औंशीको रात्रीकालीन प्रहर।उल्लासमय तिहारको महामेला लागेको छ।घर-घरमा दीप प्रज्वलन गरेर लक्ष्मीको आगमनको लागि स्वागत गर्नुको साथै आफ्ना कष्टहरुलाई दागबत्ती दिइरहेका छन् देशबासीहरु।अवकाशप्राप्त मेजर उमेशको घरमा पनि त्यस्तै माहोल छ।भैलीहरु गाजाबाजाका साथ मनोरञ्जनको मैदानमा उत्रेका छन्।
"भैलिनी आए आँगन........।"
भट्याउन छोडेर तीनजना संगीहरु कम्मर मर्काएर नृत्य गर्न थाल्छन्।
"ए पहिलो नम्बरमा......"
भैलिनीका साथमा भैलोहरु पनि गितार,मादल लिएर हिंडेका छन्।मेजरकी छोरी अनामिका नाङ्लोमा फूल,अक्षता र दियोको साथमा सेलरोटी र दक्षिणा लिएर बाहिर निस्किन्छिन्।
कोही केटाहरु पटाका पटटट....पड्काइरहेका छन्।पटकाको ध्वनि-तरंगहरु मेजरका कानका पहरामा ठोक्किन्छन्।पटकाको आवाजले उसलाई गोलीको आवाजको आभास दिलाउँछ।ऊ एक्कासी झस्किन्छ।मुटुका भल्भहरु उग्रगतिमा रक्तसञ्चार गर्न थाल्छन्।स्पन्दनहरु तेज हुन्छन्।छातीको देब्रे पाटोमा चस्किन्छ।हृदयघात होला झैं हुन्छ।अतीतका पानाका राता अक्षरहरु उसकै आँखालाई गिज्याउँदै नाच्छन्,सल्बलाउँछन्।
दक्षिणा टिपी भैलीहरु आशिष दिएर आफ्ना गन्तव्यतिर अग्रसर हुन्छन्।छोरी अनामिका भित्र जाँदा मेजरबाबा झोक्राएर बसिरहेको हुन्छ।मानौं,ऊ ठूलै अन्तर्द्धन्दमा फसेको छ।
"बाबा!के भयो हजुरलाई?किन यसरी निन्याउरो भएर बसिरहनुभएको?उठ्नुस्,यता कुर्सीमा बस्नुस्।"
"केही होइन छोरी!"
"नाइँ,केही त भएकै हो।कुरो के हो बाबा?मम्मीको याद आयो हो?मलाई पनि आज मम्मीको याद आएको छ।"
"के भनुँ छोरी!मेरो बिगतले मलाई सुईले जस्तै घोचिरहेको छ।"
"तर मलाई त अहिलेसम्म केही भन्नुभएको छैन त हजुरको अतीतको बारेमा।आज चाहिं नभनी सुख पाउनुहुन्न।"
सुन छोरी!मैले पनि धेरै रोकिराखें यसलाई।तर आज त ज्वालामुखी भएर मेरो मनको कमजोर धरातलबाट बिस्फोट भएरै छोड्यो।कुरो बि.स.२०६० तिरको हो।म भर्खर भर्खर क्याप्टेन भएको थिएँ।मेरो कार्यक्षेत्र दोलखाको जिरी ब्यारेकमा थियो।आन्तरिक गृहयुद्धको चपेटामा फसेर देश जर्जर अवस्थामा गुज्रिरहेको थियो।संकटकाल घोषणा गरिएको अवस्थामा बेला-बेलामा बिकट गाउँहरूमा गस्ती गैरहनुपर्थ्यो।
गस्तीकै शिलशिलामा त्यो दिन मेरो नेतृत्वमा जिरीदेखि माली,श्यामा हुँदै रामेछापतिर प्रस्थान गर्यौं।८० जना सेनाहरु ४०/४० जनाको दुई समूह बनाएर जंगलकै बाटोमा थिए भने हामी १० जना मात्र सर्वसाधारण हिंड्ने बाटोमा थियौं।बाटोमा भेटिने बटुवाहरुसंग सोधपुछ गर्दै हिंड्यौं।क्रान्तिक्रारीहरुको बारेमा कसैले पोल नखोले पनि उनीहरुको मनोबिज्ञान बुझ्दा पक्कै कतै न कतै उनीहरुको चहलपहल थियो भनेर बुझ्न गाह्राे भएन।
