ठूल्ठूला ठेलीहरु पढ्नै पर्दैन
कुनै यौवनाको मुस्कान पढे पुग्छ
प्रकृतिको जवानी पढे पुग्छ
देशको मुहार पढे पुग्छ
कर्मठ ब्यक्तिहरुको यथार्थता पढे पुग्छ
त्यहाँ कविताहरु यत्रतत्र
फुलिरहेका हुन्छन्
झुलिरहेका हुन्छन्
फलिरहेका हुन्छन्।
यौनशालामा देहव्यापार गर्न विवश
यौनकर्मीहरुको व्यथालाई
दुई लाइनमा उतारे पुग्छ
महाकाव्य लेख्नैपर्छ भन्ने छैन।
राष्ट्रवादको च्यादर ओढेर
राष्ट्रलाई खोक्रो बनाउने
नेताहरुको चरित्र उदाङ्गो पारे पुग्छ।
दलालहरुबाट बेचिएका
चेलीहरुको आँशुलाई मसी बनाएर
सेतो पानामा वास्तविकता पोतिदिए पुग्छ।
यौनपिपासुबाट बलात्कृत बालिकाको
शरीरबाट भएको रक्तस्रावले
चीत्कार र पीडाको दुई रक्तिम अक्षर लेखे पुग्छ।
बिषयबस्तु खोज्न धेरै दूर जानै पर्दैन
शोषित,पीडितहरुको मर्म समेटे हुन्छ
आवाजविहीनहरुको आवाज बुलन्द गर्न
नीबलाई बम बनाएर पड्काइदिए पुग्छ।
आलो घाउमा मलम लाउँदा
प्रचण्ड गर्मीमा शित्तल छहारी पाउँदा
भोको पेटले आहारा पाउँदा
प्यासी प्राणीले पानी पिउँदा
देखिने नतिजा र प्रतिकृयालाई
जस्ताको तस्तै उतार्न सके
पक्कै कविता बन्छ।
कृषकहरुको पसिनाले सिञ्चिएर
लह-लह झुलेका फलहरु हेर्नुस्
रंगीन कविताहरु लय हालेर गाइरहेका हुन्छन्।
रामायण र महाभारत पढ्नैपर्ने,हेर्नैपर्ने के छ र?
ती भन्दा प्रेरणादायी,कारुणिक कहानी
नेपालका गाउँबस्तीमा प्रचुर पाइन्छन्
विश्वास नलागे गएर प्रत्यक्ष हेर्नुस्
काव्यको खानी भेट्टाउनुहुनेछ।
No comments:
Post a Comment