Friday, 30 November 2018

बेरोजगार-१८

                रामे
फोनको दर महंगो पर्छ,ब्यालेन्स सकियो
बोलौंला पछि,आजको लागि यतिनै गरियो
समस्या केही परेको बेला,हान्दिनु मिस्कल
साहुलाई भनी ब्यालेन्स हाली गर्नेछु म कल।

                   दृश्य चित्रण
सानीको मन भएर छोड्छ तितरवितर
अधुरै रह्यो खुलेर बोल्ने,मनको रहर
चुँडिए जस्तो लाग्दछ मुटु,सम्पर्क टुटेर
बगाउन खोज्छे,सम्पूर्ण व्यथा,धर्धरी रोएर।

दैनिकी सबै बिर्सेर बस्छे गोठ र घरको
निहार्न थाल्छे,मेघको बर्को,क्षितिज परको
प्रेमिका-प्रेमी वियोग हुँदा भएको पल झैं
पातलाई छोडी सलल बग्दै खसेको जल झैं।

शिशिर याममा चरीले छोडी गएको रुख झैं
जिन्दगीलाई सुखले छोडी आएको दु:ख झैं
इन्द्रेणीलाई बादलु आई छेकेको दृश्य झैं
तुफानसंगै चट्याङ मिली गर्जेको दृश्य झैं।

मेटिए जस्तो अधुरो कथा,लेखिंदा लेखिंदै
पोखिए जस्तो देक्चीको पानी,सल्किंदा सल्किंदै
मोडिए जस्तो सुखद पाइला,लम्किंदा लम्किंदै
उज्यालो जून,ग्रहणले खान्छ,चम्किंदा चम्किंदै।

सलाई जीवन,भिजेको बेला,बल्दैन रगेट्दा
केही न केही छुट्टिन्छ कतै सम्पूर्ण समेट्दा
इन्धन सकी,बसेको रोकी,जिन्दगी गाडी झैं
बग्दैन कतै,हलिन्न कति,जमेको पानी झैं।

उत्तिनै खेर सम्झना बग्छ,झर्नाको पानी झैं
निस्किन्छन् धेरै पीडा र व्यथा,अनन्त खानी झैं
उड्दछ याद,गतिमा द्रुत,रकेट भन्दा नि
जल्दछ मुटु,लागेको आगो,सकेट भन्दा नि।

लाचार बन्छे,विधुवा जस्तै,सिन्दूर पुछेको
जस्तो कि शव,आएर हुल,गिद्धले लुछेको
धाराको पानी,बगेको आँखा,हुँदैन पुछेको
भुइँमा हेर्दा, लाग्दछ माटो,आँशुले मुछेको।

बतास-मेघ मिलेर नाच्छन् त्यहाँको गगनमा
चट्याङ बज्री चिरिन्छन् रुख,लेकको जंगलमा
बर्सिन्छन् थोपा,निर्मम हुँदै,सानीको शरीरमा
जसरी हुन्छ,उनको मन ,बर्सिंदा तक्दीरमा।

निर्मला पनि आएकी हुन्छे,निथ्रुक्कै भिजेर
हतास हुँदै उठाइदिन्छे,हालत देखेर
हराए जस्तो लाग्दछ होस,मौनता नियाल्दा
लत्रक्कै पर्छे,मात्तिए जस्तो,नानीले सम्हाल्दा।

               निर्मला
बोल्नु न आमा!तपाईं लाई के भयो अचानक
जीवन हाम्रो,फिलिम जस्तै,लाग्दैछ कथानक
बेहोसै हुने गरेर कसले के कुरा सुनायो
पक्षघात होला,नसक्ला उठ्न,यो मन डरायो।

               सानी
ठि ई कै छु म,न ड रा ति मी,के ही भा छ ई न
ब अ बा सं ग,कु उ रा ग र् न,प अ को छ ई न
कु रा त भ यो,भ ने को ज ति,ग र न पा ई न
भन् नु उ थि यो,क ति इ क ति,भ न अ स किन।