बिहानको करीब १० बजेतिर रामेछापको गर्जाङ्ग स्थित खरानीटारमा पाल टाँगेर बसिरहेका थियौं।रेडियो टेट्राबाट दुई टोलीका सहायक सेनानीहरुलाई सतर्क गराउँदै थिएँ।जंगलमा हिंड्नेहरुसंग खुल्ला मैदानमा बसेर लडाइँ लड्न सकिन्न भन्ने मेरो मान्यता थियो।त्यसैले देखावटी रुपमा हामी १० जना मात्र मैदानमा थियौं।त्यहाँको माहोल बुझ्न जंगलमा भएका सेनाहरुलाई १०/१० मिनेटको अन्तरमा दुई हवाइफायर गर्न लगाएँ।सायद क्रान्तिकारीहरुले पनि चाल पाइसकेका थिए हाम्रो उपस्थितीको बारेमा।सुराकीको आधारमा सेना पक्षको १० जना मात्र पाल टाँगेर बसेको खबर पाएको हुनुपर्छ।
केहीबेरमा कोकोहोलो मच्चाउँदै उनीहरू हामीलाई घेर्न थाले।
"गोली चलाउनै पर्दैन कमरेड!यति जाबोलाई त समाएरै घोक्रेठ्याक लाईन्छ।काट्नुपर्छ भाडाका टट्टूहरुलाई।"
उनीहरू भ्रममा परेको कुरा सहजै अनुमान लगाएँ।सहायक सेनानीहरुसंग टेट्राबाट सोधपुछ गरें।
"टाङ्गो-०१,टाङ्गो ०२!उनीहरू कतिजना जति होलान्,कुनै अनुमान?"
"सर,करीब १५०० को हाराहारीमा हुनुपर्छ।याक्सन लिंदा भो हैन?"
"Wait,wait my order."
"Copy sir copy."
नभन्दै उनीहरू चिच्याउँदै नजिक-नजिक आउन थाले।
"हान सालेहरुलाई!"
"पटटट.....................।"
शुरूवात उतैबाट भयो।मैले पनि प्रतिकारमा उत्रन आदेश दिएँ।उनीहरुले हामी १० जनालाई घेरा हाले।हाम्रा ८० जनाले उनीहरुलाई घेरा हाले।उनीहरुको उपस्थिती बाक्लो थियो।हाम्रो पातलो-निकै लामो-लामो दूरीमा।दोहोरो भिडन्त भयो।बमगोला,गोली र गृनेटका तीखा आवाजले गर्जाङ्ग कोलाहलमय हुँदै थियो।स्कुलको हाताबाट पनि प्रहार गर्दै थिए कोहीले।तर मैले आदेश दिएँ-
"No fire in school premises."
करीब दुई घण्टाको अन्तरालपछि हाम्रोपट्टीको गोली-गट्ठा सकिन लागिसकेको थियो।ब्यारेकमा सम्पर्क गरेर थप गोली मगाएँ।एक घण्टापछि हाम्रो सेनाको हेलिकप्टर आयो।थप सेना र गोलीगट्ठा पठाएछन्।हामी मजबुत भयौं।सायद उनीहरुको गोली रित्तिन लागेका थिए।हाम्रो हेलिकप्टर देखेर होला,उनीहरुको हिम्मत मत्थर हुँदै थियो।आकलझुकुल मात्र फायर गर्न थाले।हाम्रो भने तीव्रता उस्तै कायम थियो।केही सीप नलागेपछि उनीहरू हताहत भए।घाइते साथीहरुलाई काँधमा बोकेर उकालो लागे।
धेरै जना रणभूमिमै कहिल्यै नउठ्ने गरी ढलिसकेका थिए।हाम्रो पट्टी पनि केही सेनाहरुले सहादत प्राप्त गरिसकेका थिए।
युद्धपछिको सन्नाटा/स्तब्धता निकै कारुणिक र विरक्तिलो हुनेरहेछ।कता-कता स्कुले केटाकेटीको आर्तनादले विह्वल बनाइरहेको थियो पर्यावरणलाई।केहीबेरको पर्खाइपछि युद्धस्थल अवलोकन र परिक्षण गर्न थाल्यौं।नेपाल आमाका सन्ततिको रगतले गर्जाङ्ग बिक्षिप्तै रंगिएको अवस्था।ती शवका श्रीमतीहरुलाई के थाहा-उनीहरुका सिउँदा उजाडिसकेका छन्,पखालिने क्रममा छन् भनेर।