आमा!
मेरो बाबा कस्तो हुनुहुन्थ्यो?
उहाँको नाम के हो?
मेरो बाबु!
कसरी भनुँ तिम्रो बाबा कस्तो हुनुहुन्थ्यो भनेर?
तिम्रो सवालले म टुक्रा-टुक्रा हुन्छु
अतीतको तालमा पौडिने हिम्मत ममा छैन
स्मृतिको खाडलमा पस्ने कष्ट गर्न सक्दिन
धेरैपटक दिएकी छु-सपनाहरूमा दागबत्ती
ओहोरदोहोर गरिसकेको छु-आफ्नै भाग्यको घाट।
जब तिम्री आमाको श्रीमान् इहालिला त्यागेर
परलोक जानुभयो नि
तिम्रा दाजु-दिदीहरुको अस्तित्व कायम राख्न
मलाई कम त गाह्रो भएन!
उनीहरुको भविष्य उज्यालो पार्न
मैले अँध्यारोमा जानुपर्यो।
आर्थिक श्रोतको अभावमा यो स्वार्थी दुनियाँले
न त ऋण पत्याए
न पौरखी हातहरुलाई।
नगदनारायण कमाउन
जस्तोसुकै कठिन श्रम गर्न तयार थिएँ
किनकी हातमुख जोर्न त्यति सजिलो थिएन।
गाह्रो काम कतै नपाएपछि
सबैभन्दा सजिलो काम सजिलैसँग पाएँ।
समाजका गिद्धहरुलाई
आफ्नो मासु लुछाएर
आफ्नो रक्त चुसाएर
तृष्णा मेट्न लगाई
तृप्त पार्ने मेरो दैनिकी बन्यो।
त्यही शिलशिलामा अँध्यारा कोठाहरुमा
दिन-प्रतिदिन
केही घण्टाहरुको अन्तरालमा
तिम्रा बाबाहरुका अनुहारहरु फेरिए
उनीहरुका परिचय फेरिए
स्वयं मलाई समेत यकिन छैन
कुन चाहिँ ठ्याक्कै तिम्रो बाबा थियो
अनि म कसरी भनुँ
तिम्रो बाबा कस्तो हुनुहुन्थ्यो?
हो बाबु!
त्यही शिलशिलामा
तिमी मेरो गर्भमा
अनुत्तरित प्रश्नहरुको चाङ बनेर आयौ
अनि म कसरी दिउँ
समाजले सोधेका प्रश्नको उत्तर
कसरी दिउँ तिम्रो प्रश्नको उत्तर
अब तिमी आफैं भन
म कसरी भनुँ
तिम्रो बाबा कस्तो हुनुहुन्थ्यो भनेर?
No comments:
Post a Comment