आम पृथ्वीबासीहरु!
आउनुस्,तोडौं यी भौगोलिक सिमानाहरु
निर्माण गरौं-एकताको विशाल सेतु
फैलाऔं-प्रेमको सन्जाल!
आऊ मिलेर खडा गरौं
मानवीय दु:ख-सागरबाट पार लाउने जहाज
पसिनाको बुँद-बुँद जम्मा गरेर
बाँधौं अपार सुख-सागर!
प्रेम,सद्भाव र भातृत्वको समायोजन गरी
बनाऔं -घृणा ध्वस्त पार्ने एटम-बम
बनाऔं -रीस,दम्भ र अहंकार मार्ने क्षेप्यास्त्र!
इबोलाको औषधि पत्ता लाए जस्तै
कुष्टरोग,क्षयरोग र क्यान्सरको औषधि पत्ता लाए जस्तै
बायो-केमिस्टहरु मिलेर पत्ता लगाऔं-
"हिंसा" नामको महामारी खत्तम पार्ने औषधि।
निष्क्रिय बनाइदिउँ ती- भौतिक,रासायनिक,आणविक हतियारहरु
यिनीहरू विकास हैन विनाशका साधन हुन्
ए मनुष्य!किन खनिरहेछौ आफैं पस्ने खाडल?
के मृत्युलाई जित्ने कुनै हतियार छ?
विघटन गरिदिउँ -सबै सेनाहरु
दागबत्ती दिउँ- सबै अस्त्रहरुलाई
सती पठाइदिउँ -शंका र अविश्वासलाई
विश्वास र समझदारीका सिमेन्ट-इँटाहरु जोडेर
एउटै समाधि बनाएर न्वारान गरौं-"शान्ति"।
आओ डाक्टरहरु!
उपचार गरौं सिकिस्त पृथ्वीको
स्नेहको सलाइन चढाऔं
ममताको ट्याब्लेट खुवाऔं
भाइचाराको सुई लगाऔं।
आऊ पृथ्वीबासीहरु!
संकीर्ण मानसिकतालाई भड्खारोमा दफन गरी
व्यापकताको ब्रम्हाण्डमा
प्रक्षेपण गरौं मानवताको यान।
No comments:
Post a Comment