आफ्नै हातबाट आफ्नै दाजुभाइ-दिदीबहिनीहरुको निर्मम हत्या गरेर आफ्नै आँखाले तिनीहरुका बिभत्स दृश्य देखेर मन धर्धरी रोइरहेको थियो।कठै कस्तो बिडम्बना!कोहीलाई निधारमा लागेको।कोहीलाई पिठ्युँमा।कोहीलाई छातीमा।कोहीलाई कन्चटमा।कोहीका हातै थिएनन्।कसैका खुट्टा चुँडिएका।सेनाहरुको पनि हालत उस्तै।फरक यति थियो कि उनीहरुको धेरै क्षति र हाम्रो कम।आखिर जसको भएपनि क्षति हाम्रै थियो।नेपालीकै थियो।दुश्मनको ज्यान लिएर पनि कति खुशी थिएन-मन।
सबैभन्दा धेरै मन त त्यतिबेला रोयो,जतिबेला एउटा कहालीलाग्दो दृश्य देखें।एउटी अर्धबैशे आइमाई नमतन्न लडिरहेकी।भकभकी रगत उम्लिरहेको थियो छातीबाट।पानीको मूल जस्तै।खाकी बर्दी लाएकी।अनुहार हेर्दा मंगोलिन।संगै एउटा बच्चा काखमा खेलिरहेको।ज्युँदै,सकुशल।अन्दाजी एक बर्षको।आमासंगै उसले पनि मुक्तिको लडाइँमा भाग लिएको रहेछ।तर बिडम्बना!आमाको अन्तिम सास गएपछि प्यास लागेर स्तनपानको लागि स्तन खोज्दा भेटिएन क्यारे।मृत आमाको छातीबाट उम्लिरहेको आलो रगत पिएर मुख रातै बनाएको रहेछ।मलाई देखेर पुनः ऊ आमाको छातीमा टाँसिएर रगत पिउन थाल्यो।उसलाई कुनै खेद थिएन।कुनै बिछोडको संकेत थिएन।हुनपनि अबोध बच्चालाई के थाहा?बश उसलाई आमाबाट प्यास मेट्न पाए भो।उनले चलाएको राइफल नजिकै निंदाइरहेको थियो।काँधमा एउटा झोला रहेछ।झोला खोलेर खोतलखातल पारें।एउटा रङ उड्न लागेको पुरानो डायरी रहेछ।निकै सफा अक्षरमा लेखिएको रहेछ।त्यसलाई मैले आफ्नो गोजीमा राखें।
युद्धको समाप्तीसंगै वेदनाको पोको छातीमा राखेर ब्यारेक फर्कियो।त्यो घटनाले धेरै मर्माहत बनायो।बिक्षिप्त बनायो।पछि कुनै दिन समय मिलाएर उनको डायरी पल्टाएँ।
२०५४|०८|१२
आज म अनेमा संघ क्रान्तिकारीको दोलखा जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिएँ।थप जिम्मेवारी बढेको छ।बिकट गाउँका स्कुलहरुमा गएर संगठन बिस्तार गर्ने अठोट।
२०५४|११|२७
जुँगुमा भएको आजको भेला अर्थपूर्ण रह्यो।पार्टीको जिल्ला कमिटीको अध्यक्ष "चट्याङ"को भाषण आक्रमक।सचीव "आँधी"को कार्यक्रम सञ्चालन शानदार।जनवादी कलाकारका गीत र नाचहरु उर्जाशील।
"ए शोषक गाउँ छोड,सत्ता हाम्रो ठाउँ छोड" गीत सबैभन्दा शसक्त।
२०५५|०१|१४
सेना आएर थर्काए।माओवादीको कार्यकर्ता भनेर तथानाम गाली दिए।कञ्चट तातिएर आएको थियो।तर के गर्नु,धेरै बोले गोली ठोक्न सक्थे।चुप बस्नुमै भलाइ थियो।
२०५५|०९|०२
आतंककारी भएको अभियोगमा घरबाटै गिरफ्तार भएँ।चौकीमा लगेर निर्घात कुटपिट गरे।प्रहरीको ज्यादतीले बन्दुक समाउन प्रेरित गरेको छ।नीलडाम लिएर फर्केकी छु।परिस्थितीले सोचमग्न बनाएको छ।
२०५६|०३|०५
कमरेड चट्याङले अब पार्टीको लागि योगदान दिने बेला आएको बताए।सही समय र मौका भएको कुरामा जिकिर गरे।कुरा ठिकै लाग्यो।शोषित/पीडितको लागि केही गर्ने चेत पलाएको अवस्था।
