सुन्नुस् त पाठकबृन्द!
म एउटा सामान्य कृषक हुँ
कवि हुन के गर्नुपर्छ?
दिनभरी हलो,जुवा,कोदाली चलाएर
समस्याको समाधान छरेर आउँछु
दिनले रातसंग आत्मासमर्पण गरिरहँदा
ती हतियारहरुलाई युद्धविराम गर्न लगाई
पसिनाको गन्धसंगै
तरवार भन्दा बलियो
अर्को हतियार निकालेर
अक्षरहरुसंग युद्ध आरम्भ गर्छु।
निर्दोष र निरीह शब्दहरुलाई
कहिले धम्काउँछु
कहिले फकाउँछु
कहिले उचाल्छु
कहिले पछार्छु
खुरुक्क माने
तिनीहरुसंग मनोमानी गर्छु
नमानेको खण्डमा
बलात्कार गर्न पछि पर्दिन
बिचराहरु!
अन्याय र अत्याचार सहेर
दबिएर बस्न विवश हुन्छन्।
तर बिडम्बना
अक्षरहरुको खेती गर्न
त्यति सहज कहाँ छ र?
आफ्नो अनुकूलता अनुसार
मलजल र गोडमेल गर्दा
तिनीहरुलाई प्रतिकूलता भैदिने रहेछ
अन्ततः हरियो हुन नसकी
पहेंलिएर जान्छन्
गरिएको मिहिनेतमा बाढी आउँछ
त्यसैले त म गरीब कृषक
कृषकमै सिमित हुन्छु
कवि बन्न सक्दिन।
प्रिय पाठक महोदय!
अर्को सवालको जवाफ पाउँ त,
कविता सजिलैसँग नबुझिने हुन्छ हो?
यदि त्यस्तो हुने भए
संसारकै ठूलो कवि मै हुँ
किनकि मैले लेखेको अरुले त के
म आफैंले पनि ठम्याउन सक्दिन।
मैले उठाएको
अक्षरहरुको चाङ देखेर
मेरो छोरो मलाई गिज्याउँछ
"कागले छेरेको जस्तो लेखेछ बाउले"
यस्तै व्यंग्यवाणले
मेरो मुटुमै लाग्ने गरी हान्छ
म घाइते भएर छट्पटिरहन्छु
जसरी घाइते पंक्षी फट्फटाउँछ।
कवि महोदयहरु राजधानीमा
काव्यरस पिउँदै-पिलाउँदै
मेहफिलमा जम्दै गर्दा
आफू भने मोफसलमा
सातु र पानीले
पेटको पूजा गरेर
बाली-नालीलाई स्याहार्दै
थोत्रा,पुराना लगाएर
माटोसंग लप्पा खेल्दै हुन्छु
अनि कसरी कवि हुनसक्छु?
अब अन्तमा केही सवाल गर्छु है
के कवि हुनलाई
धेरै पढेलेखेको हुनुपर्छ हो?
लेखेको कविता पाठकले पढ्दा
शब्दकोष साथमै राख्नुपर्छ हो?
कविता गोष्ठीमा भाग नलिई
खेतीपातीमा भाग लिने म जस्ता कृषक
कवि हुन सक्दैनन् हो?
अनि कवि हुन के गर्नुपर्छ?
वरिष्ठेहरुको गोडा मोल्नुपर्छ हो?
No comments:
Post a Comment