Friday, 23 November 2018

बेरोजगार-१७

                  दृश्य चित्रण
आभास हुन्छ,मुटुको टुक्रा अलग भए झैं
आँखाको नानी सदाको लागि निस्केर गए झैं
देखिन्न केही,देखिन्छ मात्र अँध्यारो संसार
गए झैं लाग्छ उज्यालो पनि अन्यत्रै सवार।

आजको सूर्य उसको लागि दुश्मन भा'को छ
मनको सूर्य भर्खर मात्र स्वदेश गा'को छ
अनकन्टार भूमिमा एक्लै ठिङ्ग छ उभेको
जसरी यौटी नारीलाई हुन्छ,इज्जत लुटेको।

पुगेको जस्तो लाग्दैछ आज नूतन ग्रहमा
सोचेर दह हुँदैछ जम्मा आँखाको गहमा
उर्लेर आउँछन् मनमा छाल,कसलाई छल्काउने
कहानीहरु आएर नाच्छन्,कसलाई सुनाउने?

चन्द्रमा पनि निर्जन होला,यहाँको भूमि झैं
बैज्ञानिकहरु गरेर हत्ते,किन पो जान्छन् खै
सुनको हात्ती चढेर यहाँ कसले देख्नु र
मनको उसको अनौठो व्यथा कसले लेख्नु र?

छोडेर खित्का हाँसेर हाँसो,कसले सुन्नु र
छोडेर डाँको रोएर आँशु,कसले पुछ्नु र
मसिना खाना खोसेर खाने कोही त भए पो
प्रीतिको बाग घुमाउन लाने कोही त भए पो!

एकलकाँटे जिन्दगी पनि के हो र जिन्दगी
लाग्दैछ आज,लागेको खोटो,मोहोर जिन्दगी
बालुवा भित्र गर्दैछ ओहोर-,दोहोर जिन्दगी
डस्टबिन भित्र भएको जम्मा,फोहोर जिन्दगी।

ऊँठ नै साथी,भेडा नै साथी,गधा नै साथी भो
सुनाउनुपर्दा कथा र व्यथा कसले बुझ्ने हो
निलेर बस्छन् घाँस र पानी,अरु क्यै चाहिन्न
रामेको नाम निकाली बोल्ने,अरु क्वै पाईन्न।

विहानी कर्म सकेर रामे झुप्रोमा छिर्दछ
थकित ज्यान लिएर ड्याङ्गै भुइँमा गिर्दछ
दाउरा जोडी बालेर आगो,पकाउँछ मुसुर
खबुस बासी,तताइ खान्छ,भएर सुँगुर।

गाँसमा चौंथो,आउँछ उल्टी,छिर्दैन खबुस
बिकल्प केही,भेटिन्न कतै,खाली छ सन्दुक
मिसाई आँशु,पिएर दाल,पल्टन्छ खाटमा
डुबुल्की मार्दै पौडिन थाल्छ,घरको यादमा।

छिप्पिन्छ दिन,पग्लिन्छ घाम,पसिना खलखली
आँखाको सामू आएर सानी,नाच्दछे छमछमी
गर्दछ नृत्य,भावमा डुबी,हातमा समाई
सपना देखी,विपना बिर्सी,हाँस्दछ रमाई।

झसङ्ग हुन्छ,एकैछिनमा ब्युँतेर यथार्थ
रहर पूर्ण भएकै हुन्न,रमेर किमार्थ
ठोक्किन पुग्छ स्वप्नको यान,कालो त्यो भीरमा
चस्किन्छ मुटु,गल्दछ आशा,परेर पीरमा।

थरर काम्दै,निकाली फोन,थिच्दछ नम्बर
सानीको स्वर,आतुर सुन्न,कसेर कम्मर
आवाज सुन्दा,पाए झैं लाग्छ,अमृत अजर
नसकी थाम्न,नाजुक मन,रुँदैछ बरर।

             सानी
कम्पित स्वर सुनियो यता,कस्तो छ हालत
यथार्थ कुरा नराख लुकाई,खोलिदेऊ अब त
दु:खमा भए आउनु होला खुरुक्क फर्केर
प्याराकै लागि,हमेसा हुन्छु,घरमा पर्खेर।