२०५६|०४|११
आजबाट विधिवत रुपमा मालेमाको सदस्य भएकी छु।राइफल भिरेर दुश्मनको सामना गर्दै मुक्तिको प्रगतिशील पथमा अग्रसर भएकी छु।जीवन-मरणको लडाइँमा सरिक भएकी छु।सम्पूर्ण कमरेड र मालेमावादलाई लालसलाम!साथै परिचय फेरिएको छ।नाम फेरिएको छ-कमरेड "ज्वाला"।
२०५६|०७|०१
शैलुङमा भएको शसस्त्र तालिम समापन भएसंगै नयाँ अनुभव र उर्जा मिलेको छ।समग्रमा तालिम अर्थपूर्ण रह्यो मेरो लागि।
२०५७|०६|०२३
जनसेनाको एरिया कमान्डर नियुक्त हुँदा खुशीको सीमा रहेन।मेरो क्षमता र कामको सही मूल्यांकन गरेर यो जिम्मेवारी सुम्पेकोमा पार्टी प्रति आभारी छु।स्वयं सचेत र सक्रिय भएर जनसेनालाई मार्गनिर्देश गर्नुछ।
२०५७|०७|१०
एरिया सह-इन्चार्ज "अग्नि"संग आगामी रणनीतिको बारेमा बृहत छलफल।हाम्रो राय लगभग मिल्दाजुल्दा पाएर म विलखबन्दमा परें।अझ म भन्दा पुरानो भएकोले अनुभवी र दक्ष रहेछ।इन्चार्ज उसलाई बनाउनुपर्ने थियो जस्तो लागेको अवस्था।
२०५७|०८|०९
अग्नि र म असल सहयात्री थियौं।तर आज जे भो,यसबाट म लज्जित छु।सहयात्री मात्र रहेनौं हामी।त्यो भन्दा माथिल्लो तहमा पुग्यौं।सेल्टर र खानपिनको उपलब्धतालाई मध्यनजर राख्दै २/२,३/३ जना छुट्टिएर गयौं।म कमरेड अग्निसंग परें।सुत्ने बेड एउटै थियो।संगै सुत्नुपर्ने बाध्यता आइलाग्यो।त्यसपछि नहुनुपर्ने भयो।
२०५८|०१|०१
आजको दिन सबैभन्दा बिशेष।हाम्रो प्रेम सम्बन्धको बारेमा पार्टीले थाहा पाएकोले जनवादी विवाह गरिदियो।म अत्यन्तै खुशी छु-अग्नि जस्तो जीवनसाथी पाएर।
२०५८|०८|१०
सोलुको आक्रमण-धेरै क्षति-केही प्राप्ति।अत्यन्तै मर्माहत भएका छौं।कति जना जनसेना मारिए,कति शाहीसेना मारिए,कुनै लेखाजोखा छैन।मेरो बायाँ हातमा गोली लागेको छ।कमरेड अग्निको साथ-सहयोग स्रहानीय छ।
२०५९|०२|२२
आज म बिछट्टै खुशी छु।हामी बा-आमा बन्दै गरेको कुरा अवगत भएर यो खुशीलाई शब्दमा ब्यक्त गर्न सकिरहेकी छैन।
२०५९|१०|१२
आज एउटी छोरी,एउटी श्रीमतीबाट आमा बन्ने सौभाग्य प्राप्त भएको छ।छोरी पाएर धन्य भयौं।छोरीको नाम "अन्जु" नामाकरण गरियो।थप जिम्मेवारी बढेको छ।
२०६०|०४|३२
हे भगवान!यो के भयो आज!मेरो सिउँदोको सजिने भाग्य रहेनछ।अनायासै पखालियो।अग्नि!यो के भयो तपाईंलाई?हामीलाई बचाएर आफू मात्र जानुभयो।सरकार र बिद्रोहीको वार्ता भैरहेकै बेलामा कायरतापूर्वक सम्झौता उल्लंघन गरेर अग्नि लगायत २२ जना कमरेडहरुलाई नि:शस्त्र अवस्थामा क्रूरतापूर्वक हत्या गरियो।आमा-छोरीलाई माओवादी जस्तो नलागेर वास्ता गरिएन।नत्र हामी पनि सकिन्थ्यौं।कम्ब्याट ड्रेस फुकालेर कुर्ता लाऊ भनेर अग्निले नसिकाउनुभएको भए?सम्पूर्ण शहिदहरुलाई लालसलाम!
