दृश्य चित्रण
साउदी अरब पुगेर गुड्छ रामेको सपना
अत्यन्तै गर्मी हावाले छेड्छ उसको विपना
गरम पानी खन्याए जस्तो शरीर पोल्दछ
पसिना,आँशु मिलेर संगै कहर घोल्दछ।
विमानस्थल बाहिर निस्की नियाली टोलाउँछ
मरुभूमिको उजाड देख्दा झन्झण्डै बौलाउँछ
अनिंदो आँखा प्रतिक्षा गर्छन् आउँला भनेर
दुई घण्टा हुँदा आएन कोही उसलाई भनेर।
तीनघण्टा हुँदा आउँछ कोही अरबी लिनलाई
कोसिस गर्छ इशारा गर्दै पासपोर्ट लिनलाई
मान्दैन उसले शुरुमा झट्टै पासपोर्ट दिनलाई
अन्तत बाध्य भएरै दियो जागिरे हुनलाई।
अरबी बोल्छ मालिक उसको,उसले बुझ्दैन
अंग्रेजी बोल्दा रामेले पनि मालिकले बुझ्दैन
अरब आई पहिलोपटक लाटो झैं भाको छ
पहिलो दिनै नराम्रोसंग हन्डर खाको छ।
चढाई गाडी सरर अब बढ्दछन् अगाडी
कहिले हेर्छ दायाँ र बायाँ कहिले पछाडी
फराक रोड भएर गुड्छ,झलल शहर
भएझैं लाग्छ सपना पूर्ण,सम्पूर्ण रहर।
गगनचुम्बी भवन हेर्दै मख्ख छ ऊ आज
सफलताको लगाए जस्तो शीरमा त्यो ताज
वातानुकूल गाडीमा हुँदा शरीर शित्तल
पुगेको भान हुँदैछ त्यहाँ चौतारी,पिपल।
झकिझकाउ घरमा लान्छ ओराली एक्कासी
पाहुनाकोठा लगेर छोडी बिलाउँछ अरबी
एकैछिनमा मासु र भात अगाडी आउँछ
जीवनशैली त्यहाँको देखी हर्षले छाउँछ।
मनमा अनेक सपना बुन्दै परदेशी हराउँछ
सुखको लोक पुगेर कतै स्वर्गमा भेट्टाउँछ
टनक्कै पेट अघाइसक्दा मालिक देखिन्छ
थपेर खाने?भनेर संकेत दिएको बुझिन्छ।
नखाने भन्दै इशारा बाटै टाउको हल्लाउँछ
खै के-के भन्दै,भाषामा आफ्नै,मालिक कराउँछ
भित्ताको घडी बजाउँछ दश,समय रातको
आदेश दिन्छ,भनेर सुत,सांकेतिक बातको।
इशाराबाटै आग्रह गर्छ फोन गर्छु भनेर
झिकेर दिन्छ,मिनेट केही,उदार बनेर
देशमा बाह्र बजेको हुन्छ,त्यो मध्यरातमा
सुतेकी होली भनेर सानी,लि-बस्छ हातमा।
रामेको हाल देखेर मालिक भटट बोल्दछ
तुरुन्तै गर भनेझैं गरी आवेग खोल्दछ
त्यो प्रतिकृया देखेर रामे,नम्बर खोजेर
थाल्दछ सुन्न,फोनको घण्टी कानमा जोतेर।
रामे
ए सानी!हेल्लो!खबर के छ?त्याँ तिमीहरुको
म पुगिसकें,अहिले यहाँ,साउदी बाट हो
पर्दैन लिनु,तिमीले चिन्ता,ल मेरो बारेमा
गर्नेछु फोन,भोलि या पर्सी,काममा पारेमा।
सानी
आरामै छु म,निर्मला पनि,ख्याल गर्नु हजूर
जोगाई राख्नु,जसरी हुन्छ,त्यो मेरो सिन्दूर
अप्ठ्यारो होला,खै काम पनि,जोगिनु होला है
के गर्नु प्यारा,साहुको ऋण,सम्झिनु होला है।
रामे
खै कस्तो काम पर्ने पो होकी,ठाउँ त राम्रो छ
काममा लागी भन्नेछु प्यारी,सजिलो/गाह्रो छ
बिरानो देश भए नी राम्रो,यादले सताउँछ
तारनतार मनले साह्रै सम्झना दिलाउँछ।
सानी
निर्मला नानी निंदाइसकिन्,बोल्ने कि के गर्ने?