              रामे
दु:ख त छैन,अचानक आज,सतायो यादले
सम्झना आयो,पका'को खाना,मुलायम हातले
चौरासी-व्यंजन खाएर पनि खल्लो नै लाग्दैछ
अधुरो तनले,पचाई लाज,खै के-के माग्दैछ।

                  सानी
छ्या कस्तो कुरा गरेको राजा!शरम लाग्दैछ
हुन त मेरो इच्छाले चरम सिमाना नाघ्दैछ
जीवनसाथी माझमा केही बिषय लुक्दैन
मनै त हो नि,मनको चाह,कहिल्यै सुक्दैन।

             रामे
तस्वीर चुमी बुझाउँछु चित्त,भएर दूरमा
सम्हाल्नै गाह्रो,भैदिने हुन्छ,अनौठो सुरमा
साथमा तिमी भएको भए करप्प खाने थें
यौवनको यान चढेर प्रेमको ग्रहमा जाने थें।

             सानी
अनेक चित्र नकोर्नु होला मनको क्यानभासमा
संकट आयो,यो सोचिदिनु,मनाहा मलमासमा
बैशको जल पोखिने गरी पियौ नि क्वै बेला
खडेरी लाग्यो,बिछोड्को घाम,लागेर यै बेला।

               रामे
वसन्त कहिले,कहिले शिशिर,मायाको याममा
झरेर बस्छु,सुकेको पातझैं,सानीको नाममा
हिउँद-बर्खा जे आए पनि पिरती सुक्दैन
कहिलेकाही चुकेतापनि सदैव चुक्दैन।

             सानी
"बुझेर कुरो घरतिर कुद्नु" भनेझैं उखान
यथार्थ थाहा भएकै कुरो,के गर्नु बखान
भएसी मुख,प्यासको मर्म,कुरो हो सामान्य
लाजको कुरा रहेन यहाँ,सबलाई छ मान्य।

            रामे
नभए ऋण,खुरुक्क छोडी,अहिल्यै आउने थें
फलेको फल,टिपेर खान,अवश्य पाउने थें
लुतो झैं लाग्छ,लागेको ऋण,सताइरहने
आएर साहु,हरेक पल, कोट्याइरहने।

              सानी
तिरेर ऋण तुरुन्तै फिर्नु,पर्दैन सम्पत्ति
खुशीले दिन बिताउँला बरु,श्रीमान-श्रीमति
थपौंला बाख्रा,पालौंला कुखुरा,करेसा गोडौंला
फलाउँला मकै,आलु र कोदो,,बारीमा जोतौंला।

               रामे
बैशको बारी खनेर लह झुलौंला पिरती
भान्टाङ-भुन्टुङ थपेर फेरि गरौंला प्रगति
चुम्बन छरी उमारौं माया,गरौंला गोडमेल
प्रीतिको तोरी मिलमा लगी गरौंला पेलापेल।

            सानी
नजोते धेरै,बस्नेछ बाँझो,मुश्किल खन्नलाई
प्रेमको माटो सहज हुन्न,मलिलो बन्नलाई
जीवनको खेत हरियो हुन चाहिन्छ सिचाइ
होस गर्नु होला,छिमेकीबाट होला नि मिचाइ।

           रामे
सजग स्वयं हुनु पो पर्छ,राख है बारेर
पाइला टेक्न नदिनुहोला,थप्पड मारेर
छोपेर।मौका,मिच्ला नि साँध,रहनु होसियार
तर्साइदिनु,साथमा सदा लिएर हतियार।

            सानी
भनिरहनु पर्दैन त्यो त,चेतना छ ममा
हरामीबाट जोगिन गाह्रो,विहान-साँझमा
पँधेरो-पानी,बेलामा गर्ने,छिर्किन हाल्दिन्छन्
संवेग सित खेलेर पनि गर्ल्याम्मै ढाल्दिन्छन्।

              रामे
मद्दत गर्छन्,सहानुभूति देखाउँछन् शुरुमा
खराब व्यक्ति भएको प्रमाण मेटाउँछन् शुरुमा
गरेर जादू,असल व्यक्ति,भएको देखाउँछन्
लुट्नेछन् स्वार्थ सजिलैसंग,जब मन पराउँछन्।