               निर्मला
नमान्नु पीर,आउनेछ पुन:,बाबाको फोन त
फाइदा छैन,हुँदैन केही ,तड्पेर फगत
हिंड्नुहोस् भित्र,समाई मलाई,बिस्तारै-बिस्तारै
जिउन एक्लै,अवश्य हुन्छ,शुरुमा अप्ठ्यारै।

             सानी
महत्वपूर्ण,भन्नुथ्यो कुरो,भन्न नै बिर्सेछु
त्यतिका धेरै बोलेर पनि नभनी मरेछु
कहिले फेरि,आउँला फोन,केही त भर छैन
भनेको बेला,कोसिस गर्दा,फोन नै लाग्दैन।

             निर्मला
महत्वपूर्ण के कुरा होला,नभनी नहुने
गरौंला पछि,अहिल्यै किन,नगरी नहुने
आँतिनु हुन्न,संयम भई,रहनु पर्दछ
अप्ठ्यारो पल,निर्भीक बनी,सहनु पर्दछ।

            सानी
लाग्दैछ मलाई शतप्रतिशत दोजिया भए झैं
दुईमास देखि महिनावारी लाग्दैन गए झैं
नपाए यदि,तत्काल भन्न,हुनेछ मुश्किल
नभने सम्म,कदापि हुन्न,सन्तुष्ट यो दिल।

             निर्मला
महिना पश्चात् यकिन होला,दोजिया छ छैन
खुशीको कुरा लाग्दछ मलाई,डराउनु पर्दैन
बहिनी-भाइ जे भए पनि हुनेछु म खुशी
थिएँ म आधा,अहिलेसम्म,हुनेछु म झुसी।

                सानी
सम्झायौ छोरी!बुझायौ यति,ढुक्क छु अहिले
भन्नेछु सबै,बाबाको फोन,आउँछ जहिले
बाबालाई भन्नु,पहिले पर्छ,अरुलाई नभन
सखा र सखी,स्कुलमा तिम्रो,कसैलाई नभन।

              दृश्य चित्रण
सुनेकी हुन्छे,रमाले कुरा,छोरी र आमाको
नदिई थाहा,फर्केर जान्छे,गरे झैं नआ'को
मनमा स्वार्थ,थाल्दछिन् बुन्न,अनेक किसिमको
अतीत सम्झी,खोज्दछे लिन,बदला पिरिमको।

समय कुनै,पराउँथिन् मन,रामेलाई रमाले
पछ्याउने गर्थिन्व्यवहार गर्थिन्,सदैव मायाले
साथीको रुपमा हेरेको थियो रामेले केवल
रमाले दिलमा राखेकी थिई,हमेसा हरपल।

एउटै स्कुल,क्याम्पस एकै,हिंडाइ सं-संगै
प्रेममा भा'को भ्रममा परी उडेकी ऊ चंगै
एकतर्फी माया बगेको थियो,भएर किनार
मानेकी थिइन्,साथीलाई उनले,सर्वस्व,संसार।

दिवस-प्रेम,पारेर मौका,राखेकी प्रस्ताव
अस्वीकार गर्यो,रामेले तव,नराखी झुकाव
अधिक रोईन्,विह्वल हुँदै,महिनौं दिनसम्म
विलौना गरिन्,तड्पेर हदै,उनीले अचम्म।

रामेको हिया,पग्लेन जति,गुहार गरे नि
"अंगाल" भनी तारनतार पाउमा परे नि
हरेश खाई,बाटोमा आफ्नै,लागेथिन् अन्ततः
"हमेसा माया गरिरहन्छु" भनेथिन् भन्नत।

अहिलेसम्म यत्तिकै बसिन्,विवाह नगरी
दर्जनौं आए,फर्काइदिए,मन नै नपरी
पगली जस्तै भएकी थिइन्,महिनौं महिना
भोकभोकै बसिन्,कति त उनी,न खाना,न पिना।

रामेले सानी विवाह गर्यो,मागेर धुमधाम
विहेमा पनि आईनन् उनी,भएर गुमनाम
झुन्डिई मर्न,खोजेकी थिइन्,त्यो आफ्नै घरमा
भाइले देखी बचाए पछि,बाँच्दैछिन् करमा।

                 

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...