सुचारु हुन्छ पुनश्च यात्रा,विरक्त लाग्दछ
जमाउँदा डेरा भयले उस्तै,आनन्द भाग्दछ
लागेको जस्तो प्रतीत हुन्छ,खुशीमा खडेरी
त्यो औंशीमय निशामा हुन्छ बिछट्टै अँधेरी।
निद्रादेवीले छोडेको ठ्याक्कै चौबीस घण्टा भो
मुहार हेर्दा मुर्झाए जस्तो,नयन छ रातो
मनमा दर्द भएर पनि आँशु नै सकियो
अजंग खाले सन्दूक मनको चोटले भरियो।
आशाको मुहान सुकेर हुन्छ, आकुलव्याकुल
कच्ची छ रोड,हल्लाउन थाल्छ,झाकलझुकुल
गाउँको बाटो आएझैं लाग्छ,छ अनकन्टार
शहर छैन,बिजुली छैन,विशाल छ टार।
विदेश हो की,स्वदेश हो यो,छुट्याउनै गाह्रो छ
मनको रोड,खाल्डाखुल्डी छ,सम्याउनै साह्रो छ
अगाडी देख्छ रामेले केबल,समस्या विकराल
भावको भ्वाङ जस्ताको तस्तै,गरे नि टालाटाल।
कुहिरो धुम्म लागेको क्षण मनको गगनमा
मिस्सिए जस्तो लागेको पल,जहर पवनमा
भत्काउँछ छाती खसेर ठूलो पीडाको असिना
बगाउँछ आस्था,उर्लेर बरै बाढी झैं पसिना।
खाएको भाङ, महादेव जस्तो,हल्लिन्छ शरीर
फुत्किनै गाह्रो,भाग्यमा लागी पलाको जञ्जीर
गुहार माग्दै बचाउ!भन्दै चिच्याउने मन छ
बाकस भित्र राखेको लासझैं,स्थिर तन छ।
बिर्सेर व्यथा,निदाउन खोज्छ,चिम्लेर नयन
बल्झेर घाउ ,पीडित हुँदै,झस्किन्छ ऊ झन
पागल हुन मात्र छ बाँकी,सबथोक भैसक्यो
हर्षको पंक्षी भुरुरु गरी उडेर गैसक्यो।
बेचैन देखी,मालिक नयाँ,निशब्द रहन्छ
बुझ्दैन कसै,रामेले धेरै कथन कहन्छ
चिडियाखाना आएको जस्तो,बोलेको नबुझ्ने
पशुले बुझ्ला,मान्छेले कुरा,मान्छेको नबुझ्ने।
रीसको पारो तातेर धेरै उक्लन्छ पहाड
मनको कुरा मनमै गर्छन् तँछाड-मछाड
थरर काम्छ,शरीर उसको,आवेग बढेर
हानुँ की जस्तो,शीरमा झ्याम्मै,काँधमा चढेर।
काबुमा राख्छ,आवेगलाई,संयमित भएर
हायल-कायल,थाल्दछ हुन,भयभीत भएर
गाडीमा घ्याच्च मार्दछ ब्रेक,अचानक चालक
हानेको झण्डै संयोगबश,आएर ट्रेलर।
ढुक्ढुक गरी बज्दछ ढ्याङ्ग्रो,मुटुमा जोडले
सोच्दछ रामे,अभागीलाई बचायो दैवले
दुर्घटना भई बसाइँ सरे,के हुन्थ्यो सानीको
बेहाल हुन्थ्यो निर्मला छोरी,आँखाको नानीको।
रामे(मनमनै)
बल्ल र तल्ल बचेर आएँ मृत्युको मुखबाट
उडेर गयो झन्डैले पंक्षी,जीवनको रुखबाट
हे प्राण-प्यारी!असाध्यै आज यादले सतायो
निष्ठुरी भाग्य,कठोर बनी,रुवाउनु रुवायो।
मनलागी जाऊ,मनलागी खाऊ,गर है जे गर्छौ
म मरिहाले,बस्छौ कि त्यसै,अर्कोलाई बे गर्छौ?
