Saturday, 10 November 2018

पहिलो प्रेम पत्र

प्रिय मित्र,                             २०५८|११|०१|
मीठो सम्झनाको अविरल सौगात।

            खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका अनौठा शब्दहरुलाई।कसरी वर्णन गरौं म आफ्ना नीजि बिचारहरुलाई?त्यसै त मानिसको हर इच्छा,चाहना,आशा र आकांक्षा पनि कत्तिको विचित्र हुन्छन्।त्यसैले ऊ कहिले मनमा गहिरो चोट,चोटिलो व्यथा र लामो कहानी बोकेर पनि हाँसिरहेको हुन्छ त !कहिले खुशीले अपार आनन्दित भएको क्षण पनि रोइरहेको हुन्छ,खै किन हो...।
चाहे त्यो यथार्तमा होस चाहे कल्पनामा,कहिलेकाही भए-नभएको थोत्रो गफ छाँट्न मन लाग्छ त कहिलेकाही जति नै बोल्न खोजे तापनि बाहिर प्रस्फुटन हुनै सक्तैन,केवल त्यो मन र कल्पनामा सीमित हुन पुग्छ।कहिले त कोही कसैको जीवन संगीतमय लाग्दछ र त्यही संगीतको तालमा बडो मुस्कानपूर्वक हाँस्न,गाउन र नाच्न मन लाग्छ भने कुनैबेला त्यही संगीतको धूनसंगै रुन मन लाग्छ।कहिले सोचेको भन्दा बढ्ता पुग्छ त कहिले सोच्दै नसोचेको कुरा हुन जान्छ।
           
          ठीक त्यस्तै आज म भएको छु।हिजोसम्म हाँस्न लाज लाग्ने म,आज त कसैलाई हसाउन खोज्दैछु।अनि हिजोसम्म रुन पनि लजाउने म आज आफैं रुन रमाउँदैछु र अरुलाई रुवाउन पनि।हिजो र आजको मेरो मानसिकतामा आएको एक्कासी परिवर्तन महशुस गरेर आफैं अचम्मित हुन्छु र आफैलाई प्रतिप्रश्न गर्न थाल्छु:-
"आज मलाई यो के भएको होला?"
साँच्चै हिजो र आजका मेरा व्यवहार र सोचाइमा आकाश र धर्तीको अन्तर आए झैं लागिरहेछ।हिजोसम्म प्रेमको निद्रामा लट्ठ भएर मस्त निदाउनेहरुलाई म व्यंग्य मात्र गर्दैनथें,बरु त्यसको सट्टामा पनि घृणा गर्थें।तर आज म आफैलाई सोधिरहेछु-"आखिर जीवन के हो?प्रेम के हो?"अनि आफ्नै प्रश्नको उत्तर यसरी दिन्छु:-"जीवन र प्रेम भनेका एउटै नदीका दुई किनारहरु हुन्,एउटै चश्माका दुई भागहरु हुन्,जब कि एकको अनुपस्थितीमा अर्कोको महत्व अति नै कम हुन्छ।"

            आज ममा यतिसम्म परिवर्तन आएको छ कि म आफ्नो मनको कुरा प्रायः कमैलाई भन्छु वा भन्न पनि असजिलो महशुस गर्छु।अझ आफ्नो मन परेको साथीलाई त केही भन्नै सक्तिन।तपाईं आफैं सोच्नुस् न अस्ति एकपल्ट हाम्रो वार्ता रातको ११ बजेसम्म कसरी चलेको थियो?आफ्नो मनको कुरादेखि लिएर समाजमा व्याप्त विकृति,बिसंगति र नराम्रा पक्षहरुको बारेमा नाली-बेली केलाउने मान्छे आज-भोलि  म तपाईसंग बोल्नै डराउँछु अथवा लज्जाउँछु।

            यसरी तपाइँसंग आजभोलि किन बोल्न अप्ठ्यारो महसुस गर्दैछु?यो प्रश्नको जवाफ मसंग छैन।खै,कसरी भन्ने,के भन्ने?मनको कुरा खोल्न अति कठीन अनि कठीन भन्दा कठीन हुँदोरहेछ।मनले जुन कुरा होस् भन्ने चाहन्छ,वास्तवमा त्यो हुन कठीन हुन्छ।अनि जुन कुरा नहोस् भन्ने चाहन्छ,त्यो पो सजिलैसंग हुन्छ।विधिको विधान भनुँ या प्रकृतिको खेलवाड,भए नभएको गफ लाउँदा जे पनि भन्न सकिंदोरहेछ तर भित्र स्वच्छ हृदयदेखि भन्न चाहँदा I love you भन्न धेरै कठीन हुँदोरहेछ।भनौं,पहाडलाई थाप्लोमा राखेर हिंडे जति।अथवा त्यो भन्दा भनौं,फलामको चिउरा चपाए झैं हुँदोरहेछ।अझै तपाईं आफैँ सोच्नुस् न,नानाथरीको गफ लाउँदा "म तिमीलाई विहे गर्छु" भन्न सक्थें तर साँच्चिकै खुल्ला दिलले चाहेर भन्नु पर्दा पनि "म तिमीलाई माया गर्छु"समेत भन्न नसक्ने मेरो कत्रो कमजोरी होला।यस्तो सोचेर म आफैं लज्जित भएर सन्तुष्ट हुन्छु।

            आज म साँच्चिकै मुटु दह्रो पारेर अर्थात आँट कसेर भन्छु "I love you".
यही नै मेरो तपाइँलाई हृदयदेखिको न्यायनो अभिव्यक्ति भयो है।भनौं,यो नै तपाईंलाई मेरो तर्फबाट सौगात अनि कोसेली।अर्थात यो अभिव्यक्ति नै तपाईंसमक्ष मेरो प्रेम-प्रस्ताव भयो ल!

          साँच्चिकै म तपाईंलाई हृदयदेखि मन पराउँछु र माया गर्छु।धेरै पल्ट मैले कोशिस गरें तर सम्भव भएन तर आज सफल भएको म ठान्दछु।आज भने म तपाईंसमक्ष माया माग्न आइपुगेको छु।सम्भव भएसम्म थोरै भएपनि माया पस्की दिएर यो भिखारीलाई दया गर्नुहोला।मलाई लाग्छ तपाईंको भावना महान छ।महान भावना नै सर्वश्रेष्ठ ऐश्वर्य(सम्पत्ति)हो जस्तो मलाई लाग्छ।यति भन्दै आशाले पर्खिबस्नेछु।धन्यवाद!!!
                                उही भिखारी
                                 कज्ञ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...