Saturday, 3 November 2018

आरनमा आऊ

आऊ मेरो आरनमा
म उध्याइदिनेछु-तिम्रो भुत्ते मानसिकता
हटाइदिनेछु-खिया लागेको चेतना
जलाइदिनेछु-विभेदपूर्ण बिचार।

आऊ मेरो आरनमा
जहाँ यस्तो हतियार बनाइदिनेछु,
जसले काट्न सकोस्-कुरीतिका जराहरु
फाँड्न सकोस्-जडसुत्रवादका हाँगाहरु
ताछ्न सकोस्-यथास्थितीवादका बोक्राहरु
चिर्न सकोस्-भ्रमका पर्दाहरु!

आऊ मेरो आरनमा
यस्तो खुकुरी बनाइदिनेछु-आवाजको
जसले हत्या,हिंसा,काटमार गर्ने छैन
जसले मात्र पहिचान दिन्छ-वीरताको
चिनाउँछ-साहसी नेपालीलाई विश्वमाझ।

आऊ मेरो आरनमा
खोलिदिनेछु-बन्द भएको बुद्धिको ढकनी
टालिदिनेछु-चुहिरहेका मनका भाँडाकुँडाहरु
जोडिदिनेछु-टुक्रिएका/टुक्राइएका जातहरु
उठाइदिनेछु-कुचिएका/कुच्याइएका जातिय सतह।

आऊ मेरो आरनमा
कि त मलाई त्यतै बोलाऊ
उघारिदिनेछु-खुल्न नसकेको मन्दिरको ढोका।

आऊ मेरो आरनमा
भौतिक अस्त्र लिएर हैन,
बैचारिक अस्त्र लिएर आऊ मर्मत गर्न।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...