मुस्कान फुल्ने
गुलाबी अधरको वागमा
पलभरमै पुछिने
लिपिस्टिक हुनु छैन मलाई।
मस्त जवानी
सुकोमल/सुकुमारी
रसिलो/कसिलो
शारीरिक सु-गठन भएको
युवतीको तनमा
स्पर्शको प्रलोभनमा
दुई दिनमै पुरानो हुने
नव वस्त्र भएर
सजिन चाहन्न म।
छेपारोले झैं रंग फेर्ने
मौसम झैं बदलिरहने
तुफानले झैं उथलपुथल मच्चाउने
कुनै प्रेमिकाको मनमा
अस्थायी रुपमा
बास गर्न चाहन्न।
संवेदनाको फलस्वरूप
वेदनालाई न्यूनीकरण गर्न
सुन्दर नयनहरुबाट
आत्महत्या गर्ने
अश्रुको ढिक्का बन्न चाहन्न।
बरु म त
कोट्याएर फाल्न नमिल्ने
निकालेर जलाउन नसकिने
आजीवन टाँसिरहने
प्यारो साथी कलेजो भएर
मुटुको समिपमा रहिरहनेछु।
No comments:
Post a Comment