Saturday, 17 November 2018

क्रान्तिकारी समय

प्रत्येक सासमा गन्हाउँछ-कपटपूर्ण गन्ध
प्रत्येक गाँसमा नाच्छन्-जालीझेली सिताहरु
प्रत्येक दृष्टिकोणमा देखिन्छन्-रणनैतिक दृष्य
प्रत्येक घुट्कोमा मिसिएको हुन्छ-नाराका बाछिटा।

प्रत्येक अक्षरले आव्हान गर्छ-विद्रोह
प्रत्येक शब्दले बोलेको हुन्छ-विरोधको भाषा
प्रत्येक वाक्यले उद्घोष गर्छ-आन्दोलन
कलममा भर्न खोजिन्छ-रगतको मसी
प्रत्येक पानामा लेखिन्छ-हिंसात्मक इतिहास।

वर्णमालाको रुप र प्रकार फेरिएको छ
प्रयोजन फेरिएको छ
अनौपचारिक कक्षाबाट सिकिरहेछन् विद्यार्थीहरु
क बाट कमरेड
ग बाट गणतन्त्र
छ बाट छल
भ बाट भागबन्डा
र बाट रणभूमि
ल बाट लफडा
ह बाट हमला।

प्रत्येक सामानमा मिसाइन्छ-शंका
विश्वासमा पनि मिसाइन्न विश्वास।

प्रत्येक पदचापमा देखिन्छ-होडबाजीको संकेत
प्रत्येक पाइलामा चल्छ-राजनैतिक चेसको चाल
प्रत्येक कृयाकलापमा पाक्छ-खिचडी।

समय साँच्चिकै क्रान्तिकारी भैसकेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...