             सानी
घसेको चिप्लो,थापेको पासो,म चिन्छु सजिलै
चरित्र त्यागी,त्यसरी कहाँ,मक्किन्छु सजिलै
सालको रुख,सिसौको काठ,भन्दा नि साह्रो छु
सजिलो छैन,चिरेर बाल्न,अधिक गाह्रो छु।

             रामे
सजिलै चिर्छन्,बलिया काठ,धारिलो अस्त्रले
इज्जत कहाँ जोगिने गर्छन् बलियो वस्त्रले?
न उपदेश,न कुनै अर्ती,न छेक्छ शास्त्रले
मुर्खको कुनै ओखती हुन्न,जान्दछन् सबले।

                सानी
थाहा छ मलाई,वनको काठ चिरिन्छ सजिलै
यो पनि था,छ-मनको काठ चिरिन्न सजिलै
मानसिक रुपमा नभए तयार,कहाँ छ सजिलो
पस्केको भात खानलाई पनि कहाँ छ सजिलो?

                 रामे
आत्मविश्वास छ शक्तिशाली,हतियार भन्दा त
मनको भित्ता बलवान हुन्छ तरवार भन्दा त
लडाइँ सोझै हार्दछ उसले,हिम्मत हार्नेले
उसैले जित्छ,अन्तिमसम्म लडाइँ लड्नेले।

               सानी
उन्नानसय प्रतिशत युद्ध जितेको छु मैले
जिन्दगीभरी हजुर सित हारेको छु मैले
चाहिन्न अस्त्र,वचनै काफी,बैचारिक युद्धमा
संसार जित्ने तागत थियो गौतम बुद्धमा।

           रामे
केवल तिमी विश्वासी पात्र,यो जिन्दगानीमा
त्यत्तिकै युद्ध लडेका हैनन् त्यो नालापानीमा
छ इतिहास,साक्षीका रुपमा,नारीको तागत
तितरबितर भएको थियो पारीको तागत।

             सानी
अस्त्रले हैन,निर्णायक युद्ध,मनले लडिन्छ
मनले हारे,परिन्छ पछि,अगाडी मरिन्छ
किल्लामा कब्जा,जमाउन दिन्न,लडिन्छ सास हुन्जेल
आश नै शक्ति,आश नै अस्त्र,लडिन्छ आश हुन्जेल।

              रामे
बाँचेको छु म अहिलेसम्म सानीकै कारण
बिचलित हुन छोडेको थिएँ नानीकै कारण
जहानै रैछ हाँसोको श्रोत,जिउने आधार
जहानको लागि सहन सक्छु हरेक प्रहार।

             सानी
नकारात्मक सोचेर बस्नु-स्वास्थ्यलाई घातक
नबस्नु मनमा बोकेर शंका पटक-पटक
वनको बाघले मानिसलाई खाँदैन सहजै
मनको बाघले जोकोहीलाई सिध्याउँछ ठहरै।

               रामे
ग्रेटवाल चीनको,बनाऊ जस्तै,मनको संघारमा
सजिलैसंग नसकोस् छिर्न मनको संसारमा
ढुक्कले बस्छु निर्भीक भई,यतिको गरेसी
लागेको निभ्न,दियोमा आशको,इन्धन थपेसी।

                सानी
दिन्न म निभ्न,इज्जतको दियो,राख्नेछु बालेरै
रोकिने छैन,आबरु-पाइला,राख्नेछु चालेरै
हजुरको निम्ति मायाको पंक्षी राख्नेछु पालेरै
पत्थर स्वरुप भएर बस्छु,सकिन्न गालेरै।

                रामे
निर्मलालाई असल पथमा सदैब हिंडाउनु
अहिले देखि महत्वपूर्ण नैतिकता सिकाउनु
गलत मार्ग,सक्दछन् हिंड्न,तिमीले डोर्याउनु
संकोच बिना,यौनका पाठ,घरमा पढाउनु।

            सानी
सम्पूर्ण जिम्मा,म लिन्छु प्यारा,तनाब नलिनु
बिदेशी ठाउँमा मदिरापान कहिल्यै नगर्नु
कानून कडा भएको देशमा जानुभएको छ
पालन गर्नु,सतर्क हुनु,जान्नुभएको छ।

               रामे
पिंजडा भित्र चरीले के नै खराबी गर्छ र
जत्तिनै उड,पिंजडा भित्रै,के फरक पर्छ र
पिउने चीजै नभएपछि पिउँछ कसरी
जिउने ठावै नभएपछि जिउँछ कसरी?

