Wednesday, 31 January 2018

गणित शिक्षक

      म कार्यरत बिद्यालयको एक कुशल,प्रखर बिद्धान शिक्षक शेखर सर अचानक गयल भयो।बिना कुनै जानकारी त्यसरी एकाएक धेरै दिनसम्म गायब हुँदा शिक्षक-शिक्षिकाहरुले अनेकौं लख काटे।
"सायद जिन्दगीसंग आत्मसमर्पण गरेर अर्को लोकमा छलाङ मारेको होला।"
"कुनै चरीलाई मायाजालमा फसाएर उडाएर लगेको हुनुपर्छ।"
"राहदानी बनाएर सुटुक्कै पलायन भयो कि।"
धेरै टिका-टिप्पणीहरु आए पनि वास्तविकताको जरासम्म कोही पुग्न सकेनन्।यथार्थता कतैबाट उजागर भएन।शेखर सरको अनुपस्थितीमा गणित शिक्षकको अभाव भयो र पदपूर्तिको लागि विभिन्न अखबार र सामाजिक सञ्जालमा बिज्ञापन प्रकाशित गरिए पनि कतैबाट आवेदन आएन।म नि.मा.बि. स्तरको शिक्षकले नै मा.बि.तहसम्म पढाउनुपर्ने भयो।आफ्नो साख जोगाउन रातको १२ बजेसम्म तयारी गरेर बल्ल पढाउँथें।बिडम्बना मलाई काम-चलाउ शिक्षक पो भन्न थाले।
           भाग्यबश एकदिन एउटी सुन्दर युवती जागिर खोज्दै टुप्लुक्क बिद्यालयमा आइपुगिन्।गणित बिषयमै अध्यापन गरेको ३/४ सालको अनुभव रहेछ।शिक्षकको चरम अभावको कारण योग्यता-प्रमाणपत्रको प्रतिलिपी बुझाएको एकै घण्टामा सामान्य औपचारिक अन्तर्वार्ता पश्चात् वि.व्य.स.ले अस्थायी दरबन्दीमा नियुक्त गरे।उनको अध्यापन कला निकै सन्तोषप्रद र चमत्कारिक थियो।अनु मिसको नामले व्यापकरुपमा उनको चर्चा चुलियो।उनको स्वर तेश्रोलिंगीको जस्तो भएपनि शारीरिक सुन्दरता भने कुनै परी,अप्सरा भन्दा कम थिएन।
           एकदिन कुनै काम बिशेषले सबै शिक्षक-शिक्षिकाहरुको योग्यताको सक्कली प्रमाणपत्र र नागरिकताको आवश्यकता पर्यो।सबैले एकदुई दिनमै उपलब्ध गराए।तर अनु मिसले निकै दिनसम्म आनाकानी गरिरहिन्।अनेक बहानामा टारिरहिन्।धेरै दिनसम्म दबाब खेप्नुपर्दा अन्ततः बाध्यताबश प्रमाणपत्र उपलब्ध गराउन करै लाग्यो।उनको नागरिकता र सक्कली प्रमाणपत्र देखेर सबै हैरान भए,जिल्ल परे।एकाएक गायब भएको शेखर सर अनु मिसको प्रमाणपत्रमा फेला पर्यो।

