तिम्रो जीवनको अक्कर भीरबाट
बेपर्वाह फालिदियौ "म" नामको पत्थर
सियोको टुप्पो जतिको दया पलाएन
झिलिमिली गगनचुम्बी मनबाट निकाल्दा।
माथिबाट तल-तल झर्दै गर्दा
चरम दर्द खेपिरहेको थिएँ
तर तिमीलाई चरम आनन्द आयो
तिम्रो हर्ष देखेर
चोट लागेको पत्तै भएन
मनमा आलो घाउ लिएर पनि
तिम्रै उत्सवमा साथ दिएँ
कतिबेला बजारेर टुक्रिएँ
कुनै महसुस भएन।
भौगोलिक हिसाबले दूर भएपनि
तिमी मेरो दिलको समिपमै रह्यौ
यदि मिल्ने भए तिम्रो याद
धारिलो छुराले च्वाट्टै काटेर
नदीमा मिल्काइदिने थिएँ।
बिछोडले च्यात्तिएको मुटु
फुत्त निकालेर
टेलरिङ सेन्टरमा
बलियो धागोले
फेरि तत्कालै नउध्रीने गरी
सिलाउन पनि त सकिन।
मनको ग्यालेक्सीमा विद्यमान
अनगिन्ती ताराहरु मध्येबाट
एउटालाई छानेर सजाई
"तिमी" नामको तारालाई
झार्न चाहन्थें धेरै तल र
धरासायी भएको हेर्न चाहन्थें
तर म भित्र निहित
एकप्रकारको गुरुत्वआकर्षण बलले
तिमीलाई अझ समिपमा तानिरह्यो।
मसंग एउटै विकल्प बाँकी छ
अन्तिम पटक भेट्न आउ र
तिम्रो लागि धड्किने यो मुटु
तिम्रै हातले झिकेर
अचानोमा राखेर
हजारौं टुक्रा बनाई
तिम्रो गिद्धे अहंकारलाई ख्वाइदेउ।
No comments:
Post a Comment