विहान गर्नु,आइन्दा गर्दा,पाइकै नपर्ने
गैसकेपछि हजुर त्यता,निंद नै ला'छैन
विरक्त लाग्छन् दिनहरु पनि,किन हो था'छैन।
रामे
निर्दयी बन्यो,नियति पनि,के गर्नु पियारी
बस्दिनु होला,सम्हाली मन,घरखेत सपारी
सुन्दर होला भविष्य हाम्रो,बिछोड सहेर
हाँस्नेछौं भोलि,आँखामा आज कर्णाली बहेर।
सानी
अत्यन्तै लामो लाग्दैछ रात,के गरी गुजार्छु
कुशल मंगल रहोस भनी भगवान पुकार्छु
कहिलेकाही भगवानलाई गाली पो गर्दिन्छु
गरीब किन बनाईस् भनी बेस्सरी झर्किन्छु।
रामे
गरीब हुनु,भगवान् दोषी,कसरी हुन्छ र
तँ धनी हुनु,गरीब हुनु,भनेर चुन्छ र?
गरीब पनि हुनेछ धनी,पाखुरी चलाए
हुँदैन शुभ,भगवानलाई त्यसरी कराए।
सानी
के गरुँ प्यारा,पर्खिनु कति,पर्ने हो सानीले
अहिल्यै भेटुँ गरायो बाबै!यो कुराकानीले
मरुभूमिमा हजुरलाई व्यर्थैमा पठाएँ
घरमा हुँदा चाहियो के-के भनेर सताएँ।
रामे
आफूलाई दोषी नठान सानी!भाग्यले पठायो
कहिले मिलन,कहिले बिछोड,यसैले गरायो
फोनको पैसा सकायो भनी मालिक रिसायो
चाहन्छु विदा अहिलेलाई,मालिक करायो।
दृश्य चित्रण
सानीको चाह अधुरो हुन्छ,अधिक गफ गर्ने
दुईथोपा मात्र छल्किन्छन् बरै,आँखामा के गर्ने
पहिरो जान्छ,मनमा कठै!विना त्यो बर्षाले
गहिरो चोट,हुँदैन निको,मुखको भाषाले।
किनार तिर छल्किन्छ छाल रामेको आँखाको
मनमै आई खेल्दछ याद भए नि टाढाको
क्या गतिशील हुने हो शिव!यादको तरंग
पहाड फेल भैदिन्छ रोक्न,त्यो रुप त्यो रंग।
मायाको सेतु भएर होला सजिलै जोडिने
तोडिंदा माया सम्बन्ध पनि सजिलै तोडिने
हसाउँछ पलमा,रुवाउँछ पलमा,क्या शक्ति मायाको
लाग्दछ माया,माया झैं लाग्ने अदृश्य छायाँको।
रहेछ हावा,यो माया पनि,नभई नहुने
भएर पनि भौतिक रुपमा,कसैले नछुने
सकेको छैन बनाउन अझै,मायाको मापक
बुझेको छैन कसैले माया-साध्य कि साधन!