               सानी
थाहा छ मलाई हजुर पनि पिंजडा-चरी झैं
मान्छेले निर्माण गरेका बन्दी घडीका सुई झैं
चल्दैन स्वेच्छा,मिल्दैन उड्न,फराक गगनमा
नाचेर बस्ने बाध्यता होला,साँघुरो आँगनमा।

               रामे
गगनचुम्बी महलहरु,झिलिली शहर
आएर पूर्ण भए झैं लाग्छ सम्पूर्ण रहर
वातानुकूल कोठा छ मेरो,सफा र सुग्घर
अफिस जान्छु कारमा चढी,छरेर अत्तर।

                सानी
दुविधा लाग्छ,हजुरको कुरा गराइ अनुसार
भिडियो कल गर्नुस् त हजुर,हेरौं न अनुहार
मनोबिज्ञान सक्दछु बुझ्न,संगत अनुसार
पहिले भन्दा अनौठो कुरा फुत्किन्छ बारम्बार।

                  रामे
तलब थोरै भएतापनि सुविधा-सम्पन्न
थरीथरीका परिकारहरु राखेका छन् टन्न
दिनको चार पटकसम्म खाईन्छ रोजेर
मेसका मान्छे पस्कन्छन् खाना,सोधेर खोजेर।

                  सानी
प्रत्यक्षरुपमा पाईन्न देख्न,कसरी पत्याउने
भन्नु त हुन्छ,परन्तु पेट हो हैन अघाउने
भोकमा होला,प्यासमा होला,यस्तै त लाग्दैछ
अंजुली थापी,गाग्रोको पानी मलाई माग्दैछ।

                  रामे
मायाले होला,यादले होला,झझल्को आउने
मनको दृश्य धुमिल होला दर्केर साउने
नसम्झ धेरै,लागेर ठेस,लडिन्छ मायालु
बाटोमा हिन्दा,अल्झेर तल झरिन्छ मायालु।

                  सानी
यादमा डुब्दा,जिन्दगी अति,लाग्दछ मिठास
छामेर हेर्छु,कमिज तिम्रो,आउँछ सुवास
कल्पना गर्दा मनमा रातो,फुल्दछ गुराँस
सुसेले जस्तो, तिमीले लाग्छ,भएर बतास।

                 रामे
पंक्षीका बथान जसरी नाच्छन् विशाल जंगलमा
सम्झनाहरु नाच्दछन् त्यस्तै मानसपटलमा
अनेक विम्ब बनेर खेल्छन् हमेसा दिमागमा
जसरी मेघ आकार लिन्छ,शित्तल हिमालमा।

                सानी
सहनै गाह्रो भएर आउँछ प्रेमिल पलको
जसरी प्यास लागेर आउँछ निश्चल जलको
हुन्डरी आई उडाई लान्छ मनको छानो नै
माहुरीहरु टुहुरा हुन्छन्,नहुँदा रानो नै।

                रामे
सम्झेरै बाँच्न लेखेको रैछ गरीबको जीवनमा
मिलन हुन लेखेको छैन गरीबको जीवनमा
नियति कस्तो,हजार पल्ट मरेर जिउने
भएको भए टनक्क लाई जहर पिउने।

               सानी
जिन्दगीसंग हारेर हैन जितेर जिउनुछ
समस्यालाई कुल्चेर अनि पिटेर जिउनुछ
जिन्दगी देखि हरेश खान्छन् कायरहरुले
सायरी यस्तै भनेको सुन्छु सायरहरुले।

                रामे
सल्यूट गर्छु,प्रेरणा दिन्छ्यौ,मायालु तिमीले
अहिलेसम्म बहुत दियौ,दयालु तिमीले
डर पनि लाग्छ कहिलेकाही,बिराउँछु कि बाटो
सुबाटो छोडी संयोगबश समाउँछु कुबाटो।

                 सानी
विश्वास गर्न सकियो भने आफूले आफूलाई
राम्ररी चिन्न सकियो भने आफूले आफूलाई
नोक्सान हुन्न,घाटामा जान्न,सुध्रिन्छ जिन्दगी
पहाड जस्तै निर्भीक भई उभिन्छ जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...