प्रेमिका

        एक-अर्कालाई महत्वाकांक्षी सपना बाँड्दै हाम्रो मित्रता भेटदेखि बेडसम्म पुगिसकेको थियो।एक-अर्काका भोक र प्यास मेटाएर प्रेमको रंगीन गगनमा कावा खानमा मस्त थियौं।कमाएको सारा पैसा रोमान्समै सकिन्थ्यो।जीवनको परिभाषालाई मैले सुख र भोग-विलासमा सिमित राखें।मेरो कार्यलयका सहकर्मीहरुको जीवनशैली देखेर म वाक्क हुन्थें।घरदेखि कार्यलय,कार्यलय देखि घर।विहे,बालबच्चा इत्यादि कुराहरु सम्झने बित्तिकै मेरो मथिंगल खराब हुन्थ्यो।
           शारीरिक आवश्यकता पूरा भएपछि हामीले विहेको आवश्यकता पनि ठानेनौं।जिन्दगीलाई त्यही रफ्तारमा छोडिदियौं।उनको बारेमा त मलाई खासै जानकारी थिएन।तर म चाहिँ शनिबारको दिन खुब ब्यस्त हुन्थें।काम र भेटघाटको समयतालिका नै बनाएको थिएँ।बिहानको दस बजेदेखि बाह्र बजेसम्मको समय मैले मेरी प्रेमिकालाई दिएको थिएँ।मिष्ठान्न भोजन पश्चात् होटलको एउटा झकिझकाउ कोठामा एकछिन दुनियाँ बिर्सन्थ्यौं।प्रेमको महासागरमा चुर्लुम्म डुबेर हिरा-मोती निकाल्थ्यौं।ठिक्क बाह्र बजेपछि हामी तृप्त भएर आ-आफ्नो गन्तव्यतिर छुट्टिन्थ्यौं।
        अरु शनिबार जस्तै त्यो शनिबार पनि बाह्र बजाएर तालिकानुसार अर्को कामतिर लागें।बाटोमा पुरानो साथी भेटेकोले मेरो ३० मिनेट समय यत्तिकै खेर गयो।एउटा क्याफेमा भेट्ने पूर्व नियोजित योजना थियो।त्यो क्याफेमा मेरो भन्दा उनको हैकम चल्थ्यो।उनकै इच्छा अनुरुप खानेकुराको माग हुन्थ्यो।तर बिल भने मैले नै तिर्नुपर्थ्यो।जसरी मेरी पहिलो प्रेमिका माथि म हावी हुन्थें,त्यसरी नै दोश्रो प्रेमिका म माथि हावी हुन्थिन्।कडा मिजासकी भएपनि उनको शारीरिक सुन्दरताको कारण म हारेरै पनि जितिरहेको हुन्थें।
           म क्याफेमा पुग्दा खानेकुरा र कफीको माग गरेर पनि टेबलमा आइसकेका थिए।म ढिलो भएकोमा उनी लाल-लाल बिस्फारित नयनले ख्वाप्पै खाउँला झैं गरी हेर्दै थिईन्।
"हाइ बेबी,काम बिशेषले म अलि ढिलो भएँ।सरी ल!"-मैले दस मिटरको दूरीबाटै माफी मागें।
"इट्स ओके डियर,तर सधैं कति कुराउँछौ मलाई यसरी?आइन्दा यस्तो नहोस् ल?"
उनको रिसमा पनि अपार माया मिसिएको स्वरले म मन्त्रमुग्ध भएँ।
"भैहाल्छ नि बेबी!तिमी कति समझदार छ्यौ है?मायालु र राम्री पनि।"
यति भन्दै उनको न्यानो अंगालोमा बाँधिएँ।उनी मख्खै परिन्।त्ता-तातो कफी र बर्गर खान थाल्यौं।कफीको तेश्रो चुस्की लिने क्रममा मेरा आँखा अलि पर्तिरको रंगमञ्चमा गएर दुर्घटनामा परे।एउटा टेबलले मेरो पहिलो माया मेरो मात्र नभएको प्रमाण पेश गर्दै थियो।तालिका उनले पनि बनाएकी रहिछन्।

अमर हुनेछ

सायद मेरो लागि तिम्रो मुटु पत्थर हुनेछ
तिम्रो आफ्नो बेग्लै संसार अनि घर हुनेछ
तिमी मलाई माया गर ,नगर फरक पर्दैन
तिमी प्रति मेरो माया हमेसा अमर हुनेछ।

सुलोचना

तिमी अप्सरा,मेनका,सुलोचना
ती गुलाफी ओठ अनि केश घना
खुत्रुक्कै पार्ने यौवन देखेर त्यो
फिदा भए,मुर्छा भए कति जना।

