Saturday, 27 January 2018

शहिद कविता

      एकजना नामी कविले चारतले घरको छतमा बसी खुल्ला आकाश,बादल र वरिपरिको रमाइलो दृश्यावलोकन गरेर एउटा गतिलो कविता कोरी फेसबुकमा पोस्ट्याउँछ।तर घण्टौं हुँदा पनि कुनै लाइक र कमेन्ट नआउँदा ऊ बिलखबन्दमा पर्छ।अरुबेला त कविता पोस्ट्याएको केही मिनेटमै हजारौं लाइक,कमेन्ट आउँथे।वाहवाही पाउँथे।ऊ सामाजिक सञ्जालमा नायक भैसकेको थियो।आदर्श कवि भैसकेको थियो।लाखौंले उसको शैलीलाई पछ्याइसकेका थिए।
         आफ्नो कविताले कसैलाई ठेस पुर्याएको हो कि भनेर एकपल्ट सरसर्ती अध्ययन गर्छ तर त्यस्तो कुनै शब्द भेटाउँदैन।मनमा अनेक शंका-उपशंकाहरुले डेरा जमाउन थाल्छन्।आफ्नो कविता शहिद भएको देखेर ऊ आफैंले लाइक गर्छ तर जति पल्ट लाइक बटन दबाएपनि लाइक हुन्न।ईन्टरनेटले काम नगरेको हुनसक्छ भन्ठानेर चेक गर्छ तर अरुबेलाको भन्दा तीव्र चलिरहेको हुन्छ।
          मनमा भय सिर्जना हुन्छ।हतोत्साहित हुँदै आफ्नो वालमा गएर मित्रहरूको लिस्ट हेर्छ।उसको मुटु फुट्ला झैं गरी धड्किन्छ।कारण-मित्रहरूको लिस्टमा जम्मा ५ जना मात्र बाँकी रहेछन्।लगभग ४ हजारको संख्यामा रहेका मित्रहरुले अचानक एकैचोटी अनफ्रेन्ड गरेको देखेर ऊ पागल जस्तै हुन्छ।बेचैनी बढ्छ।कौतुहलताले पराकाष्ठा नाघ्छ।बाँकी ५ जनाले चाहिँ किन अनफ्रेन्ड गरेनन् भनेर खोजी गर्छ।ती ५ जना मित्रहरू तिनै हुन्छन् जो पृथ्वीलोकमा नभई बर्षौं पहिल्यै यमलोकमा बसाइँ सरिसकेका हुन्छन्।अचम्मको कुरा त यो हुन्छ कि चिनेजानेको भएपनि तिनीहरू कहिल्यै फेसबुकमा मित्र थिएनन्।
         ऊ भयभीत हुँदा चिप्लेर घरको छतबाट तल खस्छ।तथापि ऊ भुइँमा झर्दैन।पंक्षी झैं आकाशमा फिलिलि उड्छ।उड्दै-उड्दै गएर आफ्नो घरको आँगनमा पुग्दा उसको देहलाई केही मानिसहरुले सेतो कपडाले ढाकेर घाटतिर लैजाँदै गरेको देख्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...