Wednesday, 28 November 2018

कथा र कथाकार

शुरु त गरेकै हो लेख्न जेनतेन-पानामा
सुनौला अक्षर मात्र कसरी बर्साउनु 
नियतिको मसीले लेख्दा
कतै पाना नै मक्किएला जस्तो
कता के नमिले जस्तो,के नपुगे जस्तो
कतै खल्लो,कतै निरस।

लेख्दा-लेख्दै
चित्त नबुझेका पाना च्यातेर फाल्छु
नसुहाएका अक्षर मेटेर अर्को थप्छु
एउटै रङको हुन्न
कहिले कालो,कहिले निलो,पहेंलो.....
सकेसम्म त इन्द्रेणीमय बनाउने चेष्टा गर्छु
त्यतिनैबेला कालो मेघ आएर डाहा गर्छ।

लेखनलाई हावाको गतिसंग दौडाउँछु
रविको रोशनी सापटी लिएर पाना सुकाउँछु
कहिले सुखद त कहिले दु:खद शब्द जोड्छु
कहिले वसन्तको पालुवा बीच
कहिले शिशिरको पतझडसंग हातेमालो गर्दै
लेखिरहन्छु-निरन्तर -निरन्तर।

अनुच्छेदका कैयौं मोडहरु छिचोल्दै
हिंडिरहन्छन् अक्षरहरु ताँती लाएर
कतै पानाहरुमा रेखाका पुलहरु भत्किएका हुन्छन्
कतै सतह नमिलेका डाँडाकाँडा भेटिन्छन्
एक पानापछि अर्को पानाको पहाड आउँछ
उकाली-ओराली गर्दै कलम दौडिरहन्छ।

आवश्यकतानुसार अन्य पात्रहरु जन्मिन्छन्
कति पात्रहरु क्षणिक हुन्छन्
एकादुई मात्र दीर्घकालीन हुन्छन्
बेला-बेलामा कथामा ट्वीस्ट ल्याउन मनलाग्छ
कतिखेर थाहै नपाई अर्कै मोड लिइसकेको हुन्छ
कैयौं दिन/रातहरु छिचोल्दै बगिरहन्छ.....।

जिन्दगीको कथा लेख्दा-लेख्दै
निकै लामो भैसकेको हुन्छ
शुरुको जस्तो रोचक हुँदैन
अक्षरहरुलाई बुढेसकालले छुन्छ
कलमका आँखाहरु उस्तै तेजिला हुँदैनन्
क्रमशः धुमिल-धुमिल हुँदै जान्छन्
कथा आफैंमा बोझिलो बन्न थाल्छ
पट्यारलाग्दो हुँदै जान्छ
कथाका पाठकहरु घट्दै जान्छन्।

यसर्थ कथा फितलो हुनु अगावै
रोचक हुँदै
पठनीय हुँदै
बीचैमा टुंग्याउन मन लाग्छ
तर जिन्दगीको कथा आफूले लेखेर नहुँदोरहेछ
जिन्दगी त एउटा पात्र न रहेछ
कथा त माथिबाटै लेखिएको हुनेरहेछ
कथाकार त अर्कै हुनेरहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...