Tuesday, 30 January 2018

पिरतीको खेल

पिरतीको खेल खेल्न सिक्नु हुँदैनथ्यो
हार्नु पर्थ्यो तिमीले नै जित्नु हुँदैनथ्यो।

यो मुटुको कारागारमा बन्दी भयौ तिमी
मेरो मनको बाटो गरी हिंड्नु हुँदैनथ्यो।

नौनी जस्तै पग्लिएर बग्यौ मेरो तनमा
जवानीको आगो भित्र छिर्नु हुँदैनथ्यो।

तातिएका थियौ तिमी फलाम ताते सरी
घन बोकी त्यही बेला पिट्नु हुँदैनथ्यो।

यौवनको फल बनी सलल म खस्दा
कामुकता फिंजाएर टिप्नु हुँदैनथ्यो।

Monday, 29 January 2018

ए होक

(छोरी)
जन्म घर छोडी,पराइ घर जान्न
पाल्न गाह्रो भए,खाना धेरै खान्न।...ए होक

(बाबा)
जन्म लिए पछि,बिहे गर्नु पर्छ
पराइ घर गई,माया छर्नु पर्छ।...ए होक

छोरी
अन्त दिने भए,किन जन्म दियौ
मलाई टाढा दिन,पोङ्को रक्सी पियौ।

बाबा
शिक्षा-दीक्षा दिनु,हाम्रो कर्तव्य हो
विहे गरी दिनु,हाम्रो कर्तव्य हो।

छोरी
मैले जन्म लिनु,मेरो गल्ती भयो
यौटी छोरी पनि,किन बढी भयो।

बाबा
किन त्यसो भन्छौ,म हुँ तिम्रो बाउ
जन्म घर छोडी,कर्म घर जाउ।

छोरी
छोरीको जातलाई,कतै सुख छैन
माइतीमै बस्ने,अधिकार छैन।

बाबा
सारा संसार भरी,चलेको चलन
बाबा-आमा सम्झी,हुनुहुन्न जलन।

छोरी
जबर्जस्ती खोसी,ठेगाना र थर
पठाउनु किन,पराइको घर।

बाबा
बिहे गरी देको,हैन है बिगार्न
बिहे गरी देको,जिन्दगी सपार्न।

छोरी
बाबा-आमा,दाजु,छोडी जानु पर्दा
मुटु साह्रै दुख्छ,आँसु त्यसै झर्दा।

बाबा
मानिसको चोला,झरिजाने शीत
जन्म,बिहे,मृत्यु,जिन्दगीको रीत।

छोरी
विहे गर्ने चलन्,कसले चलायो
बिछोडको क्षण,सहनलाई गाह्रो।

बाबा
शुरु-शुरुमा त,लागिहाल्छ गाह्रो
दिन बित्दै जाँदा,कर्म घरै प्यारो।

छोरी
बिरानो त्यो घरमा,कसरी म घुलुँ
माइतीको घर,कसरी म भुलुँ?

बाबा
तिम्रा बाबा आमा,भए सम्म ज्युँदा
केही परे भने,नगर है चिन्ता।

छोरी
यो मनको घाउ,कसरी म सिउँ
ज्वाइँले हेला गरे,कसरी म जिउँ?

बाबा
ज्वाइँ लाई देको,राम्रो चिनी जानी
झैं-झगडा गर्ने,छैन उसको बानी।

छोरी
पीडा व्यथा बोकी,म कसरी हाँसुँ
ज्वाइँले धोका दिए,म कसरी बाँचुँ?

बाबा
निराश हुने हैन,आश हुनुपर्छ
एक-अर्कामा सधैं,विश्वास हुनुपर्छ।

छोरी
हाँस्नु पर्ने रैछ,मुटु जलाई जलाई
बाबा र आमाको,इज्जत राख्नलाई।

बाबा
हेर्न म सक्तिन,रोएर गएको
हाम्रो इच्छा तिम्रो,घरबार भएको।

छोरी
जाउ भन्नुहुन्छ,विदा पनि दिनुस्
जानेबेला अब,आशीर्वाद दिनुस्।

बाबा
उज्ज्वल होस् भविष्य,पूरा होस् चाहना
दु:ख सबै भागोस्,मेरो शुभकामना।

कोरस
भाषा र संस्कृति,भेष-भूषा हाम्रो
हामी शेर्पा मिली,जोगाएको राम्रो।

खेल खेलौं

पिरतीको एक यस्तो रोचक खेल खेलौं प्रिया आउ
खेलकुदमा उल्लेखित नियम लाई सहमति जनाउ
आखिर जसले जिते पनि केही फरक पर्ने नै होइन
मैले जिते तिम्लाई लान्छु,तिम्ले जिते मलाई लैजाउ।

उडाएर लैजाउ

ए बादल!तल झर,मेरो समीप आउ
मलाई तिम्रो एउटा पखेटामा चढाउ
घरको यादले आज खुब सताउँदैछ
एकैपलमा पुग्ने गरी उडाएर लैजाउ।

व्याकरणको कुरा

कहिले बादल, कहिले पवनका कुरा
लेख्छु कहिले मन र धड्कनका कुरा
हृदयको पानामा भावनालाई उतार्छु
छोड शुद्ध-शुद्धी र व्याकरणका कुरा।

Sunday, 28 January 2018

जिन्दगी

पसिनाको नदीमा पौडिएर
जिन्दगीलाई पार लगाउन चाहे पनि
जिन्दगी त आफैंमा ठूलो नदी रहेछ
समयसंग बग्दै-बग्दै
विभिन्न गल्छेडा हुँदै
बगिरहनुपर्ने रहेछ।