तर सहन सकिरहेकी छैन।दोरम्बामा सर्वस्व गुमाएँ।
२०६०|१०|२४
अग्नि!आज तपाईंको यादको तुफान आएर यो मनलाई उथलपुथल बनाएको छ।हाम्रो भेट कहिले होला हगि?हेर्नुस् त हाम्री छोरी कत्रो भाकी छे!देखिरहनुभएको छ?
उनको डायरी पढेर धेरैबेरसम्म मेरा नयनबाट झरना झरिरहे।मैले आफूलाई सम्हाल्नै सकिन।युद्ध जितेर पनि हारें।उनले हारेर पनि जितेकी थिईन्।डायरीका दुईचार पेजहरु खाली नै थिए।त्यो डायरी भरेर अर्को नयाँमा लेख्न शुरु गर्ने उनको रहर त्यहीँ शहिद भयो।उनी बाँचेकी भए सायद अर्को खाली पेजमा यसरी लेख्दिहुन्-
२०६०|१०|२५
आज हाम्रो पार्टीलाई अतुलनीय क्षति पुगेको छ।गर्जाङ्गमा भएको भिडन्तमा सहादत प्राप्त गर्नुभएका शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा लालसलाम!तपाईंहरूको रगतको बदला लिएरै छाड्नेछौं।युद्धबाट थप अनुभव र युद्धकला हासिल गरियो।
"तर उनको त्यसरी लेख्ने धोको अधुरै रह्यो।आजको यो क्षणले मनलाई थप औंशीमय बनायो अनामिका!"
"यी सब सुनेर मलाई पनि साह्रै दु:ख लाग्यो बाबा!अनि बाबा!एउटा कुराको जिज्ञासा उत्पन्न भएको छ।अघिदेखि सोधुँ भनिरहेकी थिएँ।हजुरको कुरा काट्न सकिरहेकी थिईन।"
"सोध न के कुरा?"
"बिचरा,मलाई त त्यो बच्चाको बारेमा चिन्ता लाग्यो।अनि आमा त मरिहालिन्,त्यसपछि त्यो बच्चा कसले लगेर पाल्यो होला त बाबा?"
"यसलाई रहस्यमै रहन दिउँ छोरी।कुनै कुरा रहस्यमै सुहाउँछ।"
"नाइँ बाबा,मलाई भन्नैपर्छ।नत्र म रिसाउँछु।"
"जिद्दी नगर न मेरी प्यारी छोरी!मेजरकी छोरीले जिद्दी गरेको सुहाउन्न क्या!"
"मेजरकी छोरी त झन जिद्दी हुन्छिन् नि।आज हजुरले भन्नैपर्छ।कहाँ होलिन् त्यो बच्ची?अब त ठूली भईन् होली।भेट्न जाऔं न हामी।"
"ल सुन,त्यो बच्चा तिमी नै हौ।अनामिका।अन्जु नै अनामिका हुन्।डायरी संगै तिमीहरु तीनजनाको फोटो पनि रहेछ।ल हेर!"
अनामिका फोटोमा एकोहोरिएर हेर्दै सुस्तरी सुम्सुम्याउँछिन्।
No comments:
Post a Comment