त्यो रातभरी लाग्दैन निद्रा,रामे र सानीलाई
सम्झाउन पनि सकेनन् कठै!आँखाको पानीलाई
अनिंदो बसी छर्लङ्ग रात काट्दछन् दुबैले
एकअर्काको हालत पनि बुझेनन् कसैले।
चिया र नास्ता लिएर आउँछ मालिक सखारै
मालिक देखि आभारी हुन्छ,खुशीले ऊ साह्रै
सेवाको भाव देखेर दिल पग्लिन्छ बेस्सरी
भक्कानो फुट्छ,नपाई थाहै,रोइदिन्छ धर्धरी।
रामे(मनमनै)
विदेश आएँ,राम्रो छ ठाउँ,फिर्नेछ सुदिन
तालुमा आलु,जस्तो छ फल्ला,भाग्नेछ कुदिन
दुईसाल बसी,कमाई केही,स्वदेश जानेछु
नानीलाई नाना,सानीलाई चाहिं गहना लानेछु।
लाहुरे भई जान्छु झ्याप्प,गाउँले अगाडी
पहिले जस्तो कसैले पनि पार्दैनन् पछाडी
धेरैको सेखी झार्नुछ मैले,ऐश्वर्य कमाई
थपेर तला,घरको छानो टीनको लगाई।
कुकुरको पनि आउँछ दिन,भन्थे हो रहेछ
देवले आज,गरेर दया,पुकार सुनेछ
बत्तीस इन्चे रंगीन टीभी अवश्य लग्नेछु
अरुको जस्तो रवाफ मैले देखाउन सक्नेछु।
दृश्य चित्रण
भावको डुंगा चढेर रामे पुग्दछ सुदूर
मनको आँगन,जाज्वल्यामान,नौरंगी मयूर
कल्पना शक्ति बढेर पुग्छ सुखको संसार
भएको रित्तो,भरिन्छ टन्न,घरको धनसार।
तत्कालै उसको कल्पना मीठो क्षणमै बिलाउँछ
अरबी अर्को,लिएर जब,मालिक आउँछ
भाषामा आफ्नै,गफिन थाल्छन्,उतिर देखाउँदै
नबुझी कुरा,बस्दछ रामे,एकचित्त टोलाउँदै।
त्यो मान्छेलाई पासपोर्ट पनि थमाउँछ मालिक
अचम्म मानी हेर्दछ रामे ,भए झैं सालिक
निशब्द भई निहार्छ केटो,आश्चर्य भावले
अनुमान् गर्न सक्दैन केही,बिचरा उसले।
असली मालिक,म हैन तिम्रो,यही हो असली
भनेझैं लाग्छ,उसले बुझ्दा,संकेत त्यो पढी
सक्दछ हुन,सायद कतै सारथी,आफन्त
बुझ्दछ उसले,अहिले यति,सोचेर अनन्त।
गाडीमा बस्ने आदेश दिन्छ नुतन मान्छेले
पालना गर्छ बाध्यताबश खुरुरु रामेले
हल्लाई हात,विदाई गर्छ पुरानो मालिक
चिन्तामा डुब्छ,लाने हो कता,भनेर अधिक।
रियाद शहर छोडेर अन्तै मोड्दछ त्यो गाडी
वित्यास पर्छ बिचरालाई आएर त्यो खाडी
सम्झाउन खोज्छ नयाँले तब ढाडस दिएर
अलिक ढुक्क भएर बस्छ,लामो सास लिएर।
रोकेर गाडी पेट्रोलपम्पमा भर्दछ डिजेल
उसको लागि खानेकुरा नि ल्याउँछ किनेर
खबुस-पेप्सी खाएर भोक रामेले मेट्दछ
भरिन्छ पेट,यद्यपि खल्लो स्वादको भेट्दछ।
गफिनलाई मिल्दैन भाषा,लाग्दैन सहज
गर्न त मन छ,कामको बारे अनेक बहस
अनिंदा आँखा थाकेर पनि मान्दैनन् निंदाउन
कठिन हुन्छ,बोझिलो हुन्छ,मिनेट बिताउन।
भनेकै काम,सजिलैसँग पाईन्छ पाईन्न