उकालीमा बग्न खोजेपनि
कहिले सजिलो बाटो  हुँदै
कहिले अप्ठ्यारो बाटो हुँदै
ओरालीमै बगिरहनुपर्ने रहेछ।

रोक्न खोजेर नरोकिने रहेछ
तीव्र गतिमा बग्न खोजेर नबगिने रहेछ
उसको आफ्नै सिद्धान्त छ
उसको आफ्नै नियम छ
उसको आफ्नै गति छ।

कुनै जिन्दगी फुटेको मूल जस्तो
जुन खोलामा गएर मिसिन्छ
कुनै जिन्दगी खोला जस्तो
जुन नदीमा गएर मिसिन्छ
आखिर जे भए पनि
अस्तित्व समाप्त हुन्न
केवल स्वरुप परिवर्तन हुन्छ।

जिन्दगीको नदीले
बग्न बिर्सिनु हुन्न
कर्तव्यबोध गरेर
जिम्मेवारीबोध गरेर
बगिरहनुपर्छ,बगिरहनुपर्छ
जिम्मेवारी तब खत्तम हुन्छ
जब जिन्दगी मृत-सागरमा गएर मिसिन्छ।

जिन्दगीको कुइनेटो

जिन्दगीको कुइनेटोमा तिमीलाई भेटेपछि
यात्रा मेरो सहज भयो संगै पाइला टेकेपछी

क्षितिजको कालो मेघ त्यसै-त्यसै फाटिदिन्छ
चोखो पिरतीको धारले दु:ख त्यसै काटिदिन्छ
नयनका बाटा हरु आँशुले नै छेके पनि
यात्रा मेरो सहज भयो संगै पाइला टेकेपछी

गगनमा जोडी पंक्षी रमाएर नाचे सरी
रमायौं हामी संगै एक अर्कामा भर परी
सारा संसार भुलेर अंगालोमा बेरेपछि
यात्रा मेरो सहज भयो संगै पाइला टेकेपछी

Saturday, 27 January 2018

शहिद कविता

      एकजना नामी कविले चारतले घरको छतमा बसी खुल्ला आकाश,बादल र वरिपरिको रमाइलो दृश्यावलोकन गरेर एउटा गतिलो कविता कोरी फेसबुकमा पोस्ट्याउँछ।तर घण्टौं हुँदा पनि कुनै लाइक र कमेन्ट नआउँदा ऊ बिलखबन्दमा पर्छ।अरुबेला त कविता पोस्ट्याएको केही मिनेटमै हजारौं लाइक,कमेन्ट आउँथे।वाहवाही पाउँथे।ऊ सामाजिक सञ्जालमा नायक भैसकेको थियो।आदर्श कवि भैसकेको थियो।लाखौंले उसको शैलीलाई पछ्याइसकेका थिए।
         आफ्नो कविताले कसैलाई ठेस पुर्याएको हो कि भनेर एकपल्ट सरसर्ती अध्ययन गर्छ तर त्यस्तो कुनै शब्द भेटाउँदैन।मनमा अनेक शंका-उपशंकाहरुले डेरा जमाउन थाल्छन्।आफ्नो कविता शहिद भएको देखेर ऊ आफैंले लाइक गर्छ तर जति पल्ट लाइक बटन दबाएपनि लाइक हुन्न।ईन्टरनेटले काम नगरेको हुनसक्छ भन्ठानेर चेक गर्छ तर अरुबेलाको भन्दा तीव्र चलिरहेको हुन्छ।
          मनमा भय सिर्जना हुन्छ।हतोत्साहित हुँदै आफ्नो वालमा गएर मित्रहरूको लिस्ट हेर्छ।उसको मुटु फुट्ला झैं गरी धड्किन्छ।कारण-मित्रहरूको लिस्टमा जम्मा ५ जना मात्र बाँकी रहेछन्।लगभग ४ हजारको संख्यामा रहेका मित्रहरुले अचानक एकैचोटी अनफ्रेन्ड गरेको देखेर ऊ पागल जस्तै हुन्छ।बेचैनी बढ्छ।कौतुहलताले पराकाष्ठा नाघ्छ।बाँकी ५ जनाले चाहिँ किन अनफ्रेन्ड गरेनन् भनेर खोजी गर्छ।ती ५ जना मित्रहरू तिनै हुन्छन् जो पृथ्वीलोकमा नभई बर्षौं पहिल्यै यमलोकमा बसाइँ सरिसकेका हुन्छन्।अचम्मको कुरा त यो हुन्छ कि चिनेजानेको भएपनि तिनीहरू कहिल्यै फेसबुकमा मित्र थिएनन्।
         ऊ भयभीत हुँदा चिप्लेर घरको छतबाट तल खस्छ।तथापि ऊ भुइँमा झर्दैन।पंक्षी झैं आकाशमा फिलिलि उड्छ।उड्दै-उड्दै गएर आफ्नो घरको आँगनमा पुग्दा उसको देहलाई केही मानिसहरुले सेतो कपडाले ढाकेर घाटतिर लैजाँदै गरेको देख्छ।

