Saturday, 27 January 2018

रजस्वला

मेरो आँखाको गल्छी हुँदै बहन्छन्
कैयौं रजस्वलाका नदीहरु
तर छेकिंदैनन् सुन्दर दृश्यहरु
देख्न सक्छु सगरमाथाको उचाइ
ठम्याउन सक्छु इन्द्रेणीका रङहरु
छल्न सक्छु दुश्मनका गतिशील गोलीहरु
तर कसरी टालिए कसै-कसैका आँखा
अन्धविश्वासका सुपरग्लूले?
कसरी बाँधिए
कुरीतिका काला पट्टीहरुले?
अचम्म लाग्छ।

तिनै अछुत मानिने रगतको गन्ध
नेपाली माटोको सुवास मिसिएको
अत्तरयुक्त वायुको माध्यमबाट
नाकका प्वालहरु हुँदै
नेपालको नक्सा कोरिएको
छातीलाई फुलाएर जान्छ
रोकिएको छैन श्वासप्रश्वास-प्रणाली
चुरोटको धुवाँले झैं
छिद्र-छिद्र पारेको छैन फोक्सो
अनि कसरी दुर्गन्धित भयो
रजस्वलाको गन्ध?
अचम्म लाग्छ।

जसको रगत बिना
सृष्टि सम्भव छैन
जसको रगतको थोपा-थोपाले
जीवनचक्रमा भाग लिएर
सुन्दर शिशुलाई संसार देखाउँछ
तिनै शरीरको रगत कसरी दुषित भयो?
अचम्म लाग्छ।

अक्सिजन लिएर
कार्बनडाइअक्साइड फाले झैं
जलपान पश्चात् मुत्र बिसर्जन गरे झैं
खानपान पश्चात् दिशा गरें झैं
रजस्वला पनि निष्कासन प्रकृया हो
प्राकृतिक प्रकृया हो
खै कुरो बुझेको?

यदि रजस्वला हुँदा छुन नहुने भए
दिशा-पिसाब गरेर पनि दूर बसे भो
पसिना आएको क्षण
श्रीमतीबाट दूर भागे भो
सक्छौ ए भोगी पुरुष हो?

रक्तस्राव भएको बेला
नारीले पकाएको खाना खान नहुने
त्यही नारी छाउगोठमा एक्लै हुँदा
बलात्कार गर्न मिल्ने?
क्या बिचित्रको समाज!
क्या अनौठो बिचार!

यो सुन्दर धराको
बर्षातले रुझे सरी
नारीको रजस्वलाले रुझ्न तयार छु।

हे पापी आँखाहरु!
रजस्वलालाई सुत्केरी सम्झ
रजस्वलाको रंगलाई सम्झ
गुलाफको रङ
लालीगुराँसको रङ
सिम्रीकको रङ
सिन्दूरको रङ।

यस्तो संवेदनशील अवस्थामा
नारीलाई दूर भगाउने हैन
पोषणयुक्त खानेकुरा ख्वाएर
मायाको न्यानो सिरक देउ।

समयको मागलाई बुझेर
सही कुराको समर्थन र
गलत कुराको बिरोध गर
शास्त्रको आँखाले नभई
मानवीय आँखाले हेर
निश्चल र पवित्र देख्नेछौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...