कठोर छैन,अर्कैको सिन्दूर,भन्दिन नभर
जे गरेपनि निर्मलालाई हेला चैं नगर।
भुइँमा गिर्नु,नजरबाट कहिल्यै नगिर्नु
पाईन्छ दु:ख,खाडीमा चाहिं कहिल्यै नछिर्नु
हिम्मत राख्नु,छिमेकीसंग कहिल्यै नहार्नु
सुहाउने छैन,आँखामा आँशु,कहिल्यै नझार्नु।
निर्मलालाई पढाई,लेखाइ,महान बनाउनु
असल ज्वाइँ खोजेर कतै,विवाह गराउनु
मनको छेउ हुनेछु सदा,एकल नठान्नु
छोडेर गयो भनेर सानी!दुखेसो नमान्नु।
दृश्य चित्रण
कल्पना सागर पौडेर रामे बाहिर निस्कन्छ
पूर्वको लाली अँधेरी तोडी उजेली पस्कन्छ
उत्साह छैन,अलिक पनि,भएर निराश
चितामा जल्छ,चिराग लागी,मरेर विश्वास।
छत्तीसघण्टे सवार पछि पुगिन्छ जंगल
बढेर ताप,आउन थाल्छ पसिना खलल
हुँदैन घर,हुँदैन बोट,केवल बालुवा
निमोठिदिन्छ बचेको थोरै खुशीको पालुवा।
गरेर क्वाँक्वाँ कराउन थाल्छन् ऊँठका बथान
गरेर भ्याभ्या कराउन थाल्छन् भेडाका सन्तान
होसहवासै उड्ला झैं हुन्छ,रामेको बिचरा
विश्वास गर्नै,भैदिन्छ गाह्रो,विशाल पिंजडा।
लाग्दैछ अझै आँखाकै सामू खराब सपना
गिज्याई नाच्छ,छम्छम पारी उसैको विपना
लगाई गम्छा,मनुष्य कोही,आउँछ नजिक
नेपाली जस्तै लाग्दैछ केटो करीब-करीब।
डढेको मुहार,चर्केको मन,पुरानो कपडा
ख्याउटे ज्यान,गढेका आँखा,देखिन्न तगडा
समिपै लगी,रोकेर गाडी,उत्रन्छ अरबी
झारेर रामे,इशारा गर्दै,भन्दिन्छ सारथी।
अरबी भाषा बोल्दैछन् दुबै,रामेले बुझ्दैन
ख्याउटे केटो,बोल्नमा भने,क्यैगरी चुक्दैन
रामेका आँखा ओसिला भई,क्यैगरी सुक्दैनन्
त्यतिनैबेला कुकुरहरू तोडले भुक्दैछन्।
"नेपाली हो र?" भनेर बोल्न थाल्दछ ख्याउटे
जंगली हात्ती चराइहिंड्ने ,जस्तै छ माउते
फुर्दैन बोली,रामेको कत्ति,हालत देखेर
भक्कानो छोडी,थाल्दछ रुन,थचक्क बसेर।
रामे
नेपाली हुँ म,रामे हो नाम,तपाईंको के नाम
मलाई यहाँ ल्याइयो किन,बताउनु के काम
खरानी भयो,रहर मेरो,यो ठाउँ आएर
खाल्डोमा खस्यो सपना मेरो,ठक्कर खाएर।
उदवीर
उदवीर नाम,पाल्पाली केटो,फसियो खाडीमा
सहेर दु:ख,खाएर गाली,बसियो खाडीमा
चराउने भेडा,ख्वाउने घाँस,यहाँको काम हो
तीनबर्ष भयो,पाछैन छुट्टी,पान्सय दाम हो।
रामे
नेपालबाट पसलको काम आएको,भनेर
रुपैयाँ लाख,दिएको मैले,खन्खनी गनेर
हालत कुनै,यस्तो त काम,म गर्न सक्दिन
फर्केर जान्छु,स्वदेश बरु,म यहाँ बस्दिन।
उदवीर
काढेर ऋण,आएको होला,कसरी तिर्छौ र
मालिक पनि कडा छ अति,कसरी फिर्छौ र
आएसी यहाँ,फसियो साथी,गाह्रो छ फर्कन
जंगल भित्र मार्दिन सक्छ,गाह्राे छ तर्कन।
रामे
पढेलेखेको मान्छेले भेडा चराउन सक्दिन
समय खेर फाल्नलाई यहाँ,हराउन सक्दिन
यत्तिका साल कसरी बित्यो,तपाइँको जंगलमा
उराठलाग्दो,कहालीलाग्दो,पुगेझैं मंगलमा।
उदवीर
ख्वाउँदै दाना,सोहोर्दै गोबर,थाहा नै भएन
कसरी बित्यो,कसरी बित्यो,ध्यान नै गएन
बाध्यताबश गर्नुनैपर्छ,याँ आएपछि त
सातोनै जान्छ,मालिक आई,थर्काएपछी त।
रामे
मारे नि मारोस्,काटे नि काटोस,म काम गर्दिन
प्रतिकार गर्छु,लडेर मर्छु,पाउमा पर्दिन
पुलिस होला,कानून होला,ठाउँमा जानेछु
भनेकै काम,पाएमा मात्र,जागिर खानेछु।
उदवीर
ई हेर साथी!घाउको खत साहुले कुटेर
शुरुको दिन,नगरी काम,बस्दिंदा सुतेर
पुलिस अनि,कानून पनि,उसैको हातमा
गरेकै थिएँ,कोसिस भाग्ने,अँध्यारो रातमा।
दृश्य चित्रण
तुफान आयो दुर्भाग्यबश,रामेको जीवनमा
दु:खले मात्र परेड खेल्छ मनको आँगनमा
आँधीबेहरी आएर लान्छ हर्षको बिस्कुन
दैवले कस्तो,दिएर छाड्यो,भाग्यको सगुन।
गोलभेडा जत्रा,पारेर आँखा,हेर्दछ मालिक
बढाई पाइला,कुराकानीमा भैदिन्छ सरिक
गर्जिए जस्तो बाघले त्यहाँ,तोडले गर्जिन्छ
आवाज सुनी,रामेले पनि,झसङ्ग तर्सिन्छ।
मालिक
कपिल आना,आमेल इन्ता,हिना फी सुकुल
अरबा मिया रतिप इजी,सदिक फी गुल
सुकुल माफी,रतिप माफी,वाल्ला है सदिक
सुकुल सवी कोइस,सोरा,मासवी मुस्किल।
उदवीर(उल्था)
मालिक हुँ म,नोकर तिमी,काम गर्ने हो यहीं
चारवटा सय आउँछ तलब,भनिदे ए साथी!
नगरे काम,पाईन्न दाम,साँच्चिकै साथी हो
गर्नुछ काम,राम्रो र छिटो,नगरे छ गाह्रो।
-
No comments:
Post a Comment