प्रेमको गगनमा
पवनको इन्धनबाट संचालित
एउटा अभागी चंगा
जो मायाको धागो चुँडिएर
चर्खाबाट बिछोडिएको छ
जहाँ
तिमी चर्खा हौ र
म चंगा हुँ।
तिमी माथि नजर लाउँदै
उड्न त म निर्बाध उडुँला
तर तिम्रो बन्धन बिनाको उडाइ
खल्लो-खल्लो लागिरहेछ।
होस मलाई चाहिएन एक्लो स्वतन्त्रता
बरु पिंजडामा सुगाको जीवन सुखद होला
जेलको कैदीलाई
पुनः छुटेर जाने आशा होला
भोलिको दिन सम्झी खुशी होला
तर तिमी बिना म बिल्कुल खुशी छैन
किनकि तिमी बिना म चंगा हुनै सक्तिन।
पवनको झोक्काले
उडाउँदै-उडाउँदै लगेर
कुनै अक्कर भीरमा या
अग्लो रुखको हाँगामा
झुन्ड्याएर फाँसी दियो भने
हाम्रो भेट कसरी होला?
पलभरमै मेघ उपस्थित भएर
रुखो स्वरमा गर्जिंदै
आगोको ज्वाला ओकलेर
भीषण बर्षात गरायो भने
मेरो अस्तित्व संकटमा पर्नेछ
यदि म यमलोक पुगें भने
हाम्रो भेट अर्को जुनीमा पनि हुने छैन।
तिमी त भाग्यमानी छौ नि
म मरेर गएपनि
अर्को चंगा सित नाता गाँस्न पाउँछौ
तर तिमी केवल मेरो भएको हेर्न चाहन्छु।
उसैपनि बालबालिकामा
भगवानले बास गरेको हुन्छ रे
हाम्रो जिन्दगीको चालक-त्यो बालकले
खोजी नगरेसम्म
हाम्रो मिलन असम्भव छ।
त्यसैले प्रिय चर्खा!
तिमीलाई हातमा लिएर
म माथि निगरानी राख्ने
त्यो बाबुलाई बिन्ती गर
यथाशीघ्र मेरो खोजी गरेर
हाम्रो मिलन गराइदिन
बिनम्र आग्रह गर
त्यो बाबुले साथ दिएर
कुनै पल भेट भएमा
अवश्य पनि फेरि मिलेर उडौंला।
No comments:
Post a Comment