शालिनताको महासागरमा
मोती भएर चम्किरहेका छौ
हिरा भएर टल्किरहेका छौ
तर देख्नुपर्नेको आँखाको ज्योती गुमेपछि
छैन कुनै अर्थ
टल्किनु व्यर्थ।
आफ्नै मुख सिएर पनि
आवाजविहीनहरुको आवाज बन्यौ
तर आवाज दबाउने दुस्साहस गरियो।
आफ्नै पेटभित्र चक्का-जाम गरी
विद्यामान परिस्थितिको तोडफोड गर्यौ
चेतनाको टायर बाल्यौ
दलविहीन बैचारिक नारा लगायौ
किनकी तिमीले मनमा देश राख्यौ
नाफाको व्यापारी लाई घाटामा देख्न चाहेनौ।
आफ्नो मुख बन्द राखेर
देख्न चाह्यौ जनको भाग्य खुलेको।
आफ्नो सासको पर्वाह नगरी
निमुखाहरुको धड्कन चलाउने हिम्मत गर्यौ
आम जनको मसिहा बन्न खोज्यौ
सिटामोल नपुग्ने ठाउँमा
अस्पताल पुर्याउने धृष्टता गर्यौ
आलो घाउमा मलमपट्टी गरेर
जन-नायक हुन खोज्यौ
यहींनेर भयो तिम्रो भयंकर गल्ती।
कमिसनखोरीको किटाणुले खाएर सिकिस्त
राज्यको उपचार गर्न
अस्पतालको शैय्यामा गयौ।
सोझोको मुख कुकुरले पनि चाट्छ
त्यसैले डा. साब
अब उपचारको बिधि फेर्नुपर्यो।
मौन रहेर त यहाँ
शक्तिशाली बम पड्के पनि कसैले टेर्दैनन्
त्यसैले तिमी अब
शासकहरुको कानको जालो फुट्नेगरी
बिस्फोट हुनुपर्यो।
No comments:
Post a Comment