रजस्वला

मेरो आँखाको गल्छी हुँदै बहन्छन्
कैयौं रजस्वलाका नदीहरु
तर छेकिंदैनन् सुन्दर दृश्यहरु
देख्न सक्छु सगरमाथाको उचाइ
ठम्याउन सक्छु इन्द्रेणीका रङहरु
छल्न सक्छु दुश्मनका गतिशील गोलीहरु
तर कसरी टालिए कसै-कसैका आँखा
अन्धविश्वासका सुपरग्लूले?
कसरी बाँधिए
कुरीतिका काला पट्टीहरुले?
अचम्म लाग्छ।

तिनै अछुत मानिने रगतको गन्ध
नेपाली माटोको सुवास मिसिएको
अत्तरयुक्त वायुको माध्यमबाट
नाकका प्वालहरु हुँदै
नेपालको नक्सा कोरिएको
छातीलाई फुलाएर जान्छ
रोकिएको छैन श्वासप्रश्वास-प्रणाली
चुरोटको धुवाँले झैं
छिद्र-छिद्र पारेको छैन फोक्सो
अनि कसरी दुर्गन्धित भयो
रजस्वलाको गन्ध?
अचम्म लाग्छ।

जसको रगत बिना
सृष्टि सम्भव छैन
जसको रगतको थोपा-थोपाले
जीवनचक्रमा भाग लिएर
सुन्दर शिशुलाई संसार देखाउँछ
तिनै शरीरको रगत कसरी दुषित भयो?
अचम्म लाग्छ।

अक्सिजन लिएर
कार्बनडाइअक्साइड फाले झैं
जलपान पश्चात् मुत्र बिसर्जन गरे झैं
खानपान पश्चात् दिशा गरें झैं
रजस्वला पनि निष्कासन प्रकृया हो
प्राकृतिक प्रकृया हो
खै कुरो बुझेको?

यदि रजस्वला हुँदा छुन नहुने भए
दिशा-पिसाब गरेर पनि दूर बसे भो
पसिना आएको क्षण
श्रीमतीबाट दूर भागे भो
सक्छौ ए भोगी पुरुष हो?

रक्तस्राव भएको बेला
नारीले पकाएको खाना खान नहुने
त्यही नारी छाउगोठमा एक्लै हुँदा
बलात्कार गर्न मिल्ने?
क्या बिचित्रको समाज!
क्या अनौठो बिचार!

यो सुन्दर धराको
बर्षातले रुझे सरी
नारीको रजस्वलाले रुझ्न तयार छु।

हे पापी आँखाहरु!
रजस्वलालाई सुत्केरी सम्झ
रजस्वलाको रंगलाई सम्झ
गुलाफको रङ
लालीगुराँसको रङ
सिम्रीकको रङ
सिन्दूरको रङ।

यस्तो संवेदनशील अवस्थामा
नारीलाई दूर भगाउने हैन
पोषणयुक्त खानेकुरा ख्वाएर
मायाको न्यानो सिरक देउ।

समयको मागलाई बुझेर
सही कुराको समर्थन र
गलत कुराको बिरोध गर
शास्त्रको आँखाले नभई
मानवीय आँखाले हेर
निश्चल र पवित्र देख्नेछौ।

Friday, 26 January 2018

अन्तमा विदेश

डाँडाकाँडा,पाखा धाएर,अन्तमा विदेश आएँ
व्यापारमा घाटा खाएर,अन्तमा विदेश  आएँ
जता-जता पाइला टेकें, असफल भएँ त्यता
पिरतीमा धोका पाएर,अन्तमा विदेश आएँ।

रविले छेक्दैन

कर्मचारीको मनको कुरा क्यामेराले देख्दैन
घुसखोरी बन्द भइहालेमा महंगी नै थेग्दैन
भिडियो खिचेर टि.भी.मा जति देखाएपनि
घुस खाने मुखलाई पत्रकार रविले छेक्दैन।

