रवि-किरण भन्दा द्रुत गतिमा
जिन्दगीको म्याराथन दौडमा
छलाङ मार्न खोज्छन् मनुष्य।
स्वार्थ पूर्ति र प्राप्तिको खातिर
इमानलाई डस्बिनमा मिल्काई
मानवीय मूल्य,मान्यता बिर्सेर
सरल-रेखालाई चट्टै छोडी
वक्र-रेखामा हिंड्दा-हिंड्दै
मानवताको अर्विटबाट फुत्किन्छन्।
चारखुट्टे जनावरहरु
हरियो घाँसलाई पछ्याउँदै
अक्कर भीरमा पुगेर
भयानक खतरा मोले झैं
कागजको खोस्टाको निमित्त
खतरनाक भीरमा पुग्छन् मनुष्य।
जननीको छातीमा लात मार्छन्
भर्खर पलाउँदै गरेका पालुवालाई
निर्ममतापूर्वक निमोठेर फाल्छन्
सुकोमल फूलहरुको अस्मिता लुट्छन्
बहादुरी प्रदर्शनको क्रममा
अत्याचारको पराकाष्ठा नाध्छन्।
कथित धर्मको नाममा
निर्दोष पशु-पंक्षीको गला रेटेर
रक्तको सप्तकोसी बगाई
बलि चढाएको ढोङ रचेर
सेकुवा,रोस्टको स्वाद लिन्छन्।
त्यति मात्र नभई
भगवानलाई हर्षित बनाउने होडमा
कलिला बालबालिकाका गर्धन छिनाएर
नरसंहारको मार्ग अपनाई
हिटलर जस्तै क्रूर भएर
मानव-बलि दिइरहेका छन् मनुष्य।
जमाना फेरिएको छ
समय फेरिएको छ
अब शब्दकोष फेरिनुपर्छ
शब्दार्थ पनि फेरिनुपर्छ
जनावरलाई तल्लोस्तरमा राख्नुहुन्न
सबैभन्दा माथि राख्नुपर्छ
जनावरको अर्थ फेरिनुपर्छ
संगसंगै मनुष्यको अर्थ पनि फेरिनुपर्छ
मनुष्यको पर्यायवाची राक्षस हुनुपर्छ।
देवी-देवताहरुलाई पनि
म शिकायत गर्न चाहन्छु
खुल्ला चुनौती दिन चाहन्छु
विनम्र आग्रह गर्न चाहन्छु
कृपया आजैदेखि
जीव-जन्तुलाई वहन बनाउन छोडिदिनुस्।
No comments:
Post a Comment