अप्ठ्यारो काम दिएमा कतै,सकिन्छ सकिन्न
व्याकुल हुन्छ जान्न र बुझ्न कामको बारेमा
अरबी बोल्न आउन्न कसै,हुन्थ्यो नि जानेमा।
अंग्रेजी बोल्छ फटट लाई,अरबी ट्वाँ पर्छ
नलाग्दा सीप,जसरी पनि,बहुत पीर पर्छ
बिरानो देश आउनु अति अप्ठ्यारो रहेछ
स्वदेशै बसी जोतिनु बरु सजिलो रहेछ।
रामे(कल्पना)
काँ लाने होला,के काम देला,जान्नु र कसरी
चलाउँछ गाडी,बोल्दैन केही,लाटोले जसरी
कसरी लागें पशुको हात,हे प्रभु!भन त
ठाउँमै पुगी बुझिन्छ सबै,बिस्तारै हुन त।
मालिक मेरै,सायद होला,डराउनु व्यर्थ छ
पशुको अघि अनेक भनी कराउनु व्यर्थ छ
जे पर्ला पर्ला,समय केही,पर्खेर बस केटा
नआउनु थियो,आइयो अब,फसे नि फस केटा।
भाग्यले साथ दिएमा पक्कै राम्रो नै हुनेछ
सालमा केही,सफलताले सगर छुनेछ
पाउन केही,गुमाउनुपर्छ केही न केही त
बढी न बढी अप्ठ्यारो होला,सहुँला त्यति त।
जोरीपारीको मुखमा बुजो हाल्नुछ आफूले
दु:खलाई मोडी सुखको दियो बाल्नुछ आफूले
अभाव हुँदा सबैले हेप्छन्,धेरै छु सहेको
हिसाब छैन,यी आँखाबाट,आँशु छ बहेको।
भविष्य पनि चम्काउनुछ निर्मला नानीको
गर्नुछ पूर्ण,अधुरा भा'का सपना सानीको
एउटा रोई,हाँस्नेछन् दुई,किन पो नरुनु
दास नै सही,सप्रन्छ घर,किन पो नहुनु?
दृश्य चित्रण
नौं घण्टापछि भव्य र ठूलो पुगिन्छ शहर
गन्तव्य त्यहीँ ठानेर छाउँछ खुशीको लहर
त्यो खुशी पनि नभई पूर्ण,त्यत्तिकै बिलाउँछ
बजार पनि छिचोलिकन अगाडी चलाउँछ।
निर्जन ठाउँ आउँदै जान्छ क्रमशः क्रमशः
साँघुरो हुँदै खुम्चिछ रोड क्रमशः क्रमशः
देखिन्न घर एउटा पनि,कहालीलाग्दो छ
गाडीको झ्याल खोलेर हेर्दा बहुतै तातो छ।
हरित कत्ति देखिन्न कठै!यो मरुभूमिमा
एक्कासी ग्रहण लागेको हुन्छ यो जिन्दगानीमा
अपहरण गरेझैं लाग्छ,नाइके खुंखारले
मार्ला कि कतै,घाँटीमा हानी,धारिलो तरवारले।
झमक्क रात परिरहेछ, गाडी छ गुडेको
कर्मको थलो नियाल्दै गर्दा आँखा छ दुखेको
व्यग्रतासंगै हुईंकिंदा अझै छैन छ पुगेको
शरीर पनि अररो भा'छ,मुख छ सुकेको।
गाडीको गति भैदिन्छ द्रुत,रातको अँधेरी
सन्नाटा हुन्छ,चिहान जस्तो,बेहाल हत्तेरी
हतास हुन्छ,परदेशी नर,हालत देखेर
अरबी भने मुस्कुराउँछ पुलुक्क हेरेर।
मार्गमा यौटा होटलभित्र लिएर गईन्छ
अघाउन्जेल मासु र भात टनक्क खाईन्छ
नेपाली खाना खाए झैं लाग्छ विदेशी भूमिमा
खानेबित्तिकै आदेश आउँछ,बस्नलाई गाडीमा।
No comments:
Post a Comment