घुस लिने तरीका

सुराकी आउँला भनी यताउता हेर्छन्
घुस दिने रकम लाई कागजमा बेर्छन्
बर्षौंदेखि बर्षौंसम्म चलिरहन्छ यस्तै
केवल घुस लिने-दिने तरीका फेर्छन्।

मुक्तक दोहोरी-१

संगीता श्रेष्ठ
तोडियो कसम खाको माफ गरिदेऊ प्रिय
हुने भए म त अर्काको माफ गरिदेऊ प्रिय
म मेरो चोखो मायामा अटल रहन सकिन
खुशी रोजिदिए बाको माफ गरिदेऊ प्रिय।

माङ संग्राम
रुवाउने नै भए किन हिजो हँसायौ भन
साथ दिन्छु भनी किन कसम खायौ भन
स्वार्थ पूरा गर्न छोडेर जानुनै थियो भने
किन झूटो आश देखाई माया लायौ भन।

संगीता श्रेष्ठ
खोसी मेरो हात अर्कालाई दिंदैछ म के गरु?
यो मेरो मुटु जोडले भक्कानिंदैछ म के गरु?
यो जिन्दगीको पाना पल्टनै नसक्ने भो अब
खुशी सकिंदैछ मेरो शिर रंगिंदैछ म के गरु?

माङ संग्राम
बाबालाई बिन्ती गरी पाउ पर्नुपर्छ
नमानेमा दुई कदम अघि सर्नुपर्छ
यात्रा शुरु गर्नु मात्र ठूलो कुरो हैन
माया गरेपछि यात्रा पूरा गर्नुपर्छ।

यात्रा

बाबालाई बिन्ती गरी पाउ पर्नुपर्छ
नमानेमा दुई कदम अघि सर्नुपर्छ
यात्रा शुरु गर्नु मात्र ठूलो कुरो हैन
माया गरेपछि यात्रा पूरा गर्नुपर्छ।

कसरी हेरुँ

जान्न बाबा-ममी भन्दै तिमीले रोएको म कसरी सुनुँ
दिन-रात अश्रु झारी मुहार धोएको म कसरी सुनुँ
तिमीलाई पराइले सिन्दूर हालेर  खाली सिउँदोमा
सुहागरातको नाममा शरीर छोएको म कसरी सुनुँ?

Thursday, 25 January 2018

सिन्दूर सजाउ

जाउ प्रिया,रोक्ने छैन,रमाएर जाउ
उसैको घरमा गई मीठो-मीठो खाउ
तिमीलाई आफ्नो भन्ने मेरो इच्छा मारी
हाँसी-हाँसी पराइको सिन्दूर सजाउ।

सुन्दर भएर

झिलिमिली शहरमा घर भएर होला
मलाई भन्दा उसलाई भर भएर होला
मेरो चोखो मायाको हत्या गरी जाँदैछौ
शारीरिक रुपमा ऊ सुन्दर भएर होला।

मीठो खाना

तिमीलाई मेरो माया लाग्दैन र प्रिया?
के मैले चाहिँ सुखमा राख्दैन र प्रिया?
बहानामा किन तिमी तर्किन खोज्दैछ्यौ
मेरो घरमा मीठो खाना पाक्दैन र प्रिया?

किन माया लायौ

रुवाउने नै भए किन हिजो हँसायौ भन
साथ दिन्छु भनी किन कसम खायौ भन
स्वार्थ पूरा गर्न छोडेर जानुनै थियो भने
किन झूटो आश देखाई माया लायौ भन।

भोज

अचानक मेरो नजर
एउटा भयावह दृश्य माथि पुग्छ।

चार जना मुखौटाधारीहरुले
कालो धोक्रोले शीर छोपिएको
एउटी नारीलाई
चारतिर बाट हातखुट्टा पक्डेर
फाँसीको डोरीमा चढाउँदैछन्।

ती निरीह नारी
न्वारानदेखिको उर्जा खर्चेर
फुत्किन खोज्दैछिन्।

उम्म!उम्म! भन्दैछिन्
लाग्छ-उनको मुख टेपले बाँधिएको छ।

तत्कालै उनको शीर
गोलाकार डोरीमा पर्छ
ती नर-पिशाचहरुले
उनलाई तुर्लुङ्ग झुन्ड्याउँछन्।

हात-पाउहरु निकैबेरसम्म चल्छन्
लाख यत्नको बाबजुद पनि
एकैछिनमा शरीर अचल हुन्छ।

म हायलकायल हुन्छु
चिट-चिट पसिना आउँछ
मुटुको गति तेज भएर
ढुकढुकीको आवाज आफैंले सुन्छु।

