Thursday, 1 November 2018

बेरोजगार ११

                दृश्य चित्रण
विहानीपख चलेको हुन्छ बतास सरर
विछोड हुँदा आँशुको धारा खस्दछ बरर
सानीको आँखा पग्लिन्छन् उस्तै पग्लेझैं हिमाल
कलिलो फूल पीडाले भिज्छ,निर्मला बेहाल।

उराठलाग्दो आउँछ क्षण,दिउँसै अँध्यारो
निमुखालाई भाग्यले कस्तो हान्दिन्छ झटारो
लखेटिदिन्छ भूमरीतिर यो पापी पेटले
खडेरी भोग्छ नियतिवश मायाको खेतले।

भक्कानो फुट्छ रामेले जब जहान अंगाल्दा
चर्किन्छ आफैं सान्त्वना दिई प्यारीलाई सम्हाल्दा
अंगालोबाट छुट्टिन गाह्रो भैदिन्छ त्यो पल
ठेगान छैन,कहिले फेरि फर्किन्छ त्यो पल।

दहीको टीका,फूलको माला लाइदिन्छे सानीले
रामेको भागमा के लेखिदियो निर्दयी भावीले
निर्मलालाई रुपियाँ सय टक्राउँछ बाबाले
नसक्या भन्न हजारौं भन्छन् नानीको आँखाले।

देखेर दृश्य,कुकुर पनि पूच्छर हल्लाउँछ
भावुक बनी ती आँखाबाट साउन बर्साउँछ
मान्छेले रुँदा निकाले जस्तै आवाज निकाल्छ
पशुले पनि रामेको बरै हृदय पगाल्छ।

डुबुल्की मार्दै गहिरो अति दहमा पीरको
सुस्तरी छाम्दै देखाउँछ प्रेम,भुत्लामा शीरको
कराउँदै कुईँ,निकाली जिब्रो,चाट्दिन्छ हातमा
चुम्बन होला चाट्दिनु पनि पशुको जातमा।

कहिले फेरि मिलन हुन्छ मालिक?भन्दो हो
मान्छेले जस्तै कुकुरले पनि दिनहरु गन्दो हो
नजानु भनी बिसाई बिन्ती बाटोमा तेर्सिन्छ
मनको बाटो,भनेर छेक्न,तगारो भैदिन्छ।

कहालीलाग्दो भएर आउँछ,त्यो दृश्य झन्झन
रोकिन खोज्छन्,जनाको सबै,मुटुको धड्कन
अकल्पनीय परिस्थितीको गर्दछन् सामना
भाकेर देव,सुनौलो दिनको,गर्दछन् कामना।

सुसेले जस्तो गर्दछ हावा रोएर धुरुरु
मेघले पनि छेकेझैं लाग्छ उडेर फुरुरु
गाईले बाँ-बाँ कराइकन आग्रह गरे झैं
बाख्राले म्याँ-म्याँ गरेर आफ्नो सन्देश छरे झैं।

                 सानी
हे नाथ तिमी जाने नै भयौ टुहुरा बनाई
बसेको भए सहन्थ्यौं बरु हामीलाई सताई
कारुणिक पल,फुट्दैन बक,निरीह भएर
नभुल्नु होला चटक्क प्यारा मुग्लान गएर।

                    रामे
नगर सुर्ता,जाँदैछु म त,फर्किने बाटोमा
मुस्कान मिठो दिएर पठाउ,आँशुको साटोमा
सपना किन्न,रहर लिन,लाग्दैछु प्रवास
फर्केको दिन उज्यालो हुन्छ,जीवन विन्दास।

               निर्मला
दु:खको भारी काँधमा बोकी,बिमान चढेर
जाँदैछौ बाबा,आमा र मलाई चटक्कै छोडेर
सम्झिन्छु म त हरेक दिन हरेक रातमा
देख्नेछु बाबा आफूले खाने हरेक गाँसमा।

                 गाउँले
शुभकामना,दु:ख र कष्ट आएमा तर्किनु
हालत सम्झी,दौलत केही,कमाई फर्किनु
कमाई पैसा,सिकेर सीप,गाउँमा छर्नुछ
स्वदेशी माटो उर्वर छ है,उद्यम गर्नुछ।

                   रामे
निर्मला नानी!तिमीलाई मैले मुटुमा राख्याछु
फेरिने हर सासमा अनि फोक्सोमा राख्याछु
देखिने प्रत्येक दृश्यमा हुन्छ्यौ,मनमा तिमी नै
ढुक्ढुक गरी धड्किने सबै धड्कनमा तिमी नै।

