अर्धाङ्गिनीलाई मद्धत गर्न
गाईबस्तुका लागि पैयुँको रुखमा चढेर
दुई डाला घाँस झार्न नसक्नेहरु
उनका लागि तारा झार्ने आश्वासन दिन्छन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
आफ्नी प्रेमिका घाइते हुँदा
बोकेर खोला तर्न नसक्नेहरु
जिन्दगीको महासागर संगै तर्ने भन्छन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
टुटेको सम्बन्ध जोड्न नसक्नेहरु
आकाश र पातल जोड्ने कुरा गर्छन्
पहाडै फोड्ने गफ दिन्छन्
धर्ती छोडेर चन्द्रमामा पुर्याउने सपना बाँड्छन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
बिना पखेटा उड्छन्
बिना इन्जिन उडाउँछन्
बिना ज्ञान पढाउँछन्
पानीलाई उकालो बगाउँछन्
गफै-गफको सगरमाथा बनाउँछन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
एकैछिनको बाटो छोडेर दुईदिनको बाटो चुन्छन्
बाघ-भालुको डरले
नक्कली राजकुमारहरु लामो बाटो रोज्छन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
फूललाई पत्थर,पत्थरलाई फूल देख्छन्
पानीलाई आगो,आगोलाई पानी देख्छन्
जीवनलाई मृत्युु,मृत्युलाई जीवन देख्छन्
साँच्चै म पागलहरुको बस्तीमा छु।
जे-जे देख्छन्,सबै उल्टा देख्छन्
आफूलाई बाहेक संसारलाई पागल देख्छन्
साँच्चै म महा-पागलहरुको बस्तीमा छु।
No comments:
Post a Comment