केहीबेरको इशारा र संकेत पश्चात्
धारिलो हतियारले काटेर
शवलाई तल झारिन्छ।

हातपाउमा समाएर
घना जंगलको बाटो जान्छन्
म भयभीत हुँदै
उनीहरुको पदचापलाई पछ्याउँछु।

निर्जन स्थानमा पुगेपछि
अर्को दृश्य देखिन्छ,जहाँ
केही मुखौटाधारीहरु
फलामको चौकासमा
दनदनी आगो बालेर
व्यग्र प्रतिक्षारत छन्।

एउटा ठूलो डेक्चीमा
किसमिस,काजु र बदाम हालिएको
खाउँ-खाउँ लाग्ने पुलाउ।

नारीको शव देखेर
प्रतिक्षारत राक्षसहरु
ताली बजाउँदै नाच्छन्।

हरे शिव!
शवलाई चौकासमा राखेर
निर्वस्त्र पारिरहेका छन्
जुन दृश्य म हेर्नै सक्दिन
शीरको कालो धोक्रो पनि हटाइन्छ
म ठम्याउने कोसिस गर्छु
निकै दूर भएकोले चिन्न सक्दिन।

सुकोमल शरीर
क्रमशः कुरुप हुँदै जान्छ
फलामका भाला लिएर
कोही गुप्ताङ्गहरुलाई घोच्दैछन्
कोही अट्टहास गर्दैछन्।

मेरा आँखाहरु रसाउँछन्
मुटु फुट्नेगरी दुख्छ
हृदयघात होला झैं हुन्छ।

मासु पाक्दै जान्छ
बोसो तप्प-तप्प चुहिन्छ
सबैको नजर त्यतै छ
लाग्छ-मुख रसाइरहेका छन्
र्याल काढिरहेका छन्।

भटाभट नयाँ पाहुना थपिंदैछन्
भेटघाट र सत्कारमा तल्लीन छन्
लाग्छ-ठूलै भोज हुनेवाला छ।

मासुलाई आकर्षक टुक्राहरुमा टुक्र्याइन्छ
पुलाउ र मासुलाई
दुई-चार भाँडामा विभक्त गरी
टेबलमाथि सजाइन्छ।

लगभग पाहुना आइसकेका छन्
भोज खानाको लागि तम्तयार हुन्छन्
सबैले मुखुण्डा उतार्न थाल्छन्
मेरो होसहवास उड्छ
ती त सबै जान-पहिचानका छन्
उच्च पदस्थ अधिकारीहरू!
प्रधानमन्त्री,मन्त्री र राजनेताहरु!
सेना-प्रहरीका प्रमुखहरु!
वाफ्रे!वाफ्रे!वाफ्रे!
छिमेकी राष्ट्रका राष्ट्र-प्रमुखहरू!

बफे सिस्टमको लागि
सबै लाइनमा उभिएका छन्
पालै-पालो
प्लेटमा खाना राखेर कुर्सीतिर जान्छन्।

मुख मिठ्याई-मिठ्याई खाँदैछन्
कोही फेरि थपी-थपी खाँदैछन्
कोही डकारिरहेकाछन्
कोही पादिरहेका छन्।

त्यो तमासा देखेर
मलाई भने बान्ता हुँदैछ
पेट निचारिन्छ
आन्द्रा बटारिन्छन्।

भोज भव्य हुँदैछ
सोमरस धोकेर टिल्ल-टिल्ल हुँदैछन्
ठूलो साउन्ड-सिस्टम घन्किन थाल्छ
गीत-संगीतमा झुम्मिन्छन्।

नाचगान समाप्त हुँदैछ
बिदाइको तयारी चल्दैछ
बिदेशी पाहुनाहरु
हात मिलाएर बिदा हुँदैछन्
म तीखो कान बनाएर सुन्न खोज्दैछु।

"भोजको लागि धन्यवाद।"
"यो त हाम्रो धर्म नै हो नि।"
"यो भोज कहिल्यै बिर्सने छैन।"
"कस्तो लाग्यो त हजुरलाई हाम्रो भोज?"
"एकदम रमाइलो।"
"कस्तो लाग्यो त नेपाल आमाको सेकुवा?"

म बेहोस हुन्छु
होस आउँदा आफ्नै बेडमा पाउँछु
कस्तो खतरनाक सपना!!!