सबैको स्नेह हियामा बोकी छिर्दैछु मुग्लान
बिछोड पछि मिलन हुन्छ,नराम्रो नमान
भोगाइ लिई,दक्षता टिपी अवश्य फिर्नेछु
उडेर कहाँ सकिन्छ टिक्न,माटोमै गिर्नेछु।

                     सानी
नमान्नु चिन्ता,घर र खेत,हामीले सम्हाल्छौं
बारीको मकै,फापर,आलु र कोदो संगाल्छौं
खाईन्छ स्वयं पसिना बगाइ,पाखुरी चलाई
नबस्नु होला सम्झेर घर,हृदय जलाई।

                      गाउँले बूढो
आश्चर्य लाग्यो,बुहारी तिम्रो,हिम्मत देखेर
गरेर खान्छ्यौ,पर्दिनौ तल,राख्छु म लेखेर
उस्तै छ आँट,हे भगवान!निर्मला नानीको
सलाम गर्छु,समझदारी आँटिली ज्ञानीको।

                     रामे
संघर्ष गर्न सिकाए मलाई सानी र नानीले
जे जस्तोसुकै परिवेशमा नहार्ने बानीले
सहज हुन्छ मलाई अब पाइला बढाउन
हुनेछ हात तिमीहरुको लक्ष्यमा पुर्याउन।

                         सानी
बालिका देखि अहिलेसम्म आँखामा पानी छ
हजारौं चोट,शिशिरे याम,सहेको बानी छ
नभेटेसम्म लक्ष्यको बिन्दु,फर्केर नहेर्नु
गैदिनु अब,तारनतार अंगालो नबेर्नु।

                   रामे
लौ विदा पाउँ,छुटिन्छु अब,नमरे भेटौंला
अधुरा हाम्रा,चाहना,इच्छा,रहर मेटौंला
भगवानलाई प्रार्थना गर्नु,कुशल होस् भनी
जिन्दगी जिउनु,किञ्चित पनि,मन दु:ख नगरी।

                    सानी
रहोस शुभ,कदम हर,हे स्वामी हजुरको
हुनुन्छ गर्दै,छिचोली गगन,अतिनै दूरको
बेलाबेलामा गर्नु है फोन,माया चैं नमार्नु
कठिन मोड आएर पनि हिम्मत नहार्नु।

दृश्य चित्रण
निर्मलालाई चुमेर अघि बढ्दैछ सुस्तरी
काँधमा झोला भिरेर छोड्छ प्रेमको नगरी
अश्रुको भेल उर्लिन्छ तब सबैको आँखामा
बिछोडको गीत गुञ्जिन्छ मनमा विरही भाकामा।

टीनको छानो छाउने स्वप्न झल्झली देखिन्छ
सोच्दैछ रामे,चर्केको भित्ता कसरी टालिन्छ
माथिल्लो डाँडा पुगेर फेरि फर्केर हेर्दैछ
कमाई पैसा,घरको तला,बढाउने भन्दैछ।

निर्मला,सानी आँगन निस्की निहारिरहेछन्
रामेलाई देखी विदाइको हात हल्लाइरहेछन्
जहान छोडी जानुनै पर्दा छाती नै चिरिन्छ
एकबाजी फेरि उसको आँखा आँशुले भरिन्छ।

के गरुँ कसो,फर्कुँ कि जस्तो,लाग्दैछ उसलाई
दोधारे मन,अन्ततः लिई,हिंड्दैछ टोलाई
जंगल भित्र भंगेराहरु रोए झैं लाग्दैछ
हावाले पनि विलौना गरी छोए झैं लाग्दैछ।

हमेसा हाँस्ने दूधकुण्ड हिमाल उदास देखिन्छ
निन्याउरो मुख लाएर चेर्दुङ हतास देखिन्छ
हरायो कतै,विलायो आजै,ताँबेको मुस्कान
भएछ लुप्त,अचम्म लाग्छ,शैलुङ्गे त्यो शान।

सुके झैं लाग्छ,लुके झैं लाग्छ,खुशीको मुहान
फाटिए जस्तो,भासिए जस्तो,हर्षको मैदान
गड्याङ-गुडुङ गर्दैछ हरे मनको आकाश
पीडाको झरी बर्सिन्छ भारी,रोएर आकाश।

निथ्रुक्कै भिज्छ शरीर सारा,बगाउँछ उज्यालो
देखिन्न केही,पलले ज्यादा,छरेर अँध्यारो
भुइँमा थच्च बसेर रामे समाउँछ शीरमा
उनिन्छ मन,घडीको लामो,धारिलो झीरमा।

