Friday, 5 January 2018

रानी

ओइ मैयाँ!
यति सारो नहेप ल!
म फित्ता चुंडिएको
हात्तीछाप चप्पल घिसारेर
पुरानो गन्जी र पाइन्ट लाएर
सडकको कुनै-कुनाबाट
खाली गोजी लिएर
लुखुर-लुखुर हिंडिरहँदा
तिमी बि.एम.डब्ल्यू कारमा
सुइँया हुँइकिंदै
सडकको हिलो नछ्याप।

मलाई संसारकै सबभन्दा गरीब,
अनि आफूलाई धनी नसम्झ
कुनै दिन म पनि धनी हुनेछु
संसारकै सबैभन्दा धनी।

मेरो कुरा सुनेर फिस्स नहाँस
झूटो बोल्या हैन,साँचो हो
बरु सोध " कसरी" भनेर।

म मायाको यस्तो यान बनाउँदैछु
जुन यानबाट सजिलैसँग
८ ग्रहहरुमा पुग्न सकिन्छ
जुन यानबाट
संसारका प्रेमिल जोडीहरुको लागि
सित्तैमा उडान भरिनेछ
उनीहरू हनिमून मनाएर फर्किनेछन्।

तिमीलाई कौतुहल हुनसक्छ
म कसरी धनी हुन्छु भनेर
ब्रम्हाण्डका सबै ग्रह,उपग्रहहरु
मेरै अधिनमा हुनेछन्
पृथ्वी बाहेक
८ ग्रहहरुकै मालिक हुनेछु म
ब्रम्हाण्डकै राजा हुनेछु।

यदि तिमी पनि
म जस्तै धनी हुने भए
मेरो प्रेम स्वीकार गर
मसंग सुटुक्क बिहे गर
हाम्रो हनिमून मनाउन
म तिमीलाई मंगल ग्रहमा लैजान्छु।

हाम्रो ठूलो परिवार हुनेछ
सुखी परिवार हुनेछ
हप्ताको सातै दिन
मेरो अफिस छुट्टी हुनेछ
प्रत्येक छुट्टीमा तिमीलाई
ताराहरुमा घुमाउन लैजानेछु।

मसंग बिहे गरेपछिको
तिम्रो पहिलो जन्मदिनमा
चन्द्रमा उपहार दिनेछु।

माइतीघरको चिन्ता नलिनु
तिम्रो बा-आमालाई
म ज्वाइँको तर्फबाट
बृहस्पति उपहार दिइनेछ
प्रत्येक महिना हामी
तिम्रो माइत जाऔंला।

दाजुभाइको पनि चिन्ता नगर
मंगल ग्रहमै
२/४ बिगाहा जमिन दिउँला
ठूलो भाइलाई प्रधानमन्त्री
सानो भाइलाई सेनापति
बहिनीलाई मेरै सचिब बनाउँला।

यदि तिमीलाई रानी हुनुछ भने
म अर्थात राजासँग बिहे गर
कसम!तिमी मालामाल हुनेछ्यौ
अहिल्यै सोचेर निर्णय सुनाउ
तर यसरी
बि.एम.डब्ल्यू.मा चढेर
हिलो छ्याप्दै नहिंड।



No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...