Wednesday, 24 January 2018

बैगुनीहरु

कंस र शकुनीहरुको कमी छैन यहाँ
जताततै खुनीहरुको कमी छैन यहाँ
कस्तो जमाना आयो,गुन लाउनै हुन्न
अरे यार बैगुनीहरुको कमी छैन यहाँ।

जोकतन्त्र

नेपालमा देखावटी~लोकतन्त्र आयो हेर्नुस्
मनपरी खोकी हिंड्ने खोकतन्त्र आयो हेर्नुस्
ठट्टा,मजाक गर्दै हिंड्छन् हाम्रा ठूला नेताहरु
हाँस्ने अनि हँसाउने जोकतन्त्र आयो हेर्नुस्।

पाण्डवहरु पनि

पूर्णरूपमा गलत थिएनन् कि कौरवहरु पनि
देवता सित जोडिएर आउँछन् दानवहरु पनि
जुवातासमा पक्कै पनि त्यहाँ छलकपट हुन्छ
सयमा सय सही थिएनन् कि पाण्डवहरु पनि

Tuesday, 23 January 2018

शेर्पा दाइ

शेर्पा दाइ!छिटो फर्क!

तिमीले आरोहण गरेको चोमोलोङमा
वियोगमा भक्कानो फुटाएर रोइरहेछ
तिम्रा पाइलाका डोबहरु
हिमपहिरोमा पुरिएर
शहिद भैसकेका छन्
तिमीले स्पर्श गरेको हिउँ
टिलपिल अश्रु झारेर पग्लिरहेका छन्
चिसो समीरले
मर्मस्पर्शी धून निकालेर
विरहको गीत गाइरहेको छ
शेर्पा दाइ!छिटो फर्क!

ती भीर,पाखा र पर्वतहरु
तिम्रो टुङनाको धून श्रवण गर्न आतुर छन्
झरना,छाँगा र छहराहरु
तिम्रा शब्दहरुमा संगीत भर्न हतास छन्
चौंरी,याक र भेडाहरु
तिम्रो सेब्रुको तालमा
नृत्य गर्न प्रतिक्षारत छन्
शेर्पा दाइ!छिटो फर्क!

तिम्रो प्रस्थान पश्चात्
पालु,मम्मा,आजी र आच्युहरु
अनुहारमा मुस्कान फुलाएर
एकपल पनि हाँसेका छैनन्
तिनका बिक्षिप्त नयनहरु
धेरै सालदेखि अनिंदो बसेर
तिम्रो आगमनको दृश्य हेर्न
फर्फराइरहेका छन्
छट्पटाइरहेका छन्
तिनका अधरहरु
तिम्रो नामोच्चारण गर्न आतुर छन्
शेर्पा दाइ!छिटो फर्क!

सुपरग्लुले कुनै चीज टाले झैं
मुखहरु टालिएका छन्
स्तब्ध र निशब्द छन्
शेर्पा दाइ!छिटो फर्क!

तिम्रो अनुपस्थितीमा
शेर्पा भाषा अपांग भएको छ
प्यारालाइसिस भएको छ
कंगाल भएका छन् भेषभुषा र संस्कृति
कुम्भकर्ण झैं चीर-निद्रामा परेका
गीत-संगीतलाई ब्युँझाउन
शेर्पा दाइ!छिटो फर्क!

हिमाली गाउँका बृद्ध-बृद्धाहरु
घिटी-घिटी गरेर
मरेतुल्य जीवन जिइरहेका छन्
अन्तिम सासमा पनि
तिमीलाई नै खोजिरहेका छन्
तिम्रै मुख हेरेर मर्ने भन्दैछन्
शेर्पा दाइ!छिटो फर्क!

फापरको ढिंडो र सोसुमहरु
रिल्दोक र स्योक्पाहरु
छुर्पी र सेर्केमहरु
तिमीले छोडेर गएदेखि
क्षण-क्षणमा तड्पिरहेका छन्
तिमी विदेशमा उडेर
उतै पलायन भएर
पिज्जा,बर्गर र म्याकडोनाल्ड सित
मितेरी गाँसेपछि
आत्महत्या गर्न खोज्दैछन् परिकारहरु
हाम्रा लोकल परिकारलाई जीवित राख्न
शेर्पा दाइ!छिटो फर्क!

तिम्रो साथ पाउँदा
निर्धक्क फुलेर सुवास पस्कने
चाँप,गुराँस र सुनाखरी
तिमीसंग ब्रेक-अप भएपछि
फुल्न सकिरहेका छैनन्
पातहरु झरिरहेका छन्
कोपिलाहरु मरिरहेका छन्
पाप लाग्ला है तिमीलाई
शेर्पा दाइ!छिटो फर्क!

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...