभु!मालिक!
गएर टाढा,गरेर फोन,भैदिन्छु नजिक
जग्गाको पुर्जा हराउँला कतै,राख्दिनु सुरक्षित
हजुरले गर्दा समस्या टर्यो,भएँ म पुलकित।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...