Monday, 22 January 2018

कमालको दरबार

सिंहको दरबारमा
श्रीपेच लाउन गएका कुकुर
स्याल भएर रजाइँ गर्छन् र
बाघ भएर गर्जिंदै निस्किन्छन्
अरे वाह कमालको छ यो दरबार!

राजपरिवारको सदस्यलाई
ज्वरो मात्र आएपनि
हवाइ-एम्बुलेन्सको आकस्मिक उडान
बिदेशी अस्पतालको
प्राङ्गनमा अवतरण हुन्छ
अरे वाह कमालको छ यो दरबार!

जनताको भर्याङ चढेर
माथि पुगेका राजा-रजौटाहरु
यताउता सवारी हुँदा
साइरन बजाएर सतर्क हुँदै-गराउँदै
सकड ठप्प पारेर
यसरी तर्केर हुँइकिन्छन्
मानौं-जनता शक्तिशाली बम हुन्
अरे वाह कमालको छ यो दरबार!

फिका जानेहरु रंगीन भएर
कालाहरु गोरा भएर
गाईहरु गधा भएर
टिलिक्क टल्केकाहरु मैलिएर
मैलिएकाहरु टल्किएर निस्किन्छन्
अरे वाह कमालको छ यो दरबार!

बिकाउ टाउकाहरु
सत्ता-समीकरणको
जोड-घटाउमा तल्लीन हुन्छन्
अरे वाह कमालको छ यो दरबार!

महाविपत्तिको अलार्म बज्दा
चौरासी-व्यञ्जन र सोमरसमा ब्यस्त
रासलिलामा मस्त
भोगी महापुरुषहरु आक्रोशित हुन्छन्
अरे वाह कमालको छ यो दरबार!

नीति-नियम-निर्माताहरुबाटै
नियमको ठाडो उल्लंघन हुने
भित्र-भित्रै जालझेलको खिचडी पाक्ने
माफियाहरुको बैठकस्थल
ठेक्का-पट्ठा र कमिसनको बार्गेनिङ हुने
अरे वाह कमालको छ यो दरबार!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...