मात्तिए जस्तो,नशाले कडा,लत्रिन्छ शरीर
क्लेशले पनि,रहेछ लाग्दो,झनन आखिर
बटुली आँट,दरिलो भई,लाग्दछ मार्गमा
बिछोड हुन लेखेको र'छ रामेको भागमा।

अनेक बुनी कल्पना,स्वप्न,चढ्दछ बसमा
नहुने रै'छ नियति हाम्रो,कसैको बशमा
गह्रुँगो लाग्छ,शरीर आफ्नै,सम्झेर बाध्यता
अहिले यहाँ,भरे त कहाँ,भविष्य हो कता।

खाडीचौरमा पुगेर गाडी,खानलाई रोकिन्छ
छिर्दैन गाँस,खाएको पनि,भसक्कै उल्टिन्छ
पहिले पनि छोडेको थियो घर त छोड्नलाई
अहिले जस्तो विरक्त भाको थिएन उसलाई।

तिरेर पैसा,खुरुक्क पुन: सिटमा पुग्दछ
गाउँघर सम्झी,वियोगी यात्री,चिन्ताले झुक्दछ
साहुको ऋण तत्काल सम्झी,थरर काम्दैछ
गोजीमा हात राखेर पैसा सुस्तरी छाम्दैछ।

हराउँला भनी जतनसाथ,राख्नुछ नगद
हरायो भने जहाज डुब्छ,भासिन्छ जगत
त्यान्द्रोमा हुन्छ,अल्झेको कठै!मान्छेको जीवन
हावाको झोक्का आएर निभ्छ,बलेको जीवन।

विपना बाँची,सपना बोकी,बास बस्छ होटलमा
अघोर दर्द,उसले साट्छ,भुलेर बोतलमा
अंगाली सुत्छ,सिरानीलाई,पियारी सम्झेर
चिम्लन्छ आँखा भोलिको लक्ष्य भेट्नुछ सोचेर।

मध्यरातमा झस्केर उठ्छ छट्पटी बढेर
गुहार माग्दै रोएको सानी,सपना देखेर
घडीमा हेर्दा रातको एक बजेछ मुश्किलले
आँशुको घुट्को पिएर बल्ल,निदाउँछ मुश्किलले।

विहानीपख व्युँझिंदा  खेरी रित्तो छ ओछ्यान
छामेर हेर्दा चिसो छ तन्ना,भेटिन्न जहान
पिएर चिया,नखाई खाना,पुग्दछ अफिस
दलाल सोच्छ-मजाले केटा फन्दामा फसिस।

ऐश्वर्य देख्दा विस्फारित हुन्छन् मसिना नयन
गदगद हुँदै लिएर राख्छन् गनेर खन्खन
पैसाले आफ्नै,बेचिने आफैं यो कस्तो चलन
सोचेर यस्तै,रामेको मनमा भैदिन्छ जलन।

थमाइदिन्छ म्यानपावरले पासपोर्ट टिकट
मुग्लानी यात्रा विकट हुन्छ,हुँदैन निकट
सारथीसंगै लाग्दछन् अब,विमानस्थल
चलायमान शरीर हुँदा मन छ अचल।

आउने जाने मान्छेको हुन्छ घुइँचो अधिक
फर्केकाहरु हर्षित हुन्छन्,जाने जो दुखित
कसैको हाँसो गुञ्जिन्छ यहीं,कसैको रोदन
अस्तिको भन्दा फरक छैन आजको मदन।

दानेको भाइ,दावाको दाइ,बाबा छ श्यामेको
विमानस्थल पुर्याउन कोही हुँदैन रामेको
प्रबेश गर्ने,भैदिन्छ बेला,पाइला बढाउँछन्
आफन्तहरु पथिकलाई बाहुली हल्लाउँछन्।

दुईथोपा आँशु उपहार छोडी पर्दछन् ओझेल
नियतिवश जवान हुन्छन्,यसरी बेमेल
खप्पर ठोक्दै लाग्दछन् बाटो,यस्तै छ हालत
बिछोड हुन्छन् स्वदेशबाट,कति हो साल त।

माहुरी बोकी हवाइजहाज चुम्दछ गगन
बनाई छोड्छ,शून्य र शान्त,नेपाली आँगन
हुँदैन अन्त्य,शुरु पो हुन्छ,रामेको कहानी
यसरी हुन्छ,अलग यहाँ,ठेकी र मदानी।



No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...